जहाँ लिङ्ग र योनीको पूजा गरेर होली मनाइन्छ २९ फाल्गुन, २०७३ ३:३२ बिहान समाचार प्रतिनिधि तस्बिर भक्तपुर: फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् । भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’-अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुनपर्ने गरी हेर्न आउनु भयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई आजबाट बिदाइ गरेका छन् । भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको हो । भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीक काष्ठकलालाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखिएकामा आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन गर्ने परम्परा चल्दै आएको हो । काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइएको थियो । भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउँछन् । चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउनुहुन्छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा समेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ तर यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ । दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहेने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ । फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने गर्दछ । छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ ।
Bichitra_Kumar · Mar 12, 2017 11:06 AM · 10,816 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion