अमेरिकामा रहेका नेपाली संस्थाहरुमा डा. के.सी.को आन्दोलन प्रति उदासिनता किन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको पैसाको फोहरी चलखेल रोक्न र सर्वसाधारण जनताको स्वास्थ्यमा खेलबाड हुन नदिन डा. गोबिन्द के.सी.ले आफ्नो प्राणको बाजी लगाएर आमरण अनसन बसेको आज १४ दिन कटिसक्यो । तर के.सी.को आन्दोलनले यत्तिका दिनहरु पार गरिसक्दा पनि र उनको स्वास्थ्य अत्यन्त नाजुक स्थितिमा पुगिसक्दा पनि नेपाल सरकारले गम्भिर चासो दिएर उनको मागहरुको सुनुवाइ गर्न पहलकदमी गरेको छैन । अहिले संसदमा रहेका हरेक राजनैतीक दलहरुको सबैभन्दा ठूलो चासो र चिन्ता भनेको कि त सरकारको आयु कसरी लम्ब्याउने कि त सरकारलाई कसरी ढाल्ने भन्नेमा नै सिमित छ । आफ्नो पदीय मर्यादा र सिमालाई कुल्चेर र नाघेर स्वास्थ्य क्षेत्रमा नांगो हस्तक्षेप गरिरहेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको डर त्रासकै कारणले पनि कतिपयले बोल्न सकिरहेका छैनन् । त्यसो त अहिलेको सरकार फेर्ने खेल जस्तै डा. गोबिन्द के.सी.को प्रत्येक आमरण अनसनको समयमा केही न केही विकर्षणका अन्य घटनाहरु घटिनै रहेका हुन्छन् । पूरै संसद सरकारलाई ढाल्ने र नयाँ सरकार बनाउने खेलमा व्यस्त भएको अहिलेको समयमा डा. के.सी.को मागहरु मध्येको प्रमुख माग अख्तियार प्रमुखलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा आइहाल्ने संभावना अत्यन्त क्षीण छ । यी सबैका बाबजूद पनि ड.के.सी.को आन्दोलनप्रति आम नेपालीको समर्थन बढ्दो छ; सडकमा, सामाजिक संजालहरुमा र आम नेपालीको मनमस्तिष्कमा डा. के.सी. छाएका छन् । स्वास्थ्य क्षेत्रलाई पैसाको फोहरी खेलबाट मुक्त राख्न र आम नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भन्ने पवित्र उद्देश्य लिएर डा. के.सी.ले शुरु गरेको यो अनसनको माग पुरा गराउन देश र विदेशमा रहेका सबै नेपालीले डा. के.सी.को आन्दोलनप्रति एेक्यबद्दता जनाउन आवश्यक छ । अहिलेको सूचना प्रविधिको युगमा नेपालमा हुने हरेक साना-ठूला साना घटनाहरुले विदेशमा रहेका नेपालीहरु समक्ष नपुग्ने र त्यसले उनीहरुलाई नछुने भन्ने कुरै भएन । अमेरिकामा रहेका नेपालीहरुले पनि सामाजिक संजालको माध्यमहरुबाट डा. के.सी.को अनसनप्रति येथेस्ट चासो, चिन्ता र एेक्यबद्दता देखाएका छन् । तर अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने भनिएका संस्थाहरुले यहाँ रहेका नेपालीहरुको भावनाको प्रतिनिधित्व गर्दै डा. के.सी.को आन्दोलनको समर्थनमा एक शब्द पनि नखर्चनु अत्यन्तै आश्चर्यजनक मात्र होइन अत्यन्तै दु:खलाग्दो पनि छ । अमेरिकामै पनि कतिपय स्थानीय नेपाली संस्थाहरुको कार्यक्षेत्र त्यहाँ रहेका नेपाली अमेरिकनहरु माझ संपर्क र सम्बन्धको माध्यम बन्नुमा मात्र सिमित छ । त्यस्ता संस्थाहरुलाई तिमीहरुले यो बिषयमा किन बोलेनौ भन्नुको कुनै तुक पनि छैन । तर अमेरिकाको हरेक राज्यमा च्याप्टर स्थापना गरेर हामी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संस्था हौ भन्दै प्रतिस्पर्धामा रहेका र त्यस्ता संस्थाहरुमा पद ओगटेकै कारणले नेपालमा पनि राजनैतीक र सामाजिक हैसियत खोज्नेहरुले नेपाली समाजको यत्रो ठूलो चिन्ताको बिषयमा केही बोल्नुपर्ने हो कि होइन ? के कुनै राजनैतीक विचारधारा र कुनै राजनैतीक दलसँग आवद्द भएकै कारणले नेपालमा रहेका राजनैतीक दलहरुले जसो जसो गरे र जसो जसो भने त्यस्तै त्यस्तै गर्नुपर्छ ? यस्ता संस्थाहरुले अमेरिकामा रहेका नेपालीहरुको भावनालाई बोक्ने कि नेपालमा रहेका पार्टीहरुको निर्देशनलाई बोक्ने ? के परेड र कन्भेसनहरु गरेर ढाका टोपी ढल्काउनुमा मात्रै सिमित छ यी संस्थाहरुको मातृभूमि प्रतिको माया ? आफ्नो संस्थाको एक जना सदस्यको कोही नातेदार मर्दा पनि समवेदनाका अनेकौ फेरिस्त बनाउनेहरुले करोडौ नेपाली मनहरुले आफ्नो ठानेका एक सच्चा समाजसेवक मृत्‍युको मुखैमा पुगिसक्दा पनि चुइक्कँसम्म किन नगरेका ? कि त हामी नेपालीहरुको संस्था हौ भनेर ढोङ गर्न छोड्नुपर्यो, कि त केही बोल्नुपर्यो । http://brtnepal.com/literature...

Geology Tiger · Jul 23, 2016 10:38 AM · 13,208 views

1 Reply

गुण्डै गुण्डाको देशमा डाक्टर के.सीले आमरण अनसन बस्नै नहुने हो. मुर्खहरुले उपनिषद्मा रहेका ज्ञान कहिले बुझेका छन् र? फेरी नेपाल भन्ने देशमा राजनीति येति जटिल छ कि सरकार टिक्नै सक्दैन. एस्तो परिस्थिमा डाक्टर के.सीले घरि घरि आमरण अनसन बस्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो. बिगतमा धेरै पटक अनसन बसेका के.सीको अनसनले खासै परिवर्तन ल्याउन सकेको छैन. जब सोझो औंलाले घिऊ निस्किन्न भने औंला बांगो बनाउनु नै बुद्धिमानी हुनेछ र यो कुरा डाक्टर के.सीले बुझ्नु पर्छ. जून देशमा जीवनको मूल्य नै छैन, त्यो देशमा अनसन बस्नुको के औचित्य? म डाक्टर के.सिको भावना बुझ्छु र वहाको समर्थन पनि गर्छु. यद्धपि म डाक्टर के.सिलाई के सल्लाह दिन चाहन्छु भने नेपाल अनसनले परिवर्तन हुने देश नै होइन. तसर्थ यो लडाई जुन भ्रस्टचार बिरुद्धको छ, एस्लाई निर्मुल पार्न हामीले भिन्नै किसिमको लडाई लड्नु पर्ने आवस्यक्ता म देख्दछु. नेपाल एक्कासी भ्रस्ट हुन पुगेको होइन बल्कि परापुर्व कालदेखि जनताहरु अविद्याको अन्धकारमा ढाकिएका हुनाले एस्तो परिस्थिको सृजना भएको हो. जब सम्म भ्रस्टचारको मूल कारणलाई जरैदेखि निकलिदैन, नेपालमा जति अनसन बसे पनि केहि हुने वाला छैन. रुखको पत्ताहरुमा पानि छर्किनु भन्दा जरामा पानी हाल्नु उपयुक्त म ठान्दछु. जय नेपाल.

ujl · Jul 23, 2016 12:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all