अष्ट्रेलियाका नेपालीको बढ्दो प्रभाव

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक साताअघि अष्ट्रेलिया र नेपालको करिव ६ दशकको द्विदेशीय सम्बन्धमा नै सकारात्मक प्रभाव गर्ने गरि अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले नेपाली नयाँ बर्षको शुभकामना दिए । अष्ट्रेलियाका कार्यवाहक प्रधानमन्त्रीले नेपाली र नेपाली समूदायको प्रशंसा गर्दै नयाँ बर्षको शुभकामना दिएको यो नै पहिलो अवसर थियो । सन २०६० को फेब्रुअरीमा स्थापना भएको नेपाल र अष्ट्रेलियाबिचको द्विदेशीय सम्बन्धसँगै नेपालीहरुको संख्या बढ्ने क्रममा रहेको मात्र छैन् कि विभिन्न कारणहरुले समेत नेपालीहरु अष्ट्रेलिया र अष्ट्रेलिया सरकारको नजरमा सही सावित हुँदै गएका छन् । यसै कारणले समेत पछिल्लो समयमा अष्ट्रेलियामा नेपालीहरुको प्रभाव विस्तारै बढ्दै गएको अनुमान लगाउन कुनै गाह्रो छैन् । त्यसैले पनि हुनसक्छ यसबर्ष अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले नेप्लिज फेण्डस अफ लिबरल नेपाल मार्फत नेपालीहरुको नयाँ बर्षको अवसर पारेर प्रशंसा गर्दै शुभकामना दिएका हुन् । उनले शुभकामनामा नेपालीहरुले अष्ट्रेलियामा गरेको प्रगतीप्रति सन्तोष ब्यक्त गर्दै नयाँ बर्षलाई सम्मान र शुभकामना भनेका छन् । तर, दुखको कुरा के भने ६ दशकभन्दा लामो द्विदेशीय सम्बन्ध कायम भइसकेको अवस्थामा समेत नेपाल र अष्ट्रेलियाबिच उल्लेख्य रुपमा कुनैपनि कुटनीतिक कार्य वा लगानी हुन भने सकेको छैन् । नेपालले बर्षेनी केही रकम सहयोगस्वरुप लिने बाहेक दीर्घकालीन दोहोरो सम्बन्ध बिस्तारमा उल्लेखनीय केही हुन सकेको छैन् । पछिल्लो तथ्यांक हेर्ने हो भने अहिलेसम्म विद्यार्थी भिषामा रहेका करिब १८ हजार समेत गरेर ५६ हजार नेपालीहरु अष्ट्रेलियामा रहेको तथ्यांक छ । प्रविधि क्षेत्रमा काम गर्ने नेपाली युवा श्री नापितले संकलन गरेर सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीहरु अष्ट्रेलियाका अर्थतन्त्रमा टेवा पुरयाउने मध्ये सातौं नम्बरमा आउछन् जसले अहिलेसम्म ४ दशमलव ४ बिलियन डलर शिक्षा क्षेत्रमा सहयोग पुर्‍याइसकेका छन् । नेपालीहरुको अष्ट्रेलियामा रहेको पछिल्लो प्रभाव हेर्ने हो भने सन २००१ मा अर्थतन्त्रमा टेवा पुर्‍याउने २५औं देश रहेकोमा अहिले नेपालीहरु ७ औं मा छन् । अहिले प्राय नेपाली सामाजिक संघसंस्थाहरुले आयोजना गर्ने कार्यहरुमा कुनै न कुनै अष्ट्रेलियाली नेता वा सम्बन्धित निकायका ब्यक्तिहरु उपस्थित हुनु सामान्य बनिसकेको छ । यसको अर्थ के हो भने नेपालीहरु अष्ट्रेलियाली नेताहरुका लागि प्रिय छन् । यसलाई न नेपाल सरकारले बुझ्न सकेको छ न यहाँ रहेको दुतावासले यसलाई गम्भीरतापूर्वक लिएको छ । नेपालले अहिलेसम्म न कुनै उच्चस्तरीय अष्ट्रेलियाली कुटनीतिज्ञहरुको भ्रमण गराउन सकेको छ न आफ्नो तर्फबाट भ्रमणको चाँजोपाँजो मिलाउन सकेको छ । अष्ट्रेलियामा रहेका नेपाली कुटनीतिज्ञहरुको भनाई मान्ने हो भने यो नेपाल सरकारको कमजोरी मात्र नभएर यहाँ रहेको दुतावासको पनि कमजोरी हो । भुकम्पको बेला करिब ८० करोड सहयोग गरेको अष्ट्रेलियालाई कुटनीतिक तवरबाट आफ्नो नजिक ल्याउन नसक्नु नेपाल सरकार र यहाँको दुतावासको कमजोरी भएको यहाँका प्राय नेपालीहरुको ठम्याई छ । करिब १ महिनाअघि मात्र अष्ट्रेलियाका प्रभावशाली नेता साम दस्तायरीको नेतृत्वमा एक टोली यहाँका केही नेपालीहरुको पहलमा नेपाल भ्रमणमा गएको थियो । भ्रमणबाट आएका दस्तायरीले अष्ट्रेलियाली संसदमा करिब ६ मिनेट बोल्दै नेपाल र नेपालीहरुको भुकम्पपछिको अवस्था मार्मिक ढंगले प्रस्तुत मात्र गरेनन कि त्यहाँका आवश्यक्ताहरु समेत औल्याएका थिए । बेलायतका राजकुमार ह्रयारीले नेपालमा भ्रमण गरेर नेपाल सुरक्षित छ भन्ने सन्देश दिइसकेको अवस्थामा नेपालले यहाँबाट समेत पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने हो भने त्यो सम्भव छ किनकी यहाँका ब्यवसायीहरु नेपालमा लगानी गर्न धेरै पहिलेदेखि नै इच्छुक रहेको सार्वजनिक हुदै आएको छ । करिब ३ बर्षअघि नेपाली डाक्टर कुमुद धितालले मुटु प्रत्यारोपणमा पाएको सफलता होस् वा नेपाली युवती सेवा रिजालले क्यान्सर रोगका बारेमा गरेको अनुसन्धान होस नेपालीहरुले यहाँ बिभिन्न क्षेत्रबाट नेपालको नाम इज्जतका साथ चिनाउँदै आएका छन् । त्यतिमात्र नभएर यहाँ नेपालीहरुले आयोजना गर्ने कार्यक्रममा पुग्ने गरेका यहाँका नेताहरुले नेपाली समुदायका प्रशंसा मात्र गर्दैनन् कि उनीहरुको लगनशीलता, इमान्दारीको सँधै प्रशंसा गरिरहेका हुन्छन् । यदी नेपाल सरकार र नेपाली कुटनीतिक निकायहरुले अलि पहल गर्ने हो र द्विदेशीय सम्बन्धमा कुनै न कुनै माध्यमबाट नयाँ आयाम थप्ने हो भने यो नै उपयुक्त र सही समय हो । जसको अलि धेरै फाइदा नेपाल र नेपालीलाई नै हुनेछ । अष्ट्रेलियामा करिब १८ हजार नेपालीहरु अध्ययनका लागि बिद्यार्थी भिषामा रहेको तथ्यांक छ । अष्ट्रेलियाली सरकारको वर्तमान तथ्यांक अनुसार नेपालीहरु अष्ट्रेलियाको आर्थिक बिकासमा योगदान पुर्‍याउनेमध्ये सातौं देशमा गनिएका छन् । सरकारी तथ्यांक अनुसार सन २०१५ को अक्टोबरसम्म १७ हजार ८ सय ३८ नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा रहेका छन् । जुन २०१२ मा १२ हजार ८ सय ७३ जना नेपाली युवाहरु बिद्यार्थी भिषामा रहेकोमा यो साख्या २०१३ मा १२ हजार ४ सय २६ मा अडेको थियो । यसैगरि सन २०१४ मा यो साख्या बढेर १६ हजार ६७ रहेकोमा अहिलेसम्म अष्ट्रेलियामा विद्यार्थीको रुपमा रहेका नेपाली युवाहरुको संख्या छ । यस तथ्यांक अनुसार नेपालीहरु विद्यार्थी भिषामा यहाँ आउने क्रम बढेको मात्र छैन कि सरकारले समेत बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गरिरहेको भान हुन्छ ।

cornelluniversity · Apr 6, 2016 1:32 PM · 4,141 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all