‘छोरीको मंसिरमा बिहे गर्ने सोच छ, कोही राम्रो केटा चिनजानमा छ नानी ?,’ सँगै पढेकी साथीका बुवाले केही दिनअघिको भेटमा कुरा निकाले । ‘तपाईँलाई कस्तो केटा चाहिएको हो ? चिनजानमा साथीहरु त छन् नि, भने जस्तो पो हुन्छन् हुँदैनन्’, बुवाको प्रश्नको जवाफ दिएँ । देख्दा खाइलाग्दो, पढेलेखेको, जागिर खाएको, भोलि काठमाडौंमा आफ्नै घरघडेरी जोड्न सक्ने आँट भएको… छोरीलाई राम्रोसँग पाल्न सक्ने… यस्तै थुप्रै योग्यताका चाङ बुवाले सुनाए । ‘छोरी चाहिँ अहिले के गर्छिन् त बुवा ?,’ अर्का एकजना साथीले कुरा कोट्याए । ‘छोरी मास्टर्स पढ्दै छे, पोहोर साल खरिदारमा नाम निकालेकी छ । अब उमेर पनि भो बिहे गर्दिने बाबु अलि राम्रो केटा भेटिए’ उनले फेरि राम्रो केटाको कुरा निकाले । राम्रो केटा मात्र भनिरहेका बुवाले कस्तो केटालाई राम्रो मानेका हुन्, त्यो चाहिँ बुझ्न सकिएन । जागिर, धन-सम्पत्ति भएकोलाई मात्र राम्रो भन्ने हुन् कि इमान्दार बानी व्यहोरा भएकालाई राम्रो भन्ने हो, ती बुवाको मात्रै होइन अधिकांश अभिभावकको कुरा स्पष्ट बुझ्न सकिँदैन । ‘मैले चिनेको एकजना साथी छ बुवा, ऊ सँग छोरीको बिहे गर्दा राम्रै होला जस्तो लाग्छ,’ मैले उनलाई त्यो साथीको बारेमा पूरै बताएँ । उनको घर नजिकै डेरामा बस्छ त्यो साथी । बुवाले ए… ल बुझौंला भने । अर्को दिन बिहानै फोन गरे उनले, ‘ए नानी, तिमीले हिजो भनेको केटा क्याम्पस पढ्ने होइन फलानो नाम गरेको ?’ ‘हो बुवा, कुरा बुझ्नुभयो त ? कस्तो लाग्यो त तपाईँलाई ? जागिरे छोरी बेरोजगारलाई दियो भनेर कत्रो बदनाम होला ? त्यो केटा जति इमानदार भए पनि मेरी छोरीको लागि हुँदैन नानी मेरो कुरा भुइँमा खस्न नपाउँदै बा कराउन थाले, ‘म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरो । मैले चाहिँ जागिरे, पढेलेखेको केटा भए खोज नानी भन्ने, तिमी चाहिँ केही नभएको डुकुलन्ठु केटालाई हेर बा भन्ने ? त्यो केटोले दुई वटा डिग्री गरेको छ रे, तर जागिर छैन । बेरोजगार केटालाई मैले छोरी दिएँ भने समाजले के भन्ला ? जागिरे छोरी बेरोजगारलाई दियो भनेर कत्रो बदनाम होला ? त्यो केटा जति इमानदार भए पनि मेरी छोरीको लागि हुँदैन नानी ।’ ‘मान्छे धेरै इमानदार हो बुवा । पढिराखेका छन्, नाम निकालिहाल्छन नि । अहिले पनि एउटा कलेजमा बिहान पढाइराखेका छन् …,’ उनको बारेमा थाहा पाएजति कुरा बताएँ । बाले ती साथीको बारेमा धेरै जनासँग बुझेछन् । ‘केटो झुलुक्क हेर्दा भलाद्मी देखिन्छ, सबैले यतिको केटो भए तेरी छोरीलाई रुखमुनि लगेर पनि पाल्छ भन्छन् । कलेज पढाउने भन्छ, हो कि होइन । जागिर नभाको केटालाई छोरी दिएर के गर्नु ? छोरी सरकारी जागिरेे छ , ज्वाईँको पेसा के हो ? कहाँ काम गर्छन भन्दा के जवाफ दिने ? अधिकृत नपाए पनि सुब्बासम्मको केटा त छानीछानी पाउँछे छोरीले । भैगो, बेरोजगार केटालाई छोरी नदिने !’ बाले कुरो टुंग्याएँ । कताकताबाट बाले बेरोजगार भनेका ती केटाले त्यो कुराको सुइँको पाएछन् । हातमा पेशा नभएकै कारण ठाउँठाउँमा बेरोजगारको बिल्ला भिराएको कुरा पनि सुनेछन् । टंगालको भाटभटेनी नजिकैको सडकमा हिडिरहेको बेलामा अचानक दुवैको भेट भो । पहिलेदेखि चिनजानमा रहेका दुवैको भलाकुसारी भयो । बाले आफूलाई होच्याएको थाहा पाएपछि उनले पनि आफूलाई सानो ठान्ने कुरा भएन । उनले ती बुवासँग फ्याट्ट सोधेछन्, ‘छोरीको बिहे गर्ने खुब कुरा चलेको थियो पोहोरदेखि, यस पटक त भोज खान पाइन्छ होला हैन बुवा ?’ ‘खै बाबु, बिहे गर्न त आँटियो तर भनेजस्तो केटा पाइएको छैन, भने जस्तो राम्रो केटा पाए त यही मंसिरमा बिहे गर्दिने सोच छ’, यति भन्दै बाले उनलाई सोधेछन्, ‘बाबुको चाहिँ बिहे गर्ने बेला भएन र ?’ जवाफमा उनले भनेछन्, ‘म पनि राम्रा केटी पाए गर्ने सोचमा छु । जस्तातस्ता केटी आफूलाई मन नपर्ने, लगन नजुरेर पनि होला, हेरौं !’ बा एकैछिन अवाक् भए । ‘आफू बेरोजगार छ, कसरी स्वास्नी पाल्ला ? अझँ भने जस्ता राम्रा केटी पाए बिहे गर्ने भन्छ ! जागिर नभएका यस्तालाई कस्ता केटीले पत्याउलान् ?’ त्यतिबेला भित्री मनमा भने यस्तै कुरा खेले होलान् । बा एकचित्त भएर सोचेकेा देखेर उनले झकझकाए, ‘बा छोरीको बिहेको लागि निकै चिन्तित हुनुहुन्छ जस्तो छ नि । म त सरकारी जागिर खाएका केटी बिहे गर्दिनँ बा । साइन्समा मास्टर्स गरेको छु, समाजशास्त्रमा पनि भर्खरै मास्टर्स सकाएँ, अलि पढ्नमा ट्यालेन्ट केटी खोजेर बिहे गर्ने अनि विदेश जाने सोचमा छु । सरकारी जागिर खाएका केटी बिहे गर्यो भने विदेश पनि जान नपाइने नियम बनायो रे सरकारले । विदेशको पिआर त्याग्नु भन्दा सरकारी जागिर खाएका केटी त्याग्ने सोचमा छु म त ।’ उनको यो कुराले बालाई निकै पेच परेछ । मनको तीतो पोखिहाले, ‘सरकारी जागिर खाएका केटीले पत्याउनु पनि पर्यो नि बाबु ? सरकारी जागिर खाएकाले त्यही लाइनको केटा खोज्छन्, अरु त जिल्लाराम !’ यी बाको कुरा सुन्दा बिहेको लागि भए पनि पेशा चाहिने रहेछ भन्ने भान पर्यो । त्यसो भए बेरोजगार युवाले जागिर नपाएसम्म बिहेको लागि केटी नै पाउँदैनन् त ? समाजको सोचाइ हेर्दा यो प्रश्नको जवाफ अनुत्तरित नै देखिन्छ ।
Samrat Singh Karki · Jan 26, 2017 9:47 PM · 10,012 views
Women look for two things in men: 1) Resources 2) Commitment
ujl · Jan 26, 2017 10:00 PM
हरिॐ ! सम सामयिक सुन्दर र सान्दर्भिक सम्बादात्मक सामग्रीको लागि सम्राट कार्कीलाई धन्यवाद ।
choodamani · Jan 27, 2017 7:46 PM
I do not think it's his creation, it's a copy and paste. He is very busy in finding a buyer to sell rhino horn. Neupane ji is selling jackle's horn but refuges to exchange with Mr.Karki. Last edited: 30-Jan-17 04:52 PM
magorkhe1 · Jan 28, 2017 3:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion