'येन वद्धो वलि राजा, दानवेन्द्रो महावल: ! तेना त्वाम् प्रतिवद्धामि, रक्षे मा चल: मा चलस:!!' रक्षावन्धनको अवसरमा सबैको सम्पूर्ण सुरक्षाको कामना!' माओवादी 'जनयुद्ध'का 'आइडियलग' र नयाँ शक्ति नेपालका नेता बाबुराम भट्टराईले जनैपूर्णिमाको अवसरमा आजै विहान गरेको संस्कृत ट्वीट हो यो। उहाँले यस अघि नयाँ संविधान जारी हुनेताका संस्कृतमा ट्वीट गरेपछि मलाई केही लेख्न मन लागेको थियो। लेखेर कम्प्युटरमा राखेकी पनि थिएँ तर छापिहालेकी थिइन। जनैपूर्णिमाको दिनलाई संस्कृत दिवसको रुपमा पनि मनाइन्छ। आजै विहान बाबुराम सरको संस्कृत ट्वीट फेरि देखेपछि भने मैले मन थाम्न सकिन। 'सर्वनाशे समुत्पन्ने अर्ध त्याजति पण्डिता' (सबै गुम्ने परिस्थिति आएमा वुद्धिमानले आधा त्याग्छ) एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संस्कृत दृष्टान्तसहित गरेको एकवर्ष अघिको ट्विट हो यो। यसमा उनले संविधान आउनै नदिनभन्दा आफ्ना अडान त्यागेर प्राप्त उपलब्धि बचाउनुपर्ने आसय व्यक्त गरेका छन्। भट्टराईले राजनीतिक परिस्थिति बुझाउन संस्कृत श्लोक प्रयोग गरेका उदाहरण अरू पनि थुप्रै छन्। धन्न उनी त्यसलाई नेपालीमा अथ्र्याइदिन्छन् र हामीले बुझ्ने मौका पाउँछौं। नत्र त हामीलाई संस्कृत भनेको कालो अक्षर भैंसी बराबर। संस्कृतका साउँ अक्षर पनि चिन्न पाएनौं हामीले, जसका कारण उनै भट्टराई र माओवादी पार्टी नै हुन्। म जबजब डाक्टरसापका संस्कृत ट्विट देख्छु, मलाई मेरो स्कुलकाल याद आउँछ। मैले बाग्लुङको श्री शान्ति माध्यमिक विद्यालयबाट एसएलसी दिएकी हुँ। हाम्रो स्कुलमा अरू सबै ‘सर’ र एक जना मात्रै ‘गुरु’ हुनुहुन्थ्यो। उहाँ मोटो खैरो फ्रेमवाला चस्मा लगाउनुहुन्थ्यो। सधैं दौरासुरुवालमा स्कुल आउनुहुन्थ्यो। सानो छँदा म ठान्थेँ, दौरासुरुवाल लगाउने भएर उहाँलाई गुरु भनिएको होला । होइन रहेछ । संस्कृत र नेपाली पढाउने भएर उहाँलाई गुरु भनिएको रहेछ । स्कुलमा कक्षा ६ देखि हामीले संस्कृत पढ्नुपथ्र्यो । मैले पहिलो संस्कृत शब्द सिकेको उहाँबाटै हो । ‘नर’ भनेको लोग्नेमान्छे, ‘नारी’ भनेको स्वास्नीमान्छे, ‘मानव’ भनेको मानिस। यस्ता केही संस्कृत शब्द मलाई अझै याद छन्। तर, यी यस्ता शब्द हुन्, जो संस्कृतको स नपढेकाले पनि खर्रर भन्न सक्छन्। हुन त संस्कृतमा मेरो लगाव पनि थियो। किनभने कक्षा ६ बाट ७ मा जाँदा सबभन्दा बढी अंक संस्कृतमै ल्याएकी थिएँ। त्यही भएर बुबाले नयाँ कक्षाको नयाँ किताब ल्याइदिनुभएपछि अरू विषयको भन्दा संस्कृत किताबलाई नै धेरैचोटि सुम्सुम्याएकी थिएँ। रंगीविरंगी गातामध्ये आफूलाई सबभन्दा मनपरेको गाता उही संस्कृतकै निम्ति छानेकी थिएँ। ‘नेपाली भाषाकी जननी संस्कृत हो’– कक्षा ७ को सुरुआततिरै एक दिन गुरुले यसो भन्दा म छक्की परेकी थिएँ। ‘भाषाको पनि आमा हुन्छ र ?’ यो प्रश्न मेरो मुखसम्मै आइसकेको थियो। सोध्ने आँट भने आएन। उपद्रा केटाहरूको कन्सिरीका रौं उखेल्दिनु भएको देखेर म उहाँको अगाडि त्यसै थुरथुर हुन्थेँ । मनको जिज्ञासालाई मनैभित्र राखेर चुपचाप उहाँले पढाएको सुनिरहेँ। उहाँले भन्नुभयो, ‘जननी भनेकी आमा हुन्। नेपाली भाषाको उत्पत्ति पनि संस्कृतबाटै भएको हो। संस्कृत नबुझी हामी नेपाली भाषा र यहाँको सभ्यता बुझ्न सक्दैनौं।’ यति ठूलो रुचि र जाँगर हुँदाहुँदै मेरो संस्कृत पढाइ कक्षा ७ बाट अघि बढेन। मेरो मात्र होइन, स्कुलका कुनै पनि विद्यार्थीले त्यो वर्षपछि संस्कृत पढ्न पाएनन्। मेरो स्कुल मात्र होइन, बाग्लुङ जिल्लाभरिका सबै स्कुलले त्यसपछि संस्कृत विषय पढाएनन्। २०५६ सालको कुनै एक दिन। महिना, बार याद छैन। चौथो पिरियडको घन्टी बजिसकेको थियो। हामी सरलाई कुरिरहेका थियौं। त्यस दिन सर आउनुभएन। उहाँको ठाउँमा एक हुल मान्छे हुर्रर कक्षाकोठाभित्र छिरे। सबैले रातो ह्याट लगाएका थिए। सैनिक प्यान्ट लगाएका थिए। केहीले गह्राैँ देखिने झोला पनि बोकेका थिए। तिनैमध्ये १५–१६ वर्षको एउटा केटा सरले उभिएर पढाउने चौकामाथि उक्ल्यो। सँगै आएका अरू कालोपाटी ढपक्कै ढाकेर लश्करै उभिए। ‘मेरो नाम चरण, हामी क्रान्तिकारी हौं,’ ती केटाले मुठ्ठी माथि उठाउँदै भने। ‘आजदेखि स्कुलमा संस्कृतको पढाइ हुन्न,’ उनले चर्को स्वरमा यति भन्दाभन्दै अरू केटाहरूले हामीसँग संस्कृतका किताब माग्न थालिसकेका थिए। उनीहरूको रातो ह्याट देखेरै हामी सबैका अनुहार पहेँला भइसकेका थिए, आदेश नमान्ने कुरै थिएन । एक निमेषमै सबैका लगलग काँपिरहेका हातमा संस्कृतको किताब झुन्डिरहेको थियो। उनीहरू एक–एक गर्दै सबैका हातबाट किताब बटुल्दै, च्यात्दै गर्न थाले। संस्कृतका पाना कक्षाकोठामा छरपस्ट थियो। आफ्नै अगाडि आफूलाई मनपर्ने विषयको किताब त्यस्तरी धुजाधुजा भएको देखेर मेरो मनै फाट्यो। मलाई त्यसअघि त्यतिविधि किताबको माया कहिल्यै लागेको थिएन। र, त्यही मायाले हुनसक्छ, मेरो मनमा अघोरै साहसले जन्म लियो। ‘खै तिम्रो किताब?’ रातो ह्याट लगाएको एक जना मेरो नजिक आयो। मैले अरूजस्तो किताब हातमा बोकेकी थिइनँ। मेरो शरीरमा डरले काँडा उम्रेको थियो, तर मन दृढ थियो। ‘म दिन्नँ,’ मैले भनेँ। रिसले उसका आँखा राता भए। मैले पनि रिसाउँदै भनेँ, ‘दिँदै दिन्नँ, के गर्छस्’ खै के सोचेर हो, किताब खोस्न आएको त्यो केटाले मसँग जोरजबर्जस्ती गरेन। एकछिन आँखा तरेर ऊ खुरुक्क फर्कियो। मेरो प्यारो संस्कृत किताब मैसँग सुरक्षित रह्यो। उता, कक्षाकोठा सामुन्ने चरण भन्ने नेताको भाषण सकिएकै थिएन। उसले बोलेका कुरा अहिले सम्झन्नँ। एउटा शब्द भने अझै बिर्सेकी छैन– बुर्जुवा। उसले संस्कृतलाई बुर्जुवा शिक्षा भनेको थियो। र, यसलाई नष्ट पार्ने घोषणा गरेको थियो। त्यो दिनदेखि मेरो स्कुलमा संस्कृत पढाइ भएन। मैले सबभन्दा मन परेको रंगीविरंगी गाता ओढाएको किताब त्यसपछि कहिल्यै पल्टाउनुपरेन। गुरुले त्यसपछि संस्कृत छाडेर नेपाली मात्र पढाउन थाल्नुभयो। संस्कृतको सट्टा हामीलाई पूर्व व्यावसायिक विषय पढाउन थालियो। किन किन, संस्कृतलाई मारेर आएको त्यो विषय मलाई फिटिक्कै मन परेन। एउटा प्रश्नले भने सधैं मलाई झक्झक्याइरहन्थ्यो। गुरुले नेपाली भाषाको जननी भन्नुभएको संस्कृत कसरी हामीले पढ्नै नहुने ‘बुर्जुवा शिक्षा’ हुनसक्छ? आज त्यही ‘बुर्जुवा शिक्षा’ का श्लोक हाल्दै उही क्रान्तिकारीका नेता बाबुराम भट्टराईले ट्विटरमा उपदेश दिएको देख्दा झन् बढी छक्क परेकी छु। अब अर्को प्रश्न सोध्न मलाई मेरो मनले झक्झक्याउन थालेको छ– संस्कृतलाई बुर्जुवा शिक्षा भन्दै पढाउन रोक लगाएर अब किन आफैं संस्कृत श्लोक फलाक्दै हिँड्छौ? यति महत्वपूर्ण थियो भने किन मलाई मेरो प्रिय विषय पढ्नबाट वञ्चित गरायौ? आज घरमा बेलाबेला हजुरबुबा संस्कृत श्लोक सुनाउनुहुन्छ। वाल्मिकी क्याम्पसमा पढ्नुभएका मेरा काका त कुराकानीकै बीचमा पनि संस्कृत घुसाउनुहुन्छ। संस्कृतसँगको मेरो सम्बन्ध यत्ति हो। गुरु भन्नुहुन्थ्यो,'हाम्रो नेपाली भाषा र पूर्वीय सभ्यता बुझ्न संस्कृतको ज्ञान नभई हुन्न।' त्यसबेला गम्भीर रूपमा नबुझे पनि आज यसको मर्मसँग म सहमत छु। त्यतिबेला संस्कृत विषयसँग मेरो जुन टख बसेको थियो, त्यसलाई निरन्तरता दिन पाएको भए म पनि बाबुरामले जस्तै संस्कृतमा श्लोक हाल्न सक्थेँ। संस्कृतमा लेखिएका हाम्रा धर्मग्रन्थ र अन्य काव्य पढेर अथाह ज्ञानको हिस्सेदार हुन सक्थेँ। तर, यो क्षमता अब ममा रहेन। ज्ञानको एउटा ठूलो सागरको अंशियार हुनबाट म र मजस्ता थुप्रै वञ्चित भयौं। हुन त चेतना भनेको विस्तारै खुल्दै जाने हो। ज्ञान पनि लामो अनुभवपछि मात्रै बढ्छ। ‘जनयुद्ध’ रोकिएको १० वर्ष बितेपछि बाबुरामलाई संस्कृत भाषा र पूर्वीय सभ्यताको ज्ञान भयो होला! त्यसो हो भने संस्कृत श्लोक हाल्नुअघि आफ्नो विगतको कृत्य र वर्तमानको ज्ञानबारे माफीका दुई–चार शब्द लेखिदिएको भए जाति हुन्थ्यो। ‘यो भाषा यति गुनिलो रहेछ, हामीले विगतमा थाहा पाएनौं’ भन्दै आत्मालोचना गरेको भए उनले लेख्ने संस्कृत श्लोक पढ्नुको रस पनि बेग्लै हुन्थ्यो। नत्र, बाबुराम सरलाई म आग्रह गर्छु, कृपया अब आफ्नो राजनीतिक अर्थ बुझाउन संस्कृत श्लोकचाहिँ नहाल्नुहोला, हामीलाई बुझ्न अप्ठ्यारो हुन्छ। प्रकाशित मिति: बिहीबार, भाद्र २, २०७३ १६:४५:१३ http://setopati.com/blog/51663...
Mulasag · Aug 18, 2016 1:00 PM · 10,572 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion