रातको बाह्र बजिसक्यो। मिठो सपनाको संसारमा भुल्ने मेरो सपना सपनानै रहिरहन्छ। कलम छोड्ने आज्ञा यो मनले पटक्कै दिंदैन। देओस् पनि कसरी; यो कलम नै मेरो सहारा, मेरो अस्तित्वको एउटै मात्र साक्षी। घडीको सुईले समय बताउदै गर्छ, म र मेरो कलम रातको त्यस प्रहरको नशामा लट्ठ हुँदै जान्छौं। मेरो मनमा एउटा सोच पलाउँछ, उ....,कलमले थाहा पाइसक्यो। केही भन्दै नभने पनि बुझिदिने मेरो एउटै मात्र सहयात्री, मेरो कलम। झ्यालबाट एकछिन टाउको निकाल्छु। परबाट एउटा बुढो आयो; लाग्छ खल्तीमा टन्न पैसा छ, अनि छातीमा ठूलो बोझ। तर रातको यस प्रहरमा उसलाई त्यो बोझको रत्तिभर पनि चिन्ता छैन। चिन्ता छ त केवलढल्दो दिन संगै बढ्दै गरेको उमेरका रेखाहरुको। तर मन त हरेक कालमा जवान नै हुन्छ नि, हैन र? के त्यो बुढो मान्छेको सेतो कपाल र खुम्चिएको गाला भित्र उसको भोग र इच्छाको तिव्रता दब्न सक्ला? जाओस् बुढो,आफ्नो भोक मेट्न, अर्को दिन सम्मको तिर्खा मेट्न। उसलाई दोष म दिन्न। दिनु पनि कसरी! रातको यति बेला न त म संग दोष कबुल गराउने गीता थियो न नै भूल नाप्ने कुनै आधुनिक यन्त्र। निष्पक्ष रुपमा लाचार थिँए म। त्यसैले आजको लागि यो निष्कर्षमा पुगें म- जवान हुन लाई कालो कपाल चाहिन्न, तन्किएको गाला चाहिन्न; चाहिन्छ त केवल सारा संसारलाई आफ्नो मुठ्ठीमा बाँधेर राख्न सक्ने त्यो कागजरुपी मुक्तिदाता। हेर्दा हेर्दै अन्त्यमा आएर कुरो टुड़्गियो त्यही अलछ्छिन पैसामा। भैगो, यस बारे अब कुरो नगरौं। बरु कलमको कुरो गर साथी, त्यो भावुकताको कुरो गर। त्यो बुढोलाई पनि बिर्सिदेउ। मान्छे नै मान्छेले खचाखच भरिएको यो संसारमा कति जनालाई मात्र सम्झिनु बित्थामा। म फेरि सोचमा डुब्छु। यो बाह्र भोलि फेरि बज्ला नबज्ला, त्यो घडीको सुई चल्ला नचल्ला, मेरो यो कलमले साथ देला नदेला, त्यो बुढो फेरि तेही बाटो हिँड्ला नहिँड्ला, त्यो घाम उदाउला नउदाउला आ ...... कति धेरै सोच्छु म पनि। लौ त साथीहरु, शुभरात्री। अब म पनि मेरो भागको आजको सपना देख्छु, के थाहा भोलि देख्न पाउला नपाउला।
म बादल · Oct 8, 2015 11:23 AM · 5,618 views
Bhaigo ek line padhera skip garomla bhaneko mazza aaiera purai padheo bhaigo lekhe pachey purai lekhnoni yi padhne aakha lai ke hola aba tyo budha manche lai bhanne chahana jagera aayo. Bhaigo suvaratri .
intelligentguy · Oct 8, 2015 11:34 AM
म वादल ज्यू, राम्रो लेखाई....पछिल्लो भन्दा यो या यो भन्दा पछिल्लो लेख कुन्चाई राम्रो खुट्ट्याउन गारो .... एकदमै अमुर्त/निराकार भाव पोखिएको .... लेखाइ जारि रहोस् कलममोह रही रहोस् जस्तो दर्पण तेस्तै छायाँ मनको भावना पोखी रहोस् - थाहा छैन
ThahaChaena · Oct 8, 2015 1:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion