यसकारण थपिदैछन् अमेरिकाको टेक्ससमा नेपाली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसकारण थपिदैछन् अमेरिकाको टेक्ससमा नेपाली रामचन्द्र भट्ट / हिमालय खबर ड्यालस (टेक्सस), अमेरिका- सहज रोजगारी अनि जीवनयापनका लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट नेपालीहरुको टेक्ससमा बसाई सर्ने क्रम बढेको छ । टेक्ससमा यतिखेर अमेरिकाका बाँकी ४९ वटै राज्यहरुबाट सहज बसोबास र रोजगारीका लागि मानिसहरु ओइरिने क्रम अत्यधिक बढेको छ ।    सस्तो घरभाडा, सस्तो इन्धन, सहज रुपमा रोजगारीमात्र होइन आफैँ व्यवसाय गर्छु भन्नेलाई समेत उचित वातावरणले गर्दा टेक्ससमा अरु राज्यहरुबाट नेपाली समुदायहरु टेक्ससमा सर्ने क्रम अतिनै बढेको अनुभव नेपाली समाज टेक्ससका पदाधिकारीहरुको छ ।    चौबिसै घण्टा जागा रहने न्यूयोर्कलाई कर्मथलो बनाउने लक्ष्य लिएर तीन महिना अघि शिब शर्मा नेपालबाट जेएफके विमानस्थल उत्रिएका थिए । दुई हप्तासम्म त न्यूयोर्कको रमझमले उनलाई निकै आनन्द दियो । तर जब कामको खोजीमा लागे उनले चित्तबुझ्दो त छाडौं जीवन चलाउन सहज हुने खालको काम पनि पाउन सकेनन् ।    डेढ महिना न्यूयोर्क बसाईपछि दुई महिना उनी त्यहाँ भविष्य नदेखेर अमेरिकाको दक्षिणी राज्य टेक्सस सरे । ‘यहाँ आएको एक सातामै काम पाएँ,’ उनले भने । तर आफ्नै गाडी नहुँदा टेक्ससमा अलिकति समस्या हुने उनको भोगाई छ ।    उता क्यालिफोर्नियाबाट टेक्सस सरेका सन्तोष अधिकारीको भोगाई पनि त्यस्तै छ । चार वर्ष क्यालिफोर्निया बसाईपछि गत अफ्रिको अन्तिम साता अधिकारी ड्यालस सरे । क्यालिफोर्नियामा छँदा रेष्टुरामा सेफको काम गर्ने अधिकारी त्यहाँको बढ्दो महंगी र अपार्टमेन्ट भाडाबाट राहत पाउन टेक्सस सरेका थिए ।    उनकी पत्नीले त्यहाँ छँदा कुनै  काम नपाएकी उनकी पत्नीले ड्यालस आएकत्त दुई सातामै रोजगारी पाइन् । प्रतिघण्टा साँढे १० डलर पारिश्रमिक पाउने काम पाइन् । चार महिना एउटा कम्पनीमा  काम गरेपछि अहिले उनी प्रतिघण्टा ११ डलर पाउनेगरि अर्कै कम्पनीमा काम गर्छिन् । अधिकारी स्वयम् पनि टेक्ससमा यतिखेर गतिलो नेपाली रेष्टुरा सञ्चालन गर्ने र घर किन्ने तयारीसाथ अघि बढेका छन् ।  अमेरिकी पत्रिका युएस न्यूजले प्रकाशित गरेको सूचि अनुसार ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स क्षेत्र अमेरिकाको उत्कृष्ठ बसोबासको स्थलमध्य २१ औं नम्बरमा छ । पूर्वाधार, हावापानी, राज्यको नीति लगायतलाई आधार मानेर युएस न्यूजले बार्षिक रुपमा यस्ता सूचि प्रकाशित गर्दै आएको छ ।    ‘यो ठाउँ काम गर्छु भन्नेका लागि मात्र होइन, आफैं व्यबसाय गरेर अघि बढ्न चाहन्छु भन्नेका निम्ति समेत असाध्यै उपयुक्त छ,’ १० वर्षदेखि टेक्ससको स्टेफनभिलमा बसोबास गर्दै आएका हरिबोल भण्डारीको अनुभव छ । भण्डारी टेक्ससको मात्र नभै सिंगै अमेरिकामा राम्रो प्रगती गर्ने व्यबसायीमा चिनिन्छन् । उनको स्वामित्वमा चार दर्जनको हाराहारीमा ग्याँस स्टेसनहरु छन् ।    झण्डै तीन वर्ष पूर्बी राज्य फ्लोरिडा बसेर भण्डारी व्यबसायका लागि उपयुक्त थलोको खोजीमा टेक्सस सरेका थिए । ‘टेक्सस मलाई असाध्यै फापेको छ,’ उनी भन्छन् । हुनपनि टेक्सस सरेपछि उनले कहिल्यै पछि फर्कनु परेन ।    उता, क्यालिफोर्नियाकै सान्तारोजामा व्यबसाय गर्दै आएका ध्रुबकुमार शर्मा पनि दुई साता अघि टेक्सस सरे । नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेका शर्मा तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको कार्यकालमा राष्ट्रपति कार्यालयका प्रवक्ता समेत थिए ।    सस्तो भाडा भएकै कारण पश्चिमी तटीय राज्य क्यालिफोर्निया र पूर्बी तटीय राज्य भर्जिनियाबाट बढीमात्रामा नेपालीहरु टेक्ससमा बसाई सरिरहेका छन् । क्यालिफोर्नियाको सानफ्रान्सिस्को र आसपासको सिलिकन भ्यालीमा दुईहजार पाँचसय डलर पर्ने ‘डबल बेडरुम, डबल बाथरुम’ को अपार्टमेन्टलाई टेक्ससको डालसमा बढीमा एकहजार डलरमै पाइन्छ । त्यस्तै भर्जिनियामा एकहजार ६ सयदेखि दुईहजार पर्ने अपार्टमेन्टलाई टेक्ससको डालसमा बढीमा एकहजार डलरमा पाइन्छ । अनि कमाईको हिसाब गर्ने हो भने ग्याँस स्टेसन, स्टोर र रेस्टुरामा काम गर्ने नेपालीले कमाउने घण्टाको १० देखि १३ डलर हो । जुन रकम डालसमा अझै सहज रुपमा कमाइ हुन्छ ।     विशेषगरि न्यूयोर्क, भर्जिनिया लगायतका राज्यहरुबाट ठूलो संख्यामा नेपालीहरु अहिले टेक्सस सरेका छन् ।    घर किनेर बस्ने इच्छा भएकाहरुलाई समेत ड्यालस उपयुक्त थलो हो । घरको मूल्य बर्षेनी बढ्दो क्रममा छ । ड्यालसमा भरखरै तयार भएको, सुविधासम्पन्न घरको मूल्य अहिले साँढे तीनदेखि पाँच लाखको बीचमा पाइन्छ । पुराना घरहरु डेढदेखि तीनलाख डलरमा पाएन्छ ।   नेपाली समाज टेक्ससका अनुसार सन् २०१६ लागेपछिमात्र पनि ड्यालस र वरिपरिका क्षेत्रमा अरु राज्यहरुबाट झण्डै दुईसय नेपाली परिवार अरु राज्यबाट बसाई सरेर आएका छन ।    अमेरिकाको सबैभन्दा पुरानो नेपाली संस्था एएनएका उपाध्यक्ष विजयराज भट्टराईका अनुसार टेक्ससको डिएफडब्लु मेट्रोप्लेक्स सबैभन्दा बढी बसाईसराई भएको क्षेत्र हो । अरु राज्यबाट यो क्षेत्रमा नेपालीको बसाईसराई पछिल्लो समयमा व्यापक बढेको छ । भट्टराईका अनुसार डिभी, विद्यार्थी भिसामा आउनेहरु पनि यो क्षेत्रमा बढ्दै गएका छन् ।    नेपालीहरु टेक्ससमा आकर्षित हुनुको अर्को कारण यहाँ रहेको ठूलो नेपाली समाज हो । ठूलो समाज भएको हुँदा समस्या पर्दा सहयोग गर्नेको कमि छैन टेक्ससमा । गत मार्च अन्तिम साता सवारी दुर्घटनामा निधन भएका नेपाली विद्यार्थी रुसेल श्रेष्ठको परिवारको सहयोगार्थ झण्डै ३२ हजार डलर संकलन भएको थियो । नेपालीहरु भएका अरु राज्यमा यति ठूलो सहयोग उठ्ने संभावना थिएन ।    ‘टेक्ससको राम्रो पक्ष भनेको यहाँ रोजगारीको क्षेत्रमा विविधता छ,’ चितवन घर भई हाल टेक्ससको युलेसमा बस्दै आएका मदन अर्याल भन्छन् । डालसमा अमेरिकन मोबाइल टेलिफोन सेवा प्रदायक एटिएण्डटी, टी–मोबाइल, भेराइजन देखि लिएर सामसुङका ठूला वयरहाउस छन् । ती वयरहाउसहरुमा मोबाइल फोन प्याकिङ, परिक्षण गर्ने काममा सयौं नेपालीले काम पाइरहेका छन् ।   त्यस्तै डालसमै ठूलो अनलाइन शपिङ अमेजनदेखि लिएर चेज बैंकको समेत वेयरहाउसहरु छन् । बालबालिकाका खेलौनादेखि लिएर हतियारका वेयर हाउसमा समेत गर्दा हजारौं नेपालीले त्यस्ता कम्पनीहरुमा काम गर्छन् । जहाँ काम गर्दा ग्याँस स्टेसन र स्टोरमा भन्दा बढी पारिश्रमिक पाउनुका साथै अमेरिकी श्रम कानुनले तोके अनुसारका सबै प्रकारका छुट्टी, सुविधाहरु समेत काम गर्नेले पाउँछन् ।    हप्तामा ४० घण्टा भन्दा बढी काम गर्दा ‘ओभर टाइम पे’ अर्थात नियमित भन्दा डेढ गुणा बढी पारिश्रमिक कम्पनीहरुले दिन्छन् । जुन नियम अधिकांश ग्याँस स्टेसन, स्टोर र रेष्टुराहरुले मान्दैनन् । त्यसले गर्दा पनि अरु राज्यबाट रोजगारीको खोजीमा टेक्ससमा सर्ने क्रम नेपालीमा अतिनै बढी छ ।   टेक्ससमा नेपालीहरु आकर्षित हुनुको अर्को कारण हो यहाँ राज्यले खानेकुरामा कर छुट दिएको छ । अमेरिकामा अन्य अधिकांश राज्यहरुले खानेवस्तुहरुमा समेत कर लगाउँछन् । कर नलाग्ने भएपछि खानेकुरा सस्तो हुन्छ ।    त्यस्तै अरु राज्यमा पारिश्रमिकमा कर लाग्छ । तर टेक्ससमा ‘स्टेट ट्याक्स’ लाग्दैन । त्यसले गर्दा पनि मानिसहरु यो राज्यमा धमाधम बसाई सर्दैछन ।   थोरै रकममै व्यबसायः केही वर्ष अरुका ग्याँस स्टेशन, स्टोरहरु र कम्पनीहरुमा काम गरेर केही रकम जोगाड गर्दै पछि व्यबसाय गर्न चाहनेका लागि पनि टेक्सस उपयुक्त थलोका रुपमा चिनिएको छ ।    ग्याँस स्टेसन, ग्रोसरी स्टोरको काम अमेरिकामा तुलनात्मक रुपमा कम सुरक्षितका रुपमा लिइन्छ । बहुसंख्यक नेपालीले अमेरिकामा गर्ने भनेको यस्तै बढी जोखिमयुक्त ग्याँस स्टेसन र स्टोरहरुमा हो । जहाँ तुलनात्मक रुपमा बढी समय काम गरेर केही रकमको जोगाड गर्छन नेपालीहरुले ।    त्यही जोगाएको रकमबाट उनीहरुले स्टोर र ग्याँस स्टेशन किनेर व्यबसायी बन्छन् । आफुनै मालिक बनेर यस्ता स्टोहरु सञ्चालन गर्दा मासिक पाँचदेखि १५/२० हजार डलरसम्म खुँद नाफा निकाल्न सकिने व्यबसायीहरुको अनुभव छ ।    टेक्ससमा नेपालीको संख्या कति छ भन्ने बारेमा एकिन तथ्यांक कसैसँग पनि छैन । तरपनि ड्यालस र वरिपरिको इलाकामा मात्र झण्डै २५ हजार नेपाली रहेको अनुमान छ । त्यतिनै संख्यामा नेपालीहरुको टेक्ससको अर्को शहर ह्युस्टनमा छन् । ह्युस्टन अमेरिकाकै चौथो ठूलो शहर हो । जनसंख्याको आधारमा ह्युस्टन शहर न्यूयोर्क, लसएन्जलस र सिकागोपछिको चौथो ठूलो हो । ड्यालस भने नवौं ठूलो शहर हो ।    टेक्ससको शहरी क्षेत्रभन्दा पनि गाउँमा नेपालीहरुले गरेको व्यबसाय बढी सफल देखिएको छ । क्षेत्रफलको हिसाबमा टेक्सस नेपालभन्दा चार गुणा ठूलो छ । ६ लाख ९६ हजार वर्ग किलोमिटर क्षेत्रफल टेक्ससको छ । जनसंख्या झण्डै २ करोड ७५ लाखमात्र छ ।    रोजगारीका अवसर, जीवनयापनका लागि सहज वातावरण र ठूलो नेपाली समुदाय भएकोले टेक्सस नेपालीको आकर्षण बन्दैछ । त्यसैले गर्दा अरु राज्यमा आएर केही वर्ष बिताएर सहज जीवनका लाटि टेक्सस सर्ने नेपालीहरु दिनानुदिन बढ्दैछन् ।    ‘म चार वर्षसम्म न्यूयोर्क बसेँ, त्यहाँको बसाई अवधि मेरा लागि कुनै उपलव्धिबिहिन ढंगले बित्यो,’ नेपालको न्यायालयमा अधिकृतको जागिर छाडेर अमेरिका आएका एक नेपालीले यो टिप्पणीकारसँग भने । न्यूयोर्कको बसाई अवधि जति टेक्ससमा बसेको भए आर्थिक र सामाजीक रुपमा आपूm धेरै अघि बढिसक्ने अनुभव उनले यतिखेर गरेका छन् ।    टेक्ससको असहज पक्ष भनेको सबै ठाउँमा सार्वजनिक सवारीको पहुँच भने छैन । त्यसो हुँदा निजी सवारी साधन अति आवश्यक हुन्छ । अर्को नकारात्मक पक्ष टेक्सस अति गर्मी हुने ठाउँ हो । विशेषगरि मे महिनादेखि अगष्टसम्मका चार महिना निकै गर्मी हुन्छ । गर्मीको समयमा दिउँसो बाहिर हिँडडुल गर्न कठिन हुन्छ । तर गाडी, घर र काममा जताततै एअर कण्डिसन हुने भएकाले जीवनयापनमा कुनै अवरोध पुगेको महसुस कसैले गर्दैनन् ।   - See more at: http://www.himalayakhabar.com/...

ktmpost · Oct 6, 2016 12:44 PM · 3,584 views

1 Reply

बोलिभिया हुदै अमेरिका छिर्ने नया आकर्सण छिपिदिएछन | ६०-७० लाख खर्च गर्न तयार नेपालीलाइ नागबेली बाटोमा चिल्ला गाडि कुदाउन मन नलाग्ला त ?

maGorkhe1 · Oct 7, 2016 6:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all