फेसबुकमा एउटा गलत समाचारको अपत्यारिलो यात्रा 14th December 2016 | २९ मंसिर २०७३ पहिलोपोस्ट - उज्ज्वल आचार्य - आइतबार राति ‘कनीकुथीपुर’ नाम राखिएको वेबसाइटमा एउटा 'समाचार' प्रकाशित भयो जसको शीर्षक थियो - “एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्र संघ”। लेखकको अनुरोधमा अध्ययन प्रयोजनका लागि नेपालको सबैभन्दा चर्चित ब्लग ‘माइसंसार’ले सोसल मिडियामा गलत समाचारहरु कसरी र कत्ति फैलिँदो रहेछ भनेर परीक्षण गर्न यो समाचार फेसबुक पेजमा प्रकाशित गरेको थियो। त्यो शीर्षकलाई फेसबुकबाट ६ वर्ष अगाडिको मितिमा पेजमा नदेखिने गरी शेयर गरिएको थियो। टम्बलर नामको निःशुल्क ब्लग बनाउन पाइने साइटमा आइतबारै अकाउन्ट खोलेर बनाइएको 'कनिकुथीपुर'मा हालेको २४ घण्टामा त्यो समाचारको लिङ्कको फैलावटले एउटा अपत्यारिलो तथ्य देखाउँछ र एउटा भयावह स्थितितर्फ इंगित गर्छ। एक दिनमा त्यो लिङ्कले २१ हजार भन्दा बढि इन्जेगमेन्ट (शेयर, लाइक र कमेन्ट) पायो । १ लाख १४ हजार जनाले त्यो शीर्षक र लिङ्क देखे। १८ सयले त्यो लिङ्कलाई शेयर गरे। ती मध्ये धेरैले यो समाचारलाई पढ्दै नपढी शीर्षकका आधारमा मात्र शेयर गरेका थिए। सोसल मिडियामा यसको फैलावट (जसलाई भाइरल हुनु भनिन्छ) यसकारण पनि अचम्भित पार्ने खालको थियो कि त्यो 'समाचार' जस्तो देखिने हेडलाइनको लिङ्कमा क्लिक गरेर हेर्नेले देख्ने कुरा यस्तो थियो: “समाचार हैन हेडलाइन मात्र पढेर नेपालीहरुले कतिको समाचार सेयर, लाइक गर्दो रहेछ भनेर अध्ययन प्रयोजनका लागि फेक हेडलाइन बनाइहेरेको” हावादारी समाचार यो समाचारलाई गलत समाचार (अँग्रेजीमा फेक न्यूज) शब्दले व्याख्या गर्नु पनि सायद गलत हो। यो पूर्णरुपमा हावादारी सामाग्री थियो। शीर्षक आफैमा ज्यादै अपत्यारिलो थियो। संयुक्त राष्ट्रसंघले पार्टीको अध्ययन गर्यो र कुनै अमूक दललाई राष्ट्रवादी दल घोषणा गर्नु नै पत्याउन सजिलो विषय थिएन। त्यसमाथि एक पटक गुगलमा सर्च गर्दा पनि होइन भन्ने थाहा हुने विषय थियो। साथसाथै समाचार पूरै पढ्न खोज्नेहरुलाई झुक्याउन खोजिएको थिएन, त्यहाँ स्पष्ट रुपमा यो हावादारी शीर्षक हो भन्ने लेखिएको थियो। समाचार हालिएको साइटको नाम ‘कनीकुथीपुर’ कान्तिपुरजस्तै देखिए पनि पत्याउन नसकिने नाम थियो र साइटमा यो बाहेक अरु कुनै समाचार थिएन। हावादारी समाचार भनेर सजिलै भन्न सकिने यति धेरै बुँदाहरु हुँदाहुँदै पनि यो शीर्षक १ लाख १४ हजार जनासम्म पुग्यो र १८ सयभन्दा धेरैले शेयर गरे भन्नुको सजिलो अर्थ हो विश्वसनीय खालको साइट निर्माण गरी झुक्याउने गरी लेखिएका गलत समाचार सोसल मिडियामा फैलिने सम्भावना ठूलो रहेछ। केही यस्तै गलत समाचारहरु भाइरल भइसकेको स्थितिलाई हेर्दा भविष्यमा यस्ता सूचनाहरुले अझ धेरै जाल फैलाउन सक्ने र नकारात्मक प्रभाव पार्न सक्ने अवस्था देखिन्छ। अझ यो सबै फैलावट फेसबुकले ‘अर्गानिक रिच’ भन्ने कम प्राथमिकतामा पर्ने सामग्रीको पहुँच थियो। थोरै डलर खर्च गरेर ‘बुस्ट’ गर्ने हो भने फेसबुकले त्यो सामग्रीलाई अझ लाखौँ अन्य व्यक्तिहरुसम्ममा पुर्याउन सक्थ्यो र त्यस्तो अवस्थामा यसको पहुँच अहिलेको भन्दा धेरै गुणा बढ्थ्यो। यो समाचार शीर्षकको सोसल मिडियामा यात्रालाई हेर्दा देखिएका तथ्यहरु यस्ता छन् : धेरै जनाले समाचार नपढी शीर्षककै आधारमा कमेन्ट, लाइक र शेयर गर्दा रहेछन्। सूचनाको विश्वसनीयता परख गर्ने क्षमता कम रहेछ। सूचना गलत हो भन्ने थाहा पाउनेहरु पनि यसलाई फैलाउन मद्दत गर्दा रहेछन्। सोसल मिडियामा गलत समाचारहरु ज्यादै छिटो भाइरल हुँदो रहेछ। गलत सूचनाहरुलाई सोसल मिडियाबाट हटाउन प्रयोगकर्ताहरुको ज्यादै न्यून पहल हुँदो रहेछ। कसरी फैलियो हावादारी समाचार ? यति हावादारी समाचार शीर्षक कसरी त्यति फैलियो भन्ने प्रश्नको जवाफ सजिलो छैन। यसको जवाफ फेसबुकको प्राविधिक कार्यविधि, फेसबुक प्रयोगकर्ताहरुको मिडिया साक्षरता, र शेयर गर्नेहरुको सोचको आधारमा भर पर्छ। यो समाचार फैलिनुका केही कारणहरु निम्न छन् : १. शेयर गर्नेहरुको विश्वसनीयता: यो समाचार शीर्षक पहिलो पटक माइसंसारको फेसबुक पेजबाट शेयर गरिएको थियो। माइसंसारका फेसबुक पेजमा ७६ हजार लाइक छन र यो एक विश्वसनीय स्रोत हो। फेसबुक जस्ता सोसल मिडियामा सबैको एकअर्कासँग परिचित वा विश्वसनीयहरुको सञ्जाल हुन्छ जसमा विश्वसनीयताको मात्रा बढी हुन्छ । माइसंसारजस्तो विश्वसनीय पेज वा समाजमा विचारलाई नेतृत्व गर्ने जस्तै नेता, शिक्षक वा पत्रकार एंव आफ्ना साथीभाई इष्टमित्रलाई हामी समान्यरुपमै बढी विश्वास गर्छौ र तीबाट प्राप्त सूचनाहरुलाई धेरै शंका गर्दैनौ। २. फेसबुकको प्राविधिक कार्यविधि: फेसबुक र अन्य सोसल मिडिया आफैमा बुद्धिमान हुँदैनन्। यी निश्चित प्राविधिक कार्यविधि अनुसार चल्छन्। सो समाचार शीर्षकमा लाइक गर्ने वा कमेन्ट गर्ने वा शेयर गर्ने थुप्रैले यो गलत समाचार हो भन्ने थाहा पाए र त्यही अनुसार कमेन्ट वा लाइक गरे। उनीहरुले चाहेर वा नचाहेर त्यो शीर्षकलाई फैलाउन वा भाइरल बनाउन मद्दत गरे किनभने फेसबुकले धेरै इन्गेजमेन्ट भएका सामग्रीहरुलाई प्राथमिकतामा राखेर देखाउँछ। त्यसले त्यसका कमेन्टहरु के थिए भन्ने विश्लेषण गर्दैन। त्यस्तै हामीले कुनै पनि सामग्री लाइक वा कमेन्ट गर्दा हाम्रा सञ्जालमा रहेकाहरुले फलानोले यो पोस्टमा कमेन्ट वा लाइक गर्यो भन्ने जानकारी पाउन सक्छन् र त्यसै अनुसार ती सामाग्रीहरुमा जान सक्छन्। साथै पुरानो मितिमा प्रकाशन गरे पनि र आफ्नो पेजमा यो लुकाएपनि अन्य प्रयोगकर्ताले फेसबुक खोल्दा देख्ने रहेछन्। यसको अर्थ हामीले सकारात्मक वा नकारात्मक कमेन्ट गरे पनि वा लाइकमात्रै गरेपनि प्रत्यक्षरुपमा त्यो ती सामग्रीहरुलाई फैलाउन सहयोगी भइरहेका हुन्छन्। ३. फेसबुक प्रयोगकर्ताहरुको मिडिया साक्षरता: मिडिया साक्षरता भन्नु समाचारहरुलाई शंकाका दृष्टिले हेर्नु र त्यसको विश्वसनीयता मापन गर्न सक्ने ज्ञान हो। समग्रमा विश्वव्यापीरुपमै मिडिया साक्षरता कम छ भने नेपालीहरुमा त्यो कम हुनु अनौठो भएन। मिडिया साक्षरताको अभावका कारण थुप्रैले यो समाचारलाई विश्वास गरेको, अलि अलि होइन कि भन्ने शंका लागेपनि शेयर वा लाइक गरेको देखिन्छ। समाचार पूर्णरुपमा नपढी हतार हतार लाइक र शेयर गर्ने बानी राम्रो होइन तर त्यो बानी फेसबुक प्रयोगकर्तामा रहेको देखिएको छ। यो शीर्षक प्राप्त गर्नेहरुको संख्या, इन्गेजमेन्टको संख्याका आधारका लिङ्क क्लिक गरे १२ हजार ३ सय जना जति मात्रै थिए जुन न्यून हो। ४. शेयर गर्नेहरुको सोच: शेयर गर्नेहरु मध्य कतिपयले यो हावादारी समाचार हो भन्ने थाहा पाईपाई शेयर गरे जसको कारण थियो जस्तोसुकै समाचार भएपनि यसलाई शेयर गर्दा केहीले विश्वास गर्लान् र मलाई राम्रो लागेको दललाई केही भएपनि फाइदा होला भन्ने सोच। यसअघि फैलिएका नेताहरुलाई नराम्रो देखाइएका केही गलत समाचारहरुमा पनि यो प्रवृति देखिएको थियो। यो समाचारलाई शेयर गर्नेहरुमा पार्टीको जिल्ला र वडा कमिटीका फेसबुक पेजहरु पनि थिए। आफू वा आफ्नो दललाई फाइदा हुन्छ भन्ने गलत नै भए पनि सूचना फैलाउन सहयोग गर्ने सोचका कारण पनि यो समाचार शीर्षक फैलियो।भयावह स्थिति यो समाचारको प्रभावलाई अहिल्यै मूल्याकंन गर्न नसकिएपनि यसलाई धेरैले विश्वास गर्ने र पछिसम्म सूचनाका रुपमा स्मरण गर्नेहरु थुप्रै हुनेछन्। गलत समाचारले नागरिकलाई गलत सोच र विश्लेषणतर्फ धकेल्छ जसको प्रत्यक्ष असर नागरिकहरुले गर्ने व्यक्तिगत वा सामूहिक निर्णयमा देखिन्छ । निर्वाचनमा यसको असर पर्ने कुरालाई अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय चुनावमा देखिसकिएको छ भने व्यक्तिका अन्य साना ठूला समाजिक वा राजनीतिक निर्णयहरुपनि गलत समाचारबाट प्राप्त सूचनाबाट प्रभावित हुन्छन्। समग्रमा त्यसले प्रजातन्त्र र मानव समाजलाई कमजोर बनाउँछ। अब आउने नेपालको निर्वाचनमा सोसल मिडियाको भूमिका कस्तो हुन्छ र सोसल मिडियामा जनाजान फैलाउने सकिने गलत सूचनाको नागरिकको मतदान निर्णयमा कस्तो प्रभाव पर्छ भन्ने कुरो विश्लेषण गर्नु र त्योबाट जोगिनु आवश्यक छ। सोसल मिडियामा फैलिने गलत सूचनाका कारण मिडिया र पत्रकारहरुले विश्वसनीयता गुमाउनेछन् किनभने सामान्य नागरिकका लागि सूचना प्रवाह गर्ने सबै मिडिया र पत्रकार नै हुन्। समग्रमा मिडिया कमजोर हुँदा र गलत सूचनाको प्रभाव बढ्दा हाम्रो लोकतन्त्रलाई नकारात्मक प्रभाव पार्नेछ। नागरिकका उत्तरदायित्व सोसल मिडियाको प्रयोग र प्रयोगकर्ता बढ्दो छ। कूल जनसंख्याको ५२ प्रतिशत पहुँच पुगेको इन्टरनेटमा आधारित सोसल मिडिया र विशेषगरी फेसबुक नेपालमा ज्यादै प्रयोग गरिन्छ। ८० लाख नेपालीले फेसबुक चलाउँछन्। नेपालबाहिर रहेका नेपालीको संख्या ठूलो छ र तिनलाई जोड्दा यो संख्या अझै ठूलो हुन्छ। आफ्ना भावनाहरु व्यक्त गर्न, साथीसंगी इष्टमित्रहरुसँग जोडिराख्न र नयाँ कुराहरुको जानकारी लिन हाम्रालागि फेसबुक प्रभावकारी र सजिलो माध्यम बनेको छ। र यसलाई प्रभावकारी, सजिलो र सहि राख्न यसका प्रयोगकर्ताका रुपमा हाम्रो ठूलो जिम्मेवारी छ। राज्य, दलहरु, नागरिक समाज र मिडियाका पनि यसलाई सहि राख्न गर्नुपर्ने जिम्मेवारीहरु छन् तर अहिलेका लागि कुनैपनि सूचना लेख्नु, शेयर वा लाइक गर्नु अथवा कुनैपनि सामग्रीमा कमेन्ट गर्नु अगाडी निम्न लिखित कुरामा ध्यान पुर्याउनु हामी सबैको जिम्मेवारी हो: १. सूचनाको परख गर्नुपर्छ: कुनै पनि सूचना वा समाचारको परख नगरि त्यसमा इन्गेज हुनुहुदैन । परख गर्न सूचनाको स्रोत हेर्नुहोस, पूरा समाचार पढ्नुहोस् अिन कस्तो खाले साइटमा प्रकाशित हो विचार गर्नुहोस् । २. शेयर, लाइक वा कमेन्ट नगर्नुहोस्: कमेन्ट वा लाइक गर्न हतार नगर्नुहोस् र पूर्ण विश्वस्त नभइ नगर्नुहोस् । शेयर त झन सकेसम्म गर्दै नगर्नुहोस्। ३. जे पायो त्यहि नलेख्नुहोस्: रमाइलोका लागि वा जोकका रुपमा वा आफू पूर्णरुपमा जानकार नभएका कुराहरु नलेख्नु राम्रो हुन्छ । हामीले जसरी सोचिरहेका हुन्छौ, त्यो पढ्ने सबैले त्यसैगरि सोचिरहेका हुन्छन भन्न सकिन्न । विशेषगरि नकारात्मक कुराहरु लेख्दा ध्यान पुर्याउनुपर्छ। ४. रिपोर्ट गर्नुहोस्: सबैभन्दा महत्वपूर्ण कुरा कुनै सूचना वा समाचार गलत छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ भने फेसबुकलाई रिपोर्ट गर्न सकिन्छ । माथिको हावादारी समाचारलाई त्यत्रा मानिसहरुले हेर्नु भयो र त्यसका इन्जेज हुनुभयो तर १७ जनाले मात्रै त्यसलाई रिपोर्ट गर्नुभयो । रिपोर्ट गर्नु भनेको फेसबुकलाई यो गलत हो भनिदिनुहो । इन्टरनेटको विकासले ल्याएको अनुपम उपहार सोसल मिडिया हो जसले नागरिकलाई आफ्ना संविधानप्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको साथसाथै सूचनासम्मको पहुँचको अधिकारलाई निर्वाध उपयोग गर्ने साधन दिएको छ । यसलाई उपयोगी र समयसापेक्ष राख्न तँपाई हामी सबैले यसलाई जिम्मेवारीपूर्णरुपमा प्रयोग गर्नु पर्छ । (आचार्य सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक हुन्)
Raam Raam · Dec 13, 2016 8:28 PM · 3,765 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion