बुद्धको हाल !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बुद्धको हाल !  बुद्ध स्मारकको यतिसम्म हेला हुने हो भने सायद ‘पाँचौं बुद्ध’ नेपाली भूमिमा जन्मने छैनन् ।  - स्मिता पौडेल वैशाख १८, २०७३- डिग्रीको तातो घाममा कपिलवस्तुको तौलिहवाबाट तिलौराकोटतिर लाग्दा बीच बाटोमा अघिल्लो दिन जलेको आफ्नो घरको खरानी थुप्रोबाट एउटी आमा आगोले डढेर कालै भएका भाँडाकुँडा निकाल्दै थिइन् । परिवारका अन्य सदस्य वरिपरि बसेर झोक्राइरहेका थिए । शरीरमा भएको एकसरो कपडाबाहेक उनीहरूको बाँकी सबै सम्पत्ति जलेर खरानी भएको थियो । मानिससँग जति छ उसले गुमाउने अनुपात पनि त्यति नै हुने होला । आगलागीमा उनीहरूले गुमाएका सामग्री धेरै थिएन तर उनीहरूका लागि सबैथोक थियो । त्यो दर्दनाक दृश्यले मेरो मनलाई चसक्क पार्‍यो ।  यो दु:खले मलाई घोचिरहँदा म मानव दु:खको कारण र निवारण खोज्न भव्य महल त्यागेर हिँडेका सिद्धार्थ गौतमले २८ वर्ष बिताएको दरबारसम्मको यात्रामा थिएँ ।  तिलौराकोट दरबारको गेटमा पुग्दासम्म घरको नाममा मान्छे सीधासँग उभिन पनि नमिल्ने बाँस निर्मित फुसका झुपडी देखिए । सुदूर इतिहास जतिसुकै सुन्दर र समृद्ध भए पनि वर्तमानमा त्यसको ठूलो अर्थ नहुने रहेछ । छातीमा प्राचीन सभ्यता लुकाएर बाँचेको कपिलवस्तुमा बस्न थालेपछि मैले देखेँ भोक, रोग अशिक्षा र पछौटेपनले छटपटाइरहेका मानिसहरू ।   अलि पर तिलौराकोट दरबारको भग्नावशेष पुग्दा समयको परिवर्तन कति शक्तिशाली रहेछ भन्ने अनुभूत हुन्छ । बुद्धकालीन भव्य महलको जग मात्र बाँकी छ । त्यो प्राचीन समृद्ध सभ्यता माटोमा विलीन छ । सिद्धार्थ गौतमले २८ वर्ष बिताएको त्यही भव्य महलको जग जो कोही आगन्तुकका लागि आकर्षणको केन्द्र हो । विश्वभरिका मान्छेहरू २६ सय वर्षपछि अहिले पनि बुद्धप्रति उसैगरी श्रद्धाले शिर झुकाउँछन् । आस्थाले भावविभोर हुन्छन् र उनको जीवनकाल सम्झेर शान्तिको मार्गमा हिँड्ने प्रण गर्छन् ।   तर तिलौराकोट दरबारको दृश्य फरक छ । यहाँ वरपरको चेतना स्तर कमजोर छ । कतिसम्म भने दरबार नजिकैको सम्यमाई मन्दिरमा भाकल गर्न र भाकल पूजा गर्न आउने धेरै स्थानीयलाई भगवान् बुद्ध र उनको विद्याबारे पत्तो छैन । तिनीहरूका लागि दरबार भग्नावशेष सम्यमाईको मन्दिर पुग्ने बाटो मात्र हो । दिनानुदिन घाम र पानीले खिइएर ती दरबारका इँटाहरूका पत्र–पत्र उक्किरहेका छन् । भग्नावशेषमाथि बालबालिका निर्बाध खेलिरहेका छन् । बार लगाइएको तिलौराकोट परिसरभित्रका ठाउँहरूबारे जानकारी लिन ठाउँ–ठाउँमा गाडिएको साइनबोडहरू खुइलिसकेका छन् । अक्षरहरू मेटिएर पढ्न नसक्ने भएका छन् । त्यो प्राचीन दरबार क्षेत्रका साइनबोर्डहरू पनि कम प्राचीन लाग्दैनन् ।  महाभिनिष्क्रमण द्वार र वरपरको इँटा छापेको प्राचीन बाटोमा एक हुल विदेशी भिक्षुहरू लम्पसार परेर स्पर्श गरिहेका थिए । पाइलैपिच्छे तिलौराकोटको जमिन स्पर्श गर्दै ढोग्दै हिँडिरहेका भिक्षुहरूको हाउभाउले बुझाइरहेको थियो यो स्थानको महत्त्व कति छ । बुझ्न नसक्ने वा नचाहने हामी साँच्चै चेतनाको गरिब हौं ।  भगवान् बुद्धले सांसारिक जीवन त्याग गरेको महाभिनिष्क्रमण द्वार भनिने पूर्वी द्वारबाट बाहिर निस्किँदै गर्दा हातमा पाकेको बेल लिएर कुदिरहेका बच्चाहरूले अवधी भाषामा हामीलाई भने, ‘बेल खरिदबोहो ।’ खुट्टामा चप्पल नलगाई, आधा शरीर मात्र ढाकिने कपडा लगाएर ४३ डिग्रीको तापक्रममा बेल बेच्न हाम्रो पछि लागेका ती बालबालिका कसैले विद्यालय देखेका छैनन् । यो यसकारण पनि खतरनाक छ कि अहिले मात्र होइन भविष्यका लागि पनि यो ठाउँले औंठाछाप समाज निर्माण गर्दैछ ।  तिलौराकोट दरबार क्षेत्रभन्दा १० किलोमिटर पश्चिममा छ— कुदान । बुद्धत्व प्राप्तिपछि कपिलवस्तु फर्किएका बुद्धले दरबारभित्र बस्न अस्वीकार गरेपछि उनका लागि राजा शुद्धोधनले आफ्नो दरबारभन्दा केही पर विहार निर्माण गरिदिएका थिए । त्यही कुदान अनेकौं कथा आफूभित्र लुकाएर बसेको २६ सय वर्षको बूढोझैं झोक्राइरहेको छ । यो त्यही विहार हो जहाँ बुद्धले पछि आफ्नो छोरा राहुललाई प्रवज्या दिए, भिक्षु बनाए । बौद्ध साहित्यको प्रामाणिक ग्रन्थ त्रिपटकमा समेटिएका कतिपय गम्भीर सूत्र, उपदेशहरू बुद्धले यहीँ ठाउँमा दिएका हुन् ।   कलात्मक रूपमा कुँदिएका प्राचीन इँटाका ढिस्काहरूमध्ये एउटामा गौतमी प्रजापतिले बुद्धलाई चिवर दान गरेको पुण्यस्थलमा दुई पेन्टिङ टाँगिएका छन् । एक हूल केटाकेटी त्यही भग्नावशेषमा चढेर खोस्रीखोस्री इँटा उक्काइरहेका थिए । वरिपरि गाईवस्तु चरिरहेका, र नजिकै जोडीहरू ‘डेट’ गरिरहेका थिए । ढिस्कामाथि चढेर भर्खरै उदाउँदै गरेको सूर्यका किरणहरू परावर्तित भएर नजिकैको पोखरीमा लोभलाग्दो रंग चढेको दृश्य हेरिरहँदा मलाई २६ सय वर्षअगाडि बुद्धयुगमा पुगेझैँ भान भयो । मानौं यो प्राचीन ढिस्को एउटा टाइम मेसिन हो र दाहिनेपट्टि स्तूपा आकारको माटोको ढिस्कोमा बुद्धले आफ्ना पुत्र राहुललाई प्रवज्यित गर्दैछन् । कल्पनाको शयरबाट यथार्थमा फर्किंदा म झस्किएँ । हो, समृद्ध इतिहास भएर पनि हामी धेरै कुरामा पछाडि छोडिएछौं ।  यति महत्त्वको स्मारक वरिपरि गाडिएका होचा साइनबोर्डमा के लेखिएको छ आगन्तुकले पढ्न सक्दैनन् । लुम्बिनी विकास कोषले भग्नावशेष कुर्न गार्ड राखेको रहेछ । उनले सुनाए, ‘ती बोर्डहरूमा ढिस्कोमा चढ्न निषेध गरिएको सन्देश थियो रे । त्यो पहिलै मेटिइसक्यो ।’ त्यो थाहा नहुँदा चढ्न निषेध भग्नावशेषमाथि उक्लेर मैले उनलाई प्रश्न सोधेकी थिएँ । ती साइनबोर्डमा मेटिएका सूचनासमेत फेरि लेख्न नसक्ने हाम्रो गरिबी कस्तो ? लुम्बिनी र कपिलवस्तु वरपर गौतम बुद्धसहित यो कल्पका तीन बुद्धको जन्म भएको इतिहास छ । कुदानबाट करिब ३ किलोमिटर पर गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थल हो । यो कल्पको पहिलो बुद्ध जन्मेको प्रमाणित गर्दै ईशापूर्व तेस्रो शताब्दीमा सम्राट् अशोकले यहाँ स्तम्भ गाडेका थिए । फुटेको अवस्थामा त्यो स्तम्भ अहिले पनि छ । छेवैको राजा अशोकले निर्माण गरेको स्तूप छ । त्यसैलाई प्रमाण मानेर कोही पर्यटक शान्तिको तरङ्ग खोज्दै अहिले पनि यहाँ आइपुग्छन् । मलाई आश्चर्य त त्यति बेला लाग्यो त्यो फुटेको अशोक स्तम्भलाई स्थानीयले फुटेश्वर महादेव भनेर पूजा पो गर्दा रहेछन् । त्यसबाहेक स्थानीयका लागि यो स्थानको महत्त्व भनेको बस्तुभाउको चरन मात्रै हो ।   अर्को कुरा, घुम्न आउनेका लागि त परै जावस्, वरपर स्थानीयका घरहरूमा समेत पिसाब फेर्ने शौचालय छैनन् ।   यो कल्पको दोस्रो बुद्ध कनकमुनि अर्थात् कोणागमन बुद्ध जन्मेको स्थान निग्लिहवा सदरमुकाम तौलिहवाबाट ७ किलोमिटर उत्तरमा छ । बुद्धवंशमा उल्लेखित यो तथ्यलाई प्रमाणित गर्दै सम्राट् अशोकले ईशापूर्व तेस्रो शताब्दीमा यहाँ पनि स्तम्भ गाडेका थिए । भाँचिएको अवस्थामा रहेको अशोकस्तम्भ वरिपरि फलामे बार लगाएर राखिएको छ । लगभग बेवारिसे रहेको यो स्थानमा पुग्दा मलाई लाग्यो बुद्ध जन्मेकोमा गर्व गर्ने हामीले यी ठाउँहरूको संरक्षण र प्रवद्र्धनका लागि सिन्को भाँच्न किन नसकेको ?  एक होइन नेपालमा तीन–तीन बुद्ध जन्मेका ठाउँ छन् । यो एउटा मात्र बुद्धको भूमि होइन, अनेकौं बुद्धहरूको भूमि हो । यो वास्तविकता हामीले विश्वलाई किन सुनाउन नसकेको ? झन्डै एक महिना लामो तिलौराकोट बसाइपछि मलाई लाग्न थालेको छ– बुद्ध र बुद्ध स्मारकको यतिसम्म हेला हुने हो भने सायद यो कल्पको अन्तिम मानिएको पाँचौं बुद्ध नेपाली भूमिमा जन्मने छैनन् ।   प्रकाशित: वैशाख १८, २०७३http://kantipur.ekantipur.com/...

metta · May 1, 2016 11:33 AM · 13,564 views

1 Reply

फुटेश्वर महादेव ???? WTF

Khaobaadi · May 1, 2016 4:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all