बिस्मार्क, पृथ्वीनारायण र नेपाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिस्मार्क, पृथ्वीनारायण र नेपाल गणेशकुमार निरौला जर्मनी एकीकरण हुनुअघि सानाठूला गरी झण्डै तीन सय राज्यमा विभाजित थियो । १९औं शताब्दीको तेस्रो दशकमा त्यहाँ जोल्बरिन संघ निर्माण भएपछि जर्मनी एकीकरणको परिस्थिति देखा प¥यो । सन् १८६१ मा जर्मनीको सबभन्दा शक्तिशाली राज्य प्रसामा विलियम प्रथम राजा र बिस्मार्क प्रधानमन्त्री बनेपछि एकीकरणको कामले प्राथमिकता र गति पायो । यस अघिको प्रसाको संसदमा उदारवादीहरुको बाहुल्य थियो र उनीहरु सैनिक बलमा एकीकरण गर्नु हुन्न भन्ने पक्षमा थिए । यिनको विचार जनचेतना विस्तार गरेर, जनमत सिर्जना गरेर नै जर्मनीको एकीकरण गर्न सकिन्छ भन्ने थियो । त्यसै कारण सैनिक अभियानका लागि भनी बढाइएको बजेट संसदले पारित गरेन । संसद भंग गरियो । फेरि चुनाव भयो । उदारवादीहरुकै संसद बन्यो । बिस्मार्कले संसदलाई निषेध गरेर कर उठाउन थाले । राजाले उनलाई समर्थन दिए । राजा विलियम प्रथम पनि बिस्मार्क जस्तै सैनिक शक्तिमा विश्वास गर्थे । उनीहरुको विचार थियो …… हतियार र युद्धले मात्र जर्मनीको तत्कालीन समस्या समाधान हुन सक्छ, भाषण र मतदानले होइन । उनको यस रणनीतिलाई तत्कालीन युरोपमा कार्यान्वयन गर्नु अत्यन्त जटिल कार्य थियो । किनभने जर्मनी भूगोलभित्रका साना राज्यहरु कुनै डेनमार्कको प्रभुत्वमा थिए, कतिमा फ्रान्सको प्रभाव थियो, धेरै जसो साना राज्यमा अष्ट्रियाको प्रभाव र अधिनता थियो । जर्मनीको एकीकरण गर्न प्रसाले युरोपका यी तिनै वटा शक्तिशाली राष्ट्रसँग युद्ध गर्नै प¥थ्यो । युद्धमा विजयी भई जर्मनीको एकीकरण हुने जति सम्भावना थियो, पराजित भई प्रसाकै अस्तित्व मेटिने सम्भावना पनि उत्तिकै थियो । यस्तो अवस्थामा युद्ध गर्न बिस्मार्कले व्गननभि एयष्अिथ अपनाए । सर्वप्रथम सन् १८६४ मा अष्ट्रियासँग मित्रता गाँसेर डेनमार्कसँग युद्ध गरी जर्मनभाषी क्षेत्रहरु खोसेर लिए । यसपछि रुससँग मैत्री सम्बन्ध राख्दै सार्डिनिया र फ्रान्ससँग अष्ट्रिया विरुद्ध सन्धि गरे सन् १८६६ मा । अष्ट्रिया र प्रसा बीचको युद्धमा अष्ट्रिया पराजित भई उत्तरी र मध्य जर्मनीमा अष्ट्रियाको प्रभुत्व अन्त्य भयो । अब एक्लै पारेर सन् १८७० मा फ्रान्समाथि आक्रमण गरे । युद्ध सुरु भएको २ वर्ष भित्रमा प्रसाले ८३ हजार सेना सहित नेपोलियन तृतीयलाई कैद ग¥यो, पेरिस कब्जा ग¥यो । पछि फ्रान्ससँग सन्धि गरी दक्षिणी जर्मनीमा एकीकरणको कार्य पूरा भयो । बिस्मार्कले समृद्ध, शक्तिशाली र एकीकृत जर्मनी निर्माणको महत्तम कार्य पूरा गरेरै छोडे । प्रसाको नेतृत्वमा बिस्मार्कले जर्मनीको एकीकरण गर्नुभन्दा एक सय वर्ष अगाडि नै गोरखाको नेतृत्वमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको काम थालेका थिए । उनले पनि बिस्मार्कले जस्तै ‘हतियार र युद्ध’ कै नीति अपनाएका थिए । तत्कालीन नेपालमा जनचेतना, जनमत वा कुनै प्रजातान्त्रिक प्रक्रियाको कल्पना गर्न सकिदैन थियो । त्यसकारण पृथ्वीनारायणले नेपाल एकीकरण कार्य थालनी गर्नु अघि हतियारको जोहो, फौजी संगठन र छरछिमेकसँगको सम्बन्ध जस्तो पूर्वाधार निर्माँण गरेका थिए । उनले आफ्ना विश्वासी योद्धाहरुसँग सल्लाह लिँदा सोधेका थिए — दिक्वन्दसेनसित हाक दि आञां नेपाल पनि देषि आञां हान्नाको मनसुवा पनि राषी आञां तिमीहरु क्या भन्छौं ? उनलाई शंका थियो उनी— नेपाल खाल्डातिर युद्धका लागि हिडेपछि पश्चिमतिरबाट गोर्खामाथि आक्रमण हुन सक्थ्यो । यस्तो स्थितिमा भुइँको उठाउँन खोज्दा पोल्टाको पोखिन जान्थ्यो । दूरदर्शी पृथ्वीले आफ्ना अनुचरहरुसँगको छलफलमा भने — म जसै अर्काको छत्रभङ्ग गर्न त जान्छु मेरो छत्रभङ्ग गर्न अर्को आयो भन्या कसो होला ? उत्तर आयो — बाइसे चौबिसे आयो भन्या चेप्यामा रगतको नदी बहाउँला । यसरी युद्ध गर्नै पर्ने निचोड पृथ्वीनारायण र उनका सहयोगीहरुले निकालेका थिए । तर, पृथ्वीनारायण आफू एकै चोटि दुईटा मोर्चामा युद्ध गर्नसक्ने अवस्थामा थिएनन् । सल्लाह दिने क्रममा उनका मामा उद्योत सेनले भनेका थिए — लमजुन भन्याको गरुड हो गोर्षा भन्याको सरप हो नेपाल भन्याको भ्यागुतो हो अघि गरुडको आषा छलनु तब सरपले भ्यागुतो षान पाउँछ । गोर्खाको पश्चिमतिर गोर्खाभन्दा समृद्ध, शक्तिशाली र विशाल राज्यहरु थिए । यी मध्ये पाल्पा पृथ्वीनारायणको मावली राज्य थियो । कास्की, तनहुँ, पर्वत, जाजरकोट आदि राज्यसँग सामान्य सम्बन्ध भए पनि लमजुङ गोर्खाको चीरशत्रु थियो र यो गोर्खाभन्दा शक्तिशाली पनि थियो । माथि लमजुङलाई गरुड र गोर्खालाई सर्प भनिएको छ । यसबाट यी राज्यको हैसियत प्रष्ट हुन्छ । यस्तो अवस्थाम लमजुङलाई आफ्नो पक्षमा नपारी पूर्वतिर युद्ध थाल्नु मूर्खता हुन जान्थ्यो । पृथ्वीनारायणले लमजुङे राजा रिपुमर्दनसित चेपे नदीको किनारमा भेटी घाहा बाँधी (सन्धि गरी) पूर्व हान्न जाँदा गोर्खालाई पश्चिमबाट सुरक्षित तुल्याएका थिए । यो उनको कुटनीतिक कौशलको उदाहरण थियो । त्यसो त काठमाडौं उपत्यकाका तीन मल्ल राज्यसँग युद्ध गर्दा पनि उनले यही नीति अख्तियार गरेका थिए । त्यसैकारण भादगाउँको राजकुमारसँग मित लगाएका पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गर्दा भादगाउँले सघाएन । पाटनसँग युद्ध गर्नै परेन, बाकी रहेको भादगाउँ एक्लै टिक्न सकेन । सन् १७६९ मा भादगाउँ विजय गरेपछि आधुनिक नेपालको जग बसेको मानिन्छ । यसपछि चौदन्डी र विजयपुर राज्यका राजा र मन्त्री (दिवान) हरु बीचको झगडाबाट फाइदा उठाउँदै गोर्खाली फौजले सन् १७७४ सम्ममा ओल्लो र माँझ किराँतसहित चौदन्डी एवम् विजयपुर राज्य विशाल नेपालमा मिलायो । सिक्किमको आक्रमक र असभ्य व्यवहारले दिक्क भएको लिम्बूवान (पल्लो किराँत) पनि आफ्नो स्वायत्तता (किपट व्यवस्था) निरन्तर रहने शर्तमा नेपाल राज्यमा मिल्न आयो । यसरी पश्चिमतिरबाट अविजेय शक्तिका रुपमा नेपाल एकीकरणको नेतृत्व गर्दै आएको गोर्खाली सेनासँग सिक्किम त्रस्त भयो र पहिले कब्जा गरेको इलाम क्षेत्र नेपाललाई बुझाई सन्धि ग¥यो । बिस्मार्कले राजा विलियम प्रथमको आडमा जुन अभूतपूर्व कुटनीतिक चातुर्य र रणनीतिक कौशलले जर्मनीको एकीकरण पूर्ण गरेका थिए, पृथ्वीनारायण शाहले एक्लै त्यो शौर्य, चातुर्य र कुशलता देखाएका थिए । बिस्मार्कले जर्मनी एकीकरणको क्रममा तीन ठूला र शक्तिशाली देशहरुसँग युद्ध गरे जस्तै पृथ्वीनारायणले अंग्रेजी फौज, मुसलमान फौज र नेपालभित्रका साना अनेकौं राज्यका फौजसँग युद्ध गर्नुपरेको थियो । स्मरणीय छ — धेरै बुज्रुकहरु बाईसे–चौबीसे राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरी सिङ्गो नेपाल बनाए भनी गफ छाँट्दछन् । आजकल इतिहास पढ्ने काम अनुत्पादक र वाइयात ठानिन्छ । त्यसकारण अहिलेका शिक्षितहरुलाई थाहा छैन– पृथ्वीनारायण शाहले बाईसे—चौबीसे राज्यहरुमध्ये एउटै पनि विजय गरेका थिएनन् । गोर्खा स्वयम् चौबीसे राज्यभित्र पर्नु अलग कुरा हो । तर उनले त गोर्खापूर्वका तत्कालीन नुवाकोट, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, पाटन, भादगाऊँ ओल्लो र माँझ किराँतसहित चौदण्डी, लिम्बुवानसहित विजयपुर राज्य विजय गरेका हुन् । उनको पश्चिमी विजय अभियान असफल भयो । यस अभियानलाई सफल बनाउन, भोटसँगको खोटो टकको समस्या सुल्झाउन र कान्छा छोरा बहादुर शाहको बिहे गराउने योजना बनाउँदै गर्दा पृथ्वीनारायण शाह नुवाकोटमा बिरामी परे । त्यहीँ देवीघाटमा सन् १७७५ मा यिनको मृत्यु भयो । त्यस बेलासम्म आधुनिक नेपालको आधार तयार भइसकेको थियो । त्यसै आधारमाथि राजमाता राजेन्द्र लक्ष्मी र बहादुर शाहले नेपाल एकीकरणको कार्य अघि बढाए । भीमसेन थापाले पश्चिममा सतलज नदीपारि काङ्गडा पु¥याए नेपाली सेनालाई । तर, घाम नअस्ताउने साम्राज्य, तत्कालीन विश्वको सबभन्दा शक्तिशाली मानिने अंग्रेजहरुले दक्षिणी सीमामा पाँच ठाउँबाट गरेको आक्रमणपछि झण्डै दुई वर्ष युद्ध चल्यो र सन् १८१६ मार्चमा युद्धको अन्त्य भयो । नेपालले एक तिहाई भूभाग गुमाएर सुगौलीको सन्धि गर्नु प¥यो । त्यसपछि सन् १८५७ को भारतको सिपाही विद्रोहमा अंग्रेजलाई सहयोग दिएवापत जंगबहादुरले पुरस्कारस्वरुप पाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाली सीमाभित्र आएपछि वर्तमान नेपालको मानचित्र कायम भएको हो । अहिलेको हाम्रो विडम्बना भनेको राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहसहित यो मुलुक निर्माण गर्ने र जोगाउने हाम्रा पुर्खाहरुलाई गरिएको विस्मरण हो । आफ्नो गौरवपूर्ण इतिहासप्रतिको उपेक्षा हो । आफ्नो इतिहास विस्मरण गर्ने कुनै पनि जातिको भविष्य सुरक्षित रहेको दृष्टान्त कमसेकम यस पृथ्वीमा देखिएको छैन । सबैलाई चेतना भया ।

_____ · Jan 18, 2017 8:33 PM · 2,347 views

1 Reply

the ineptness of nepali historians to explain the proper history of nepal to nepalis gives me pain. there is so much to learn from our good deeds and mistakes in history. also, the durbariya historians ruined the narrative and created human godheads in some kings which made it harder for common people to accept.but hope the new generation will get to know of it.

shiva_linga · Jan 21, 2017 12:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all