पृथ्वीनारायणले ल्‍याएका सेखका सन्तति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पृथ्वीनारायणले ल्‍याएका सेखका सन्तति  सुजित मैनाली शनिवार, चैत १२, २०७३  0 43011 पटक पढिएको समाज सरकारले आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती (पुस २७)मा सार्वजनिक बिदा घोषणा गरेको अपुष्ट हल्ला सुनेपछि बागबजारका स्थायी बासिन्दा इम्त्याज उद्दिन सेख उत्साही भए। भने, 'नेपाल बनाउने व्यक्तिको सम्मानमा दिइने बिदा काट्नै हुँदैनथ्यो, नेपाल रहे न हामी नेपाली रहन्छौं!' इम्त्याजको परिवार पहाडी भेगमा बस्न थालेको लामै समय भइसक्यो। पहाडफेदका स्वधर्मी समुदायप्रति पनि हितैषी भावना छ। तर, त्यतापट्टि पारिवारिक सम्बन्धै गाँस्नचाहिँ अलि संकोचै मान्छन् उनीहरू। 'उताका मुसलमानसँग हाम्रो धर्म मिल्छ, संस्कृति मिल्दैन। फेरि उतातिर बिहेमा तिलक दिनुपर्ने बाध्यता छ जुन पहाडमा छैन', उनले कारण खोले। बरु, पहाडका अन्य समुदायसँग वैवाहिक सम्बन्ध गाँसेको छ इम्त्याज- परिवारले। उनका काका खलिल उद्दिनले डोटीकी ठकुरी युवतीसँग जोडी कसे, झन्डै ५० वर्षअघि। भतिजाले पनि लामाकी छोरी भित्र्याएको केही वर्षमात्र भयो। यस अर्थमा उनको परिवार 'हिन्दु शुद्धतावादी' र समुदायबीचको सद्भावका हरेक तन्तु चुँडाल्न खोज्ने 'क्रान्तिकारी'का निम्ति चोटिलो जवाफ हो। काठमाडौं, गोरखा, लमजुङ, स्याङ्जा, अर्घाखाँची आदि पहाडी भेगमा पहाडी मुसलमानको बसोबासको इतिहास निकै लामो छ। इम्त्याजको परिवारले त्यसबाट पनि बढेर राष्ट्रियताका सवालमा अझ गहिरो सार्वजनिक महत्व राख्छ।०००भारतको हिन्दु चरमपन्थी संगठन राष्ट्रिय स्वयंसेवकका कतिपय नेपाली प्यादा पनि पृथ्वीनारायण शाहलाई देखिसहँदैनन्। पशुपति, मानसरोवरजस्ता हिन्दु तीर्थस्थल भएको देशमा पृथ्वीनारायणले मुसलमान भित्र्याएकोमा रोष छ, उनीहरूलाई। सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपालपुरी (नेपाल)का नामले चिनिएको यस भूगोलको (डा. जगमान गुरुङ, मिलनबिन्दु-२०७०, पृ. १-९) तथाकथित प्राचीन शुद्धतालाई 'कलुषित' गर्ने गरी नेपालमा मुसलमान भित्र्याएको र फैलाएको ठान्ने हिन्दू धर्मान्धले पृथ्वीनारायणको कदमलाई त्रुटिपूर्ण देख्छ नै। त्यसमाथि दक्षिणी सीमाका मुसलमानले नेपाल निल्ने उसको ध्येय निरन्तर विफल पारिरहेका छन्। पहाडी मुसलमानले नेपालको फौजी सामथ्र्य अभिवृद्धि गर्न पृथ्वीनारायणको पालादेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। इम्त्याज परिवारले तिनै पृथ्वीनारायणकालीन गौरवगाथासँग साइनो राख्छ।०००नरभूपाल शाहको गोरखा दरबारका पुरोहित भानु जोशीले भारतको सीमावर्ती सहर गोरखपुरनिवासी ठाकुर दयारामसिंह (मधेसी राजपुत)की छोरी पृथ्वीनारायणका लागि योग्य वधू रहेको निक्र्योल गरे। आमा चन्द्रप्रभालाई पनि जोशीको कुरा जँच्यो। आमा र पुरोहितको छनोटमा पृथ्वीनारायणले नाइँनास्ती गरेनन्। अन्ततः अहिलेका मधेसीको भिनाजु बन्ने गरी उनले राजपुतकन्या नरेन्द्रलक्ष्मी (बिहेपछि परिवर्तित नाम) लाई दोस्रो पत्नी बनाए। मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग पृथ्वीनारायणले त्यसअघि नै विवाह गरेका थिए। तर, ससुरालीसँग मनमुटाव परेका कारण जेठी श्रीमती मकवानपुरतिरै बस्दै आएकी हुनाले पृथ्वीनारायणले आफूसँग गद्दीमा बस्ने पटरानी पनि नरेन्द्रलक्ष्मीलाई तोके। महाभारत डाँडाको उत्तर फैलिएका राज्यका कुनै पनि राजा र राजकुमारले मैदानका स्त्रीसँग बिहे नगर्ने चलनलाई खारेज गरेर पृथ्वीनारायणले सामाजिक क्रान्ति गरे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. ९२-९७, १०७, ११३)। राज्याभिषेकपछि पहाडी राजाले कार्यकाल सफलताको कामना गर्दै बनारस गएर पूजा गर्ने चलन थियो, त्यति बेला। पृथ्वीनारायण पनि गए। उनले गोरखा वरपरका राज्य विजय गर्ने सपना देखिसकेकै थिए। त्यही उद्देश्यमा यो यात्रालाई 'पशुपतिनाथको यात्रा, सिद्राको व्यापार' बनाउन चाहे। बनारसमा हिन्दु आराध्यदेवको पूजाअर्चनापछि उनी गोरखाको फौजी सामथ्र्य अभिवृद्धि गर्न हातहतियार खरिदपट्टि लागे। विजय अभियान टुंगोमा पुर्‍याउन धेरैभन्दा धेरै बन्दुक आवश्यक रहेको उनले बुझिसकेका थिए। किनकि गोरखाका कतिपय छिमेकी देशले बन्दुक चलाउन थालिसकेका थिए। त्यति बेला एउटै बन्दुकलाई ६० रुपैयाँजति पथ्र्यो, जुन गोरखाजस्तो गरिब देशका लागि चानचुने रकम थिएन। उनले केही थानमात्रै खरिद गर्न सके (बाबुराम आचार्य, पृ. ११७-११८)। गोरखाली फौजका निम्ति बन्दुक नितान्त नौलो हतियार थियो। उनीहरूलाई बन्दुक चलाउन तालिम दिनुपथ्र्यो। यसका लागि बन्दुकको मर्मतसम्भार, एसेम्बलिङ, निर्माण आदिमा पारंगत व्यक्तिको खाँचो थियो। त्यही खाँचो पूरा गर्न उनले लखनउबाट तीन मुसलमानलाई साथ लिएर नेपाल आए। ती तीन मुसलमान थिए— शेख जरबार, महोमद ताकी र भेसा सिंह (दिव्योपदेश, नेपाल ल कमिसन, पृ. ८)। पृथ्वीनारायणसँग नेपाल आएका तिनै शेर जरबारका सन्तति हुन्, इम्त्याज।०००गोरखाली पल्टनलाई तालिम दिने र हतियार मर्मत, एसेम्बलिङलगायत काममा खट्ने गरी ती तीन मुसलमानलाई गोरखाली पल्टनमै भर्ती गरियो। उनीहरूलाई पल्टनको माथिल्लो पद एड्जुटेन्ट दिइएको थियो (प्रेमसिंह बस्न्यात, शाही नेपाली सेना र प्रधानसेनापतिहरू, पृ. ४)। यिनीहरूले गोरखाका तर्फबाट विभिन्न युद्धमा भागसमेत लिए। गोरखाली सेनामा उनीहरूको भर्तीपछि 'सब-कम्ब्याट' र वाण, घुँएत्रो आदि प्रयोग गरिने 'मिसाइल कम्ब्याट' आधारित परम्परागत ढाँचाको युद्धशैली बदलिँदै गयो र गोरखाली फौज आधुनिक बन्दै गयो (तुलसीराम वैद्य र अन्य, नेपालको सैनिक इतिहास: भाग २, पृ. ५४९)। यसरी नेपाल निर्माण गर्ने गोरखाली फौजलाई आधुनिक बनाउनमा लखनउबाट आएका मुसलमानको ठूलो हात रहन गयो। काठमाडौं अन्तर्गतको नुवाकोट विजय गरेपछि पृथ्वीनारायणले त्यहाँ शस्त्र कारखाना खोले। त्यति बेला बन्दुकलाई आवश्यक पार्टपुर्जा, गोली आदि युरोपेली कालिगढले तयार पार्थे। यस्ता सामग्री भारतीय बजारबाट खरिद गर्नुपर्थ्यो। त्यसका लागि पृथ्वीनारायण सेख जरबारलाई भारत पठाउँथे। बन्दुकको कुन्दाचाहिँ नुवाकोटमै बन्थ्यो। बन्दुक गोर्खालीका निम्ति नौलो भएकाले यसको निर्माण तथा प्रयोगमा उनीहरूले सुरुमा त्यति रुचि देखाएनन्। त्यसैले बन्दुक एसेम्बलिङ, मर्मत तथा युद्धमा यसलाई प्रयोग गर्ने काम पनि आरम्भमा मुसलमान सैनिककै काँधमा आइलागेजस्तो देखिन्छ। महोमद ताकीले विसं १८४५ मा भएको नेपाल-भोट युद्धमा लडेका थिए (बाबुराम आचार्य, पृ. ४९२-४९३)। ०००पृथ्वीनारायणले काठमाडौं उपत्यका विजय गर्न खोज्दा कलकत्तास्थित इस्ट इन्डिया कम्पनीले काठमाडौंका राजा जयप्रकाश मल्ललाई सघाउन क्याप्टेन किनलकको नेतृत्वमा एन्साइन हार्डी (जसलाई पृथ्वीनारायणले 'दिव्यउपदेश'मा हाँडिसाब भनेका छन्) सहितको फौज पठायो। तर, सिन्धुलीछेउ पौवागडीमा गोरखाली सेनाले ब्रिटिस सेनाको लामलाई बडो कुशलतासाथ चिरेर दुई भागमा विभाजित गरिदियो। विभाजित ब्रिटिस सैनिकमाथि गोरखाली सैनिकले अकस्मात् धावा बोलेपछि ब्रिटिस सैनिकहरू हतियारै छाडेर टाप कसे। गोरखाले ब्रिटिस सेनाका ४००-५०० बन्दुक कब्जा गर्‍यो (दिनेशराज पन्त, नेपाली सेनाको इतिहास, सं. कमलराज सिंह राठौर, पृ. १०)। यसअघि गोरखा सेनाले बंगालका नवाब मिर कासिमको फौजलाई पनि धुलो चटाइसकेको थियो। त्यति बेला मकवानपुरका सेन राजाले मकवानपुरअन्तर्गत पर्ने तराई भूभागको आयमध्येबाट भारतका मुगल सम्राट्लाई तिरो बुझाउने गर्थे। यस्तो चलन मुगल सम्राट् औरंगजेबको पालादेखि नै चलेको थियो। यद्यपि ती क्षेत्रमाथिको सार्वभौमसत्ताचाहिँ सेन राज्यहरूमै निहित थियो। गोरखाली फौजले मकवानपुर राज्य विजय गरेपछि त्यहाँका राजा दिग्बन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँले गुहार माग्दै बंगालका नवाब मिर कासिमकहाँ सन्देश पुर्‍याए। राष्ट्रघातीका रूपमा कुख्यात मिर जाफरका छोरा हुन्, मिर कासिम। मिर जाफर बंगाली सेनाका कमान्डर थिए। उनी सुरो भएकाले बंगालका नवाबले उनलाई बंगालमार्फत भारत छिर्न खोज्ने ब्रिटिससँगको युद्धमोर्चामा खटाए। सैनिक संख्या र आवश्यक सामग्रीको आपूर्तिका हिसाबले बंगाली सेना ब्रिटिस सेनाभन्दा सुदृढ भएकाले युद्धमा बंगालको पल्ला भारी हुने पक्का थियो। त्यत्तिकैमा ब्रिटिसले मिर जाफरलाई बेलायतको पक्ष लिएर बंगालको नवाब बन्ने प्रस्ताव राखे, जसलाई उनले सहजै स्वीकार गरे। पछि ब्रिटिसहरूसँग मनमुटाव भएपछि मिर जाफरले भारतमा प्रभाव विस्तार गर्न खोजिरहेको डच साम्राज्यसँग हिमचिम बढाउन खोजे। यसको भेउ पाएपछि ब्रिटेनले पहिले डचलाई हरायो र मिर जाफरलाई गद्दीबाट हटाएर छोरा मिर कासिमलाई नवाब बनायो। यसरी विदेशीको फेरो समातेर गद्दीमा आएको एउटा देशद्रोहीलाई अर्को देशद्रोहीले अपदस्थ गरिदियो। पछि गएर मिर कासिमसँग पनि अंग्रेजको मनमुटाव बढ्दै गयो। अंग्रेजविरुद्ध लड्न मिर कासिमलाई रणनीतिक महत्वको पहाडी भूभागमाथि आधिपत्य जमाउन आवश्य थियो। यस्तैमा सहयोगका लागि मकवानपुरका राजाले याचना गरेपछि मौकाको फाइदा उठाउन मिर कासिमले गोरखालीलाई मकवानपुरबाट लखेट्ने गरी सेनापति गुरगिन खाँको नेतृत्वमा सेना पठाए। तर, मिर कासिमको फौज गोरखालीबाट उल्टै लखेटियो। त्यस युद्धमा गोरखाली फौजले दुईवटा तोप र ४००-५०० वटा बन्दुक पनि खोस्यो (दिनेशराज पन्त, सं. कमलराज सिंह राठौर, पृ. ९)। कब्जामा लिइएका यी हतियार चलाउन पनि तिनै तीन मुसलमानले गोरखाली सैनिकलाई तालिम दिए। त्यही तालिम नेपाल राष्ट्रलाई विशाल बनाउने अभियानमा मूल्यवान् सिद्ध हुन पुग्यो। ०००मुसलमानलाई सैन्य विशेषज्ञका रूपमा राख्ने क्रम पृथ्वीनारायणको निधनपछि पनि जारी रह्यो। बहादुर शाहको प्रशासनमा नेपाली सेनामा मिर नजर अलीलाई मासिक २५ रुपैयाँ तलब दिएर राखिएको थियो। उनी धनुकाँड चलाउने मोर्चामा थिए। त्यति बेला नेपाली सेनाका निम्ति धनुकाँड चलाउने र बनाउने काममा १० जना मुसलमान, चारजना पञ्जाबी हिन्दु र एक सिख पनि थिए (बाबुराम आचार्य, पृ. ५००)। रणबहादुर शाहको पालामा विसं १८५० मा मसेदिल नामका मुसलमानलाई महिनावारी ५०१ रुपैयाँ तलब दिएर राखिएको थियो। नेपाली पल्टनलाई तालिम दिने जिम्मेवारी पाएका उनलाई फौजमा सर्दारी मान दिइएको थियो। सैनिकलाई तोप, बम आदि प्रहार गर्नेलगायत सम्पूर्ण तालिम दिने जिम्मा उनैको थियो। शस्त्र कारखानाको समग्र व्यवस्थापन पनि उनैले हेर्ने गर्थे। (दिनेशराज पन्त, सं. कमलराज सिंह राठौर, पृ. ४५)। शेर जरबारले गोर्खाली सेनामा आकर्षक ओहदा र सेवासुविधा पाएका थिए। पृथ्वीनारायणले विजय अभियान अघि बढाउन आर्थिक अभाव भएपछि रैकर जमिन रजबन्धकी राखी पैसा उठाउनु परेको थियो। सन् १८१२ मा उनै जरबारले रैकर जग्गा रजबन्धकी राखेर १८ सय एक रुपैयाँ राज्यलाई दिएका थिए (बाबुराम आचार्य, पृ. ४६४)। यसले नेपालमा सेखको आर्थिक हैसियत सबल रहेको देखाउँछ। जरबारको मृत्युपछि उनका सन्ततिले पनि सेनामा भर्ती भएर नेपालको फौजी सामथ्र्य बढाउन योगदान पुर्‍याए। जरबारका छोरा जाबर बक्स, जाबरका छोरा कादर बक्स, कादरका छोरा अकबर सेख आदि नेपाली सेनाको फौजी तथा आतसबाजी बनाउने मोर्चामा क्रियाशील भए। र, यो क्रम बागबजारका इम्तियाजसम्म आइपुग्दा पनि निरन्तर छ। नेपाली सेनाको टुँडिखेलमुनिको कोतखानामा खरदार छन्- इम्तियाज, अहिले।०००इम्तियाजका बाबु इजाजुद्दिन मियाँ नेपाली सेनाका लागि आतसवादी बनाउने विभागमा काम गर्थे। उनले २०३८ साल साउनमा अवकाश पाए। इजाजुद्दिनका चार छोरा इम्त्याज, ओसी उद्दिन सेख, रियाज उद्दिन सेख र सफी उद्दिन सेखमध्ये रियाजको निधन भइसकेको छ। इम्त्याजले नेपाली सेनाअन्तर्गत काम गरेर पुर्खाको बिँडो थामिरहेका छन्। बाँकी दुईमध्ये एकजना जागिरबाट निवृत्त भएर बसेका छन्। अर्का एकले काठमाडौंमा निजी छापाखाना सञ्चालन गरिरहेका छन्। सेखका सन्तान कादर बक्सलाई राज्यले गोकर्ण, भक्तपुर र काठमाडौंमा जग्गा थमाई जागिर दिएको थियो। जनरल भीमसेन थापाले सन् १८८७ मा कादरका छोरा अकबर सेख र उनका सन्तानका निम्ति काठमाडौं, पनौती, फूलबारी, भावरकोट आदिमा जग्गा दिइने व्यवहारको पत्रमा लालमोहर गरिदिएका थिए। यसबापत उनले नियमित जागिर गर्ने र आवश्यक पर्दा ठूलाबडाको सवारीमा जाने, सिकारी टोलीमा सामेल हुने, आवश्यक परे लडाइँमा जाने, सैनिकलाई कवाज सिकाउने, पहरामा रहेका चौकी निरीक्षण गर्ने आदि जिम्मेवारी पाएका थिए। अकबरका छोरा अजिम बक्स मियाँलाई जंगबहादुरले बाबुबाजेले भोगचलन गर्दै आएको खेत र जागिर थमौतीको लालमोहर गरिदिएका थिए। साथै कौसितोषखानाबाट मासिक एक सय २० रुपैयाँ तलब व्यवस्था गरिदिएका थिए। जंगबहादुरकै पालामा अजिमका छोरा जहागिर बक्सले पनि कौसितोषखानामा मासिक एक सय २० रुपैयाँको जागिर खाए। (यी कुराका आधार पंक्तिकारसँग रहेका लालमोहरका प्रतिलिपि हुन्।)०००मुसलमानलाई फौजमा सामेल गर्नेमात्र होइन, अन्य सवालमा पनि पृथ्वीनारायण मुसलमानप्रति सद्भाव राख्थे। गोरखाली व्यापार गर्न जान्ने जात होइन रहेछ भन्ने हेक्का उनलाई सन् १७४७ देखि १७५३ सम्म कुतीतर्फबाट हुने तिब्बतसँगको व्यापार आफ्ना हातमा लिएपछि अझ राम्रोसँग भएको थियो। गोरखालीबाट राम्ररी व्यापार हुन नसक्ने देखेपछि उनले हिन्दु सन्न्यासी र काश्मिरी मुसलमानलाई अघि सारेका थिए (बाबुराम आचार्य, पृ. २१४)। यसरी मुसलमान समुदायका व्यापारीले नेपालको जग स्थापना गर्न आवश्यक खर्च जोहो गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए। जब कि काश्मिरी मुसलमानहरू पृथ्वीनारायणभन्दा उनका बैरी जयप्रकाशसँग बढी निकट थिए। तिब्बत र भारतबीचको व्यापार काठमाडौं अन्तर्गतका भूभागमार्फत हुने भएकाले काश्मिरी मुसलमानले यहाँ व्यापारिक कोठी स्थापना गरेका थिए। पृथ्वीनारायणले काठमाडौं हमला गरेपछि काठमाडौंमा रहेका काश्मिरी मुसलमान व्यापारीमार्फत जयप्रकाशले आफ्ना तर्फबाट लड्न तथा आफ्ना सैनिकलाई तालिम दिन भनेर काश्मीर वरको काँगडाबाट डेढ सयजति नगरकोटी युवालाई काठमाडौं ल्याएका थिए (बाबुराम आचार्य, पृ. २५०)। काठमाडौंमाथि गोरखाले पुनः हमला गरेपछि ती नगरकोटीले गोरखाली फौजलाई आच्छुआच्छु पारेका थिए। यति हुँदाहुँदै पनि काठमाडौं सर गरेपछि पृथ्वीनारायणले नेपालमा रहेका काश्मिरी मुसलमानलाई सजाय दिएनन्। किनलकको फौज ल्याएर गोरखालाई काठमाडौंबाट धपाउन षड्यन्त्र बुन्ने काममा संलग्न काश्मिरी मुसलमानप्रति पनि उनले सद्भाव देखाए। यस्तै काममा संलग्न इसाई धर्म अँगालेका केही नेवार, युरोपका इसाई पादरीहरू र हिन्दु गोसाईंलाई देशनिकाला नै गरे। तर, काश्मिरी मुस्लिमलाई चाहिँ उनीहरूका व्यापारिक केन्द्रमाथि अनेक खालका प्रतिबन्ध लगाउने काममात्र गरे (लियो इ रोज, नेपाल: स्ट्राटेजी फर सर्भाइभल, पृ. २५)। कतिपय पश्चिमी विद्वान् र उनीहरूबाट प्रभावित नेपाली लेखकहरू पृथ्वीनारायणलाई हिन्दु धर्मान्ध भन्छन्। तर, बंगालका नवाब समसुद्धिनले काठमाडौंमा हमला गरेर पशुपतिनाथको मन्दिर तोडफोड गरी लुटपाट मच्चाएकोबारे जानकार हुँदाहुँदै पनि मुसलमानप्रति सद्भाव राखेर पृथ्वीनारायणले कुशल राजनीतिक चरित्र प्रदर्शन गरेको तथ्यलाई चाहिँ बेवास्ता गर्छन्। 'नेपालको किताप हेर्दा तुर्काना, मग्रात्, मुग्लाना हुन्या रहेछ र तुर्काना अघि भैगये छ' भनेर उनले तुर्क (मुसलमान) हरू नेपाल (काठमाडौं)सम्म आएको उल्लेख गरेका छन् (दिव्यउपदेश, पृ. ८)। अर्घाखाँचीका मुसलमानलाई अन्य समुदायका मानिसले 'तुर्काना' भनी अझै पनि यदाकदा जिस्क्याउने गर्छन् नै।०००मुसलमानप्रति नरम भए पनि काश्मिरी मुसलमानको सहयोगमा भित्रिएका नगरकोटीप्रति भने पृथ्वीनारायण कडा रूपमा प्रस्तुत भएका थिए। भक्तपुर रेखदेख गर्ने जिम्मा पाएका कालु कपर्दार काठमाडौं आउँदा उनलाई नगरकोटीहरूले घोडामाथिबाट जुत्तासितै सलाम गरेर अपमान गरेको भन्दै काठमाडौंमा नगरकोटीहरूलाई त्यतिखेर खोजीखोजी काटिएको थ

_____ · Mar 25, 2017 8:22 AM · 3,261 views

1 Reply

Great analysis, appreciate it.

adhikari_bandhu · Mar 27, 2017 7:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all