कलाकारको महत्व नेता एवं राजनीतिक पार्र्टीलाई राम्रैसँग थाहा छ । सकभर आफूले भाषण गर्नुपर्ने कुनै कार्यक्रममा चलेका कलाकारको साथ चाहन्छन् उनीहरू । चल्तीका कलाकारको उपस्थिति यसै पनि दर्शक तान्ने सूत्र बन्छ । ठूलो मासमा भाषण गर्नुको मजा पनि बेग्लै हुन्छ । नेताका कुरा सुन्नमात्रै त पार्टीका झन्डा बोक्नेबाहेक कोही आउँदैनन् । यस्तै बेलामा हो नेताले कलाकारलाई राष्ट्रको गहना मान्ने । चुनावका बेला बहुमूल्य गहनालाई झैं मान पनि दिन्छन् । तर जब लाभ लिने मौका आउँछ त्यसबेला उनीहरू कलाकारको योगदानलाई बिर्सन्छन् । लाकारलाई राज्यले स्पेस नदिएको गुनासो राजनीतिज्ञहरूले नसुनेका होइनन । यो विषयमा उनीहरू जानकार छन् । हुन त कलाकारमात्रै होइन राज्यले उचित सम्मान दिएको, राज्यबाट सन्तुष्ट कुन क्षेत्र होला र अहिले ? राज्यसत्ता चलाउने त पार्टी अर्थात् राजनीतिक नेताले नै हो । शक्ति र स्रोतको डाडुपन्यु हातमा परेपछि सबैलाई बिर्सने नेपाली राजनीतिको सबैभन्दा तीतो यथार्थमा सुधार देखिएको छैन । हुन त चुनावी वातावरण तताउन राजनीतिक दललाई अहिले जसरी कलाकार चाहिएको छ त्यसैगरी कलाकारलाई पनि राजनीति नभई नहुने भएको छ । पछिल्लो समय धेरैजसो कलाकार कुनै न कुनै राजनीति पार्टीमा आबद्ध छन् । राजनीति निरपेक्ष कलाकार पाउनै गाह्रो छ । अवसर र उचित सम्मान नहुँदा गुनासो गर्ने ठाउँ त रहन्छ नै तर जति गुनासो भए गरे पनि राजनीति र कलाकारको सम्बन्ध निकै घनिष्ट छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा कलाकारले ठूलो योगदान पुर्याएका छन । राजनीतिक नेतृत्वबाट त्यसको मूल्यांकन भएको छैन । चाहिँदा राष्ट्रको गहना अरू बेला बेवास्ता । तर यति हुँदा पनि राजनीतिक दलप्रति कलाकारको यति धेरै आकर्षण घतलाग्दो विषय लाग्छ । जसरी राजनीतिक परिवर्तन आन्दोलन र निरन्तर संघर्षबाट प्राप्त भएको छ त्यसैगरी कलाकारहरू पनि अब लडेरै आफ्नो अधिकार र अस्तित्व कायम गर्न तम्सिएका त होइनन ? कलाकारिता राजनीति निरपेक्ष पनि छैन । पञ्चायती व्यवस्थाविरुद्ध रामेश, रायन, जेबी टुहुरे, खुसीराम पाख्रिन, मञ्जुल, जीवन शर्मा, राजन राईजस्ता कलाकारले गाउँगाउँ पुगेर विद्रोहको गीत गाए । पञ्चायत विरोधी हरेक कार्यक्रममा कलाकारको सहभागिता र प्रस्तुति अनिवार्यजस्तै हुन्थ्यो । त्यसबेला पनि नेताको भाषणभन्दा कलाकारको प्रस्तुति हेर्न आउनेको संख्या उल्लेख्य हुन्थ्यो । दसवर्षे माओवादी द्वन्द्वका बेलामा पनि जीवन बाजी राखेर खुसीराम पाख्रिन, मणि थापा, ध्रुव ज्ञवाली, चुनु गुरुङ, शारदा श्रेष्ठ, मस्त विष्ट, माइला लामा, च्याङ्बा लामा, दिलमाया बमजनजस्ता कलाकारले विद्रोहको बिगुल फुके । २०६२-६३ सालको जनआन्दोलनमा कलाकारको सहभागिता र चर्चा नेताको भन्दा कम भएन । राजनीतिक परिवर्तनपछि नेताहरू सत्ताका भागीदार बने । पालैपालो भागबन्डामा लाभको ओहदामा पुगे । तर कलाकार सडकमै छन् । कलाकारले आफ्नो पहिचान विस्तार गरे, स्तर सुधारे होलान् तर त्यसमा राज्य र पार्टीको भूमिका छैन । आफ्नै मेहनत र बलबुताले त्यो सफलता हासिल गरेका छन् । नेपालको हरेक राजनीतिक परिवर्तनमा कलाकारले पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । तर राज्य र राजनीतिक नेतृत्वबाट त्यसको मूल्यांकन भएको छैन । तापनि राजनीतिक दलप्रति कलाकारको यति धेरै आकर्षण घतलाग्दो विषय लाग्छ । २०६२-६३ सालको जनआन्दोलनपछि राजनीतिक दल र नेताले कलाकारलाई यति महत्व दिएको स्थानीय तहको चुनाव हुने निश्चित भएपछि मात्रै हो । ठूलाठूला राजनीतिक परिवर्तनमा सडक तताएका कलाकार यस्तै बेलामात्रै प्रयोग हुने गरेका छन । नत्र राज्यको नीति निर्माण एवं निर्णायक तहमा कुन कलाकारले स्पेस पाएको छ ? संविधानसभाबाट संविधान घोषणापछि चुनाव पहिलो सर्त बन्यो । त्यसपछि कलाकारहरू पार्टी प्रवेश गर्ने गराउने लहर नै चल्यो । करिश्मा मानन्धर, अशोक शर्मा, सरोज खनाललगायतका कलाकार नयाँ शक्ति पार्टीको स्थापनाकालदेखि नै आबद्ध भए । स्थानीय तहको चुनाव हुने भएपछि करिश्मा मानन्धरको सक्रियतामा दर्जनौं कलाकारलाई पार्टी प्रवेश गराइयो । करिश्मा अहिले कलाकारिताभन्दा राजनीतिमा बढी सक्रिय छिन् । करिश्मालाई पछ्याउँदै ख्यातिप्राप्त गायिका कोमल वली, नायिका रेखा थापालगायत धेरै कलाकार राजनीतितिर लागेका छन् । कोमल र रेखा पार्टी प्रवेशसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रसंगले राम्रै चर्चा पायो । पार्टीमा त स्पेस पाए तर जनप्रतिनिधि हुने मौका यसपटक दुवैले गुमाए । कोमल दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र रेखा काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार भनिए पनि अन्तिममा त्यो मौका अरूले नै पाए । चलचित्र निर्माता उद्धव पौडेल, प्रदीपकुमार उदय, गायिका मीरा राणा, ज्ञानु राणाजस्ता हस्ती पनि राप्रपाबाट राजनीतिक भविष्य खोजिरहेका छन् । नेपाली कांग्रेसमा पनि धेरै कलाकार लागेका छन् । वरिष्ठ अभिनेता नीर शाह कांग्रेस प्रवेशसँगै पार्टीका विभिन्न अभियानमा क्रियाशील छन् । 'संविधानसभाको चुनावमा पार्टीको निर्देशन अनुसार १७ वटा आमसभालाई सम्बोधन गरे', शाहले भने । स्थानीय तहको चुनावका लागि पनि पार्टीलाई उनको त्यतिकै साथ छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई नेपाली कांग्रेसमा खुलेर लागेका छन् । स्थानीय चुनावको वातावरण बनेपछि उनकै सक्रियतामा केही महिनाअघि चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, वरिष्ठ अभिनेता रमेश बुढाथोकी, गायक युवराज चौलागाई, नृत्य निर्देशक पुनम राई, नायिका नम्रता योगी, रिस्ता बस्नेत, अभिनेत्री विपना बस्नेतलगायत धेरै कलाकार कांग्रेस प्रवेश गरे । नेपाली कांग्रेसमै सक्रिय संगीतकार शान्तिराम राईले स्थानीय तहको चुनावका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शशांक कोइरालालगायत नेपाली कांग्रसका ३५ केन्द्रीय नेताको स्वर समेटेर ४० मिनेट लामो गीत तयार गरेका छन् । 'यो गीत अहिले देशभर गुञ्जिरहेको छ । यतिधेरै केन्द्रीय नेताको स्वर समेटेर यसअघि यस्तो गीत बनेकै थिएन', संगीतकार शान्तिराम राईले भने, 'स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका लागि यो गीतले उर्जा दिएको छ ।' गायिका राधिका हमालले पनि स्थानीय तहको चुनावका लागि कांग्रेसको गीत गाएकी छन् । वषौं पहिलेदेखि कांग्रेसमा क्रियाशील उनी स्थानीय तहको चुनावमा पार्टीको गीत गाउँदै हिँडिरहेकी छन् । उनीजस्तै धेरै कलाकार चुनाव प्रचारमा गीतसंगीतका साथ गाउँ शहर पसेका छन् । नेकपा एमाले कलाकारको बाहुल्य भएको पार्टी मानिन्छ । अभिनेता भुवन केसी, गायक बद्री पंगेनी, चलचित्र निर्देशक दिनेश डीसी, संगीतकर्मी अशोक राई, सूर्य थुलुङ, दुर्गा परियार, हास्यकलाकार मनोज गजुरेल, चलचित्रकर्मी केशव भट्टराई, कृष्णभक्त महर्जन, उत्तम केसीलगायत दर्जनौं कलाकार एमालेमा आबद्ध छन् । बद्री पंगेनी, अशोक राईलगायत धेरै संगीतकर्मी स्थानीय तहको चुनावमा एमालेको नीति, विचार र अभियानलाई गीतसंगीतका माध्यमबाट जनसमक्ष पुर्याउन लागिपरेका छन् । जनसांस्कृतिक महासंघमार्फत संगीतकार अशोक राईले नेपाली, भोजपुरी, लिम्बू र तामाङ भाषामा चुनावी गीत तयार गरेका छन् । एकताका माओवादीप्रति कलाकारको आकर्षण निकै देखिएको थियो । चलचित्र निर्देशक युवराज लामाको नेतृत्वमा दर्जनौं कलाकार माओवादी प्रवेश गरेका थिए । पटक पटक पार्टी फुटेसँगै कलाकार विभाजित भए । अहिले नेकपा माओवादी केन्द्रमा युवराज लामा, खुसीराम पाख्रिन, जेबी टुहुरे, मौसमी मल्ल, राजेन्द्र खड्गी, सिर्जना बस्नेता, चेतन सापकोटा, सुभास गजुरेललगायतका कलाकार क्रियाशील छन । नीर शाह, रेखा थापाजस्ता चर्चित कलाकार पनि कुनै समय माओवादीमा आबद्ध थिए । http://annapurnapost.com/news/...
ktmpost · May 12, 2017 8:19 AM · 1,216 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion