नेपालमाथि हस्तक्षेप गर्नुपरे जनजाति समुदायको सहयोगमा गर्नेछौँ - इन्दिरा गान्धी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफूलाई मधेशीको कोटामा राखेको भन्दै आन्दोलन चर्काएका थारु समुदाय, उपेन्द्र यादवसँग मिलेका अशोक राइहरु र नेपालमा जारी भारतीय हस्तक्षेपलाई समर्थन गरिरहेका जनजाति नेता, संघसंस्था र राजनीतिकदलहरुको पछिल्लो सहकार्य हेर्दा इन्दिरा गान्धीको वर्षौ पुरानो यस योजनाअनुसार नै भारतले नेपालमाथि हस्तक्षेपको दुस्प्रयास गरिरहेको होइन ? विस्तृत जानकारीका लागि पढ्नुहोस् । खगेन्द्रजंग गुरुंगले यस लेखमा २०२५ सालतिरको भारतीय नाकाबन्दी र नेपालमा भारतले जनजाति समुदायको समर्थनमा हस्तक्षेप गर्ने योजनाको खुलासा गरेका छन्  - रतन भण्डारी इन्दिरा गान्धीलाई भेट्दा खगेन्द्रजंग गुरुंग भारतमा इन्दिरा गान्धीको उदय, रुससँगको ३० वर्षे सुरक्षा सन्धि र पाकिस्तानबाट बंगलादेश छुट्टनिु राजा महेन्द्रलाई चोट पार्ने विषय बने । त्यसबेलासम्म पाकिस्तानलाई चीनको राम्रो संरक्षण प्राप्त थियो । चीनसँग रुस टाढिरहेको, भियतनामीहरू पनि चीनप्रति क्रूद्ध भइरहेका बेला इन्दिरा गान्धीले पाकिस्तानमा हमला गरेकी थिइन् ।  महेन्द्रलाई यहीबेला इन्दिरा गान्धीले बदला लिने छिन् र आफूलाई पाकिस्तानी राष्ट्रपति याया खाँको हालतमा पुर्‍याउने छिन् भन्ने परेछ । इन्दिरा गान्धीले नेपालमा त्यहीताका गोप्य रूपमा गर्न लगाएको अध्ययन पनि उनका लागि टाउको दुखाइको विषय बनेको थियो । जनजातिका समस्या हल नगरेसम्म र उनीहरूलाई अघि नलगाएसम्म नेपालमा आफ्नो प्रभाव विस्तार गर्न सकिन्न भन्ने भारतले बुझेको रहेछ । उसको अध्ययनको निष्कर्ष नै नेपालको शक्ति जनजातिमा निहित छ भन्ने थियो ।  त्यसपछि इन्दिरा गान्धीले जनजाति समुदायका भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली सैनिक अफिसरलाई एकएक गरेर भेट्न थालिन् । त्यसपछि राजनीतिमा संलग्न जनजातिका मानिसहरूलाई पनि भेटिन् । पञ्चायतकालका धेरै मगर, गुरुङ, राई र लिम्बू मन्त्री एवं उच्च ओहदाका व्यक्तिहरू इन्दिरा गान्धीलाई भेट्न दिल्ली गए । पर्वतका लालकाजी गुरुङका पिता नरबहादुर इन्दिरा गान्धीको चिट्ठी लिएर नेपाल आएका थिए । मलाई पनि उनैले निम्तो दिएका हुन् । यो २०२८ सालको कुरा हो । म दिल्ली जान भनी हेटौँडा पुगेको थिएँ, महेन्द्रले चाल पाएछन् । उनी त्यसबेला दियालो बंगला, चितवनमा आराम गररिहेका थिए । त्यहीँ बोलाएर सोधे, "इन्दिरा गान्धीले बोलाएर जान लागेको हो ? अनि, को को जाँदै छौ ?" मैले भनेँ, "त्यो त सरकारलाई नै थाहा होला । म के भनौँ !" त्यसपछि त्यहाँ भएको कुराकानी जस्ताको तस्तै यहाँ आएर सुनाउन भने । मैले त्यस्तो गर्नु उपयुक्त ठानिनँ । भनेँ, "म त्यसो गर्न सक्दिनँ सरकार ! यसो गर्नु सरासर धोका हुनेछ । विरोधी हुँदाहुँदै पनि विश्वास गरेर भेट्न बोलाएको प्रसंग छ । त्यस्तोमा यताको कुरा उता र उताको कुरा यता कसरी गर्न सक्छु र ? बरु, सरकारबाट नजान मर्जी हुन्छ भने जान्नँ ।" महेन्द्र बडो चिन्तित भए र अन्त्यमा यति मात्र भने, "मुलुक संकटको अवस्थातर्फ गइरहेको छ । तिमीहरू नै त्यसो भन्छौ भने म के भनौँ त !" त्यसपछि म दिल्लीतर्फ लागेँ । दिल्लीमा मैले आफ्नो कुरा भन्नेभन्दा पनि इन्दिरा गान्धीले बोलाएकाले उनको कुरा सुन्नुपर्ने थियो, सुनिरहेँ । कुराकानीका दौरान उनले ०२५ सालतिरको कुरा निकालिन्, जतिबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । देशव्यापी विरोध भयो । तर, लमजुङका गुरुङहरू त्यसका विरुद्धमा उठ्न मानिरहेका थिएनन् । उनीहरू राजाबाट भन्दा पनि आफूहरूलाई भारतबाटै सहयोग मिलिरहेको बताउँथे । उसैका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पाइरहेको भन्ने उनीहरूलाई सम्झाउन मलाई धौधौ परेको थियो । लामो प्रयास र सम्झाइ-बुझाइपछि स्िथति केही सामान्य भयो र लमजुङ-मनाङतिरका गुरुङ-मगरहरू पनि नाकाबन्दीको विरोधमा सडकमा उत्रिएका थिए । त्यो कुरा इन्दिरा गान्धीले थाहा पाएकी रहेछिन् । भनिन्, "हामी आफ्नै देशभित्रको समस्याले यति पिरोलिएका छौँ कि त्यसको बयान गरेर साध्य छैन । नेपाललाई भारतले खान खोजेको छ भनेर चलाइएको हल्ला वाहियात हो । तपाईंका नेताहरूका कारण हामीले नचाहेर पनि फस्नुपर्ने अवस्था आएको छ ।" उनले त्रिभुवनको उदाहरण दिइन् । भनिन्, "पहिले शरण मागे । सरकारमा पुगिसकेपछि सैन्य र प्रशासनिक क्षेत्रको आधुनिकीकरणमा सहयोग पुर्‍याइदिन भने । विशेषज्ञहरू पठाइदियौँ । तर, त्यहीबीचमा मातृका र बीपी कोइरालाका बीचमा झगडा पर्‍यो । मातृका प्रधानमन्त्री बने । अनि भन्न थालियो, भारतले हस्तक्षेप गर्‍यो ।" उनले यो पनि भनिन्, "आफूअनुकूल हुँदा सहयोग हुने तर आफूप्रतिकूल हुँदा हस्तक्षेप मान्ने नेपाली राजनीतिज्ञहरूको मानसिकतामा परविर्तन गर्नुपर्छ ।"  "हामीले नेपालमाथि हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने जनजाति समुदायको सहयोगमा नै त्यो सब गर्नेछौँ । तपाईंलाई त्यससम्बन्धी योजनाबारे जानकारी हाम्रा जर्नेल माणिक शाहले दिनेछन् । एकपटक तपाईं उनलाई भेटेर जानूस्," इन्दिरा गान्धीको यस कुराले म झसंग भएँ । शाह, जो पछि फिल्ड मार्सल पनि भएका थिए, ले सबै योजना र नक्सा देखाए । त्यसमा जनजाति समुदायलाई कसरी परचिालन गर्ने भन्ने थियो ।  मैलेभन्दा अघि इन्दिरा गान्धीलाई क-कसले भेटे त्यो मलाई सम्झना छैन । थुप्रै गएका थिए । तर, मैले भेटेर आइसकेपछि स्याङ्जाका खड्गबहादुर गुरुङ र पर्वतका नरबहादुर गुरुङले भेटेको भने मैले देखेको हुँ । भेटघाटबाट बाहिर निस्केपछि योगी नरहरनिाथ पनि त्यहाँ पुगेको देखेँ । महेन्द्रका बारेमा इन्दिरा गान्धीले थुप्रै कुरा उठाइन् । आफूहरूले उनलाई चिन्न नसकेको कुरा पनि बताइन् । "शत्रु चिन्न सजिलो हुन्छ तर मित्र बनेर घात गर्नेहरूलाई ठम्याउन गाह्रो पर्दो रहेछ," उनले भनिन् । तर, दुर्भाग्य ! इन्दिरा गान्धीले के के न गर्लिन् भनेर तर्सिरहेका महेन्द्रको ०२८ माघ १७ गते हृदयाघातका कारण मृत्यु भयो । त्यो खबर पनि त्यही भेटमा इन्दिरा गान्धीकै मुखबाट सुन्नुपर्‍यो ।  साभारः नेपाल राष्ट्रिय साप्ताहिक, २०६७ असार २०

_____ · Oct 1, 2015 2:35 AM · 3,290 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all