शनीले छोपेको बेला !! साथीको करकाप/ लहलहैमा लागेर, अरुको बहकाउमा लागेर पल्लाघरे रामेले डिभी भरेको थियो। डिभी भरेर घर आएर बा आमालाई भन्छ। आमा बा मैले त डिभी भरे नी। अनि घरमा रुवावासी शुरु हुन्छ, लौ अब छोरोलाइ डिभी पर्ने भो, अमेरीकामा दु:ख पाउने भो, पत्रिकामा खुल्ला पत्र छपाउने भो भनी कोलाहल मच्चिन्छ। आमा चिनेका सबै तिर्थमा छोरोलाई डिभी नपरोस् भनी भाकल गर्छिन्। बाउ अमेरिकामा भएका कुनै नेपालीले डिभी नपर्ने बनाइदिन सक्छन् कि भनेर च्यानल खोज्न थाल्छन्। उनीहरु आत्तिइसकेका छन्। अमेरिकाले ध्वस्त बनाउँछ भनेर। उता रामे दिनदिनै भट्टी धाउन थाल्छ, डिभी परे त मेरो जीवन नर्कै हुने भो भनेर दिनदहाडै रौसी पिउँदै हिँड्छ। जसरी बिभिन्न पत्रिकामा बिदेशमा पुगेर दु:ख पाएका कहानी देखिएका छन्, त्यसले गर्दा रामेको परिवारको निद चयन नै खोसिएको हुन्छ। हिन्दी फिल्मको स्टाईलमा भन्दा कालो अमावश्याको रात थियो। भलै त्यो बेला अमेरिकामा दिन हुन्थ्यो, आखिर डिभिको नतिजा सार्वजनिक भयो। रामेकी आमा पूजाकोठामा लगातार ॐ नम: शिवाय जपिरहेकी हुन्छिन्। उनलाई डर छ, रामेलाइ डिभि पर्ला र उस्को कालो दिन शुरु हुन्छ भनेर। रामे हे भगवान बरु नर्कमा पठाउ तर डिभि नपरोस् भनी दश औंला जोडी कम्प्युटर खोल्छ र डिभिको रिजल्ट हेर्ने साइट खोल्छ। आफ्नो वालेटमा टिपेर राखेको नम्बर हाल्छ। आखिर जे कुराको डर थियो त्यही भयो। साढे सातीको दशाले ठ्याक्कै छोपेको बर्ष थियो, राहु र केतु मिलेर बसेका थिएनन र उस्को नम्बरमा डिभी परेको नतिजाले देखायो। रामेको अनुहार एक्कासी खरानी धसे झैँ फुस्रो भयो। उता रामेकी आमा हे भगवान ! कुन जन्मको पापको सजाय दियौ नि मेरो छोरोलाई डिभी पार्दियौ भनेर ड्वाँ ड्वाँ रुन थाल्छिन्। डिभी परेर के भयो र, अमेरिका नगए नि हुन्छ नि भनेर रामेले मतलब नगरि बसेको हुन्छ। उस्लाई त्यो नर्कमा जाने कत्ति पनि इच्छा छैन, रामेकी आमा नि जान्न भन्दा जबरजस्ती त गर्दैनन् होला नि भनेर मन बुझाएर बसेकी हुन्छे। जब रिजल्ट आएर तोकिएको समयमा अर्को फारम रामेले भर्दैन, उस्को जिन्दगीमा सोच्दै नसोचेको घटना घट्छ। भोलिपल्ट घरमा कालो कोट प्यान्ट लगाएका, कालै चश्मा लगाएका दुई जना फिरिङ्गी आउछन्। अनि आफुलाई CIA को एजेन्ट भएको परिचय दिन्छन्। डिभी भरेर परेसी किन बाल दिइस् भनेर थर्काउन थाल्छन्। रामेले आफुसँग पैसा नभएको र जान नसक्ने ब्यहोरा सुनाउँछ। तब CIA का एजेन्टले भएको जायजेथाको लालपुर्जा टिप र मसँग हिँड भनी बैङ्कमा लगेर आवश्यक रकम ऋण निकालिदिन्छन्। तिनै CIAका एजेन्टले बिहे गरेको रहेनछौ, ल केटी खोजेर ब्या पनि गर्नु, अमेरिकामा बुढा बुढी भएर जानु पर्छ भन्छन्। अनि डिभी परेको केटा भनेर सयौँ केटीका परिवारले केटी दिन मान्दैनन्। केटीहरु आफै पनि जान खोज्दैनन्। अमेरिका गएसी उतैको जस्तो हुन पर्छ रे, समुद्रको किनारमा कट्टु र ब्रा मात्र लगाएर हिँड्न पर्छ रे। छी : छी: त्यस्तो लाज लाग्ने काम गर्न पर्ने देश जाने केटासित बिहे गरेर को जाओस्? भनेर उस्ले केटी भेट्टाउन नि गाह्रो हुन्छ। तिनै CIA का एजेन्टले झन पाएसम्म नर्स नै बिहे गर्नु भनेका हुन्छन्। अनि नर्सहरु पनि नराम्रोसित डराउछन्। ओहो त्यो अमेरिकामा गएसी त हरेक शुक्रबार वाइन खान पर्छ रे, अनि सम्भोग नि त्यही कुइरेका फिलिममा देखाए जस्तो थुतुनो मुतुनो जोडेर गर्न पर्छ रे, त्यस्तो फोहोरी देशमा को जाअोस् भनेर नर्सहरु नि भागिरहेका हुन्छन्। बल्ल बल्ल CIA का एजेन्टले FBI को सहयोगमा रामेकोलागि एउटा नर्स केटी खोजिदिन्छन् र बिहे पनि गराइदिन्छन्। त्यो केटी बिहे हुनु अघि नै डरले कामिसकेकी हुन्छे। झन नर्स केटी जो परी। ला ! अब सात जन्म सँगै बिताउने भनेर बिहे गरेको केटालाई अमेरिका गएर तीन चार बर्षपछि पारपाचुके गर्नपर्छ। अर्को गोरे कालेसँग बिहे गर्न पर्छ भनेर उस्को हँसले ठाँउ छोडेको हुन्छ। उस्लाई कत्ति पनि अमेरिका जान मनै हुँदैन। न त रामेलाई नै अमेरिका जान मन हुन्छ। उस्ले ब्या गरे नि दु:ख सुख यही गरौँ, आफ्नो माटोमा पसिना बगाऊँ, बुढा भएका बाउ आमाको खुट्टा दबाएर उहाँहरुलाई दु:ख नदिई बसौँ भनेकी हुन्छे, र पनि तिनीहरुको केही लाग्दैन। ती CIA का एजेन्टहरु फेरि आएर भन्छन्, अर्को हप्ता काठमान्डु एम्बेसी आउनु फलानो फलानो कागज लिएर। रामेलाइ थाहा थियो, भिषा बिना अमेरिका जान पाइँदैन। भिषै लिन नगएसी जान पर्दैन, लेको ऋण फिर्ता गर्दिन्छु, टन्टै खल्लाँस् भनेर बसेको थियो। तर रामे बोलाएको दिनमा अमेरिकी एम्बेसी जाँदैन। त्यसको भोलिपल्ट अमेरिका सेनाको कपडा लगाएका एक जना नेपाली र ४ जना फिरिङ्गी रामेको घरमा आउँछन्। बोलाएको दिनमा भिषा लिन किन आएनस्? भनेर थर्काउँछन्। अनि उस्को टाउकोमा बन्दुक राखेर हिँड् हामीसँग भनि भ्यानमा रामेलाई कोचेर अमेरिकी एम्बेसी लग्छन्। जहाँ उस्ले औपचारिकता निभाउन औलाको छापहरु दिन्छ। उस्लाई एकहप्तासम्म एम्बेसीमा बन्धक बनाएर राख्छन्। अनि भिषा लागेको पासपोर्ट दिन्छन् र भन्छन्, उ त्यो एजेन्सीमा गएर टिकेट किन्नु अनि अमेरिका जानु, फेरी हामीलाई लिन आउन बाध्य नपार्नु। त्यत्ति हुदाँ नि रामे अझै लडिरहेको हुन्छ। उस्लाई आफ्नो गाँउठाँउ छोडेर अमेरिका जान कत्ति पनि मन हुन्नँ। गाउँकै बाँझो बारी जोतेर बस्छु तर अँह अमेरिका त कुनै हालतमा जान्न भनेर अड्डी कसेर बसेको हुन्छ। रामेका बुढाबुढीले टिकेट काट्दैनन्। फर्केर आफ्नो गाँउ जान्छन्, बुढा बा आमासँग बसेर दु:ख सुख गरिरहेका हुन्छन्। उता अमेरिकी जासुसहरुले भिषा लागेको ५ महिनासम्म पनि अमेरिका नगएको थाहा पाउँछन्। उनीहरुले फेरी सैनिक खटाएर रामेका बुढाबुढीलाई काठमान्डु एयरपोर्ट झिकाउँछन्। अनि खप्परमा बन्दुक राखेर भन्छन्, खुरुक्क अमेरिका जानु, नत्र यही मार्दिन्छौं। र, ज्यानको मायाले रामे र उस्की बुढी अमेरिका पलायन हुन्छन्। त्यसपछि के भयो भनेर त हामीले लेख्नु पर्दैन होला। ती कन्चटमा बन्दुक राखेर जबर्जस्ती अमेरिका पुगेकाहरु बिचरा हरेक दिन नेपाली अनलाइनमा रोइरहेका भेटिन्छन्। सरकारले उनीहरुलाई त्यो नर्कबाट फर्काउन पहल गरोस्। http://12thari.review/12-27-ku...
_____ · Mar 21, 2016 1:54 PM · 19,500 views
This is by far one of the best satire/story I have read in Sajha, probably ever.
Kiddo · Mar 22, 2016 9:53 AM
Thanks to kiddo's comment, I read the article :) and was not disappointed.
Ip Man · Mar 22, 2016 10:27 AM
comic piece.....but cosmetic and superficial.
Hi_par · Mar 22, 2016 10:56 AM
Darho satire deko cha yaar. Totally on point!!
Haina ho Serey · Mar 22, 2016 11:49 AM
धर्के ब्रो को सुपर लेखाइ, सारै रमाइलो र व्यंगात्मक कथा पढेर/ धन्यबाद यस्तो लेख को लागि/
adhikari_bandhu · Mar 22, 2016 8:46 PM
धर्के दाज्यु / मित्र , दरो झटारो बाँड्नु भयो . मन नै दङ्ग भयो पढेर . व्यंग्यको यो हथौडाको मर्मले कति तिर्मिर हुने हुन् . राम्रो लाग्यो १२ थरि वेबसाइट पनि . - थाहा छैन
ThahaChaena · Mar 23, 2016 12:04 PM
धर्के ब्रो को व्यंग विधामा पनि राम्रो कलम चल्दो रहेछ ! अन्त्य चै सपना मा गएर हुन्छ कि जस्तो अनुमान गरेको थिए!
magorkhe1 · Mar 24, 2016 11:20 AM
Hahahaha gajab ko danak
bittertruth · Mar 24, 2016 12:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion