सालोक्यको क्यामेरा सिड्नीमा हराउँदा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

क्यामेरा हराएको मान्छे’ भएपछि सिड्नीमा सिकियो महँगो ज्ञान By Salokya, on September 26th, 2016 सिड्नीमा आइतबार मध्यरात हुनुअघि रेलमा क्यामेरा छुट्दा लागेको थियो- त्यत्रा सिसिटिभी क्यामेरा जडान हुन्छन् रेलभित्र-बाहिर। देख्ला भनेर कसैले उठाएर नलैजालान्। रिभ्सबीको त्यो स्टेसनमा हामी झर्दा त्यो डिब्बा र वरपरका पनि कोही थिएनन्। क्यामेरा रेलभित्रै छ भनेर थाहा पाउँदा रेल गुडिसकेको थियो। रेल गुडेको केही समयमै हामीले सिड्नी ट्रेनमा मोबाइलबाट रिपोर्ट गरिसकेका थियौँ। यहाँबाट यहाँ जाने, प्लेटफर्म नम्बर यो, यति बजे छुटेको, माथिल्लो तल्ला, बीचको डब्बा- सब विवरण। तर अहँ, भेटिएन क्यामेरा। बरु काठमाडौँको एयरपोर्टमा हराएको भए भेटिन्थ्यो होला, यहाँ त भेटिएला जस्तो लागेन। हराएको रातसम्म भेटिहाल्ला नि जस्तो लागेको थियो, तर १२ घण्टा नपुग्दै भेटिन गाह्रो भएको टुङ्गोमा पुगियो। पुलिस रिपोर्ट अस्ट्रेलियाको ‘कान्तिपुर’का रुपमा परिचित ‘नेपालीपत्र’का सम्पादक ऋषि आचार्यले सिड्नी ट्रेनको एउटा स्टेसन म्यानेजमेन्ट गर्ने नेपालीसित सोधखोज गर्दा रेलभित्रको यस्तो घटनामा सिसिक्यामेरा सामान्यतया नहेर्ने भनेर बुझियो। किनभने यहाँ कुनै अपराध भएको थिएन। हेरेकै भए पनि त्यसको अनुहार पत्ता लगाएर, ट्र्याक गरेर खर्चिलो अनुसन्धान किन गर्नु! कुनै इमान्दारले भेट्टाएर पुलिस वा सिडनी ट्रेनको लस्ट एन्ड फाउन्डमा लगेर दिएको भए चाहिँ भेटिन सक्छ भन्ने आशा रहेछ। उनले लस्ट एन्ड फाउन्डमा सोमबार साँझसम्मको रिपोर्ट हेर्दा त्यसमा क्यामेरा कसैले बुझाएको देखिएन। प्रहरीमा रिपोर्ट गर्दा पनि प्रहरीले खासै गम्भीर रुपमा यसलाई नलिने धेरैले भने। किनभने सामान्यतया यहाँका सामानहरुमा इन्स्योरेन्स हुने रहेछ। पुलिसमा रिपोर्ट गरेपछि इन्स्योरेन्स क्लेम हुन्छ अनि सोधभर्ना भइहाल्छ नि भन्ने मान्यता यहाँ हुने रहेछ। कसैले सामान छाडेको अनि कसैले उठाएको घटना ‘क्राइम’ नभएकोले हजार डलरको सामानको लागि प्रहरीले आफ्नो स्रोतसाधन खर्च नगर्ने प्रवृत्ति हुँदो रहेछ। मैले क्यामेरा हराएकोबारे लेख्दा फेसबुकमा तत्काल मेलबर्नमा रहेका व्यवसायिक फोटोग्राफर साथी प्रकाश केसीले आफ्नो अनुभव सुनाउँदै अब पाइन्न भनेका थिए। त्यतिबेला हैट यस्तो त हुन्न होला, पाइने केही आशा त छ नि जस्तो लागेको थियो। त्यो आशा सकिएपछि आज उनीसित लामो कुरा भयो। उनको पनि आइफोन हराएको रहेछ। आफू सँधै आउने जाने गरेको ट्याक्सी मै छुट्दा पनि र चिनेकै ट्याक्सी ड्राइभर हुँदा पनि आइफोन भेटिएनछ। ड्राइभरले मैले देखिनँ भनिदिएछ। यहीँ रहेर डिपिए न्युज एजेन्सीका सुवेलले पनि आइभिएलपीमा पहिलो पटक अमेरिका जाँदा पार्कमा क्यामेरा छुटेको केही मिनेटमै फर्केर जाँदा क्यामेरा गायब भएको प्रसंग फोनमा सुनाए। मन्डला कन्सलटेन्सीका सञ्जीव पाण्डेले सिसिटिभी मुनि नै साइकल पार्क गरेर फर्कँदा दुई पटक साइकल हराएको सुनाए। तर पनि मनले मानेन र ऋषिकै सहयोगमा पासपोर्ट र भिसा कागजातसहित यहाँको प्रहरीमा रिपोर्ट गरियो। रिपोर्ट स्वीकार गरिएको कन्फरमेसन पनि इमेलमा आयो। तर अस्ट्रेलियन पुलिसले सरकारी प्रक्रिया अघि बढाएर, एक विदेशीको जाबो एउटा हजार डलर पर्ने क्यामेराको लागि स्रोत साधन खर्च गर्ने काम चाहिँ असम्भव नै हुन्छ है भन्ने ज्ञान पनि यहाँका जानकारले सुनाए। रेल यात्रामा साह्रै अलर्ट हुनुपर्ने रहेछ- साह्रै महँगो ज्ञान पाइयो। दिनभर र यतिबेला बिहानको सवा २ बज्दा यी अक्षरहरु टाइप गरिरहँदा पनि यसैले तनाव दिइरहेको छ। कस्तो संयोग!  सिड्नीका लागि उड्दै गर्दा काठमाडौँ विमानस्थलमा निकोन क्यामेरा कसैको हराएको भए लिन आउनू भनेर अनाउन्समेन्ट भएको सुनिएको थियो। आफूले पनि के के न राम्रो फोटो खिचौँला भन्दै आफ्नो पुरानो क्याननको क्यामेरा नबोकी पहिलोपोस्टको कार्यालय प्रयोजनको निकोन डी ७२०० क्यामेरा बोकेको थिएँ। त्यो अनाउन्समेन्ट हुँदा पनि कतै मैले मेरैे क्यामेरा त छाडिनँ जस्तो भइरहेको थियो। किन हो कुन्नि। तर ब्यागै खोलेर चाहिँ हेरिएन। यता सिड्नीमा आफ्नै क्यामेरा हराउनु रहेछ र पो। आइतबार सिड्नीको Kogaraha School of Arts को भरिएको हलमा छोटो स्लाइडसहितको प्रस्तुति र त्यसपछि सञ्जीव पान्डेसितको अन्तर्क्रिया सोचे भन्दा रमाइलो भएको थियो। नेपालमा हुँदा उतैको कामको चटारो विमानस्थल छोड्दासम्म थियो। हतार हतारमा स्लाइड बनाएको थिएँ। कार्यक्रम सुरु हुने समय भइसक्दा पनि स्लाइड बनाउने काम जारी थियो। सुरुमा त मलाई पहिलो पटक यसरी सार्वजनिक रुपमा बोल्दा अलमलिन्छु कि जस्तो भएको थियो। तर त्यस्तो भएन। दर्शकसँगको प्रश्न उत्तर पनि रमाइलो भयो। निष्प्रभ सजी र बुद्धिसागरसितको अन्तर्क्रियामा पनि उपस्थितहरुको प्रश्नले साहित्यप्रति गम्भीर दर्शकहरुको उपस्थिति रहेको बुझिन्थ्यो। आयोजकहरुले सिड्नीमा नेपाली समुदायको यति सफल कार्यक्रम विरलै हुन्छ भने। रमाइलै भइरहेको थियो। चार/साढे चार बजेतिर कार्यक्रम सकाएर साँझ चाहिँ सिटी घुम्ने योजनासहित बुद्धिसागर र म आयोजकहरु नेपालीपत्रका सम्पादक ऋषि आचार्य, डार्लिङ हार्बरका लेखक निष्प्रभ सजी, मन्डला कन्सलटेन्सीका सन्जीव पाण्डेसित निस्केका थियौँ। केही फोटो खिचेको थिएँ रातको सिड्नी सिटीका। हामी सिडनीको नाइट लाइफ हेर्न चाहन्थ्यौँ तर नेपाली रेस्टुरेन्टको नेपाली परिकारमा सीमित भएर फर्किने तर्खर भयो। बाटैमा ट्राफिक लाइटको खम्बामाथि गमला राखिएको, सहरको बीचमा युनिभर्सिटी आदि फोटो खिच्दै थिएँ (जुन क्यामेरासँगै अब हरायो)। एउटा कलेज अगाडि उभिएर एक विदेशी युवतीलाई त्यही क्यामेराबाट ग्रुप फोटो क्लिक पनि गर्न लगाएको थिएँ। मुख्य रेल स्टेसन सेन्ट्रलमा हिँड्दै गर्दा पनि फोटो खिचेकोसम्म मलाई याद छ। त्यसपछि एकै पटक रेलबाट झरिसकेपछि क्यामेरा याद आयो। १२ बजिसकेको थिएन तर साथीहरु निद्राले झ्याप्प थिए। ऋषि आचार्य र म निदाइरहेका बुद्धिसागर र निष्प्रभ सजीको फोटो खिचेर जिस्कँदै थियौँ। बेभर्ली हिल स्टेसनमा ऋषि झर्नुभयो। त्यसपछि बाँकी रह्यौँ बुद्धिसागर, निष्प्रभ सजी र म। एप्स हेरेर कुन ठाउँमा कति बजे झर्ने भनेर तयार थिएँ म। रिभर्सबीमा पुगेपछि त्यहाँ केही समयमात्र रेल रोकिने भएकोले ओर्लनै हतार भयो। निष्प्रभजीले केही चिज त छुटेन नि भन्दा क्यामेरा छुटेको हो कि भन्ने भयो। यो कन्फ्युजन भइसकेपछि म दौडेर रेलभित्र गइहाल्नु पर्थ्यो। बरु रेल गुडिहालेर झर्न नसकेको भए अर्को स्टेसनमा झर्नु हुन्थ्यो। तर म ब्याग खोतल्न तिर लागेँ। यो ब्याग पनि मैले क्यामेरा राख्नुपर्छ भनेरै बोकेको थिएँ,ब्याग नबोकी क्यामेरामात्र यत्तिकै बोक्दा हराउन सक्छ भनेर। तर हराउनु रहेछ, के जोगिन्थ्यो! बरु ब्यागसहितै हराएको भए पाउने सम्भावना हुन्थ्यो कि। तर त्यो पनि ‘कि’को कुरामात्रै भयो। ब्याग हराएको भए त झन् पासपोर्टसम्म त्यसमै थियो। मलाई मैले आफ्नै क्याननको क्यामेरा ल्याएर हराएको भए पनि यति तनाव हुने थिएन होला। किनभने त्यो निकै पुरानो भइसकेको थियो। मुस्ताङ जाँदा बिग्रेको लेन्सको लक महिनौँ लगाएर बनाएर यता उड्ने दिन नै विकास कार्कीको हातबाट लिएर आएको थिएँ। यतै हराउनु रहेछ र पो। बुद्धिसागर मलाई उकास्दै छन्- चिन्ता नगर्नुस् अब ‘क्यामेरा हराएको मान्छे’ शीर्षकमा किताब लेख्नुस्। किताब त हैन ब्लग लेखेँ। मैले सिकेको पाठ कसैलाई काम पो लाग्छ कि। http://www.mysansar.com/2016/0...

ktmpost · Oct 3, 2016 1:50 PM · 9,682 views

1 Reply

its karma man prachande ko chamcha.

ruralOK · Oct 3, 2016 3:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all