आँकको रुख

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Trying to come back home after long time , an old story, some may have read already but to the new readers ,please enjoy :) आँकको विरुवा उसका आँखा मलाई हेरीरहे जस्तो लाग्छ।मायाको परिभाषा त्यसैमा लेखे जस्तो लाग्छ।सत्य के हो त आखिर? उ वा मेरो परिधिभित्रको संसार? संसार वुझ्न आफ्नो परिधि वाहिर निस्किन सक्नुपर्छ,जान्नुपर्छ अरे। त्यसैले होला धेरै पछि म अँध्यारोवाट उज्यालोमा आएको छु। थोरै भए नि जीवन चिन्दैछु। मेरो लागि उ मात्र एउटा सत्य हो।वाँकी सवै मिथ्या,झुठ!!! "पण्डित जी केहि त उपाय होला !" मेरो आग्रह तोयानाथ बाजेले वुझे वुझेनन् थाहा छैन। तर उनको चित्त वुझ्नु आवश्यक छ । मेरो लागि, मेरो परिवारको लागि। तोयानाथ वाजे, उनले भनेको कुरा केहि पनि खेर जान्न।अस्ति मेरो काकाकी नातिनीको चिना वनाउन ल्याको।एक क्लासमा फर्स्ट भकी समेत भन्दे।मार्कशिट नै हेरे जस्तो! म र काका हेरेको हेर्यै भयौँ । कस्तो त्रिकालदर्शी काकाको मुख आँ को आँ नै रह्यो। "गाह्रो छ वावु !" उनले नाक खुम्च्याए। नाक भित्रको सेतो रौँ देखियो। आफ्नो छाति थोरै कन्ह्याए। उनको जनै , पहेँलो, पसिनाले हुनुपर्छ। "उ सँग मेरो तिन वर्ष भयो भेट भएको , उसलाई केही रोग छैन! मलाई उसले ढाँटेकी छैन!" मैले रौँमा खासै ध्यान दिइन। उनको वोलीमा भने ध्यान दिनै पर्ने। उनले भनेको कुरा केहि पनि खेर जान्न।काकाले भने अनुसार त्रिकाल दर्शी "तिम्रो सातौँ घरमा राहु,मंगल छ हेर ई !" वाजेले मलाई मेरो चिना देखाए।म त्यहाँ लेखिएका अंकको गणित वुझ्दिन । तर उनले देखाएको ठाउँमा रा र मं लेखेको थियो। राहु र मंगल लेखेको होला।सातौँ घर वुढीको घर हो अरे ,त्यो भने मलाई थाहा छ। त्यहि चिनाको सातौँ घरले म मांगलिक भएँ उनको भनाइ अनुसार !पहिलो वुढी थला पर्छे,वा मर्नुपर्छ। यदि केटी पनि मांगलिक नभए! आमाले मलाई जन्माउनु अघि पन्ध्र मिनट पनि कुर्न सकिनछन्।पन्ध्र मिनट कुरिदेको भए ग्रह फरक हुन्थे।सुधा र मेरो ग्रह मिल्थ्यो।हाम्रो जीवन सजिलो हुन्थ्यो।आमाले फोन गरेर रिसाउन मन लाग्यो । तर सकिन। जे भए पनि जन्माइन र पो रिसाउने विचार गर्दैछु। जन्माउँदै नजन्माएको भए को सँग रिसाउँनु "पण्डित वाजे ,साँच्चै केहि उपाय छैन त ?" मंगल ग्रहको नाम सुन्ने वित्तिकै मन अमिलो हुन्छ आजकल। वैग्यानिकले मंगल ग्रहको लागि यान पठाउने समाचार आउँदै थियो हिजो मैले रिमोट बटारिदिएँ ।सोमवार पछि एकैचोटी वुधवार आइदे हुन्थ्यो जस्तो पनि लाग्छ कहिलेकाहिँ! उनी घोरिए, पात्रो पल्टाए,फेरि घोरिए।अनि भने "एउटा उपाय छ।" मेरो मन थोरै उघ्रियो। थोरै उज्यालो भयो ,सुधा मेरो हुने एउटा उपाय छ। सुधा, मैले हुरुक्कै गरेकी केटी। बाटो ढुकेर उसका भाइहरुको आँखा छलेर धेरै मेहेनत गरेर पट्याकी केटी। पहिलो भेटमा मंगल ग्रह वुझ्नु पर्ने रैछ । बुझिन, गल्ति भयो। सुधा बाट छुट्न पनि सक्दिन तोयानाथ बा को भनाइ अनुसार बिहे नै गर्न पनि सक्दिन। "के उपाय?" "अगाडी एउटा विहा गर्नुपर्छ!" "के?" सुधाले सुनी भने मार्छे। बाजे वौलाए जस्तो छ। "रुखसँग ,आँकको रुखसँग ! दुइ विहेको दशा कटाउनलाई !" मैले अहिलेसम्म सुनेको थिइन ।नेवारी केटीले होला,वेल सँग विहा गर्छन्। तर त्यो त सवैले गर्छन्। केटाले रुखसँग विहे !! सुधाले के भन्छे? मनमा कुरा खेलाएँ। आ...उसैको भविष्यको लागि त हो नि मैले यति गर्न खोजेको।मेरो माया वुझ्छे नि यसले पनि! ************** *************** ************** ***************** ************ **** "सौतासँग झगडा पनि गर्न नपाइने भइयो !" सुधा अझै आफ्नो पेट समातीरहेकी थिई। "हाँसी राख,आफू भनेको उसको  लागि के के गर्दैछु। उ भने जिस्क्याइरहन्छे!" म रिसाए जस्तो गरेँ। "मलाई विश्वास छैन त के गरुँ !" उ फेरि हाँसी "उनले राजनदाइको छोरी एक क्लासमा फर्स्ट भको पत्ता लाइदिए,वृहस्पति उचा छन् रे!" "स्कुलमा टिचर चिन्छन् होला !" "नचाहिने, ग्रहको हिसाव हो, मिल्छ के! तिमी मान या नमान!" "तिम्रो मन शान्त हुन्छ भने गर न त विहे, आँकसँग !" उ फेरि हाँस्न थाली।म अर्को तिर फर्किएँ। मोबायल खेलाउन थालेँ । फेसवुकमा कुन चाहिँले वकम्फुसे पोष्ट शेयर गर्यो  “मंगल ग्रहमा पानी पाइयो, पृथ्वीका सबै मान्छेलाई पुग्ने पानी !” ******************* **************** ************* **************** ************ "लगन २१ गतेको ठिक हुन्छ। आँक सँग सत्रमा गर। त्यो दिन नक्षत्र मिलेका पनि छन्। त्यति भए पछि नानी को नाम के अरे!" "सुधा!" उसले विस्तारै भनी। "सुधालाई खासै फरक पर्दैन !" "वुवा ,अनि म फर्स्ट हुन्छु कि हुन्न त ,मेरो मास्टर्सको इक्जाम आउँदैछ।" मैले सुधालाई चिमोटेँ। मलाई थाहा छ,उ तोयानाथ वाजेलाई जिस्क्याउँदैछे। थाहा पाए भने रिसाउन सक्छन्।फेरि त्रिकालदर्शि मान्छे , जिस्काको पनि त देख्लान ! "तिम्रो पढाइको घर खासै राम्रो छैन नानी, तिमीले मास्टर्स कटाउला जस्तो लागेन !" सुधाले मलाई पुलुक्क हेरी। अव भने सुधा म सँग रिसाउली भन्ने पिर भयो।तोयानाथ वाजेले नभनीदिए हुन्थ्यो।उसको म्याक्रोइकोनोमिक्सको पेपर बिग्रेको भन्थी त्यसैमा लाग्ला क्यार! तोयानाथ बाजेले भनेको कुरा केहि पनि खेर जान्न। *************** ************ ***************** ************ ************ ******** वैशाख १२,दिउँसो १२ वजे तेश्रो तल्ला! अचानक खाट हल्लियो। छुट्टीको दिन,टिभी हेर्दै थिएँ। टिभी पनि हल्लियो। छेवैको पर्दा हल्लियो।जमिन थरर काम्यो। भुइँचालो .............रोकिएला भनेँ पर्खिएँ।अहँ रोकिएन।ओहो कति लामो! झ्यालवाट वाहिर तिन तले विल्डिंग गर्ल्याम गुर्लुम ढल्यो। मन थरर काम्यो। आज वाँचिन्न। निधारमा चिटचिट पसिना आयो। जीवन कस्तो कमलो,कति लाचार प्रकृतिको अघि।दश मिनट अघि मात्रै मेरो मनमा हजारौँ आकांक्षा थिए होला। अहिले एउटा मात्रै इच्छा छ " भगवान आज वचाइदेउ मलाई !"  धन्न थामियो। वाहिर निस्किएँ। जमिन अझै हल्लिरहेकै थियो, सुधालाई सम्झेँ। सुधा कुपण्डोलमा आफ्नो कोठामा छे। फोन गरेँ,लागेन। फेसवुक हेरेँ। सुधाले स्ट्याटस अपडेट गरिछे। "आइ एम सेफ" मैले लाइक गरेँ।फेरि फोन ट्राइ गरेँ। अहँ लागेन। ************ *************** *********** ************ **************** ******** आमाको फोन आयो। अव एक्काइसमा भ्याइन्न विहे। ठूली आमा खस्नुभयो अरे गोंगवुको घरमा चेपिएर। ठुली आमालाई सम्झिएँ । “यत्रो घर किन ठूली आमा ?” मैले घर वनाउँदै गर्दा सोधेको थिएँ। “दुइ तला भाँडामा दिएँ , जिन्दगी आरामले कट्छ नानी ! पेन्सन छैन ! मेरो लागि घरनै पेन्सन !” आज त्यहि घरले लग्यो आमैलाई।   ************ ************* ************ ************* ************ ************ आमाको फोन फेरि आयो। फोन काटिरन्छ । धेरै मान्छेलाई धेरै कुरा गर्नु छ आजकल त्यहि भएर होला “तोयानाथ बाजेलाई सोध न , अर्को नजिकैको तिथी कहिले छ भनी ! असारमा मलमास छ। तिथी छैनन् फेरि आँक सँग पनि विहे गर्नुपर्ने ! मैले गरेँ फोन स्विचअफ आयो” अव उनकै घर जानुपर्ला ! सुधालाई लिएर जान्छु । पछि उसलाई वुझाउन पनि सजिलो हुन्छ। “तोया बा को घर जान्छ्यौ , तिथी मिलाउन !” “जाउ न त तिमी , अनि मलाई खवर गर्नु !” उसले अल्छि गरी । उसलाई तिथी मितिका कुरा मन पर्दैनन् । आफुलाई प्रोग्रेसिभ ठान्छे। ************** *********** ************* ************ *********** *************** घर पुगेँ । तर घर थिएन। तोयानाथ वाजेको चार तल्ले घर जमिनमैँ मिसिएछ। विस जना भित्रै मरेछन्। तोयानाथ वाजे पनि। खुट्टा गल्यो। केहि वोल्न सकिन ।उल्टी आउला जस्तो भयो। फरक्क फर्केँ। वाटोवाटै फोन गरेँ आमालाई "आमा म आँकको रुखसँग विहे गर्दिन। जूठो सिध्धिएको भोलीपल्टै विहे गर्छु। मलाई तिथी सिथी चाहिन्न !" "सुधालाई केही भयो भने?" आमाले आशंका मान्दै सोध्नुभयो। "केहि हुन्न ,मलाई थाहा छ!" मैले सुस्तरी जवाफ फर्काएँ। भोली आर्यघाट जान्छु,तोयानाथ वाजेलाई अन्तिम श्रद्दान्जलि दिनु छ। भोली मंगलबार!!!!          

fucheketo · Mar 18, 2017 10:21 AM · 23,362 views

4 Replies

Thank you, Fuchche! timro katha jati choti padhe pani naya lagchha. Keep coming! CL

crazy_love · Mar 19, 2017 2:11 PM

Good one fuchhe... keep posting :)

theDim · Mar 20, 2017 6:58 PM

Thank you sahili and thedim ..will try to come soon with next story

fucheketo · Mar 20, 2017 11:23 PM

Well crafted fuchche, loved it.

ritthe · Mar 21, 2017 5:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion