शंखधरको सुन शुक्रबार, ०७ माघ २०७३, १० : २८ | सुरेश किरण सुरेश किरण बजारमा चाहिने जति सुन नपाएर व्यापारीहरू हैरान छन्। बिहेको सिजन छ। तर बजारमा सुन छैन। उता प्रहरीहरू चाहिँ चाहिने भन्दा बढ्ता सुन भेटिएर हैरान छन्। अस्ति भर्खर मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ किलो सुन भेटिएको थियो। त्यो सुन कसको हो पत्ता लगाउन पाएको छैन, फेरि बालाजुतिर अर्को १५ किलो सुन भेटिएको छ। ठाउँ ठाउँमा सुन पाएर प्रहरी छन्। कस्तो अनौठो! व्यापारीहरू सुन नपाएर हैरान, प्रहरीहरू सुन पाएर हैरान। भन्न त नेपाललाई विश्व कै सबैभन्दा गरिब देश भनिन्छ। तर यही गरिब देशमा यतिबेला यति धेरै सुन भेटिरहेको छ मानौं कि संसारको सबैभन्दा ठूलो सुन खानी नै यही देशमा छ। सुन कसले ल्याएको हो, किन ल्याएको हो, कहाँबाट ल्याएको हो कसैलाई थाहा छैन। बस्, भेटिएको छ भेटिएको छ। आखिर देशमा यति धेरै सुन आइरहेछ कसरी? प्रहरीलाई ठूलो टेन्सन छ। कतै यही सुनको कारणले जागिरै जाने त होइन? सरकारलाई पनि ठूलो चिन्ता छ। कतै यही सुनको कारणले सरकारै गिर्ने त होइन? सरकार यही तनावमा डुबि नै रहेको थियो, पुनः अर्को दुःखद समाचार आयो – फेरि सुन भेटियो! समाचार आउने बित्तिकै सरकारी अधिकृत जोडले पड्के, 'यता ल्याउ त्यल्लाई।' पक्राउ परेको मानिसलाई सुन सहित कार्यालयमा हाजिर गराइयो। अधिकृतले भने, 'हुँ...फेरि सुन! कहाँबाट आयो यो सुन भन् त।' सुन सहित पक्राउ परेका मानिसले भने, 'कहींबाट ल्याएको होइन हजुर। सत्य सत्य कहींबाट ल्याएको होइन। यो आफ से आफ मेरो घरमा भेटिएको सुन हो हजुर।' 'घरमा भेटिएको?,' अधिकृत छक्क परे, 'घरमा सुन भेटिएको? त्यो पनि यत्रो किलो सुन आफै भेटिएको? हा..हा...हा...जोक् नहान् भाइ।' 'हो सर..आफै भेटिएको हो। अस्ति भूकम्पले चर्केको पर्खाल टाल्नलाई भनेर खोलाबाट अलिकति वालुवा मगाएको थिएँ। हिजो छिँडी मै थियो यो वालुवा। आज बिहान उठेर हेर्दा त सुन भइसकेको रहेछ सर! म पनि छक्क परेकेा छु हिँ...हिँ...हिँ...' सुनवालाको कुरा सुनेर अधिकृत पनि बेस्कन हाँसे, 'हा...हा....हा...हिजो वालुवा मगाएको, आज सुन भएछ! हैट..यस्तो नि हुन्छ?' 'हुन्छ नि सर..,' सुनवालाले साहसपूर्वक भने, 'हजुरले शंखधर साख्वालको कथा सुन्नुभएको छैन?' 'शंखधर? को शंखधर? विराटनगरको सेंठ?' अधिकृतले केही सम्झने प्रयास गर्दै सोधे। 'विराटनगरको होइन सर। हाम्रै काठमाडौंको हो। नेपाल संवत् चलाउने शंखधर साख्वाल छ नि राष्ट्रिय विभूति..हो त्यही।' सुनवालाले बुझाउने प्रयास गरे। 'ए...थाहा भयो, थाहा भयो। त्यही भिंतुनावाला शंखधर होइन? त्यसको के कथा?' अधिकृतले सोधे। सुनवालाले कथा सुनाए, 'त्यो शंखधरले पनि राति खोलाबाट ल्याएर घरमा राखेको वालुवा भोलिपल्ट सुन भएको थियो। त्यही सुन बेचेर उनले सारा देशवासीको ऋण चुक्ता गरेका थिए।' अधिकृत पड्के, 'उहिले पो वालुवा सुन भयो, अहिले पनि हुन्छ?' 'किन हुँदैन?' सुनवालाले तर्क पेश गरे, 'उहिले र अहिले भन्या कति नै फरक हो र? मान्छे उही हो, खोला उही हो, वालुवा उही हो, सुन उही हो। के फरक छ? शंखधरको वालुवा सुनमा परिणत भए जस्तै मेरो वालुवा पनि सुनमा परिणत भएको हो सर। यसमा कहाँ, के, किन भन्ने त प्रश्नै आउँदैन। शंकै नगरे हुन्छ।' अब भने अधिकृत क्षणभर सोचमा डुबे। शंखधरको वालुवा सुन हुन सक्छ भने यो सुनवालाको वालुवा मात्रै किन सुन सक्दैन? कुरा मनासिब छ। अब आफसे आफ वालुवै सुनमा परिणत भए पछि कसको के लाग्छ? यसमा त न सरकारको दोष छ, न प्रहरीको दोष छ। प्रहरीले त बाहिरबाट आउने सुनलाई पो रोक्न सक्छ। वालुवालाई सुनमा परिणत हुन कसरी रोक्न सक्छ? हो, यसमा कसैको केही दोष छैन। 'हुँ...,' अधिकृतले कुरो बुझे जस्तो लाग्यो। तलतिर घोरिएर टाउको हल्लायो, 'हुँ....कुरो यस्तो रहेछ। खोलाको वालुवै सुनमा परिणत भइरहेको छ भने त हामीलाई दोष दिनै मिलेन नि। विमानस्थलमा लापर्वाही भयो, मिलोमतो गर्यो, तस्करी बढ्यो, घुस खायो, सेटिङ मिलायो ....यो गर्यो त्यो गर्यो भन्या त जम्मै झुठ पो रहेछ। वास्तवमा यस्तो त केही भएकै रहेन छ, हैन त?' 'हो त नि...,' सुनवालाले ट्वाक्क कुरा मिलायो, 'घर मै वालुवा सुन हुन्छ भने कसले ल्याओस् तस्करीको सुन? त्यो त मूर्खले मात्र ल्याउँछ।' 'हो, मूर्खले मात्रै ल्याउँछ।' अधिकृत जुरुक्क उठे। फेरि बसे। घन्टी टि्रङ टि्रङ बजाए। पीए भित्रिए। अधिकृतले आदेश दिए, 'ल रिपोर्ट बनाओ। राजधानीमा जताततै सुन भेटिएको कारण त अर्कै पो रहेछ। बेकारमा हामी एअरपोर्ट–सेअरपोर्ट घुमिरहेका रहेछौँ। जे भए पनि उल्झन सुल्झाउन दिमागमा यो हुनुपर्छ के यो..' अधिकृतले कञ्चटमा औँलो घोच्दै भने।
_____ · Jan 21, 2017 6:12 AM · 1,779 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion