पशुपतिभक्त थर्कमान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पशुपतिभक्त थर्कमान राधाकृष्ण मैनाली print पुस्तक अंश दरबारका मुख्यसचिव भएर पनि पशुपतिभक्त महर्जन उग्र जातिवादी सोचले किचिएका पात्र हुन्। उनी जातिवादी चिन्तनबाट कतिसम्म पूर्वाग्रही थिए भन्ने अनुभव मैले पटक–पटक गरेको छु। साना–साना घटनामा पशुपतिभक्तले ठूलो हस्तक्षेपको प्रयास गरी आफ्नो चरम जातिवादी सोच उजागर गर्थे।  २०६२ साल माघमा काठमाडौंको वसन्तपुरस्थित कान्तिईश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकले अवकाश पाउने भएछन्। त्यसपछि रोलक्रममा पहिलो रहेका विद्यालयका वरिष्ठ शिक्षक नारायण वाग्ले स्वतः प्रधानाध्यापक हुने रहेछन्। तनहुँका वाग्ले प्रधानाध्यापक हुने भएपछि पशुपतिभक्तले काठमाडौंका जिल्ला शिक्षा अधिकारी जीवन शर्मा पौडेललाई पाँचौं तहका नेवार समुदायका शिक्षकलाई प्रधानाध्यापक बनाउन आदेश दिएछन्। शाही शासनकालीन दरबारका मुख्यसचिवले आदेश दिएपछि जिशिअ पौडेल विलखबन्दमा पर्ने नै भए। यस्तो सुइँको पाएलगत्तै नारायण वाग्लेहरूको टोली मलाई भेट्न मन्त्रालय आयो। 'रोलक्रम मिचेर जिशिअको निर्णय लागू भए हामी सबै जागिर छोड्छौं,' टोलीले दुःखेसो पोख्यो। यसपछि मैले काठमाडौंका जिशिअ पौडेललाई मन्त्रालय बोलाएर यथार्थ सोधें। 'विधि मिचेर कुनै काम नगर्नू। बाँकी जम्मै कुरा म झेल्छु। रोलक्रम मिच्ने निर्णय भयो भने तपाईं कारबाहीमा पर्नुहुन्छ,' जिशिअ पौडेललाई सचेत बनाए'। त्यही बेलुका मन्त्रिपरिषद् बैठक थियो। बैठकमा सहभागी हुन दरबार पुग्नासाथ पशुपतिभक्त महर्जनसँग भुइँतलामा जम्काभेट भयो। 'मन्त्रीज्यू, तपाईं मेरो निर्देशनको खिलाफमा जाने?' पशुपतिभक्तले थर्काउने शैलीमा भनें। म छक्क परें।  'किन के भयो र त्यस्तो?' मैले बुझ पचाएर सोधें।  'होइन, कान्ति विद्यालयमा देशभक्त, राजभक्त एकजना शिक्षक थिए। उनलाई विद्यालयको प्रधानाध्यापक नियुक्त गर्नु भनेको थिएँ। तर तपाईंले तनहुँको बाहुनलाई बनाउने निर्देशन दिनुभएछ,' पशुपतिभक्तको निम्नस्तरको प्रस्तुतिले म एक छिन स्तब्ध भएँ। निमेषभरै पारो तातेर आयो।  सोधें, 'क्यारे?' उनले सोही कुरा दोहो¥याए। 'म क्याबिनेटबाट फर्किएर आउँछु अनि कुरा गरौंला,' फटाफट बैठक कक्षमा पसें। बैठक चलिरहँदा मलाई पशुपतिभक्तकै कुराले चक्कर दिइरह्यो। बैठक सकाएर फर्किंदा पशुपतिभक्त मलाई नै पर्खेर बसिरहेका रहेछन्। उनलाई देख्नासाथ मैले भनें, 'पशुपतिजी, शिक्षामन्त्री तपाईं हो कि म? तपाईंको काम शिक्षा मन्त्रालय चलाउने हो कि दरबार? शिक्षामन्त्री तपाईं हो भने घोषणा गरेर चलाउनोस्। म अहिल्यै राजीनामा दिन्छु।' केही बेर भनाभन भयो। 'म शिक्षामन्त्री अनि तपाईंको अह्रनखटनमा शिक्षा मन्त्रालय चलाउनुपर्ने? यो कुरा मौसुफलाई जाहेर गरौं?' यति भनेर म राजाको कार्यालयतिर फर्किन खोजेको मात्र के थिएँ उनी अचानक नम्र भए। 'होइन भै गो, भै गो,' हायलकायल बनेर हड्बडाउँदै उनले भने, 'शिक्षा मन्त्रालय तपाईंले नै चलाउने हो।' 'त्यसो हो भने आइन्दादेखि मसँग यस्ता कुरा नगर्नोस्। तपाईं आफ्नो ड्युटी गर्नोस्। म आफ्नो गर्छु,' म गाडी पार्किङ गरी राखेको ठाउँतिर लम्किएँ।  बेलुका घरमा आइपुगेको मात्रै थिएँ। टेलिफोन आयो। पशुपतिभक्तको रहेछ। 'हजुर यो कुरा माथि जाहेर नगरिदिनुहोला,' मेरो कुराले पशुपतिभक्त थर्कमान भएछन्। दरबारका कर्मचारी कसरी खेल्दारहेछन् भन्ने यस घटनाबाट म प्रस्ट भएँ। सागर तिमिल्सिना पनि यही शैलीमा खेल्थे होलान्, सायद।  देशमा राजतन्त्र रहुन्जेल दरबारभित्रका गतिविधिहरू बाहिर आउँदैनथे। दरबारियाहरूका ऐयाशी जीवनशैलीबारे कुनै चर्चा पनि हुँदैनथ्यो। ज्ञानेन्द्र सक्रिय हुन थालेपछि सूर्यबहादुर थापा पुनः प्रधानमन्त्री बने। त्यसैबेला नेपालस्थित भारतीय दूतावासबाट ३ करोड रूपैयाँसम्म आर्थिक सहयोग वितरण गर्न पाउने सरकारले निर्णय गरिदियो। यसरी भारतलाई रिझाउन दूतावासको चाकरी गराउने पद्धति बसालियो। दरबारमा विलासी शैली कस्तोसम्म थियो भने मोजमस्ती पूरा गर्न सेनामा ‘सिकारी गण’ खडा गरी ७ सयको फौजलाई राष्ट्रिय निकुन्जहरूमा चरा सिकार गर्न खटाइन्थ्यो। राजपरिवारको इच्छामा कालिज, जुरेली, मृग, हरिण, बँदेल लगायत दुर्लभ वन्यजन्तुहरूको सिकार गरिन्थ्यो। दरबार र दरबारियाका भोजभतेरहरूमा दुर्लभ वन्यजन्तुको मासुको कवाफ बनाइन्थ्यो।  राजाको सक्रिय शासन चलेको बेला रातको समयमा नागार्जुन दरबार क्षेत्रको जंगल नै आगो लागेजस्तो गरी बिजुलीले उज्यालो बनाइन्थ्यो। सिंगो देश लोडसेडिङले आक्रान्त भइरहेको बेला राजदरबारको एक रातको बिजुली खपतले मझौला स्तरका तीन जिल्ला सदरमुकामलाई उज्यालो बनाउन पुग्थ्यो, रे। गणतन्त्र घोषणापछि न नारायणहिटीमा त्यत्रो बिजुली खपत गरिएको छ न राजा ज्ञानेन्द्रको बासस्थान रहेको नागार्जुन दरबार क्षेत्रको जंगल नै झिलिमिली हुने गरी बिजुली बलेको देखिन्छ। हिजो पनि त्यहाँ मानव बस्ती नै थियो र आज पनि छ। तर, सत्ताको दुरूपयोग कसरी गरिँदो रहेछ, यही घटनाबाट अन्दाज लगाउन सकिन्छ। विडम्बना के भने राजा ज्ञानेन्द्रको जस्तै शैली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूमा जीवित छ। शिक्षक थमाउन राजाको आदेश  डिल्लीबजारस्थित कन्या क्याम्पस र कन्या विद्यालयबीच सम्पत्तिको स्वामित्वबारे ठूलो विवाद रहेछ। कन्या विद्यालय राणाहरूले जमिन दिएर स्थापना भएको पुरानो संस्था हो। भवनमा बिहान कलेजको र दिउँसो स्कुलको पढाइ हुँदो रहेछ। कलेजले शक्ति प्रयोग गरेर विद्यालयको अचल सम्पत्तिउपर आफ्नो दाबी गरेछ। विवाद शिक्षा मन्त्रालयसम्म आइपुग्यो। मन्त्रालयले विद्यालयको अचल सम्पत्ति प्रयोग गरेबापत कलेजले विद्यालयलाई भाडा बुझाउनुपर्ने निष्कर्ष निकाल्यो।  तर, कलेज यो निर्णय मान्न तयार भएन। विवादकै बीच कन्या कलेजको वार्षिकोत्सवमा प्रमुख अतिथि बन्न मलाई निम्ता आयो। मैले देशभरका कन्या क्याम्पस र विद्यालयमा महिला नै प्रमुख हुने व्यवस्था गर्दा महिला शिक्षाको विकासमा सकारात्मक विकास हुने सोचेर त्यही आशयको भाषण गरें। साहित्यकारसमेत रहेका रामप्रसाद दाहाल त्यति बेला कन्या कलेजका प्राचार्य थिए। त्यसपछि उनलाई शिक्षा मन्त्रालयमा बोलाएरै कलेजमा महिला क्याम्पस प्रमुख राखौं भनेको थिएँ।  रामप्रसादसँग यस्तो संवाद भएको केही दिनपछिको एक भेटमा राजाले यस विषयमा प्रसंग उठाए। राजाले बडो ठाँटिलो शैलीमा भने, 'मन्त्री, यो कन्या स्कुल, कन्या कलेजतिर भइराखेको कुरालाई त्यति धेरै चलाइराख्नु हुँदैन। जहाँ जे–जे छ त्यहीँ छोडिदिउ'। महिला ल्याउने कदम नचालौं।' कन्या कलेजमा महिला नै प्रमुख राख्नुपर्छ भनेर प्रयास थालेको विषय दरबारसम्म पुगेछ। प्राचार्यले आफूलाई हटाउने तयारी भइरहेको मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्टलाई सुनाएछन्। कीर्तिनिधि र रामप्रसादको सम्बन्ध निकट रहेछ। यसपछि कीर्तिनिधिले राजाको कान फुकेछन्। राष्ट्रप्रमुखले एउटा कलेज प्रमुखको विवादमा मन्त्रीलाई ठाडै आदेश गर्लान् भन्ने चिताएको पनि थिइनँ, मैले। आदेशपछि मैले राजालाई जाहेर गरें, 'कन्या कलेज–विद्यालयमा महिला प्राचार्य राख्ने। व्यवस्थाको आह्वान मौसुफबाटै गरौं। मौसुफबाट एउटा वक्तव्य जारी होेस्। मौसुफलाई जस पनि जान्छ।' राजा मेरो प्रस्तावमा सहमत भएनन्। यसरी देशभरका कन्या क्याम्पस तथा विद्यालयहरूमा महिला प्रधानाध्यापक राख्ने सोच गर्भमै निमोठियो। यसअघि उच्च माध्यमिक शिक्षा परिषद्मा महिला शिक्षक संख्या बढाउने कार्यक्रम लागू गरेको थिएँ। त्यसको प्रभाव राम्रो परेको थियो। यसर्थ महिला कलेज तथा विद्यालयमा महिला नै प्रधानाध्यापक हुने व्यवस्था सहजै लागू होला भन्ने मलाई लागेको थियो। तर मेरो सोच कार्यान्वयनमा तातो पानी खनियो। प्राचार्य बदल्ने विषयमा मात्रै के कुरा! सामान्य कर्मचारी सरूवामा समेत दरबारका कर्मचारीबाट अचम्मको चासो व्यक्त हुन्थ्यो। खासगरी दरबारका सचिव सागर तिमिल्सिनाले विशेष करबल गर्थे। उनी मन्त्रालयमा खराब रेकर्ड भएका कर्मचारीलाई अवसरयुक्त स्थानमा सरूवा गर्न पत्र प्रेषित गर्थे। तिमल्सिनाले राजाकै इसारामा यस्तो दबाब दिन्थे वा आफ्नो हैसियतको रवाफ देखाउन? मैले मेसो पाएको छुइनँ।  (पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्धारा सम्पादित राधाकृष्ण मैनाली लिखित संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासबाट। अल्केमी पब्लिकेसन्सले पुस्तकलाई बजारमा ल्याएको हो।) - See more at: http://setopati.com/raajneeti/...

_____ · Feb 11, 2017 12:06 PM · 2,593 views

1 Reply

Interesting !

adhikari_bandhu · Feb 11, 2017 10:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all