तीन दिनमा दस जना नक्कली इन्जिनियर पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तीन दिनमा दस जना नक्कली इन्जिनियर पक्राउ  हिजाेअाज दिनैदिनै नक्कली इन्जिनियर पक्राउ पर्न थालेका छन्। महानगरीय अपराध महाशाखाले तीन दिनमा १० जना नक्कली सर्टिफिकेटधारी  इन्जिनियर पक्राउ गरेको छ। प्रहरीले इन्जिनियरिङ पढेका तर फेल भएकालाई नक्कली सर्टिफिकेट बनाइदिने दुई जनालाई पनि पक्राउ गरेको छ।     पक्राउ परेका सबैले परीक्षामा फेल भएपछि नक्कली सर्टिफिकेट बनाएको स्वीकारेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीलाई बताए। ‘ब्याक लागेपछि घरकाले पनि तनाव दिन्थे, आफूलाई पनि नराम्रो लाग्थ्यो, पैसा तिरेर सर्टिफिकेट लिन पाइने भएपछि लिएका हौं,’ उनीहरूले प्रहरीलाई दिएको बयानमा भनेका छन्। पास भएको सर्टिफिकेट लिन ५ लाख रुपैयाँ लाग्ने गरेको उनीहरूले बताएको खनालले बताए। त्यति रकममा उनीहरूले नोटरी लगायतका काम गरी इन्जिनिरिङ काउसिन्लमा दर्ता  पनि गरिदिन्थे।   पक्राउ परेकामध्ये अधिकांश चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा पढेका विद्यार्थी रहेको खनालले जानकारी दिए।     एसएसपी खनालका अनुसार नेपाल इञ्जिनियरिङ परिषदमा नक्कली सर्टिफिकेट लिएर इन्जिनियर बनेको गुनासो सुनिने गरिएको थियो। यसपालि प्रहरीले ‘चासो’ राखेपछि खोजी थालियो। परिषदकै सहयोगमा प्रहरी गाबाहलसम्म पुग्यो। ‘गाबाहलमा सर्टिफिकेट प्रिन्ट हुने गरेको पत्तासँगै नक्कली प्रमाणपत्रधारी पक्राउ परे,’ खनालले भने, ‘उनीहरूको बयानमा एकपछि अर्को गर्दै फेला पर्न थाले।’   अपराध महाशाखाका प्रहरी प्रवक्ता एसपी सहकुल थापाका अनुसार वैशाख १४ गते पक्राउ परेकामध्ये अंकित खड्का ललितपुर उपमहागनरपालिका–१८ स्थित गाबाहलमा कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरेर नक्कली सर्टिफिकेटको प्रतिलिपि तयार गर्थे।   सोही स्थानमा घर भएका खड्का विगत सात वर्षदेखि इन्स्टिच्युट सञ्चालन गरिरहेका थिए। उनी कम्प्युटर डिजाइनर हुन्। उनीका सहयोगी सुबित खड्का इन्जिनियरिङ परिषद्मा सर्टिफिकेट दर्ता गर्ने काम गर्थे।   एसएसपी खनालका अनुसार यी दुईले सर्टिफिकेट तयार गर्दा पाँच लाख रुपैयाँसम्म लिने गरेका थिए। ‘फेल भएकाहरू यिनीहरूकहाँ ठोक्किने गरेका रहेछन् नक्कली सर्टिफिकेट बनाउन,’ खनालले भने।   सुबित महालेखा नियन्त्रण कार्यालय अनामनगरमा कार्यालय सहयोग भएर काम गरिसकेका व्यक्ति हुन्। महाशाखाका अनुसार २०६४ सालमा उनी त्यहाँबाट निलम्बनमा परेका थिए।   एसएसपी खनालका अनुसार यिनीहरूकहाँ आइपुग्ने व्यक्तिहरू जसले नक्कली सर्टिफिकेट पाए, उनीहरूमार्फत त्यस्तै फेल भएकाहरूको ‘कनेक्सन’ जोडियो र पढेका तर फेल भएकाहरू छ्याप्छ्याप्ती नक्कली इन्जिनियर बन्न थाले।   महाशाखाको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूको इस्टिच्युटमा नेपाल आर्मीको मेडिकल रिपोर्टदेखि नाता प्रमाणीकरणसम्म हुने गरेको पाइएको छ। विभिन्न विधामा अध्ययन गरेको सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, माइग्रेसन, प्रहरी रिपोर्ट, वैदेशिक रोजगारीमा जाँदा प्रहरी रिपोर्ट, द्वन्द्वपीडित प्रमाणपत्रलगायत बनाउने गरेको पाइएको छ।   पक्राउ परेका इन्जिनियर    महाशाखाका अनुसार पक्राउ परेका धेरैजसो भक्तपुर इन्जिनियरिङ कलेजमा अध्ययन गरेका विद्यार्थी हुन्। तिनीहरू फेल भएपछि यो धन्दामा लागेको खुल्न आएको छ। कतिपयले विभिन्न ठाउँमा करारमा जागिरसमेत खाएका छन्।   लहान– १ सिरहाका मनिषकुमार यादव नक्कली सर्टिफिकेटमार्फत राष्ट्रिय खेलकुद परिषद्का जागिरे हुन्। उनी राखेपमा दुई वर्षे करार अवधिमा २४,००० रुपैयाँ तलब बुझिरहेका थिए। सीतापाइलास्थित खेलकुद भवनको डिजाइन पनि उनी संलग्न भएको देखिएको प्रहरी जनाएको छ।   दीपायल– ३ डोटीका हितेश सिंह विद्यार्थी हुन्। उनी २०१०–२०१४ का ब्याची हुन्। पुजनकुमार खत्री खोटाङ वाकसिला गाविस ८ का हुन्।   काठमाडौं बुढानीलकण्ठ घर भएका सनत श्रेष्ठ त्यही ब्याचका विद्यार्थी हुन्। सर्लाही गडौता गाविस २ का कृष्णकुमार झा र सप्तरी बैरवा गाविस १ का पुष्पराज शर्मा २०१०–२०१४ का ब्याची विद्यार्थी हुन्।    १५ गते पक्राउ परेका जनकपुर नगरपालिका ७ का शेखर पंजियार सुबिसु केवल नेटवर्कमा जागिरे भइसकेका थिए। २००७–२०११ का विद्यार्थी उनी नक्कली सर्टिफिकेटका इन्जिनियर भएर महिनाको पन्ध्र हजार रुपैयाँ तलब बुझ्थे।   काठमाडौं–६ बौद्धका सन्तोष लामा पनि जागिरे हुन्। २००६–२०१० का विद्यार्थी उनी हाज्मा प्रोजेक्टमा २८ हजार रुपैयाँ तलब खान्थे।   गोरखा नगरपालिका वडा नम्बर ९ का सन्देश घिमिरे सीएमएटी कन्सल्टेन्सी कुपण्डोलमा रोड सर्भेयर भएर काम गर्थे। २००७–११ का विद्यार्थी उनी नक्कली सर्टिफिकेट बोकेर मासिक ३० हजार रुपैयाँ जागिर खान्थे।   खोप्लाङ–२ गोरखाका श्रीराम आचार्य २००७–११ कै विद्यार्थी हुन्। फेल भएपछि उनले पनि नक्कली सर्टिफिकेट बनाए।   एसएसपी खनालका अनुसार उनीहरूमाथि अनुसन्धान जारी छ। उनीहरूकै बयानका आधारमा अन्य केही  नक्कली इन्जिनियरको पहिचान भइसकेको छ। ‘कनेक्सन जोडिने सबै व्यक्ति भए ठाउँ पुग्ने हाम्रो प्रयास हो,’ खनालले भने, ‘धेरै  नक्कली इन्जिनियर पक्राउ पर्न सक्छन्।’   पक्राउ परेकालाई कारबाहीका लागि तत्काल सरकारी दस्तखत छाप कीर्ते ऐन आकर्षित देखिन्छ। अनुसन्धानपछि खुल्दै गए ठगीमा पनि मुद्दा चलाउन सकिने खनालले बताए। सरकारी छाप दस्तखत कीर्तेमा जरिवाना र कैद दुबै हुने व्यवस्था छ।   खनालका अनुसार पक्राउ परेकाहरूको एउटै बोली छ, परीक्षामा बारम्बार फेल भएपछि यो धन्दामा लागियो। ‘चार–पाँच लाख खर्च गर्ने तर बारम्बार परीक्षामा फेल हुने गरेपछि परिवारबाट दबाब पर्न थाल्यो, त्यसैले यस्तो पेशामा हाम्फालेको कुरा गर्ने गरेका छन्,’ एसएसपी खनालले भने।   इन्जिनियरले नक्कली सर्टिफिकेट लिनुमा प्रमाण पत्र प्रमाणित गर्ने नोटरी र  इन्जिनियरिङ काउन्सिलको पनि लापरबाही देखिन्छ। नोटरीले सक्कली र नक्कलीबीचको अन्तर नछुट्याई प्रमाणीकरण गर्ने र काउन्सिलले प्रवेश परीक्षा वा कागजातको आवश्यक रुजु नगरिकनै प्रमाणपत्र दिने भएकाले नक्कली  इन्जिनियरको बिगबिगी भएको इन्जिनियरिङ काउन्सिलका पूर्व अध्यक्ष  सालिकराम सिंहले  बताए।   आफूहरूले काउन्सिलमा दर्ता हुनुपूर्व इन्ट्रान्स दिनुपर्ने व्यवस्था ल्याउन खोजे पनि सफल हुन नसकेको बताए। ‘म अध्यक्ष हुँदा नै  इन्ट्रान्स परीक्षा लिने व्यवस्था लागू गर्न खोजेका थियौं,’ सिंहले भने, ‘तर सर्वोच्चमा मुद्धा परेपछि ऐन बनाएर मात्र त्यस्तो व्यवस्था गर्नु पर्ने आदेश भयो।’ सर्वोच्चको आदेश बमोजिम काउन्सिलले विधेयक बनाएर भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मार्फत संसदमा प्रस्तुत गरे पनि अहिलेसम्म विधेयक पारित नभएको सिंहले बताए।   यस्ता धेरै नक्कली इन्जिनियर भएकाले महाशाखाले मात्र नभई सम्बन्धित निकायले नै यसलाई रोक्न पहल गर्नुपर्ने एसएसपी खनालले बताए। http://setopati.com/samaj/4591...

cybernepali · Apr 29, 2016 12:37 PM · 1,797 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all