म पनि राष्ट्रघाती !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म पनि राष्ट्रघाती ! बुधबार, २३ चैत २०७३, ११ : ५३ |  डा. प्रेमसिंह बस डा. प्रेमसिंह बस्न्यात नयाँ/पुरानो लुगा लगाइयो, ढिँडो÷गुन्द्रुक खाइयो । घर÷खेती चलाउन धान÷परालको भारी पनि बोकियो । गाउँले भइयो । सहर बस्न मन लाग्यो । अनि नेपाली सेनाको अधिकृत बनेर जर्नेल पनि बनियो । पढे÷लेखेर म ठूलै विद्वान् पनि बनेको छु रे ! अब त सहरिया भइसकियो । ती सबै कुरा मलाई मेरा माता–पिता र यही नेपालको माटोले दिएका हुन् । तर मैले सोचेर ल्याउँदा देशलाई केही दिएको देखिन ।  यो देश विद्वान् कर्मचारी, विद्वान् नेता, विद्वान् नागरिक समाज, विद्वान् व्यापारी र विद्वान् लेखकले नै बिगारेका हुन्, खाएका हुन् । लाटा, सोझा, गरिब जनता त करमात्र तिर्ने हुन् । अझै पनि मलाई धनी हुन मन छ, राजनीतिक दलको झण्डा बोकेर दलाल हुने मन छ, सल्लाहाकार हुन मन छ, अनि पैसा तिरेरै भए पनि पाए समानुपातिक सांसद, नभए पनि राजदूत हुन मन छ । अझै त्यतिमात्र होइन, यो नेपाललाई ‘यस्तो जाबो नेपाल’ भनेर गाली गर्दै अमेरिका बस्ने मन छ । त्यहाँ बसेर नेपालको बेइज्जत गरेर आइएनजिओबाट पैसा असुल्ने मन छ । वास्तवमा म जस्ता विद्यावारिधि गरेर डाक्टर लेख्ने विद्वान् भनाउदाहरू अरु पनि यस्तै पो हुन् कि जस्तो लाग्छ । म एउटा राष्ट्रघाती नभएर राष्ट्रवादी हुनै सक्तिन । राष्ट्रवाद भनेको मनभित्र बस्ने विश्वास हो जुन मसँग छैन जस्तो लागेको छ । त्यसपछि मैले अरु प्राज्ञ, विज्ञ, विद्यावारिधि डाक्टरहरुलाई पनि हेरेँ । सबैभन्दा पहिला २०४६ सालपछि नेपालमा प्रजातन्त्र पुनः आएपछि नेपाली कांग्रेसबाट अर्थमन्त्री भएका डा.साबलाई सम्झेँ । उनले आफूलाई ‘हाइब्रिड डेमोक्र्याट’ र ‘एक्सिलेन्ट इकोनोमिस्ट’ प्रमाणित गर्न एउटा छिमेकीको इसारामा अर्को छिमेकीले बनाइदिएका भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धी इँटा टायल कारखाना, हेटौंडा कपडा उद्योग, तत्कालीन शाही नेपाल वायुसेवा निगमलगायत थुप्रै उद्योग ध्वस्त पारे । करिब ४ लाख नेपाली रोजगारी स्वाहा बनाए । हाल नेपाली चौकीदार, कामदार, पहरेदार, बेश्यादार बनेर खाडी मुलुक, मलेसिया, भारत जाने सु–अवसर दिलाए । दिनैपिच्छे नेपालीको लास बाक्साका बाक्सा नेपाल ल्याउने सु–अवसर मिलाए । अनि फूर्तिले कुर्लिन्छन् डा.साब– ‘हामीले अर्बौंं अर्ब रेमिट्यान्स नेपाल भित्र्याएका छौं ।’ शायद कम पढेका अर्थमन्त्री बनेका भए माथिका काम गर्ने बुद्धि पुग्दैन थियो होला । त्यो सफलता विद्यावारिधि गरेरै प्राप्त भएको हो ।    त्यसपछि सम्झेँ, गोर्खाबाट पढेर, प्रवेशिका परीक्षामा बोर्ड फस्ट भएका र अर्थमन्त्री र प्रधानमन्त्री भएका डा.साबलाई । बाल्यकालबाट नै उनलाई पोसिलो र तागतिलो बनाउने जुस गोर्खा स्कुलबाटै क्रिस्चियन म्याडम÷सरले खुवाएका रहेछन् भने हट्टाकट्टा र मर्द बनाउने खुराकी जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) ले दिलाएको रहेछ । त्यसै कारणले होला उनका शरीरमा एक मुठी पनि नेपाली रगत होला जस्तो लागेन । माओवादी जनयुद्धका नाममा हजारौं हजार बध गराए, अर्बौं खर्बौंको नेपाली धन ध्वस्त पारे, नेपालमा सिंह बन्छु भन्ने सपना बोकेको माओवादी पार्टीलाई उनैको बलबाहुले भारतीय मुसा बनाए । के के गरेनन् ? हजारौं जिब्रा भएका शेष नागले पनि वर्णन गर्न सक्तैनन् । सबैभन्दा ठूलो गुण उनमा ‘एउटा सिंगो नेपाल’ देख्नै नसक्ने बुद्धि बढेको छ । जसरी भए पनि लालसलाम गरेर, धोती कुर्ता लगाएर, नयाँ दल खोलेर, भारतीय एसडी मुनीको परम भक्त बनेर छेपाराले जस्तो रंग बदली बदली उनको सपना भनेको यो नेपाललाई सकेसम्म छिमेकी राज्यमै मिलाउने र त्यसको मुख्य मन्त्री बन्ने, नभए पनि फेरि बाइसे चौबीसे नेपाल बनाउने । केही लागेन भने नेपालको समथर भागलाई ‘एक मधेस, एक प्रदेश’ बनाइ क्रिमियारूपी भेटी छिमेकीलाई चढाउने । क्रिस्चियन विरोधी बडामहाराज पृथ्वीनारायणले एकीकरण गरेका र छिमेकीले एक आँखाले देख्न नचाहेका राजा महेन्द्रको राष्ट्रवादले जोगाएको नेपाललाई उनले सिंगो देख्न नचाहनु कुनै आश्चर्य छैन । यो पनि म जस्तै डा.साब भएकाले त्यस्तै बुद्धि बढेको हो ।    फेरि अर्का डा.साब जो त्रिभुवन विश्वविद्यालयमा पढाएर, शेरबहादुर देउवालगायतका गुरु बनेका, भारतमा नेपाली राजदूत भइसकेका, प्राज्ञ, विज्ञ, विद्वान् जे भनेर पनि साध्य छैन उनलाई । त्यस्ता व्यक्तिमा जहिले पनि छिमेकीको समर्थनका लागि प्राज्ञ, विज्ञ, विद्यार्थी, कार्यकर्ता तयार गर्ने, छिमेकमा छात्रवृत्ति दिलाउने र नेपाली सेनालगायतका संस्थाविरुद्धमा अंग्रेजी भाषामा पुस्तक लेख्न लगाइ नेपालकै प्रधानमन्त्रीबाट पुस्तक विमोचन गराउँछन् । विदेशीको नूनको भारा तिर्न नेपाली सेना र नेपाल विरोधी पुस्तक जति विदेशी पैसाका लागि अंग्रेजीमै लेखिन्छ । नेपालको कल्याणका लागि बोल्न र लेख्न लाज मान्छन् । शायद उनको मृत्युपछि उनको सालिक पनि छिमेकमा नै ठडिन्छ होला ? म जस्तै डा. भएकाले यस्तो हुन गएको हो । थोरै पढेका नेपालीलाई न छिमेकले पत्याउँछ न विदेशी दूताबासले नै पत्याउँछ । जे छ डा.साब भनाउदाहरूमै छ ।    सबैभन्दा अचम्म त, काठमाडौं जिल्लाबाट निर्वाचित र नेपाली कांग्रेसबाट नेपालका सभामुख भएका र अर्कोचाहिँ ‘भिन्तुना’ संस्थाबाट उपत्यकाका नेवार समुदायलाई प्रयोग गरी नेता र अन्ततः मन्त्रीसमेत भइसकेका त्यस्ता नेपालका विद्वान् दुवैलाई मर्ने बेलामा पनि ‘मेरो नेपाल’ भनेर ‘नेपाल’ को नाम लिन एलर्जी भएको देख्दा मैले राष्ट्रघात गर्न खोजको ठीकैजस्तो लाग्छ । पूर्वसभामुख र पूर्वभिन्तुना नेताजीलाई युरो र डलरले अहिले नि बेरेकै छ जस्तो लाग्छ । मानव अधिकार, के के अधिकारका नाममा नेपाली–नेपालीबीच चुच्चे, थेप्चे, नेप्टे, चेप्टे, काले, गोरे, मधेसी, पहाडे, महिला, पुरुष, आदिवासी, नयाँबासी बनाएर रगतको खोलो बगाउने अनि नेपाललाई बाइसे–चौबीसे राज्य बनाउनकै लागि दिलोज्यान दिने उनीहरूलाई भ्याटिकनबाट पोपले आशीर्वाद दिएर अर्को जन्ममा भ्याटिकनकै पास्टर बन्नेछन् भन्ने विश्वासमा छु । नेपालमा कानुन नपढेका, थोरै पढेका, मानव अधिकार नजानेका र जातीय कुरा नउचाल्नेहरूलाई पश्चिम युरो र डलरले पत्याउँदैन । म जस्तै विद्वान् भएर त्यसो गरेकामा आश्चर्य लाग्दैन । म जस्तै डा. ले नै हो, पैसा पाएपछि ‘म जन्म दिने आमालाई पनि बेच्न सक्छु, मलाई पाप–धर्मले छुँदैन, पाप–धर्म त नपढेका र गरिब भोकालाई मात्र लाग्छ’ भन्ने ।    अर्कोतर्फ आफूलाई क्रान्तिकारी र स्वच्छ कलमजीवी विद्वान् ठान्ने र दैनिक पत्रिकामा स्तम्भकार भएर लेख्ने विद्वान् लेखकमध्ये कसैलाई पृथ्वीनारायण शाहलाई गाली नगरी तिनको कलमबाट ‘क’ सम्म लेखिँदैन भने कसैलाई ‘महेन्द्रीय राष्ट्रवाद’ लाई गाली गरेर तराई–मधेसका सोझा जनतालाई उचालेर, नभड्काई चित्तै बुझ्दैन । कलमको बिर्को खोल्नासाथ पहिलो शब्द ‘महेन्द्रीय राष्ट्रवाद लेख्नै पर्ने कुत्कुती म जस्तै विद्वान् भएर लागेको हो । त्यतिमात्र होइन, तराईलाई क्रिमिया बनाउन लागेकालगायत विद्वान्लाई विदेही मलजल रामै्र परेको छ । जगजाहेरै छ कि राजा पृथ्वीनारायणलाई गाली गर्दा कुन देशका पैसा झर्छन् र राजा महेन्द्रलाई गाली गर्दा कुन देशको पैसा बर्सन्छन् भन्ने । हो, यो पनि म जस्तै विद्वान् भनाउदाहरूबाट नै सम्भव छ । यो देशका राष्ट्रवादी भनाउदा मुर्खहरूलाई त्यस्ता पैसा बर्सन्नन् । बरु कुनै मित्रराष्ट्रको निगाहामा ती मुर्खको प्राण पखेरु उड्न सक्छ । त्यो भने सम्भव छ ।    अर्का विद्वा डा.साब हाल नेपालका परराष्ट्र मन्त्री बनेका छन् । भारतीय मौलो (भगवतीको स्वरूपको किलो) मा नेपालको परराष्ट्र नीति बाँधेर चीन पुग्छन् । अनि नेपालको परराष्ट्र नीतिको उधारो वकालत गर्छन् । उनलाई चीन देशको ‘च’ देख्न पनि एलर्जी हुन्छ । नेपालीका हितका लागि चीनले दिएका योजनामा सही नगरेर भाग्छन् । मन्त्री भएपछि झण्डै १० पटक ‘मौलो’ दर्शन गर्न पुगिसके । देशका सीमा मिचिँदा बोल्दैनन्, सीमामा नेपालीले गोली खाँदा हाँसेर बस्छन्, छिमेकीको प्रवक्ता र पहरेदार बनेर बसेका छन् । कालो धनमा नेपाली खाडीमा बेचिन्छन् । म जस्तै नकचरा डा. हरूको सक्कली स्वरूप देशभक्त नेपालीले देखिसकेका छन् । लाज पचेपछि यस्तै हुन्छ ।        पृथ्वीनारायणले कीर्तिपुरको हमलामा ‘नाक काटे’, किराती काटे, किपट खोसे, मधेस लुटे अनि बाहुनवाद, खसवाद, पहाडे राष्ट्रवाद तथा नेपाललाई फेरि बाइसे चौबीसे राज्य बनाउनुपर्छ भनेर शोध गर्ने र त्यसबाट विदेशी पैसा आर्जन गरी ठूला महल बनाउने र चिल्ला कार चढ्ने थकाली डा. गुरुङ, डा. मगर डा. लिम्बू, डा. बाहुन, डा. क्षत्री धेरै छन् । अनि नेपाली–नेपालीमा जाति–जनजाति–आदिबासी–नयाँबासीका जन्मदाता पनि उनीहरू नै छन् । यो देशमा बहुजाति र बहुभाषीबीच काटमार मच्चाउने पश्चिमाको रणनीति सबैलाई थाहा छ । त्यही पश्चिमाको ‘सद्भावना दूत’ भएका छन् म जस्तै डा.साबहरू । गरिब दलित, क्षत्री, मगर, बाहुन, राई, लिम्बू, यादव, नेवार, कुर्मी, दहित, थारू सबैका नाममा पश्चिमाको पैसा खाएर नवधनाढ्य बनेका म जस्तै डा.साबहरूलाई लाज लाग्दैन । म जस्तै विद्वान्कै कारण हो, नेपालभित्र जातीय नरसंहारको वीजारोपण हुने पनि । यो इतिहासदेखि नै भएको छ । किनकि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिमा पनि अंग्रेजी भाषा बुझ्ने, पढ्ने, बोल्ने र लेख्ने नेपाली एकमात्र भरपर्दो दूत तत्कालीन विद्वान् चन्द्रशेखर उपाध्यायले अंग्रेजको पैसा र जग्गा खाएर नेपाललाई धोका दिएकै हुन् । सन्धि गर्नुभन्दा अगाडि नै अंग्रेजले उनलाई हजारौं हेक्टर जमिन, एक कम्पनी भारतीय मूलका सुरक्षा गार्ड र ‘मजेस्टी अफ बिहार’ पद दिने गोप्य सम्झौता गरेका थिए । त्यसबापत चन्द्रशेखरले हाल तराईमा रहेका करोडौं हेक्टर नेपाली सम्म जमिन बृटिसलाई पारेर अंग्रेजीबाट मात्र सन्धिपत्र तयार गर्नुपर्ने थियो । त्यसै गरे । नेपाल दरबारलाई ठीक छ भने, नेपालका भारदारले अंग्रेजी बुझेनन् तर राष्ट्रघाती काम गरे । सन्धिपछि उनी नेपाल फर्केनन् । ‘मजेस्टी अफ बिहार’ भएर बसे । किनकि उनी पनि म जस्तै विद्वान् थिए । न त उनलाई पापले छुन सक्यो न राष्ट्रघातले नै दुखायो ।मलगायत माथिका केही उदाहरण प्रतिनिधि पात्रमात्र हुन् । यो देशलाई परदेश बनाइँदैछ । एउटा मीठो सत्य के हो भने बाइसे–चौबीसेलगायत करिब ५६ वटा जति साना राज्यमा विभक्त नेपाललाई वि.संं. १६१६ भाद्र महिनाबाट राजा द्रव्य शाहले एकीकरण गर्न सुरु गरी उनको सन्तति राजाहरूकै नेतृत्व र आमनेपालीको सहयोगबाट बृहत् नेपाल बन्यो । र, नेपाल–अंग्रेज युद्धपछि हालको नेपाल रह्यो । त्यस बखतका राजा र युद्ध नायकहरूले पढेकै थिएनन्, मानव अधिकार थाहा पाएका थिएनन्, एअर कन्डिसनमा बसेर लडाइँ लडेका होइनन्, डलर र युरो त कता हो कता ? ती अनपढ बिनाविद्यावारिधिका मुर्खहरूले नेपाल एकीकरण गरेर गल्ती गरेका हुन् । किनभने हालका विद्यावारिधिवाला विद्वान् र मानव अधिकारका केही विज्ञलाई यो नेपाल फेरि टुक्राटुक्रा पार्न धौ धौ परेको छ । भारु, युरो, डलरको खोलो बगाउँदा पनि यो नेपाल भन्ने देश अझै सिंगै छ । नेपाल एकीकरण गर्ने अनपढहरूले गल्ती गरेकै हुन् । केही वर्ष कुरौँ, नेपालीले नेपाल भन्ने देश कि त भित्तामा झुन्डिएको नक्सामा, किचाहिँ इतिहासमा मात्र पाउनुहुनेछ । जमिनमा नेपाल नरहन पनि सक्छ । म जस्ता विद्वान्लाई यस्तो सानो र गरिब देशको के काम ? बरु नेपाललाई छिमेकतिरै गाभेर मलाई त विशाल छिमेकीकै नाम मन पर्छ, दाम मन पर्छ, माम मन पर्छ ।    अन्त्यमा, यो देश विद्वान् कर्मचारी, विद्वान् नेता, विद्वान् नागरिक समाज, विद्वान् व्यापारी र विद्वान् लेखकले नै बिगारेका हुन्, खाएका हुन् । लाटा, सोझा, गरिब जनता त करमात्र तिर्ने हुन् । मैले सपना देखेको छु कि राष्ट्रघाती बनाउने मेरो विद्यावारिधि मेटियोस्, च्यातियोस्, बरु मलाई फेरि अनपढ पृथ्वीनारायण शाह, राम शाह, बहादुर शाह, कालु पाँडे, शिवरामसिंह बस्न्यात, भक्ति थापा, अमरसिंह थापा, बीसे नगर्ची जस्तै सिंगो नेपाल, एउटा नेपालको मात्र कल्पना गर्ने त्यसका लागि मर्ने खाँटी नेपाली बनाइदेउ । यही नेपालको माया जागोस्, म मरेपछि यही नेपालको माटोले पुरियोस् । मेरो लासबाट जन्मने कीरा÷फट्ङग्राले नेपाल टुक्रा पार्ने मुर्ख प्राज्ञ, विज्ञ र डाक्टरसाबहरूलाई टोकोस्, तिनलाई दुःख देओस् । तर यो नेपालले परिवर्तन चाहेको छ । यो अवश्य पनि हुनेछ । विदेशीका धनमा नबिकेका राष्ट्रवादी नयाँ पुस्ताबाट यो नेपालको भविष्य सुन्दर बन्नेछ । जय नेपाल ।

_____ · Apr 30, 2017 7:27 PM · 2,453 views

1 Reply

Good satire.

magorkhe1 · May 1, 2017 9:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all