https://www.youtube.com/watch?... 'विनर' बन्न १० लाख, 'रनरअप'लाई अलि कम, कति दिने? आयोजकले यसरी गरे बार्गेनिङ (पहिलोपोस्ट एक्सक्लुसिभ) सविन ढकाल/पहिलोपोस्ट 9th April 2017 | २७ चैत्र २०७३ काठमाडौँ : देशमा अनेकौँ नाममा रियालिटी सो, मोडलिङ र सौन्दर्य प्रतियोगिता हुने गरेका छन्। तर यस्ता प्रतियोगिता बाहिरबाट हेरे जस्तो सुन्दरमात्र हुँदैनन्, भित्र लुकेको हुन्छ कुरुप पक्ष - जुन आज हामी खुलासा गर्दैछौँ। लन्डनमा आयोजना हुने फेस अफ दि वर्ल्ड प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्ने एक पुरुष मोडल र एक महिला मोडलको छनौट प्रतियोगिता- फेस अफ दि वर्ल्ड नेपाल। यसलाई नेपालकै पहिलो इन्टरन्यासनल मोडलिङ ब्याटल भएको दावीसमेत गरिएको थियो। विभिन्न सहरमा अडिसन र काठमाडौँको हयाट होटलमा ग्रान्ड फिनालेको चर्चाले एक व्यापारीको छोरालाई पनि तान्यो। परिवारसित दाम त थियो नै, ग्ल्यामरको रङ्गीन संसारबाट नाम पनि होस् भन्ने चाहन्थे उनी। उनलाई सुरुमै १८ हजार रुपैयाँ मागियो। यो प्रतियोगिताको फाराम भर्न लाग्ने शुल्क थियो। मोडल बन्ने सपनाको अगाडि त्यति रुपैयाँ ठूलो भएन। 'आयोजकले लन्डनबाट निर्णायकहरु आउनुहुन्छ भनेपछि अति नै राम्रो र फेयर कम्पिटिसनमा भाग लिएछु जस्तो लागेको थियो,' नाम खुलाउन नचाहने उनले पहिलोपोस्टलाई बताए। तर उनको सपनाको उडानमा त्यतिबेला धक्का लाग्यो, जब टप टेनमा नपुग्दै आयोजकले उपाधिको लोभ देखाउँदै बार्गेनिङ शुरु गरे। विजेता बन्ने भए सुरुमै आधा पैसा बुझाउनु पर्ने, विजेता बने र्याम्प शो गरेरै मासिक ५० हजार कमाउने आशासमेत उनलाई देखाइयो। मुख्य उपाधिबाहेक अरु विभिन्न टाइटल पनि पैसा तिरेर पाउन सकिने उनलाई बताइयो। प्रतियोगिता बेस्ट ट्यालेन्ट, बेस्ट एडिटोरियल, बेस्ट ड्रेस, बेस्ट रनवे, बेस्ट क्याटवाक, बेस्ट डिसिप्लेन, बेस्ट पर्सनालिटी, बेस्ट हेयर, फोटोजेनिक, बेस्ट फिजिक्स, बेस्ट फिगर, बेस्ट स्विमसुट तथा भ्युअर्स च्वाइस अवार्ड बाँडिएको थियो आफूलाई फेस अफ दि वर्ल्ड नेपालको कन्ट्री डाइरेक्टरका रुपमा चिनाउने वीरगञ्ज घर भएका पियुष कर्णले हिन्दी भाषामा प्रतियोगीसँग पैसाको बार्गेनिङ गर्दै गरेको अडियो पहिलोपोस्टलाई प्राप्त भएको छ। यसरी भएको छ बार्गेनिङ (अडियोको प्रमुख अंशको भावानुवाद) पियुष - तिमी भोटिङबाट टप सेभेनमा त आउन सक्छौ, तर तिम्रो आइक्यु एकदम कमजोर छ। टप फाइभमा आउने चान्स छैन। पहिले नै कन्डिसन बताएको छु। सहभागी- पैसा धेरै नै भयो। पियुष- कति भनेको छ? सहभागी- ७ देखि ८ लाख भनेको छ। पियुष- अँ.... । हेर, विनर बन्नको लागि कम्तिमा ८ देखि १० लाख लाग्छ। विजेता बन्न जसले पनि १० लाख दिन तयार हुन्छन्। फस्ट रनर अपको लागि अलिक कम, त्यसपछि सेकेन्ड रनर अपको लागि अझै कम लाग्ने हो। तिमी भन कहाँसम्म जाने हो, म त्यही अनुसार मिलाउँछु। प्रश्न-उत्तर राउन्डमा प्रश्न उपलब्ध गराउँछु जसले तिम्रो आइक्यु राम्रो हुन्छ। तिमी के चाहन्छौ, मलाई १२ बजेसम्म जानकारी गराऊ। सहभागी - पूरा पैसा अहिले दिन जरुरी छ कि पछि? पियुष- हैन, ५० प्रतिशत पैसा अहिले नै दिनुपर्छ। पहिले तिमी कति दिने हो, त्यसमा डिल गर। म नाम भन्दिनँ, तर अरुले साढे ६ लाख - साढे ६ लाख दिइसकेका छन्। उनीहरुले बार्गेनिङ गरेर यति मिलाए। सहभागी – तर मसित पैसा छैन अहिले। पियुष - तिमी यहाँबाट राम्रो मोडल बनेर जाँदैछौ। तिमी यहाँबाट गएपछि र्या म्प शो गरेर महिनाको ५० हजारसम्म कमाउछौं। काम पाइन्छ। मलाई हेर न, अहिले म कति काम गर्छु। तिमीलाई पछि अहिले दिएको भन्दा दोब्बर मिल्छ। सहभागी - सर, म ५० हजार, १ लाखसम्म व्यवस्था गर्न सक्छु। पियुष- ५० हजार? हुँदैन। साढे छ लाखको मामलामा म किन ५ देखि ६ लाख घाटा खानु? विजेताले पनि पुरस्कार पाएनन् यही प्रतियोगिताको महिलातर्फ भएको प्रतियोगितामा पनि आयोजकले पैसा लिएर विजेता बनाएको सहभागीहरुको आरोप छ। महिना दिन बितिसक्दा पनि विजेताले घोषणा गरिएको नगद पुरस्कार पाएका छैनन्। रनर अप घोषित पिङ्की जोशीले अहिलेसम्म आफूले पाउनु पर्ने नगद २५ हजार नपाएको बताइन्। उनले भनिन्, 'आज दिन्छु, भोलि दिन्छु भन्दै सँधै झुक्याएको झुक्यायै छ।'के भन्छन् आयोजक? प्रतियोगिताका नेसनल डाइरेक्टर पियुष हाम्रो सम्पर्कमा आए पनि उनले कार्यक्रमको बारेमा बोल्न चाहेनन् र आफ्नो म्यानेजरलाई सम्पर्क गर्न भने। आफूलाई म्यानेजर बताउने नरेश पाडिकले पैसा लिएर विजेता नबनाएको दावी गरे, तर विजेताको पुरस्कार रकम भने अहिलेसम्म नदिएको स्वीकार गरे। उनको स्पष्टीकरण थियो, 'कार्यक्रममा विवाद भएपछि पुरस्कार रकम नदिएका हौं।' उनले कस्तो विवाद हो भन्ने चाहिँ खुलाएनन्। ‘प्रतिष्ठित’ भनिएको प्रतियोगिताको हालत फेस अफ दि वर्ल्डलाई विश्वकै प्रतिष्ठित प्रतियोगिता भन्ने दावी गरिए पनि यसको वेबसाइट faceoftheworld.info हेर्दा त्यस्तो लाग्दैन। वेबसाइटमा प्रतियोगिताको आयोजक र पहिले भएका प्रतियोगिताबारे जानकारीसम्म राखिएको छैन। त्यस्तै प्रतियोगितामा सहभागी हुन नाम, मोबाइल नम्बर, बढीमा तीन वटा फोटो, देश र राष्ट्रियता उल्लेख गरी इमेल गरे पुग्ने क्राइटेरिया राखिएको छ। विश्वका कुनै पनि प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने क्राइटेरिया यस्तो खालको हुँदैन। प्रतिष्ठित भनिएको प्रतियोगिताको प्रतिष्ठित मिडियाहरुले छापेको समाचार गुगल गर्दा पनि भेट्टाइन्न। नेपालमा प्रतियोगिताका आयोजकहरुको एउटा कार्यालयसम्म छैन, कोठाबाट नै सबै काम हुने गरेका छन्। म्यानेजर नरेशले विस्तारै कार्यालय खोजिने बताए। http://www.pahilopost.com/cont... Last edited: 10-Apr-17 10:47 AM
ktmpost · Apr 10, 2017 10:47 AM · 1,683 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion