आईफोनमा देखिने प्रदेशी मामाको भान्जालाई चिठ्ठी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आईफोनमा देखिने मामाको भान्जालाई चिठ्ठी -प्रकाश श्रेष्ठ समय वितेको पत्तै नहुँदो रहेछ । यो प्रदेशी भुमिमा आएको पनि ७ बर्ष पुरै भएर ८ बर्ष हिड्दै गरेछ । जन्मभुमि छोड्दाको दिन आमाले भक्कानीदै विदाईको टिका लगाएको त्यो दिन अझै मानसपटलमा ताजै छ । प्रदेश आए पछि धेरै उतार चढावमा दिनहरु विते । सपनाको शहर, अवसरको भुमि भनिने अमेरिका मा खासै मन रमाएको पल मैले कहिल्यै देखिन । हुनत: काम गर्ने आँट र लगन हुनेहरुले राम्रै प्रगती गरेको पनि देखियो अमेरिकामा तर मलाई किन हो किन विदेशको भुमिमा मन लगाएर काम गर्ने उर्जा कतैबाट आएन अझै शरिर पनि रोगी भएकोले सधै नुन खाएर झोकरिएको कुखुरा जस्तो बनेर काम गरिरहे । अहिले त विगत ६ महिना देखि ढाडको जटिल सर्जरी गरेरै काम छोडेरै बसिरहेछु । मनका सबै कुरा सुनाउने भने एउटा महाभारत कै किताव जत्रै किताव नै बन्छ होला तर आज झन् मनलाई कम्पन गराउने बोलीलाई समेटिएको विचारलाई अभिव्यक्त गर्न गई राखेको छु । जुन सानो बच्चा जो रगतको नातामा उनी मेरो भान्जा हुन् उनै सँग केही दिन पहिला फोन वार्तालाप भएको थियो र त्यही वार्तालापमा आधारित रहेर एउटा चिठ्ठी लेख्ने जमर्को गरेको छु ।  प्रिय भान्जा बाबु    धेरै-धेरै ममता र संझनाहरु !  आरमै छु , तिमी र दिदी अनि आमा-बुवा सबैलाई आरमताको कामना गर्दछु । आज धेरै बर्ष पछि यसरी म चिठ्ठी लेख्दैछु जसरी २० बर्ष पहिला तिम्रो हजुरबा अर्थात् मेरो बुवा भारतमा काम गर्ने बेला यसरी नै चिठ्ठी लेख्ने गर्थे र महिना दिन पछि चिठ्ठीको जवाफ लेखेर तिम्रो हजुरबाले पठाउँनु हुन्थ्यो । त्यती वेला चिठ्ठीको साथै कहिलेकाही गाउँकै मान्छेहरु आउँदा उनीहरु सँग पठाउने कोसेली/पार्शलमा मसला र चक्लेटहरु पठाई दिनु हुन्थ्यो साथमा केही घरखर्ची समेत । त्यो चक्लेटहरु खाना पाउँदा चक्लेटको स्वाद भन्दा पनि बुवाको ममता बढी पाउने गर्थे र भाई-बहिनीहरु र म सारै रमाउँथ्यौ र त्यो खुशीमा तिम्री हजुरआमा अर्थात् मेरी आमाको चेहरामा खुशीको लाली झल्कन्थ्यो । हो , आज त्यस्तै महशुष भएको छ तर परिस्थिती आज अलि फरक छ । आजको बिद्युतिय संचार-सम्बन्धले प्रदेशबाट चिठ्ठी लेखेर घर- परिवारलाई प्रायः पठाउने चलन बन्दै भईसक्यो तर पनि चिठ्ठी लेखेर मनका भावना पोख्दा छुट्टै अनुभव हुने कुरा लामो समय पछि मैले महशुष गर्ने अवसर पनि आज मिलिरहेको छ ।  भान्जा बाबु ,मलाई आज शायद यो चिठ्ठी लेख्ने कुनै सोच मनमा आउने थिएन होला तर तिमी सँग ४ दिन पहिला फोनमा कुरा भयो । तिमीले मलाई साढे २ बर्षकै उमेरमा भएर पनि शुरुवाती दिनहरुमा हामी सबैले पढ्ने बर्णमालाका अक्षरहरु नेपाली र अंग्रेजी दुवै आफुले जानेको सुनायौ र यसरी नै तिम्रा मामाका दाई -दिदीहरु अर्थात् मेरो बाबु -नानीहरुले मलाई फोनमा केही बर्ष पहिला सुनाउने गरेको मिठो संझना गरायौ । यसले मलाई अति नै खुशी बनायो, तिमी पनि आफ्नो भविष्य उज्जवल बनाउने काममा सानै दुधे उमेर मै बाल विकाश केन्द्रमा भर्ना भएर पढ्न लागे छौ तिम्रो आमा अर्थात् मेरो ठुली बहिनीबाट उक्त कुरा थाहाँ पाए । हुनत: आजकल हाम्रो गाउँमा सानै उमेरबाट बालबालिकाहरुलाई बालविकाश केन्द्रमा पढाउने र निजी बोर्डिंग स्कुल वा सार्वजनिक स्कुलमा त्यसपछि भर्ना गर्ने चलन करिब १२ बर्ष पहिला देखिनै शुरु भएको हो । तिम्रो माईजुले पनि शुरुमा स्थापनाकाल देखि २ बर्ष पहिला सम्म अहिले तिमीले पढ्ने बालविकाश केन्द्रमै पढाउने गर्थिन र उनलाई अझै त्यहाँ तिमी र तिम्रा साथीहरुले खेलाउने खेलौनाहरु, बाद्याबाधनका सामाग्री आदी कहाँ-कति, कसरी राखेको छ, कसरी जोड-जाड वा संकलन गरेको हो त्यो सबै राम्ररी थाहाँ छ । अझै अहिले त धेरै कुरा हरु थपिए होलान् र पुराना भएका हटाइए होलान् । कहिलेकाही फुर्सदमा मलाई यी सबै कुरा उनले सुनाउने पनि गर्छिन् ।    हो बाबु , हाम्रो पालामा जस्तो हैन अहिलेको जमना, समयले धेरै फड्को मारी सक्यो । तिमीहरुले राम्रोसँग पढेर आफु , आफ्नो समाजलाई बदल्नु छ । हामी त जन्मेको ठाउँ विविध कारणले अट्न सकेनौ , तिमीहरुले भने पक्कै स्वदेशमै जीवनयापनको लक्ष्मणरेखा कोर्न सफल हुनेछौ भन्ने मलाई पुर्ण विश्वास र भरोसा छ । सधै समय यति विघ्न निष्ठुरी बनेर देश बनाउने राजनितिज्ञहरुलाई कुबाटो र गलत सोचमा हिडाउँला र ? कोही न कोही त निस्केला नी देश बनाउने तिमीहरु पढेर भविष्यको बाटो समात्ने बेला सम्म । आशा अझै मरेको छैन हाम्रै जिवन छदै नेपालले चरम विकाशको पाईला टेक्न सक्ने छ र अमेरिका, युरोप, जापान लगायत अहिलेका विकशित देशका मान्छेहरु नेपाल गएर बस्न ललायित हुनेछन् र नेपाललाई संसारले चिन्ने छ न की अहिले जस्तो असफल भ्रष्टहरुको देश , गरिवले पिल्सिएका जनताहरुको देश भनेर । भान्जा बाबु , चिठ्ठी लेख्दा लेख्दै म त देशको भावी सपना पो देख्न थालेछु र लामो चिठ्ठी बन्न पो थालेछ । चिठ्ठी लामो भयो भने यो पढ्न तिम्रो ममीलाई पनि पठ्यार लाग्ला किनकी तिमीले त अहिले पढ्न सक्दैनौ , अझै केही बर्ष कुर्नै पर्छ । अर्को तिर तिम्री दिदीले त झनै चिठ्ठी पढ्न मन दिन्छ्न् की दिन्निन् ? कहिलेकाही तिम्रो ममीको फेसवुकबाट तिम्रो दिदीले मेसेन्जरमा च्याट गर्छिन् , मलाई त उनको अंग्रेजी बुझ्न पनि गार्हो परि सक्यो आजकल किनकी हामीले हाम्रो पालामा सरकारी स्कुल मा काम चलाउ अंग्रेजी पढियो । उनको बोर्डिंगको स्टाण्डर अंग्रेजी बुझ्नै गार्हो हुने गर्छ । अझै नढाँटी भनौ यता तिम्रा दाई -दिदीहरुको स्कुलको होमवर्क मलाई कहिलेकाही सोधे भने मलाई त यती गार्हो हुन्छ, बुझ्नै सक्दिन र मेरो उच्चारण एवं बोलेको वाक्य सुन्दा उनीहरु खित्का छोडेर हाँस्छन् र लाजले अनुहार रातो -पिरो बनाउँछु अनि करिब ७ बर्ष नेपाली माध्यममा ११ -१२ कलासलाई पढाएको सम्झन्छु र चुप लागेर बस्छु त्यतीवेला अंग्रेजी माध्यमबाटै पढाउनु पर्ने भएको भए मेरो आज यस्तो हालत हुने थिएन मनमनै संझिन्छु र अहिले कुन माध्यममा पढाई हुन्छ होलान् भनेर सोचिरहन्छु सायद अंग्रेजी माध्यमबाट पढाउन शुरु भए होला भनि अनुमान गर्छु । हो त्यही भएर आजकल तिम्रो माईजुलाई सजिलो होस् उनीहरुसँग बोलचाल गर्न र होमवर्कलाई सघाउन साथै स्कुलबाट दैनिकजसो आउने चिठ्ठी -पत्रहरु पढ्न र प्रतिउत्तर दिन सजिलो होस् भनेर अंग्रेजी भाषा कलासमा पठाउने निधो गरेर पठाउन पनि थालेको छु । म पनि जाउ की अंग्रेजी भाषा कलास जस्तो लागेको थियो तर दुबैजनालाई समय मिलाउन गार्हो हुने भएर त्यसो गर्न भने सकिएन ।    भान्जा बाबु , लेख्न त धेरै थियो तर जुन कुराले यो चिठ्ठी लेख्न अभिप्रेरित गर्यो त्यतातिर म प्रवेश गर्नै ढिला भयो । कुरा के भनेनी अस्ती फोनमा कुराकानी गर्दा तिमीले मेरो मनलाई निकै छुने कुरा भन्यौ त्यो भन्दै छु । मैले तिमीलाई म कुन मामा बोलेको हुँ भनेर सोध्दा तिमीले अति सटिक जवाफ दियौ "आईफोनमा देखिने मामा " बोल्नु भएको हो भनेर । साथै हाम्लाई धेरै अत्यार लागेको छ छिट्टै आउनु होस् मामा पनि भन्यौ । यो कुरा सुन्दा मलाई निकै मन छोयो । हो मलाई पनि अत्यार नलागेको कहाँ हो र ! मलाई पनि तिमीलाई प्रत्यक्ष भेटेर अँगालोमा बाँधेर धेरैबेर काखमा राखेर धेरै कुराकानी गर्न मन थियो तर निष्ठुरी समयले यो पवित्र मायालाई व्यक्त गर्ने अवसरमा बाधक बनेर आयो । अहिले सम्म समयले मलाई नराम्ररी झापड दिदै आएको छ । आखिर मैले पनि तिमीलाई आईफोनमै तिम्रो दिदीले पठाएको फोटोमा देखिरहेछु । खै अझै फेसकलमा समेत तिमीलाई हेरेर कुरा गर्न पाएको छैन । मलाई थाहाँ छ , मामाको माया र भरोसा कति हुन्छ भनेर तर अफसोच मैले यो सबै अनुभव गर्न पाएको छैन किनकी रगतको नाताले मेरो कुनै मामा छैनन् र त गाउँघरमा सबैलाई हामी प्रायः मामा भनेरै सम्बोधन गर्थ्यो र त्यसैमा मामाको आत्मियता र अगाध मायाको कल्पना गर्थ्यौ । आज मामा भएर आफैले आफैलाई हेर्दा भान्जा बाबु, मलाई तिमीले दाई-दिदीहरु भन्ने मेरा छोरा-छोरीहरुको भन्दा कम माया तिम्रो र तिमी जस्तै अरु भान्जा-भान्जीहरुको कहाँ लाग्छ र अझै भनौ भने तिम्री दिदी ईशा जन्मिदा कम्ता खुशी भएको थिईन म । उनी हाम्रा भाई-बहिनीहरुकी पहिली सन्तान थिईन र उनलाई अगाध माया -ममतामा हुर्काईयो र आज त ठुली भईसकिन र पनि मेरो माया-स्नेहमा कुनै कमि छैन तर प्रदेशमा आए पछि कतै मामाले माया मारेकी भन्ने उनलाई लागे पनि होला । समय र परिस्थितीले मायामा कुनै कमि देखिए जस्तो भएपनि मेरो माया र स्नेहमा कुनै कमि छैन , हरेक पल आँखाकै वरीपरी घुमिरहेको देख्छु उनलाई म र भान्जीको यादले सधै सताई रहन्छ । कहिलेकाही फोन र फेसवुक च्याटमा कुराकानी गर्न पाउँदा निकै खुशी लाग्छ कतै संसारनै जितेको आभाष मनमा झल्किन्छ ।    भान्जा बाबु , आखिर समय यसरी नै सधै निष्ठुरी नहोला भेट निकट भविष्यमै हुनेछ र तिमीलाई अहिले सम्मको माया-ममता एकै चोटी दिनेछु त्यतीबेलाको भेटमा , अनि मामा र भान्जाको पवित्र माया , सद्भाव, विस्वास, समर्पण, भरोसा कस्तो हुनेछ प्रत्यक्ष अनुभव तिमीले पनि गर्ने छौ र मैले पनि गर्नेछु । हो ,हाम्रो धार्मिक शास्त्रले पनि भन्ने गर्छ -भान्जा, भान्जीहरुलाई देवता सरह पुज्नु पर्छ यस कुरालाई मैले सम्मान गर्छु । हो यो कुरा साँच्चै हो भान्जा बाबु तिम्री आमा र छामाले कम्ती दु:ख गरेनन् विवाह गरेर जानु भन्दा पहिला हाम्रो परिवारमा अझै पनि धेरै चिन्ता लिन्छन् माईती हामीहरुको बारेमा । मलाई त लाग्छ हामी अझै सँगै छौ केवल बस्ने घरहरु अलग-अलग भएका मात्र हुन् । हाम्रो माया-ममतामा कुनै कमी छैन अहिले सम्म र कहिल्यै कमि पनि हुने छैन । मलाई राम्ररी संझना छ -तिम्रो आमा र छामाको विवाहमा कम्ती रोएको थिईन म , अझै पनि फोनमा कुराकानी हुँदा ,पिडा -चिन्ता हुँदा हामी आफ्नो दाजु -बहिनीहरु सम्झेर रुने गर्छौ र मेरो खुशी -दु:ख साट्ने नजिकका साथीहरु मध्ये उनीहरु अंग्रपंक्तीमा पर्ने गर्छन् । म आशा गर्छु हाम्रो यो पवित्र दाजु -बहिनीहरुको सम्वन्ध सधै जिवन्त यसरी नै रहनेछ ।    सामाजिक संरचनाले हामी सँगै हुर्केका भाई-बहिनीहरु निश्चित समय पछि अलग अलग हुनुपर्ने बाध्यता हुन्छ । तापनि हाम्रो पारिवारिक सम्बन्ध त झन् गाढा र प्रगाढ हुँदै जादो रहेछ घरको धुरीहरु अलग बनेपछि । त्यसैले भान्जा बाबु , तिमी मेरै आफ्नै छोराछोरी झै नजिकको व्यक्ती हौ र तिम्रा आगामी जीवनका हरेक दु:ख-सुखमा मेरो साथ सधै रहने छ यसमा कुनै कमी आउने छैन । तिमीलाई आज एउटा कुरा स्मरण गराउन चाहन्छु यो कुरा तिमीलाई पछि थाहाँ हुनेछ तिम्रो आमाले तिमीलाई जन्माउँदा निकै गार्हो अवस्था भएको थियो हामीले त एक किसिमले आशै मारेका थियौ, धेरै दिन अस्पताल बसेर कठिन पुर्वक जन्म दिएकी हुन् तिमीलाई त्यतीवेला तिम्री आमाले । यो प्रदेशमा कम्ती अतालिएन यो मन त्यतीबेला , छिन-छिनमा फोनबाट सम्पर्क गरेर मनलाई शान्ती पारेको घटना अझै ताजै छ ।    अझै कहिलेकाही हामीलाई कति दु:ख गरेर खाई-नखाई हुर्काएर , पढाएर आ-आफ्नो खुट्टामा उभिने बनाउने बाबु-आमाहरुलाई चटक्कै माया मार्ने निष्ठुरी मान्छेहरु देख्दा मन दुखेर आउँछ र म यस कुरा बढि सजग रहने प्रायरत हुन्छु । साँच्चिकै भन्नु पर्दा, म प्रदेश आएपछि मैले आफुले निर्वाह गर्नु पर्ने जिम्मेवारी बहन गर्न सधै अग्रसर नै भए र केही नभएपनि फोनमा कुराकानी निरन्तर आमासँग हप्तामा कम्तीमा एकचोटी गरिरहन्छु र दु:ख-सुख , संचो-बिसंचो बारे अद्यावधिक हुने गरिरहेकै छु । मलाई राम्रासँग थाहाँ छ बाबु र आमाको ममता र स्नेहलाई कागजमा व्यक्त गर्न सकिदैन । त्यसैले भान्जा बाबु , विज्ञानको आजको बदलिदो युगमा मानिस धेरै स्वार्थी बन्दैछन् र आफुलाई जन्म दिने बाबु -आमाहरुलाई विस्तारै भुल्दैछन् । कति सम्म भने आफु महलमा बसेर वृद्धाश्रममा उनीहरुलाई राखेको र खान राम्रो सँग नदिएर घरबाट निकालिएको यही आँखाले कयौ पटक देखेको छु र कति त न्युजहरुमा पनि देख्ने, सुन्ने गरिएको छ । बिन्ती छ मेरो प्यारो भान्जा बाबु , तिमीले यस्तो काम कहिल्यै गर्ने छैनौ तर पनि मेरो पापी मनले नसोच्नु पर्ने कुरा सोचेकोमा माफी चाहान्छु । यदी कुनै दिन त्यस्तो देख्नु पर्यो भने मेरो नजरबाट सदाका लागी तिमी गिर्ने छौ । हो यो सन्देश तिमीलाई मात्र हैन तिमी जस्तै लाखौ बालबालिका र युवाहरुलाई पनि यही चिठ्ठी मार्फत भन्दैछु ।    अन्तमा फेरी पनि एकपटक तिमीलाई मेरो न्यानो माया र स्नेह भन्दै आजलाई यो चिठ्ठी यही टुंगाउँदैछु । तिम्रो आमा र दिदीलाई यो चिठ्ठी जतन गरेर राख्दिनु पछि तिमीले पढ्ने र बुझ्ने भएपछि हेर्न मिलोस् भनेर पनि म उनीहरुलाई संझाउने छु । अहिलेलाई कलम यही रोक्ने अनुमति माग्छु ।  उही तिम्रो प्यारो आईफोनमा देखिने प्रदेशी मामा ! बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

Prakash Shrestha · Mar 12, 2016 12:09 AM · 1,983 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all