दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित ३६ अर्ब रुपैयाँ लगानीमा नयाँ सिमेन्ट उद्योग खुल्ने भएको छ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित ३६ अर्ब रुपैयाँ लगानीमा नयाँ सिमेन्ट उद्योग खुल्ने भएको छ।   नवलपरासीको बेणीमनिपुर गाविसस्थित बेलुवामा निर्माण हुने होङ्सी शिवम् सिमेन्ट उद्योगले दुई हजार जनालाई रोजगार दिने लक्ष्य लिएको छ।   लगानी बोर्डका परामर्शदाता घनश्याम ओझाका अनुसार चिनियाँ कम्पनी होङ्सीसँगको संयुक्त लगानीमा स्थापना हुने यो उद्योगले पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ। त्यसको दुई वर्षपछि दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्नेछ। यसबाट ओपिसी र पिपिसी दुवै सिमेन्ट उत्पादन हुनेछ।    नेपालमा एउटै सिमेन्ट उद्योगमा हुन लागेको यो सबभन्दा ठूलो लगानी हो। यसमा चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानी रहेको छ। कुल ३६ अर्बमध्ये ७० प्रतिशत होङ्सीको र बाँकी शिवम् सिमेन्टको लगानी रहनेछ।   उद्योग स्थापनाका लागि सहजीकरण गर्दै आएको बोर्डले केही दिनअघि राजनीतिक दलका स्थानीय प्रतिनिधिसँग छलफल चलाएको थियो। उक्त छलफलमा दलहरूले उद्योग स्थापनामा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको बोर्डका परामर्शदाता ओझाले बताए।    स्थानीयसँग आयोजित छुट्टै छलफलमा पनि उनीहरूले उद्योग सञ्चालनमा कुनै किसिमको बाधा अवरोध सिर्जना नगर्ने बचन दिएका छन्। ‘आफ्नो क्षेत्रमा यति ठूलो सिमेन्ट उद्योग खुल्न लागेकोमा स्थानीय पनि खुसी छन्,’ ओझाले भने, ‘स्थानीयले समयमै उद्योग सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।’    ओझाका अनुसार प्रदूषणमा भने स्थानीयको सरोकार छ। ‘उद्योग यहाँको वातावरण प्रदूषण गर्नुभएन भनी स्थानीयले भनेका छन्,’ ओझाले भने, ‘हामी पनि यसमा सचेत छौं।’ आधुनिक प्रविधिमार्फत सिमेन्ट उद्योग सञ्चालन गर्न लागिएकाले वातावरण प्रदूषण नहुने ओझाले दाबी गरेका छन्। दस अर्बभन्दा माथिको लगानी गर्दा लगानी बोर्डले अनुमति दिनुपर्ने हुन्छ।   उद्योग स्थापनाका लागि जग्गा व्यवस्थापनको काम थालिएको छ। दुई सय बिघा जग्गा आवश्यक पर्नेमा १ सय बिघा खरिद भइसकेको छ। यो उद्योगको कारखाना नवलपरासीको बेलुवामा खोल्न लागिएको छ। यसको चुनढुंगा खानी पाल्पाको ज्यामिरेमा रहने ओझाले जानकारी दिए।   देशमा भएको कुल मागको ७० प्रतिशत हिस्सा स्वदेशमै उत्पादित सिमेन्टले ओगटेको छ। बाँकी ३० प्रतिशत भारतबाट आयात भइरहेको छ। गत आर्थिक वर्ष १० अर्बभन्दा बढीको सिमेन्ट आयात भएको थियो। देशको माग पूर्ति गरेपछि भारतमा समेत सिमेन्ट निर्यात गर्ने उद्योगको सोच छ।

cornelluniversity · May 29, 2016 5:34 PM · 5,522 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all