कथामाण्डौ (भाग ५)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कथामाण्डौ (भाग ५) ट्याक्सी व्यथा  मित्रको घरमा पारिवारिक मिष्ठान भोजन पछी घर फर्किन ट्याक्सी खोज्न परेन, साथीले आफ्नो गाडीमा पु-याईदिने हुनु भयो र रात्रीकालिन ट्याक्सी महात्म्य बुझ्नबाट वन्चित भैयो| धेरैबाट सुनिएको, धेरै ठाउँमा पढिएको ट्याक्सी कहानीहरु प्राय कहालीलाग्दा र वियोगान्त हुन्छन् | भनेको ठाउँमा जाँदैन , मिटरमा जाँदैन | बेलुकी भए पछी डबल लिन्छ, असभ्य र छुच्चो ब्यबहार गहो मिटरमा “छुस” हालेको हुन्छ | एकै दूरीमा पनि फरक फरक ट्याक्सीले फरक फरक पैसा छेर्छ | आदि इत्यादि कथा ब्यथा जताततै सुन्न पाइन्छन् | यी ब्यथाहरु असत्य भने पक्कै हैनन् | सबै ट्याक्सीवालाहरु एकै हुदैनन् – यो मेरो बुझाइ हो | अघिल्लो पटकको नेपाल बसाइमा थोरै पल्ट भए नि धेरै चोट पाएकै थिएँ ट्यक्सी चढाईबाट | यसपल्टको बसाइ त झन पूर्णरुपेन ट्याकसी चढाइ मै त्वम् शरनम थियो | पहिलो यात्रा पाठकजीको ट्याक्सी संग नमीठो थिएन तर हिसाब बेहिसाब भएकोले निरन्तरता दिन सकिएन | दोस्रो सन्त कुमारको ट्याक्सी यात्रा सुखमय र सहुलियतपूर्ण भयो नै | पाठकजी र सन्त लामा संगको ट्याक्सी “वार्ता”ले केही बोधी ज्ञान भने मैले पाएँ जस्तो लाग्यो | ट्याक्सी पो मेसिन पुर्जा हुन्, ड्राइभर साहेब त मान्छे नै हुन् नि | हरेक मान्छेको यो दुनियामा आ-आफ्नै हिस्सा हुन्छ, आ-आफ्नै किस्सा हुन्छ| फलामे मन जडित ड्राइभर त कोइ हुँदैन, भए अलि कठोर दिलका होलान् | कठोर दिलको पनि नरम कुना हुन्छ, चिमोटे अझ कठोर हुने हुन्छ, सुम्सुम्याए हिउँ झैँ पग्लन सक्छ| मेरो मान्यता हो | अर्को दिन घरबाट पुरानो वस्ती हुँदै ठमेल जानु थियो सपरिवार | अझ भनुं मरुहिटी हुँदै थँहिटी जानु थियो| मलाई संचयकोष सम्म जानु थियो| दिनको १२ बज्दो हो, सडकले पनि लन्च ब्रेक लिँदो हो | जाम थिएन, सुनसान जस्तै थियो | घर बाहिर ट्याक्सीवाला उँघेर बसिराख्या| म भन्दा पाको उमेरको ड्राइभर साहेब, “जाने हो” भन्दा झल्याँस्स ब्युन्झिनु भयो | खाना खाएर एक न्याप दिरहनु भा रहेछ | बिना आनाकानी राजी हुन भयो ठमेल जान | बीचमा पुरानो वस्तीमा सानो काम छ , एक छिन रोक्नु पर्छ है भनें “हस” भन्नु भयो | कति लिनु हुन्छ पैसो भन्दा “ कति कुर्नु पर्छ त्यो हेरेर हुन्छ “ पछी नै भनौला , धेरै लिन्न “ भन्नु भयो | हुन्छ नि भनेर हिडियो, मिटरलाई पनि न्याप लिन दिएर | बाटो खुला थियो तर टेकु पुगे पछी “मेलम्ची खाल्डाखुल्डी योजना” अंतर्गतको धुलाम्य र भ्वाङ्गहरुले गर्नु गरे नि | एक साइडमात्र चालु हालतमा भएकोले एक छिन जाममा कता जाम कता जाम भयो नै | बिस्तारै मैले ड्राइभर दाइको चिना पल्टाउन थालें| “घर कहाँको दाइको” मेरो बिषय प्रवेश | “काभ्रे” आधा तगारो उघ्रियो | “काभ्रे भए नमोबुद्ध त हैन” मैले जोखना हेरें | “तपाईलाई कसरी थाहा भाको? हो म नमोबुद्ध कै लामा हुँ” “हैन मैले अन्दाज गरेको , ठ्याकै मिले छ है “ म हाँसे , उहाँ पनि हास्नु भयो | अनि भूकम्पले के कस्तो क्षति भयो त ? मूल बिषयलाई छामें | “गाउँको घर त बस्न नहुने भयो, तर त्यहाँ कोइ थिएन, हामी यता गोंगबुँमा बस्छौं र यहाँ चाहि तहस नहस नै भयो, म बस्ने घर चाहि केही भएन तर यति डरले दुइ महिना सम्म घर छिरेनौ | म चाहि ट्याक्सी मै सुतें, घरका चाहि चौरमा पालमा | ओह सर, त्यतिबेलाको कुरा सम्क्झिनै मन लाग्दैन | कुरा गर्दा गर्दै हाम्रो टोल पुगीसक्या थियौं | टोलको एउटा घर पुरै ढल्यो, दुइजना जिउंदै निल्यो भूकम्पले | मैले घर नयाँ बन्दै गरेको घरलाई देखाउंदै भनें | रोक्नु पर्ने ठाउँ आइपुग्यो | परिवारका अन्य चाहि सानोकाम तमाम गर्न ओर्लिए | “मरु सत: “ देखाउंदै मैले भूकम्पको कहर नदेखे पनि न भोगे पनि काष्ठमण्डपमा भएको भुकम्पको ताण्डव महशुश गरेको थिएँ र गर्दैछु पनि | मैले मरुसत: को संक्षिप्त जानकारी दिएर, भूकम्प आउँदा काष्ठ्मंड़प भित्र रक्तदान दिंदै गरेकाहरु जो अरुको प्राण बचाउने सत्कर्ममा आएका थिए, १५-१६ जनाहरुले प्राण त्यागे | तिनीहरुको के दोष थियो | समाजका छुल्याह मुल्याह पापी अधर्मीहरु जिउँदा भए, ती मन भएकाहरुको प्राण हरे , दैब पनि कति निष्ठुरी |” त्यो रक्त संकलन गर्न आएका रेडक्रसका कर्मचारीहरुले के पाप गरेका थिए ? अर्को बिहान देखन नपाई एकै चिहान भए | मेरो आफ्नै काकाश्री काष्ठामंड़प ढलेको देखेरै आफै ढल्नु भयो र २ दिन पछी काल संग गल्नु भयो | “ ड्राइभर दाइ यति भावुक हुनु भयो यति , लुकाउन सक्नु भएन, आँखा रसाइसकेका थिए | ठमेल जाने समूह फेरी मिस्सियो | खाल्डेश्वर काठमाडौंको दर्शन गर्दै थँहिटी पुगियो | “दाइ कति पैसा भयो “ मैले शिष्टाचार छोडिन | धेरै के भनौ, तपाइँ संग कुरा गरेर मेरो मन हल्का भयो | भिमसेन रिसाउला भनेर मात्र , १०० दिनुस् | “हैन दाइ लागेको जति लिनुस् न “ “मेरो मनले पैसा लिन नि मानेको छैन, केवल पेट्रोल खर्च मात्र लिएको, १०० भन्दा बढी लिन्न | सन्तान थरिथरिका | कोइ यति नभई जान्न भन्ने , कोइ यति भन्दा बढी लिन्न भन्ने | सहर प्राय मृत अवस्थामा भए पनि मन पुरै मरिसकेको रहेनछ, मान्छेमा | ब्यथाहरुले जोडिंदा. कथाहरुले छुँदा ढुङ्गा पनि साउँने हुँदो हो, पहाड पनि सुसाउने हुँदो हो | त्यसपछि पनि धेरै ट्याक्सी चढें, एकजनाले बाहेक कसैले ठगेन, सभ्य ब्यबहार र मिटर वा सुपथ मूल्य मै गन्तब्य गइयो , गन्तब्यबाट अन्तव्य आइयो| अर्को एउटा प्रसंग चाहि उल्लेख नगरी यो ट्याक्सी कथा खल्लो नै हुने छ | प्रसङ्ग २ सीतापाइला मनमोहन अस्पताल निरको एउटा निम्तोमा पुगें ट्याक्सी चढेर | फर्किंदा साढे १० बज्दो हो, मनमोहन अस्पताल बाहिर जतिखेर नि ट्याक्सी पाउने ग्यारेन्टी दिएकोले घडीले अलि घण्टा बढी नै हाने पनि गफिंदै बसेका थियौं | दुइ मिनटको हिडाई पछी अस्पतालको गेट निर आइपुग्यौं | ३ ओटा ट्याक्सी थिए, बिरामी वा बिरामी कुरुवा कुर्दै गरेका | त्यै बेला दुइवटा ट्याक्सी घुंइकिए | बाँकी रहेको एउटा लाई अनुनय बिनय गर्नै पर्यो | “भाइ त्यहाँ सम्म जाउँ न “ “ जानु त हुन्थ्यो, तर मैले भर्खर खाना अर्डर गरें” त्यहाँ सानो ठेलावाला खानाखाजना देखाउदै अफसोस जाहेर गरे भाइले | “हुन्छ नि भाइ, हामी गाडी मै कुरौंला, भाइले आराम संग खाना खाए हुन्छ | पु-याइदिए पुग्छ , हतार छैन | भोको पेटमा काम पनि गर्नु हुन्न |” यति के भनेको थिएँ , ट्याक्सी भाइले ठेलादाईलाई , “म २० मिनेटमा फर्किन्छु दाइहरुलाई पु-याएर | खाना तयार गरेर राख्नु “ भन्दै ट्याक्सी स्टार्ट गरी हाले | “खानु खानु भाइ , पस्केको खाना छोडेर कतै जानु हुन्न क्या “ घरकीले थपिन् | “हैन अहिले बाटो सुनसान छ, एकै छिन पुगी हाल्छ, फेरी राम दाइले अझै १० -१५ मिनेट लगाउछ , खाना तयार गर्न | धेरै ढिला पनि गर्नु हुन्न |” हामी ट्याक्सी भाइको सदासयता प्रभावित थियौं नै | रिंगरोड सुनसान थियो | मैले फेरी सोधें “ खाना खानु भएको भए राम्रो हुन्थ्यो, किन हतार गरेको ? “ “आज सम्म हजारौंले ट्याक्सी चढे होलान मेरो ट्याक्सीमा , तर कसैले पनि यति प्रेम पुर्बक खाना खाएसम्म कुर्छु भनेर भनेनन् | सबले हामी ड्राइभरहरुलाई मान्छे नै हैन जस्तो ब्यबहार गर्छन्|” ड्राइभर भाइले आफ्नो ब्यथा सुनाइ हाले, सुनिदिने हामी थियौं | बाटो खाली नै भएकोले एकदम छिटो घर पुग्यौं | मिटर अन गरेको रहेछ | मिटरमा ३२५ चढ्यो, ३०० मागे | खुद्रा थिएन, ३०० नै दिएँ | अघि साँझ डबल चार्ज नहुँदा चढेको ट्याक्सीमा ४०० चढेको थियो | भाइको जय होस् भन्दै निस्कें, ट्याक्सीबाट | झ्याल खोलेर “ दाइको डबल जय होस् “ भन्दै ट्याक्सी फर्क्यो खाना खान | क्रमश : कथामाण्डौ (भाग ४ ) http://sajha.com/sajha/html/in... Last edited: 09-Feb-17 05:04 PM

rahulvai · Feb 9, 2017 11:07 AM · 15,976 views

2 Replies

Thank you Rahul dai for sharing your experience. I heard somewhere that "treat other the way you want to be treated", which is so true. By the way manche lai guff dina training linu parnee bhayo hajur sanga!!! rate chai kati ho? regular rate bhanda $5 dherai charge garnus :) :) S_S

sara_solta11 · Feb 9, 2017 4:16 PM

सहि हो! तरिका नि अलिअली जानियो। taxi चदेसी driver सङ घरबार सोधेर मिठो बोल्न जानिये त गजबकै छुट पायिदो रैछ नि। आफू पनि आफ्नु देश फेर्केसी येस्तै फार्मुला लाउन पर्ला।

Raam Raam · Feb 10, 2017 10:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all