‘स्वर्गको अर्को पाटो ’ उघार्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘स्वर्गको अर्को पाटो ’ उघार्दा Other Side of Paradise (स्वर्गको अर्को पाटो) । समुद्रको नीलो पानी, हिमाल अनि अमेरिकी वास्तुकलाको सुन्दर भवन तीनवटाको संयोजन छ बाहिरी भागमा । समुद्रको नीलो पानीभित्र सेता अक्षरमा लेखिएको छ Other Side of Paradise । शीर्षक र चित्र दुवैले आकर्षित गर्छन् मलाई । तल लेखिएको केनी पाण्डेले मलाई द्विविधामा पार्छ । कसको सिर्जना हो यो ? नेपाली नाम अनि अंग्रेजी भाषा । जिज्ञाशा बढ्छ, के होला यसभित्र ? किन स्वर्ग नै राखियो शीर्षकमा ? फेरि स्वर्गका पनि विविध पाटा हुन्छन् र ? जिज्ञाशासँगै अघि बढ्छु म । पाइला चाल्नासाथ भेट हुन्छ शेर्पा युवक पेम्बा जो हिमालमा हुर्केको, शिक्षित, कमाइदार अनि विनम्र, शिष्ट र भद्र छ, युवमा हुनुपर्ने सबै गुणले भरिएको छ ऊ, अनि अमेरिकी युवती लिन्डा छे ऊसँगै । अमेरिकाको प्रसिद्ध स्मिथ ल फर्ममा काम गर्छे, एक्जिक्युटिभ सेक्रेटरीका रुपमा । रुप, स्वभाव, प्रतिभा र आर्थिक सम्पन्नताले झर्झराउँदी छे ऊ । म दुवैसँग सँगसँगै यात्रा गर्न थाल्छु नेपालका पहाड, पर्वत, खोलानाला, कन्दरा, गाउँ र हिमालसँगै । रमाइलो लाग्छ उमेरले नेटो काटे पनि युवाहरुसँगसँगै यात्रा गर्दा । म घरि काठमाडौँ, नाम्चे र फाप्लुमा पुग्छु, घरि अमेरिकाको लसएन्जल्स, मियामी अनि डेनभर हुँदै एमिश समुदायको प्राचीन र सरल गाउँमा पुग्छु जहाँ उनीहरु तपस्या गरिहेका छन् मुक्तिको खोजी गर्ने पूर्वीय ऋषिहरुझैँ । पेम्बा र लिन्डासँगै म युरोपका पेरिसको लुभ्रका चित्रहरु नियाल्छु, ग्रिक कला र सँस्कृतिको रहस्य बुझ्छु अनि हेर्न पुग्छु रोमको प्राचीन कला र भव्य स्मारकहरु, पोपको दरवार अनि त्यहाँ कोरिएका प्राचीन चित्रअरुसँग हातेमालो गर्छु । घरी उनीहरुका प्रेमालाप सुन्छु, घरी युवाजोशका प्रणयलीला हेर्छु, सडकदेखि शयनकक्षसम्मका । उनीहरुको जीवनका विछोड र पीडाले घरी व्यथित हुन्छु, फेरि तपस्या गर्दै गरेका अमेरिकाको भव्यता र आधुनिकताबाट टाढा बसेका एमिश समुदायमा खेत जोत्न र गाडा चलाउन पुग्छु, अनि फेरी फर्केर अमेरिकीहरुलाई स्वर्गको अर्को पाटो देखाउने कामलाई व्यवसाय बनाएर प्रसस्त कमाइ गरिहेका व्यावसायी पेम्बा र मोनासँगै खुसी हुँदै हाँस्छु दंग परेर र भन्छु वाह क्या जीवन, यही त हो स्वर्ग ।  युवाजोडीसँग डुलादुल्दै म झस्कन्छु र पल्टाउँछु केनी पाण्डेको स्वर्गको अर्को पाटो (Other Side of Paradise) जसले मलाई स्वर्गका भिन्नभिन्न अझ व्यक्तिव्यक्तिका स्वर्ग देखाउन थाल्छ म रमाउँछु उनीहरुका ती स्वर्गसँगै । २०७३ को अन्त्य र २०७४ को शुरुआतको दोसाँधका करिब चार दिन म यात्रारत हुन्छु केनी पाण्डेसँगै स्वर्गको अर्कोपाटो हेर्न, घुम्न, रमाउन र उघार्न ।   स्वर्ग के हो र नरक के हो ? यसबारेमा पूर्वीय र पाश्चात्य दुवै जगतमा व्यापक बहस भएका छन्, अनेक ग्रन्थ, दर्शन र साहित्य लेखिएका छन्, लोककथा प्रचलित छन् । तर सामान्य मानिसका लागि स्वर्ग के हो ? प्रश्न सजिलो भए पनि उत्तर त्यति सजिलो छैन । स्वर्गका आआफ्ना परिभाषा छन् मानिसका । खान नपाएकालाई पेटभरि खान पाउनु नै स्वर्ग, दुःखमा बाँचेकालाई दुःखबाट मुक्त हुन पाउनु स्वर्ग ।  सामान्यतः लाईखाई गर्न पुग्ने धन, शान्त र सुखी परिवार, मानसिक रुपमा शान्ति र अमनचयन शायद यही होला सामान्य मानिसका लागि स्वर्ग । जीवनपछि भोगिने कुराको अमूर्ततामा मुक्तिको कामना गर्नेहरुका लागि स्वर्गको काल्पनिक संसार बढी प्रभावकारी छ । तर जीवन छँदै भोग्न नपाएको कुराको अनुभूति कसरी गर्ने ? जीवनमै भोगेर त्यसको मजा लिन चाहनेहरुका लागि भौतिक सुख, सुविधा र मानसिक शान्ति र सन्तुष्टिका पक्ष नै बढी महत्वपूर्ण हुन्छन् स्वर्गको अनुभूतिका लागि ।  स्वर्गको अनुभूति वर्णन गर्नु शायद त्यति सजिलो छैन । त्यसैले मानिसहरु भन्छन् कस्तो स्वर्गीय आनन्द ? कस्तो हुन्छ त्यो आनन्दको अनुभव ? फेरि पनि अमूर्त नै आउँछ त्यसको उत्तर । हरेक मानिसका आआफ्नै परिभाषा छन् स्वर्गका, आआफ्ना अनुभव छन् त्यसका बारेमा । एउटाको लागि स्वर्ग मानिएको त्यही ठाउँ र सुविधा शायद अर्काको लागि नरक हुन्छ अनि फेरि अर्को स्वर्ग खोज्छ ऊ ।  सामान्य नेपालीका लागि अमेरिका स्वर्ग हो । त्यहाँका सुख, सुविधा, भौतिक समृद्धि अनि कमाइले दिने सुखानुभूतिका कारणले नै शायद मानिसहरुले अमेरिकालाई स्वर्ग ठानेका होलान् । त्यहाँ जान पाए कस्तो हुँदो हो भनेर अनेक प्रयत्न गर्छन् मानिसहरु । तर त्यहाँ पुगेपछि उसले भोग्ने कुरा कति सुखद वा दुखद छ ? शायद त्यहाँ पुगेपछि उसको कल्पना र यथार्थबीच ठूलो खाडल पत्ता लगाउँछ ।  काम, पैसा, व्यापार, समयको सीमा आदिमा निरन्तर जेलिएर त्यसकै सीमामा बाँधिएकी अमेरिकी युवती लिन्डाका लागि नेपालको साधारण जीवन, तनावरहित समयतालिका, कम अपेक्षायुक्त जीवनशैली, प्रकृतिसँग सामीप्य रहेको जीवन व्यवहार नै स्वर्ग लाग्छ भने नेपालको हिमाली भागमा सुखदुःख भोगेर जीवन गुजारेको पेम्बालाई लागि प्रशस्त कमाइ, आर्थिक आधार दिने गतिलो व्यवसाय, सुन्दर घरबार अनि आर्थिक सुरक्षा नै स्वर्ग लाग्छ । त्यसैले स्वर्गको परिभाषा नै भिन्न छन् हरेका मानिसैपिच्छे ।  लेखक केनी पाण्डेको करिब ४०० पृष्ठ लामो कृति इतजभच क्ष्मभ या एबचबमष्कभ पढिसकेपछि मैले गरेको अनुभूतिको एउटा पक्ष हो यो ।  उमेर र अनुभवले आधा शताब्दी काटिसकेका पाण्डेको यो कृति नेपालका त्यसमा पनि खासगरी हिमालको नजिक बस्ने शेर्पाहरुका जीवनशैली, सामाजिक व्यवहार, साँस्कृतिक पक्ष आदि समेटेर पेम्बा नामको मध्यम वर्गीय पात्रको चरित्रचित्रणसँगै पुस्तकको शुरुआत हुन्छ । पेम्बा एउटा ट्रेकिङ कम्पनीमा काम गर्छ । ट्रेकिङका लागि आउने यात्रुलाई गाइड र समन्वय गर्ने जिम्मा छ उसको । अमेरिकी समाजमा हुर्केबढेकी किशोरी लिन्डा प्रकृतिको स्वर्ग मानिने देशको रुपमा कल्पना गर्दै एउटा ट्रेकिङ समूहकी सदस्य बनेर नेपाल आउँछे । उसलाई पेम्बाको रुप, बानी र व्यवहार साह्रै मन पर्छ । दुवै एकअर्काको प्रेममा पर्छन् । शेर्पा युवक पेम्बा शिक्षित, सुसंस्कृत र विनयशीलताले भरिएको छ । पश्चिमा व्यक्तिगत जीवनशैलीमा हुकेर्ककी किशोरीको मनमा उसले सहजै स्थान पाउँछ । पेम्बालाई हृदयको राजा बनाउँछे लिन्डाले ।  मन सुम्पेपछि शरीर सुम्पन कठिन छैन अमेरिकी नारीहरुका लागि । लिन्डाले मन र शरीर दुवै सुम्पन्छे पेम्बालाई फाप्लु यात्रामै । पेम्बाको पुरुषत्व पनि काँतर बन्न चाँहदैन लिन्डाको सुन्दर शरीर र रुपमा लठ्ठिन पाउँदा । दुवैको मन र शरीर एकाकार हुन्छ फाप्लुको होटलको कोठाभित्र । स्वर्गीय आनन्दको अनुभव गर्छन् दुवैले एकअर्कालाई पाउँदा ।  पेम्बाका आफ्नै भावना र कल्पना छन् जीवनका बारेमा । नेपालका उच्च हिमाल घुम्दै, ट्रेकिङमा आउने विदेशी पर्यटकहरुलाई हिमाली भेगको यात्रा गराउने संयोजक र कुकको काम गर्दै उसले आफूलाई क्रमशः आर्थिक रुपमा समर्थ र सक्षम बनाउँदै लगेको छ । सबैको  प्यारो छ पेम्बा । स्वदेशी मात्र होइन विदेशी पनि उसको कामबाट खुशी हुन्छन्, इनाम दिन्छन्, बेलाबेला सम्झेर उपहारहरु पठाउँछन् । पेम्बा आफ्नै स्वर्गमा रमाइरहेको छ हिमालको फेदीमा बसेर । उसका केही पारिवारिक दायित्व र जिम्मेवारीहरु छन्, निर्वाह गरिहेको छ आफ्नो बुताले भ्याएसम्म । परिवारलाई सुख र सुविधासँग पाल्ने, बाबुआमालाई राम्ररी हेरचाह गर्ने, बहिनीहरुलाई राम्ररी पढाइलेखाइ गराएर सक्षम बनाउने अनि सकेसम्म एउटा सानो व्यवसाय खोलेर जीवन धान्ने धोको छ उसको । धेरै महत्वाकांक्षा छैनन् उसका । बौद्ध धर्माबलम्बी भएकाले जीवनशैली साधारण छ । बौद्ध दर्शन र संस्कृतिको गहिरो प्रभाव छ उसको जीवनमा ।  लिन्डासँगको भेटपछि पेम्बाको जीवनले नयाँ मोड लिन्छ । लिन्डालाई नेपालीहरुको जीवनशैली, यहाँको प्राकृतिक वातावरण, पारिवारिक माया र प्रेम स्वर्गीय लाग्छ । ऊ पेम्बालाई छोड्नै नसक्ने अवस्थामा पुग्छे । दलाइ लामालाई भेट्न पेम्बालाई सहयोगी बनाएर भारत यात्रा गर्छन् दुवैले । सोच्दै नसोचेको जीवनयात्रा शुरु हुन्छ पेम्बाको । उसभित्र कल्पनाको जीवन फैलिन थाल्छ । संसारभरका मानिसका लागि स्वर्ग मानिएको अमेरिका अब उसको पनि कल्पनाको स्वर्ग बन्छ । त्यहाँ जान पाउने अवसर बनेर आउँछे लिन्डा । लिन्डाको प्रेमीको रुपमा ऊ अमेरिका पुग्छ, लिन्डासँग विवाह गर्छ र सँगसँगै जीवन बिताउन थाल्छ ।  करिब पौने एक वर्षको प्रतिक्षापछि लिन्डा र पेम्बा अमेरिकी जीवनशैली र पारिवारिकतामा एकाकार हुन्छन् । परिवारका लागि भरणपोषणको जिम्मा केही समयका लागि लिन्डाले लिन्छे । लामो हनिमुनका लागि पेम्बा र लिन्डा युरोप पुग्छन् । पेरिस, रोम, ग्रीस घुम्दै हनिमुन सकेर अमेरिका फर्कन्छन् । लिन्डाको किशोर शरीर पेम्बासँग हरदम लुटपुटिन र त्यसको रसपानमा रमाउन चाहन्छ तर काम र समयको तालमेल नमिल्दा उसले जे खोजेको हो त्यो नपाएको रिक्तताको अनुभव गर्छे । विस्तारै उसलाई पेम्बाको विकल्प खोज्ने इच्छा बढ्न थाल्छ, काम पनि परिवर्तन गर्ने चाहना बढ्छ ।  हवाइ यात्राको क्रममा एकाएक भेटिएको एक जना फिल्म अभिनेताले लिन्डाको आँखामा अर्को प्रेमी बनेर प्रकट हुन्छ । पेम्बाभन्दा आफ्नो लागि त्यो मानिस उपयुक्त हुने र नयाँ करियरका लागि सहयोगी बन्न सक्ने निचोडमा पुग्छे । एक दिन एकाएक पेम्बासँग डिभोर्सको प्रस्ताव राख्छे लिन्डाले । समयको गति यति तीव्र हुन्छ, पेम्बाले त्यसलाई पछ्याउन सक्तैन । घर, परिवार, जागिर अनि समाज सबै छोडेर आफ्नो देशभन्दा कहाँ हो कहाँको त्यो अपरिचित भूमिमा एक्लो हुनुपर्ला भन्ने कल्पना पनि नगरेको पेम्बाको जीवनमा आइपरेको बज्रपातले उसको हृदय छियाछिया हुन्छ । सहन गर्ने शक्ति गुमाउँछ । मानसिक आघातका कारण आफूलाई बेसहारा सम्झन थाल्छ । नचिनेको ठाउँ, अपरिचित संसार, अभ्यस्त नभइसकेको जीवनशैलीमा जेलिएर बस्ताबस्तै शहरमा बसेर पनि घनघोर जङ्गलमा हराएझैँ हुन्छ पेम्बा । डिप्रेसनले गाँज्दै लैजान्छ । जीवन बिताउने कुनै उज्यालो बाटो देख्तैन अगाडिको । एकाएक सपनमा देखेको एमिश समुदाय उसको सहारा हुन सक्ने लाग्छ उसलाई । त्यसैको खोजीमा निस्कन्छ । आपूmले कमाएको केही पैसा घरतिर पारिवारिक सहयोगका लागि पठाउने व्यवस्था गरेर ऊ अमेरिकाको एक रहस्यमय एमिश समुदायको शरणार्थी बन्न पुग्छ । करिबकरिब नेपालको दुर्गम गाउँझैँ लाग्ने, आधुनिक सुखसुविधाबाट परै रहेको ग्रामीण जीवन शैलीको झल्को दिने त्यो ठाउँ नै जीवनको एक मात्र सहाराको रुपमा देख्छ पेम्बाले । घर फर्कने र अर्को संसार बसाउने आश मारिसकेकाले आफ्नो पासपोर्ट, ग्रिन कार्ड सबै जलाएर नष्ट गर्छ र करिबकरिब गुप्तबासमा बस्छ ।  निराशाको बीचमा आशाको दियोझैँ बनेर आउँछ एमिश समुदाय पेम्बाको लागि । त्यहाँ बसेको करिब छ महिनामै ऊ त्यहाँको जीवनमा पूर्ण अभ्यस्त हुन्छ र समुदायको माया र प्रेम पाउन सफल हुन्छ । सबैको प्यारो हुन्छ पेम्बा । त्यही बीचमा एक जना शुभचिन्तक अमेरिकी नागरिक जेम्स उसलाई खोज्दै त्यहीँ आइपुग्छ । जेम्स ¥याफ्टिङका लागि नेपाल आएका बेला ठूलो दुर्घटना हुनबाट बचाएको थियो पेम्बाले । त्यसैको गुन सम्झेर जेम्स पेम्बालाई भेट्न पुगेको थियो एमिश समुदायको गाउँमा ।  जतिसुकै घनघोर अँध्यारो भए पनि उज्यालोको अस्तित्व त रहिरहेकै हुन्छ । पेम्बाको जीवनमा प्रकाश बनेर प्रकट हुन्छ जेम्स । उसले एमिश समुदायबाट पेम्बालाई निकालेर फेरि अमेरिकी सम्पन्नताको संसारमा प्रवेश गराउँछ । आफ्नो कम्पनीको शेयरहोल्डर बनाउँछ, काम दिन्छ, सहारा दिन्छ । काममा इमान र मिहिनेत गर्नसक्ने पेम्बा जेम्सको साथ र सहयोगले आर्थिक रुपमा सबल र सक्षम बन्दै जान्छ । कमाइले एउटा घर किन्न र आफ्नै आवासमा बस्न थाल्छ । साथीभाइ र शुभचिन्तकहरु विवाहको कुरा गर्न थाल्छन् । ऊ अब विजातीय संस्कृतिकी महिलासँग होइन आफ्नै संस्कृति र समाजकी महिलासँग जीवनयापनको सम्भावना देख्छ र नेपाल आउँछ विवाहका लागि ।  उसको काकाले सबै व्यवस्था मिलाउँछ । पोखरामा होटल चलाएर व्यवसाय गरिरहेकी सुसंस्कृत केटी मोनासँग उसको सम्बन्ध गाँसिन्छ । करिब दुई वर्षको प्रतिक्षापछि फेरि पेम्बाको दाम्पत्य जीवनको सुखसहित अमेरिकी व्यवसायी बन्छ । मोनाले एउटा होटल चलाउँछे । कमाइ बढ्दै जान्छ । पोखरामा पनि एउटा विदेशी ढाँचाको घर बनाउँछ । अमेरिकामा पनि व्यवसाय, घर र कमाइको पर्याप्त सुरक्षासहितको स्वर्गीय जीवनमा प्रवेश गर्छ पेम्बा ।  उपन्यासको कथावस्तु उतारचढायुक्त छ । पेम्बा र लिन्डा हुर्केबढेको समाज, उनीहरुको सोच्ने र काम गर्ने तरिका अनि जीवनप्रतिको अपेक्षा र आकांक्षाको विपरिततामा कथा अघि बढ्छ । दुवैको समानान्तर चित्रणले उपन्यासलाई गतिमान् बनाएको छ । दुई भिन्न संस्कार, सँस्कृति र जीवनशैलीको मसिनो चित्र प्रस्तुत गर्छ उपन्यासले । शेर्पाहरुको समाजको चित्र प्रस्तुत हुन्छ पेम्बाको माध्यमबाट अनि अमेरिकी समाजको सँस्कृति र व्यवहार अनि जीवनशैली प्रस्तुत हुन्छ लिन्डाको माध्यमबाट लिन्डा स्वच्छन्दता मन पराउँछे । उसका लागि आपूm पहिलो हो अनि मात्र परिवार र समाज । पेम्बाका लागि समाज र परिवार पहिलो प्राथमिताको र त्यसपछि मात्र आफू र आफ्नो स्वतन्त्रता । लिन्डाका लागि पारिवारिकता तोड्नु र जोड्नु बायाँ हातको खेल हो जहाँ आफूलाई कमाइ, करियर र सन्तुष्टी हुन्छ त्यही मानिससँग शरीर र मन समायोजन गरी अवसर र कमाइमा रोमाञ्चित हुन पाउनु नै उसका लागि प्राथमिकताको विषय हो । तर पेम्बाको लागि जीवन आफूले भोग्नु र रोमान्स गर्नु मात्र होइन परिवार, समाज र व्यवसाय अनि आर्थिक कमाइ सँगसँगै लैजानु पर्छ । यसो गर्दा आइपर्ने कतिपय कुरामा सम्झैता र समायोजन पनि गरिरहनु पर्छ ।  लिन्डा समाज र परिवारभन्दा आफ्नो व्यक्तिगत चाहना र आकांक्षालाई मुख्य ठान्छे । आफ्नो जीवन कसरी चलाउने, कसरी बाँच्ने त्यो पूर्णतः आफ्नै हातमा र आफ्नै रोजाइमा हुनुपर्छ भन्ने ठान्छे । बाबु पनि उसको इच्छामा हस्तक्षेप गर्न चाहँदैनन् तर आमा अन्त्यसम्म पनि अमेरिकी र क्रिस्चियन बाहेक अरुकेटासँग विवाह नगरे हुन्थ्यो भनेर लागिरहन्छिन् । केही सीप नलागेपछि मात्र पेम्बालाई स्वीकार्ने अवस्थामा पुग्छिन् । पेम्बाको संस्कृतिको सम्मान गर्छे लिन्डा अनि लिन्डाको संस्कृतिको सम्मान गर्छ पेम्बा ।  उपन्यासकारले दुई भिन्न सँस्कृतिको भिन्नताको चित्र प्रस्तुत गर्न निकै मिहिनेत गरेको देखिन्छ । कहीँ कसर बाँकी राखेका छैनन् उनले । अमेरिकी नारी र नेपाली शेर्पा पुरुष । भिन्न संस्कृति, भिन्न अपेक्षा र जीवनप्रतिको भिन्न दृष्टिकोण । अमेरिकी नारीहरुका लागि जीवन रोमान्स र अमेक्षापूर्तिका लागि हो, पेम्बाका लागि जीवन दायित्व, प्रेम र सहकार्यको त्रिवेणी हो । यसमा कैयौँ कुरा समायोजन, सम्झौता र सहकार्य आवश्यक हुन्छ । तर लिन्डा तत्काल आफ्नो चाहना पूरा हुनुपर्ने ठान्छे, धैर्य र अर्को पक्षको सुविधा र मर्काप्रति उसलाई कुनै सरोकार नै छैन । पैसा र रोमान्स नै उसको लक्ष्य हो । आफ्ना चाहना पूरा नहुने र अहिलेकोभन्दा उन्नत अवसर आयो भने भइरहेको लोग्ने छोड्नु र अर्को खोज्नु उसका लागि सामान्य कुरा हो, खेलजस्तै । तर पेम्बाका लागि वैवाहिक जीवन प्रेम, दायित्व र कर्तव्यले बाँधिएको त्रिवेणी हुनुपर्छ, लिन्डाका लागि वैवाहिक जीवन रसमय, प्रेमिल र रोमान्सले भरिएको हुनुपर्छ । यिनै दुई भिन्न दृष्टिकोणबीचको दूरी बढ्दै जाँदा दुवैबीच पारपाचुके हुन्छ । लिन्डाले डिभोर्स गर्छे अर्को सक्षम पुरुषसँग आफ्नो करियर राम्रो हुने देख्नासाथ ।  पेम्बाले लिन्डासँग डिभोर्स होला भन्ने सोचेको नै हुँदैन, त्यो पनि यति भाँडै । एकल पतिमा जीवन गुजार्ने र अनेक दायित्वबोधको सीमाले बाँधिएर दाम्पत्यको धागो कायम राख्ने समाजको पेम्बा दालभात झैँ एक वा अर्को प्रेमी र पति फेर्न कति पनि संकोच नमान्ने लिन्डा देख्ता लाग्छ अमेरिकी समाजमा पारिवारिकता भन्ने कुरा नारीको इच्छाको वरिपरि तरवारको धारझैँ चलेको हुन्छ । कतिबेला तरवारको धारले जीवन समाप्त पार्छ त्यसको कुनै अन्दाज हुँदैन । अमेरिकी पारिवारिकतामा ।  भौतिक सुख र सुविधामा जीवनको सार्थकता खोज्ने समाजको संस्कार र समाजमा हुर्कीएकी लिन्डाहरुका कारण अमेरिकी समाजले ठूलो पारिवारिक पीडा भोगिरहेको चित्र प्रस्तुत गर्छ उपन्यासले ।  हरेक समाज र भूगोलपिच्छे मानिसका आस्था, विश्वासप्रणाली र साँस्कृतिकता भिन्न छन् । जतिसुकै खराब समाजमा पनि केही असल मानिस फेला पर्नसक्ने म्भिावना भने जहिल्यै रहन्छ । अमेरिकी जापानी मार्लोटे र तनाका, जेम्स वा सुमित्ज यस्तै मानिस हुन् जसलाई उपन्याले असल चरित्रको रुपमा चित्रण गरेको छ । मानिस भएर मानिसप्रति देखाउने सद्भाव अनि दया र प्रेम भने मरिसकेको चाहिँ छैन है भन्ने सन्देश पनि उपन्यासले दिएको छ । संसारभर जहाँसुकै राम्रा र नराम्रा पक्षाले समाज बनेको छ । खराबभन्दा खराब समाजमा पनि कोही न कोही असल मानिस भेटिने सम्भावना भने रहिरहन्छ भन्ने संकेत गर्छन् लेखक तनाका, जेम्सजस्ता मानिस प्रस्तुत गरेर । मानिस भएर भोग्न पाउने उज्यालो संसार तिनै मानिसका कारण बाँचिरहेको कुरा पनि ती असल चरित्रको माध्यमले देखाउन खोजिएको छ । पेम्बाले तिनै असल मानिसको सहारा पाएर जीवनको अर्को स्वर्ग पाउँछ अमेरिकी समाजमा ।  पेम्बाको अमेरिका प्रस्थानको क्रममा थाइल्यान्डमा भेटिएकी उबोनको जीवन र उसको परिवारको शब्दचित्र प्रस्तुत गरेर थाइ पारिवारिकताको चर्चा गर्न चुकेका छैनन् लेखक । थाइ र नेपाली दुवै पूर्वीय सँस्कृति र माजका अंग भएकाले दुवैको सोचाइ र दायित्वबोधको समानता देखाएका छन् लेखकले । थाइल्यान्डको रात्री जीवनमा युवतीहरुको प्रयोग कसरी भइरहेको छ, उनीहरुको कस्तो बाध्यता छ र पारिवारिक दायित्वमा उनीहरु आफूलाई कहाँसम्म बलिदान गर्न तयार छन् भन्ने कारुणिक चित्र उबोनका माध्यमले प्रस्तुत गरिएको छ ।  आफ्नै शरीर, रुप र जवानी बिक्री गरेर भनेपनि परिवारको भरणपोषण र बाबुको उपचार गर्ने बैंकककी उबोन र लिन्डाबीचको तुलना गर्न मन लाग्छ पुस्तक पढिसकेपछि । बैंकको  महँगो जीवनमा बाँचिरहेको एउटा गाउँबाट शहर पसेको थाइ किसान परिवारको त्यो अवस्थालाई माथि उठाउन आफूलाई समर्पित गर्ने त्यो थाइ युवती उबोनको जीवन अनि एउटा पतिबाट आफ्ना इच्छा पूरा हुननसक्ने देख्नासाथ चटक्क छोडेर अर्कैसँग टाँसिने लिन्डको तुलना गरेर कुन समाज चाहिँ स्वर्गीय हो सोच्न बाध्य बनाउँ छ पाठकलाई । परपुरुषसँग हिँडेर केही पैसा आर्जन गर्ने र परिवारको पालनपोषण गर्ने उबोन पुस्तक पढिसक्ता पनि निकैदिन आँखा अगाडि आइरहन्छे, जसलाई पाठकको मनले सहानुभूतिको वर्षा गरिहन्छ ।  ग्रिक र रोमन सँस्कृतिसँग हिन्दू सँस्कृति र देवीदेवताको तुलना गरेर युरोप र एशियाको दूरी टाढा भए पनि मानिसभित्रको विश्वास प्रणालीबीच कुनै न कुनै समाानता रहेको औँल्याएका छन् लेखकले ।  भाषिक सरलता र सरसता अनि प्रवाहमान् लेखनकलाले लेखकको अंग्रेजी भाषाको दख्खल देखाउँछ । आदिदेखि अन्त्यसम्म शायदै कुनै शब्दको अर्थ खोज्न डिक्सनरी पल्टाउनुपर्ला । विमातृभाषी भएर पनि मातृभाषी लेखकझैँ अंग्रेजी भाषामा त्यो स्तरको प्रस्तुतिको र पाण्डेको लेखकीय क्षमताको प्रशंसा गर्नै पर्छ । अंग्रेजी भाषामा त्यो स्तरकोअनि  त्यति ठूलो आकारको कृति लेखिनु आफैँमा गौरवको विषय हो भने त्यो स्तरको भाषिक दख्खल भएका लेखक पाउनु नेपालीका लागि गौरवको विषय हो ।  चाहे प्रकृतिको वर्णनमा होओस् वा कलाको, मानवीव भावनाको होओस् वा दृश्यको सजीव वर्णन सामथ्र्य र तदनुकूल शब्द चयनमा लेखकको दक्षता प्रशंसनीय छ । कार्यालयमा गरिने कुराकानी होओस् वा रात्रीकालीन शयनकक्षाभित्र दम्पत्तीबीच गरिने कृयाकलाप सबैमा जुन सम्बादको प्रयोग लेखकले गरेका छन् त्यसले लेखकको क्षमतालाई उजागर गर्छ ।  यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी नभएका भने होइनन् । पेम्बा र लिन्डाको चरित्रचित्रण सुरुमा जसरी गरिएको छ त्यसको एक रुपता बीचमा पुगेपछि धरमराउँछ । अत्यन्त शालीन, भद्र र पाको चरित्रका रुपमा शुरुमा प्रक्षेपित हुने दुवै चरित्र जीवनको व्यवस्थापन र दृष्टिकोणमा क्रमशः कच्चा देखिन्छन् पछिल्ला चरणमा । शयनकक्षको क्रियाकलापको वर्णनमा शालीनता प्रशर्दन भएन कि भन्ने लागिरहन्छ । कहीँकहीँ असाध्यै उच्चाटलाग्दो गरी मसिनो वर्णन गरेर लेखकले पाठकको धैर्यता जाँच गरेझैँ लाग्छ । मिहीन वर्णनमा लागिरहँदा मूल कथावस्तु बेलाबेला हराएझैँ लाग्छ । लिन्डाको कार्यालयको व्यवहार, युरोपको हनिमुनताकाको वर्णन, पेरिसको लुभ्र संग्रहालयका चित्र अनि रोमको वर्णनमा अत्यधिक मिहिनताले पाठकलाई वाक्क बनाउँछ । यिनलाई छोटकरीमा प्रस्तुत गर्न सकिन्थ्यो जसले पुस्तकलाई अझ सरस बनाउँथ्यो । मोनालाई विवाह गर्न केटी हेर्न जाँदाको पेम्बा र मोनाबीचको सम्बाद र क्रियाकलाले नेपाली होइन अमेरिकी समाजको झल्को दिन्छ । नेपाली समाजका केटीहरु एउटा अपरिचित केटो आफूलाई विवाहका लागि हेर्न आउँदा त्यस्तो व्यवहार गर्न सक्ली र ! भन्ने मनमा लागिरहन्छ । त्यति मात्र होइन शयन कक्षमा सुहागरातको दिन मोनाले गरेको व्यवहार र पेम्बाको प्रस्तुति अमेरिकन दम्पतीको प्रतिस्थापन भएझैँ लाग्छ, स्वाभाविक लाग्दैन । जतिसुकै शिक्षित र खुला व्यवहारका भए पनि नेपाली संस्कृतिको परिवेशले त्यो स्तरको व्यवहार अझै सम्भव छैन ।  यी सानातिना कमजोरी बाहेक समग्रमा लेखक केनी पाण्डेको जुन मिहिनेत, कल्पना सामथ्र्य र आख्यानीकरणको कला छ त्यो निश्चय नै सम्भावना र सामथ्र्यले भरिएको छ । यति बृहदाकार कृति, यति विस्तृत परिवेश अनि दुई भिन्न सँस्कृति, विश्वास प्रणाली, धार्मिकता र पारिवेश समेटेर पुस्तकको रुपमा प्रस्तुत गर्नु निश्चय नै लेखकको सफलता हो । लामो धैर्य, कठिन परिश्रमबिना यो सम्भव छैन । नेपाली र अमेरिकी सँस्कृतिको तुलना गरेर यति बृहदाकार कृति लेखिनु नेपालीको लागि गौरवको बिषय हो । यो स्तुत्य प्रयासमा लेखक बधाइका पात्र छन् । भविष्यमा पनि यस्तै गहकिला कृति सिर्जनाको अपेक्षा गर्न सकिने लेखकको सम्भावना देखिन्छ पाण्डेभित्र । २०७४।१।२  Dhir Bhandari at 9:26 PM

Book Review · May 1, 2017 12:15 PM · 2,081 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all