कथामाण्डौ (भाग ४ )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कथामाण्डौ (भाग ४ ) धुलोमाण्डौ, अस्तव्यस्त ट्राफिक र ट्याक्सी महात्म्य आजको कान्तिपुर भानुभक्तको अमरावती रहेन । कुनै बेला राजमतीहरुको जीवन्त सहर अहिले कुमतीहरुको “मन्त”(छैन) सहर भएको छ । भत्किएका वा भत्काइएका घरहरु (सडक बिस्तारको क्रममा) धुलाम्य सडक , मेलम्चीको पाइपको राख्न खनिएका सडक गल्ली अनि गल्ली भरि इल्ली र बिल्ली मानिसहरुले लामो गृह युग्द पछी हतार हतार सुरक्षित स्थल जान लागेका शरणार्थीहरुको सहर जस्तो देखिन्छ । बागमती अंचलमा दर्ता भएका ८ लाख साठी हजार मोटरबाइक, साना तथा ठुला १ लाख पचास हजार निजी गाडी र त्यतिकै संख्यामा भाँडाका र सरकारी सवारी साधनको कुल लम्बाई २२ सय किलोमिटर अर्थात देशको कुल लम्बाई भन्दा २.२ गुणा बढी हुन्छ।उपत्यकामा भएका कुल सडक (गल्ली, कच्ची समेत गरेर) १४ सय किलोमिटरमा २२ सय किलोमिटर सवारी साधन गुड्छन् । अनि धुलोमाण्डौमा ट्राफिक “जाम” नभए “बटर” हुन्छ त ? कहिले काहीं ठट्टा गर्छु । उपत्यका भित्र बसोबास गर्ने जनसंख्या कति छ, कसैलाई थाह छैन । तथ्यांक बिभागका अनुसार उपत्यकाको तिनै जिल्लाको कुल जनसंख्या १५ लाख भन्दा बढी छैन । ११ लाख साना ठुला गाडी गुड्ने सहरमा पक्कै पनि ५० लाख भन्दा बढी नै बसोबास गर्छन्, मेरो अनुमान हो । नेपाल फिरेको दोस्रो दिन देखि नै कतै न कतै जानु पर्ने नै भयो । धुलो र धुँवाको धुलोमाण्डौमा टेम्पु र बस मिनिबसको यात्रा स्वास्थको लागि हानिकारक लाग्यो र ट्याक्सी सेवा जिन्दाबाद भन्ने निर्णय गरियो। एकजना हितैषीको सल्लाह अनुसार एकजना ट्याक्सी साहुजी संग कुरा भयो । “सरले कहीं जानु १ घण्टा अगी फोन गर्नुस्, टाइममा आइपुग्छु, मिटरमा चढे अनुसार पैसा लिन्छु” भन्नुभयो पाठकजीले । सिनामंगलमा कबि मित्रको निम्तो थियो घरेलु भोजनको । ११ बजे आइपुग्नुस् भन्ने अग्राह अनुसार १० बजे नै पाठकजीलाई फोन गरें । साढे १० बजे घरैमा आइपुग्छु भन्नु भयो । १५ मिनेट ढिला दर्शन दिनुभो । पाठकजीको ट्याक्सी चढ्दा नै ३५० चढिसकेको रहेछ, सिनामंगल पुग्दा, जाममा फस्दा ७५० मिटरले घण्टा बजायो। त्यसपछि डोर टु डोर ट्याक्सी सेवालाई त्यहीं इतिश्री गरें । मैले फोन गर्दा ट्याक्सी जहाँ थियो त्यहींबाट नै मिटर अन हुने रहेछ । उहाँको हिसाबमा उहाँको हिसाब सही थियो, मेरो लागि हिसाब गलत भयो । घर बाहिरको मूल सडक मै २-४ वटा ट्याक्सी मुर्गा पर्खेर बसेकै हुन्थ्यो ।आइन्दा यिनैको मुर्गा बन्ने ठहर भो । अर्को साँझ एकजना आदरणीय मित्रको निम्ता थियो डिनरको लागि । घर देखि सिफलचौर जानु थियो । साँझ अँध्यारिन लागेको थियो, लोड शेडीङ्ग मुक्त सहर धपक्क बल्न लागेको थियो । घर बाहिरको सडक जाम खुलेको हैन । दिउँसो साढे ३ बजे देखिको बम्पर टु बम्पर जाम मध्यरातमा पनि टुंगिएला जस्तो लागेन । ट्याक्सी चढ्ने वा खोज्ने कर्ममा ठुलो बज्र प्रहार । ट्राफिक जामले निसृत धुँवा र ध्वनि प्रदुषणबाट जोगिदै हिड्दै माथी झमेल पुगियो। त्यता जाम हैन सुनसान थियो। ट्याक्सी लहरै ग्राहकको पर्खाइमा। एउटा लाई सोधें, “सिफल जाउँ न” । “नाइँ त्यता जान्न , बालाजु जाने भए लान्छु|” वाह क्या गजब, ट्याक्सवालाको गन्तब्य हेरेर यात्रा गर्नु पर्ने मैले ? उसले लैजान्छु भने ठाउँमा जानु पर्ने ? अर्कोलाई सोधें – जान्न स्वयम्भु जाने भे । अर्कोलाई नि सोधें – उ कलंकी जाने रे । सिफल जाने कोइ भलादमी भेटिएन । चरेस खाए नि हरेश नाखाएसै – भन्थे । ट्याक्सी रोक्दै गएँ सोध्दै गएँ । मान्ने कोइ हैन । लास्टमा अन्तिम प्रयासको रुपमा एउटा ट्याक्सी रोकें | “कहाँ जाने?” ट्याक्सवाला भाइको ठाडो प्रश्न | “सिफल सम्म जाउँ न भाई” मेरो बिन्ति । “जान्न “ छोटो उत्तर | “हैन भाइ मलाई साह्रै इमर्जेन्सी नै छ, ढिलो पनि भैसक्यो ।मिटर चलाउ या न चलाउ , भने जति पैसा दिन्छु |” “भने जति पैसा “ ले हो कि के ले हो अघि जान्न भन्ने भाइले “ बस्नुस्” भनिहाले । “के खोज्छस् देउसी , ट्याउसी “ भने जस्तो हत्त न पत्त ट्याक्सी भित्र छिरी हालें । ट्याक्सी गुड्यो । ड्राइभर छेउ मै बसेकोले कुरा सुरु गरें । “भाइ अलि ढिला नै भैसक्यो, यो थापाथलीको जाम, सिंह दर्बार पुतली सडकको जाम छलेर जहाँबाट लान मिल्छ लैजानुस् |” “यो जाम सधै उस्तै हो कि आज मात्र ?” मैले अनभिज्ञता जाहेर गरें । “यति बेला सधै यस्तै हो । गाडी नै गाडी छन् , मान्छे नै मान्छे , सडक छैन |” उसले आफ्नो विज्ञता प्रकट ग-यो । “अनि भाइको घर कता ?” मैले अलिकति आफ्नोपन पोखें । “काभ्रे “ उसले छोटो उत्तर फर्कायो । काभ्रे कता नि , मेरो पुरक प्रश्न | “नमोबुद्ध” ।“येह , त्यसो भए भाइ लामा हो ? “ अनायसै निस्कियो मेरो मुखबाट | “हो म लामा, सन्त कुमार लामा ।” अब भाइ खुलेर आयो । “भूकम्पले घर भत्कियो कि ?” म अझ नजिक हुन् खोजें । “भत्कियो सब भत्कियो ।त्यता घर भत्के पछी काठमाडौ आएको, सानो छिंडीको डेरामा बसेको छु । र यही ट्याक्सी चलाएर घर जहान पालेको छु |” “घर खर्च त चल्छ हैन ट्याक्सी चलाएर ?” कुराकानीको सिलसिला अघि बढाएँ | “केही भएन भने त मज्जाले चल्छ, चलेको छ । बेला न कुबेला उपत्यका बन्द, नेपाल बन्दले अप्ठेरो पार्छ, ट्याक्सी आफ्नै हो तर बैक को ऋण तिर्ने पर्यो । बन्दको बेला न चलाउँ आम्दानी नहुने , ब्याज मात्र तिर्नु पर्ने , चलाउँ भने नेत्र बिक्रम “बन्द” का सन्तानले जिउंदै जलाई देला भन्ने डर । गाह्रो छ सर गाह्रो |” दाइबाट उ सरमा सर्यो । यतिन्जेल हामी कहिलेइ नहिडेको बाटो हुँदै डिल्लीबजार पिपलबोट हुँदै ग्यालेक्सी स्कुलको गल्ली पार गरिसकेका थियौं । ट्याक्सी चढेर जाने अनि पैसा नदिकन उल्टै पैसा लुट्ने देखी ट्राफिक प्रहरीको हफ्ता वसुली सम्मको यावत पीडा पोखे भाइले । मानौं धेरै याम पछी आज उसको कथा ब्यथा सुन्ने कोइ ट्याक्सी चढेको छ ।उसको ब्यथा बुझ्ने कोइ भेटेकोछ | सिफल पुगियो । “कति पैसा भयो भाइ ।एक छिन चुप बस्यो ।दिल खोलेर भन, भने जति पैसा दिन्छु भनेकै थिएँ |” “धेरै के भन्नु सरलाई , चार सय दिनुस् न ।“ उसले दिल साँच्चै नै खोल्यो । अब म एक छिन अवाक भएँ । घटीमा हजार नभए १५ सय माग्छ होला जस्तो लागेको थियो । “चार सय हैन, पांच सय लिनुस्” भनेर पाँचसयको बाघ मार्का नोट दिएँ । पहिलो पल्ट ट्याक्सीवालामा मुस्कान देखे । म त औधी खुसी थिएँ नै । नमस्कार गर्दै ट्याक्सी फर्क्यो । हाम्रो मित्र हामीलाई लिन आइसक्नु भएको रहेछ । क्रमश: कथामाण्डौ (भाग ३)- http://sajha.com/sajha/html/in... Last edited: 25-Jan-17 10:14 AM

rahulvai · Jan 25, 2017 10:13 AM · 15,340 views

3 Replies

गत बर्ष भुकम्प पछि नेपाल गएको थिए | मधेश बात काठमाण्डु हवाई अबतरण गर्न मात्र के पाईएको थियो बाल्टी बाट खन्याए झैँ पानि खनियो | दलाल देखि उपदलाल लाइ टिकटको मूल्य तिर्दा ( 3 ,५०० बढी तिरियो ) आफु संग 155 मात्र बाकि | एउटा मारवाडीले नयासड़क सम्म लगिदियो | ट्याक्सीलाई सोधेको धेरैले बालाजु जान्न भने | हिड्दै संचय कोष को छेउ छाउ पुगे पछि अरु २ जना तेतै जाने भेटे पछि मलाइ पनि पुर्याई दियो | बेलुका छ बजे पछि बस मिनिबस चल्दैनन् अनि ट्याक्सी ले कमाउने बेला यहि हो भनि सके सम्म निचर्छन | बेलुका छ बजे सम्म घर पुगिएन भने "का छस" को घन्टी घंकिन्थ्यो | यीनै कारणले रहेछ |

magorkhe1 · Jan 26, 2017 2:27 PM

तपाईंको कथाहरु पढ्न सरल र मजा लाग्छन् हो दाजु। आफैंले भोगिरहे जस्तो। लेख्दै गर्नुस्।। :)

Raam Raam · Jan 26, 2017 7:08 PM

मैले आज पढ्ने साईत जुर्यो . ठुल्दाई राजधानी यसै भनिएको हैन . यो धेरै अभाव(सडक, नियम, कानून), व्यबिचार(बन्द, महंगी, मद्दत नगर्ने, बाद को पछि लाग्ने) र रंगको राजधानी बनेको छ . हजुरको लेखाइको सदैव प्रसंसक नै हूँ . अर्को भागको प्रतीक्षामा छु .

ThahaChaena · Feb 3, 2017 10:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all