Do you know Femina Chapagain ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hey Guys, Stories about her is quite interesting than any Movie-एक फूल दुई माली फूल एक माली दुई - केपी ढुंगाना मंसिर ६, २०७३- महानगरीय प्रहरी अपराध महाशाखाको ठगीसम्बन्धी घटनाको अनुसन्धान गर्ने शाखाका प्रहरी अधिकारी २ सातादेखि कानुनका पाना पल्टाउन व्यस्त छन्, तर ऐनको कुनै धारा खुट्टिन सकेको छैन । घटनाको प्रकृतिले एक युवतीको माया जालमा परेर २ जना युवा नराम्रोसँग ठगिएको देखिन्छ । एक युवाको ५० लाख अनी अर्काको २० लाख, तर नेपालको ठगी एवं बिहेवारीसम्बन्धी कानुनले श्रीमतीविरुद्ध श्रीमानको ठगी उजुरी लाग्न सक्ने प्रबन्ध नगर्दा प्रहरीको बहस टुंगिन सकेको छैन । उजुरीकर्ताले आफूसँगै अन्य १८ जना समेत ठगिएको दाबी गरेका थिए तर, कसैलाई उपस्थित गराउन सकेनन्, जसले अनुसन्धान थप जेलियो । मुलुकी ऐनको बिहेवारीसम्बन्धी प्रावधानमा बहुविवाहसम्बन्धी कानुन आकर्षित हुन सक्ने बुँदा प्रहरीले फेला पारेको छ, तर महिलाविरुद्ध बहुविवाहको आरोप र अनुसन्धानको अभ्यास न्युन रहेकाले प्रहरी बहुविवाहको कानुनी आधार टेक्ने निष्कर्षमा समेत पुग्न सकेको छैन । ती युवतीलाई आफ्नी श्रीमती भन्दै प्रहरीमा दावीसहितको उजुरी गर्न पुग्ने एक युवक हुन् रोजगारीका लागि मलेसियामा रहेका २९ वर्षीय र अर्का हुन् झापा बस्ने १८ वर्षीय युवक । निवेदन आएपछि युवतीको खोजीमा खटिएको महाशाखाले विद्या अहिले इटहरीस्थित मामाघरमा रहेको पत्ता लगाएको छ । निवेदन आएको दुई साता भयो । उनी कतै लुकेर बसेकी पनि छैनन्, तर कुन कानुन टेकेर, कुन आरोपमा उनलाई अनुसन्धानका लागि इटहरीबाट काठमाडौं ल्याउने खुट्याउन नसक्दा उनी अनुसन्धानको दायराभन्दा बाहिरै छिन् । उजुरीका बाबजुद पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई हम्मेहम्मे पारिरहेकी युवती हुन् २० वर्षीय विद्या सरकार जो सामाजिक सञ्जालमा वास्तविक नाममा भन्दा उपनाम फेमिना चापागार्इंका रूपमा बढी परिचित छिन् । ‘अली अनौठै प्रकारको ठगी भएकाले कानुनी प्रक्रिया कसरी अघि बढाउन सकिन्छ भन्ने छलफलमा छौं,’ घटनाको अनुसन्धानमा संलग्न महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले भने, ‘कानुनी आधार फेला नपरेकाले अनुसन्धान अघि बढाउन सकिएको छैन ।’ रूपको जाल अनि फेसबुकको कमाल फेसबुकमा उनको जन्ममिति १९९६, नोभेम्बर १५ उल्लेख छ । नेपालको ठेगाना इटहरी भएको उनको फेसबुकको प्रोफाइलमा हाल उनी जर्मनको म्युनिखमा बस्ने गरेको देखिन्छ । उनको फेसबुकको वाल यौवनले धपक्कै बलेका तस्बिरले सजिएका छन् । जर्मनीको ठेगाना अनी वालमा भरिएका मनमोहक तस्बिर नै हुन् जसले २९ वर्षिय विवाहित एक युवकले मलेसियामा सेक्युरिटी गार्डको काम गरेर कमाएको २० लाख दाउमा लगाए । मनमोहन रूपकी धनी युवतीलाई जीवनसाथी बनाउने लोभमा फस्दा धरानका एक युवकले ५० लाख खर्चिएर उनीसँग विवाह नै गरे । नेपालमा सन्तान र श्रीमती हुँदाहुँदै कलकलाउँदी युवती पाएकोमा मख्ख पर्दै मलेसिया बोलाएर उतै विवाह गरी ११ महिना सँगै बसेका युवक अहिले नेपाल आएर डुबेको पैसा फिर्ता लिने जुक्तिको खोजीमा छन् भने १८ वर्षीय युवा विवाह गर्दा गुमेको पैसाको भन्दा विवाहित जीवनबाट छुट्कारा पाउन छट्पटाइरहेछन् । अनुसन्धान अधिकारीहरूका अनुसार परिवारलाई समेत पत्तो नदिई लुसुक्क विवाह गरेका ती युवा अहिले फेमिनासँग वैधानिक छोडपत्रको खोजीमा छन् । उनीहरूको विवाहले सामाजिक मान्यतासँगै कानुनी मान्यतासमेत पाएकाले उनका लागि अर्को विकल्प पनि छैन । पहिलो जाल अनुसन्धान अधिकारीहरूका अनुसार फेमिनाको जालमा परेका यी दुवै जनाको सम्पर्क र सम्बन्ध गाढा बनाउने सम्पर्क सूत्र सामाजिक सञ्जाल फेसबुक नै थियो । यी दुवैसँग फेमिनाले साथी बन्ने डिजिटल प्रस्ताव पठाएकाी थिइन् अनि प्रस्तावकर्ता युवतीको फेसबुक प्रोफाइलकै आधारमा ती दुवै उनको साथी बन्ने प्रस्ताव स्वीकार गर्दै जीवनसाथीसम्म बन्न पुगे । मलेसियामा रहेका युवा र फेमिनाको परिचय दुई वर्षअघि भएको थियो । ती युवा नौ वर्षदेखि मलेसियामा थिए । फेसबुकमा फेमिनाको साथी बन्ने प्रस्ताव स्वीकार गरेलगत्तै दुवैबीच घण्टांै च्याट हुन थाल्यो । मलाई त तपाई कस्तो मन पर्‍यो भन्ने फेमिनाको डिजिटल लजाइले युवाको मन पग्लिनबाट के रोकिन्थ्यो र ? पग्लियो । डिजिटल स्पर्शमा मात्र ती युवाको मन के अड्किन्थ्यो ? नेपालमा परिवार भएकाले उनी तत्काल फर्कन भने सक्दैनथे । अचानक जव प्रेमिकाले मलेसिया घुम्न मन लागेको बताइन्, उनले तत्काल बोलाइहाले, आऊ म मिलाउँछु भन्दै । सेक्युरिटी गार्डको परिश्रमबाट आर्जिएको धन खर्चंदै उनले फेमिनालाई पैसा पठाइदिए । फेमिनाले त्यही पैसाको आडमा मलेसिया घुम्न जान आवेदन दिइन् र भिजिट भिसा पाइन् । मलेसियामा दुवैको बसाइ सँगै थियो । यौवन र रूपले धपक्क बलेकी प्रेमिका पाएर युवा मख्ख । बसाइका क्रममा एक दिन युवतीले नै विवाहको प्रस्ताव गरे पनि उनले नेपालमा रहेको घरपरिवार बिर्सिए र मन्दिरमा गएर उनलाई सिन्दूरपोते गरिदिए । करिब ११ महिना दुवै जना श्रीमान्–श्रीमतीका रूपमा सँगै बसे । उक्त बसाइमा फेमिनाले आफ्नो परिचय खुलाउँदै आफ्नी आमा जर्मनीमा रहेको बताउँदै उनलाई समेत उतै जान प्रस्ताव गरिन् । ‘भयो मलेसियामा कति बस्नु, म टुहुरी हुँ, आमा जर्मनीमा हुनुहुन्छ उतै जाऊँ ।’ वैदेशिक रोजगारीमा मलेसिया पुगेका ती युवाको आँट आएन । उनले अस्वीकार गरे पनि फेमिनाको जिद्दी रोकिएन । ती युवा राजी नभएपछि फेमिनाले पहिले आफू जर्मनी गएर उनलाई श्रीमान्को हैसियतमा उतै बोलाउने प्रस्ताव राखेपछि उनले पत्याए । जर्मनी जान चाहिने ५ लाखजति रुपैयाँ बोकेर फेमिना नेपाल फर्किइन् । ती युवा सपिङमलको गेटमा उभिँदै जर्मन पुगेको सपनामा मग्न भए । जर्मनी जाने प्रक्रिया पूरा भयो भन्दै फेमिनाको नेपाल फर्कने आग्रह मान्दै उनी भएको जागिर चटक्कै छाडेर नेपाल फर्किए । दोस्रो जाल गत मंसिरमा झापाका १८ वर्षीय युवकको फेसबुक नोटिफिकेसन अलर्टमा उसैगरी साथी बन्ने निमन्त्रण आयो । साथी बन्न प्रस्ताव पठाउने युवतीको प्रोफाइल हेरेलगत्तै उनका औंला रोकिएनन्, स्वीकार गरिहाले । प्रस्ताव स्वीकार भएकै दिन सुरु भयो डिजिटल वार्तालाप । वार्तालापको एकमहिने अवधिमा युवती युवकको मनमा प्रवेश गरिसकेकी थिइन् । सामान्य कुराकानी प्रेमवार्तामा रुपान्तरित भैसकेको थियो । ती युवती तिनै फेमिना नै थिइन् जो मलेसियामा थिइन् तर ती युवाका लागि जर्मनी । एक महिनाको डिजिटल सामीप्यताकै बीच फेमिनाले उसैगरी ती युवालाई जर्मनी आउन प्रस्ताव गरिन् । युवाले प्रस्ताव स्वीकार गरेनन्, बरु उनैलाई नेपाल बोलाए । नेपाल आएपछि सँगै जर्मनी जाने प्रस्तावपछि फेमिना पुसको अन्त्यतिर नेपाल आइन् । जर्मनीबाट आउने प्रेमिका लिन ती युवा झापाबाट हुत्तिँदै काठमाडौंको त्रिभुवन विमानस्थल पुगे । पुस २८ मा फेमिना विमानस्थलमा थिइन् । दुवैले अंकमाल गरे र युवाले पहिल्यै प्रवन्ध गरेको होटलतिर लागे । अनुसन्धान अधिकारीहरूका अनुसार यी दुवै पांच दिन काठमाडौंमा सँगै बसेका थिए । फेमिनाले आफ्नो परिवार इटहरीमा रहेको र घर जानुपर्ने बताएपछि ती युवा राजी भए । उनी इटहरीको चोकमा ओर्लिएर एउटा घर देखाउँदै त्यतै गइन् भने ती युवा आफ्नो घरतिर लागे । इटहरीको बसाइमा दुवैबीच फोनमा घण्टौं कुराकानी हुन्थ्यो । कुराकानीकै क्रममा एक दिन फेमिनाले विवाहको प्रस्ताव राखिन् । पहिले त युवा अन्कनाए तर ती युवतीलाई गुमाउने डरले परिवारलाई चालै नदिई विवाह गर्न राजी भए । माघमा विवाह गर्न राजी भए अनुसार दुवैले माघ २१ मा पाथिभरा मन्दिर पुगी विवाह गरी सीधा घर पुगे । परिवार चकित । युवाको परिवार सम्पन्न र समाजमा राम्रै प्रतिष्ठा भएको थियो । छोराले बुहारी बनाएकी युवती पनि राम्रै थिइन् । नहुनु विवाह भैहाल्यो भन्दै उनीहरू सामाजिक परम्पराअनुसार विवाह गर्न राजी भए पुन: ती युवा–युवतीबीच धूमधामसँग विवाह भयो । मलेसियाबाट फर्किएका अर्का युवा जर्मनी जाने भिसा बोकेर आउने फेमिनाको प्रतीक्षामा थिए । उनीसँग फेसबुकमा कुराकानी भैरहन्थ्यो । अचानक फेसबुकको वालमा फेमिनाको दुलहीको रूपसहितको स्टाटस आउँछ, ‘आइएम ह्यापी अल दि टाइम, आई जुस टु वी ह्यापी’ । दुलहीको स्वरूप मलेसियामा भएको विवाहको थिएन । मलेसियाका युवा मूच्र्छा परे । ती युवा आफ्नी कान्छी श्रीमतीको नयाँ घर खोज्दै झापा पुगेपछि फेमिनाको पोल खुल्यो । छोराको करमै भए पनि राम्री बुहारी भित्र्याएको परिवारमा भुइचालो गयो । दुवै ‘श्रीमान्’ को उजुरी समाजका गन्यमान्य सबैलाई बोलाएर विवाह गरेका झापाको परिवार तथा युवतीको रूप र यौवनमा घर परिवार बिर्सेर कमाएको सबै सम्पत्ति जोखिममा पार्न राजी युवक दुवैले विवाहको प्रमाणका रूपमा तस्बिरसहित महाशाखामा उजुरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । मलेसियाको पहिलो श्रीमान् र नेपालको दोस्रो श्रीमानको भेट भएलगत्तै फरार रहेकी फेमिना पनि सम्पर्कमा आइसकेकी छिन् । मलेसियाबाट फर्किएका युवा रूप र यौवनको जालमा डुबेको २० लाख फर्कने आशामा महाशाखा धाइरहेछन् । अर्को परिवार विवाहका क्रममा खर्चिएको ५० लाख माया मारेर कानुनी रूपमा सम्बन्ध अन्त्य गर्न छटपटाइरहेको छ । प्रहरीहरू कानुनको पानामा घोत्लिरहेका छन् । यी दुवैले फेमिनाको फन्दाबाट कसरी उन्मुक्ति पाउने हुन्, अझै टुंगो लागेको छैन । प्रहरी निरीक्षक गोविन्द पन्थी भन्छन्, ‘अली जटिल प्रकृतिको घटना भएकाले अहिले हामी अनुसन्धानमै छौं ।’ प्रकाशित: मंसिर ६, २०७३ source: http://saptahik.ekantipur.com/...

neerman · Nov 21, 2016 4:22 PM · 7,475 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all