पत्रकार र भारतीय दूतावासको लन्च [ब्लग] 01 Oct 2015 | 13:22pm बिहीबार १४ असोज, २०७२ टेकनारायण भट्टराई DISQUS_COMMENTS 1 2 3 4 5 (2 votes) बुधबार भारतीय राजदूतवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदूत रञ्जित रे। तस्बिर : केशव थोकर मलामी जाँदा मासुभातको चाहना कसैले राख्दैन। तर बुधबार भारतीय दूतावासमा हामी पत्रकार मासुभातको चाहना राख्ने मलामी बन्यौं। भारतको हेपाहा व्यवहारले सिंगो मुलुक पीडामा भएका बेला नेपाली पत्रकार भारतीय दूतावासको गाडी चढेर पाँचतारे होटलमा 'लन्च' खान पुग्नु अशोभनीय हो। नेपाली जनताले देशलाई परेको दुःखमा सहभागी हुन तयार छौं तर भारतसँग हाम्रो सरकार नझुकोस् भन्ने भावना बुलन्द पारेका छन्। साधारण नेपाली नागरिकले बुझेको कुरा पत्रकारले बुझ्न नसक्नु समीक्षायोग्य बिषय हो। समय चेतना बुझ्नु पत्रकारको न्यूनतम अनिवार्य योग्यता मानिन्छ। त्यो योग्यता हामीले भारत सरकारका दूतसामू देखाउन सकेनौं। सायद राजदूत रञ्जित रेलाई लाग्यो होला नेपालका कतिपय नेताजस्तै पत्रकार पनि भारतकै छत्रछाँयामा बस्न रुचाउँछन्। कतै हामीले जानअन्जानमा यही सन्देश त दिएनौं? दूतावासको पत्रकार सम्मेलनमा चिया–खाजा खाँदैमा अराष्ट्रिय भइने र नखाँदा राष्ट्रप्रेमी ठहर्ने तर्क गर्नु झट्ट हेर्दा सतही लाग्ला। निम्त्याइएका पाहुनालाई शिष्टाचारस्वरुप चियाखाजा पस्कनु र त्यो ग्रहण गर्नु हाम्रो संस्कार हो। यहाँसम्म ठीकै छ। तर जब भारतीय राजदूत रञ्जित रेले कार्यक्रमस्थल दूतावासबाट केही टाढा पाँचतारे होटलमा नेपाली पत्रकारलाई लन्च अफर गरे र त्यो खुसीले स्वीकार्दै अझ उनकै कार्यालयको गाडी चढेर केही पत्रकार होटल पुग्नु गलत थियो। १५ मिनेटको कार्यक्रममा सहभागी भएर लन्च खान जरुरी थिएन त्यो पनि 'लन्च आवर' घर्कीसकेको समयमा। प्रत्येक विषयको अर्थ पछाडि त्यसको सन्दर्भ (कन्टेक्स) को महत्व अहं रहन्छ। यो बेला भारतसँग सामान्य अवस्था छैन। निहित स्वार्थका लागि नेपाली जनताप्रति भारत कठोर र निर्मम बनेर प्रस्तुत भएको छ। त्यो माथि पत्रकार डाकेर आफ्ना अमर्यादित व्यवहारलाई चोख्याउन र छोप्न शिष्ट र कूटनीतिक भाषामा राजदूत रेले धेरै शब्द खर्चिए। मर्यादित भाषामा राजदूत रेको उम्लेको दम्भ भेउ पाउन सामान्य नेपाली मन भए पुग्थ्यो। नेपाली पत्रकारमाझ राजदूत रे नेपालीहरुलाई थप चिढ्याउनेगरी 'सफेद झुट' बोलिरहेका थिए। हामी स्वभाविक नम्रता प्रस्तुत गर्दै उनका कुरा सहज ग्रहण गरिरहेका थियाैं। आफ्नै शत्रु भए पनि उसका कुरा प्रकाशमा ल्याउनु हाम्रो धर्म हो। बुधबार भारतीय दूतावासमा नेपाली पत्रकार त्यही व्यवसायिक धर्म परीक्षाको घडिमा थिए। नाकाबन्दी कुनै एउटा मित्रले अर्को मित्र राष्ट्रलाइ गर्दैन। कुटनीतिमा नाकाबन्दीको अर्थ युद्ध बराबर ठानिन्छ। संविधान सभाले अाफू अनुकूल माग पूरा नगरेकोमा अाक्रोसित भारत अहिले नेपालमाथि त्यस्तै रणनीतिक युद्ध छेडिरहेको छ। दूतावास पुग्ने सबै सबै पत्रकारले नाकाबन्दी अनुभव गरेका थिए। र हामी उनकै कुरा प्रकाशमा ल्याउने धर्म पूरा गर्न त्यहाँ पुगेका थियौं। तर हामीमध्ये केहीले बुझ्न सकेनौं कि दूतावासले पस्केका सबै अफर ग्रहण गर्न हामी बाध्य छैनौं। पत्रकारको भूमिकासँगै हामीले स्वाभिमानी नेपाली नागरिकको भूमिकामा उत्रन सक्नुपर्थ्यो। राष्ट्रियताको मामिलामा संसारका सबै मिडिया राष्ट्रवादी भएका देखिन्छन्। हामीले शिष्टतापूर्वक उनको त्यो कालो मनमा घोच्नेगरी भन्न सक्थ्यौं- 'महामहिम, हामी तिम्रा विचार सुन्छौं तर तिमीसँग असहमत हुने सामर्थ्य पनि राख्छौं। तिम्रा कारणले सिंगो नेपालको चुल्हो निभेका बेला हामी तिम्रै चुल्होमा भात खाने मध्येका हैनौं। हामीलाई तिम्रो लन्च अफर मन्जुर छैन।' मलाई लाग्दैन पत्रकारले लन्च बहिस्कार गरेर अहिलेको समस्या समाधन हुन्छ। हाम्रो भद्र बहिस्कारले भारतलाई गम्भीर चोट पुग्छ भन्ने भ्रम पनि मलाई छैन। मेरो जिकिर के मात्रै हो भने- स्वाभीमान बोलीमा होइन व्यवहारमा देखाउने बेला हो यो। मौखिक राष्ट्रवाद हैन मुर्झाएको हाम्रो असली राष्ट्रवाद ब्यूँताउने बेला हो यो। यही सेरोफेरोमा केन्द्रित भएर लेखिएको मेरो ट्वीटमा मंगलबार केही हल्का र निराशाजनक प्रतिक्रिया आए- 'नेता बिकेको देशमा पत्रकारले भात खाँदा किन बबण्डर?', 'टेकनारायणजी भतुवा ती पत्रकारहरुको नाम सार्वजनिक गर्ने आँट गर्नुस्।' म कुनै पत्रकार पात्रलाई खुइल्याएर आनन्द लिन रुचि राख्दिन। हाम्रा भूलचुकको समीक्षा हुनुपर्छ। मेरो जोड के हो भने हामी पत्रकारहरु समय चेतनाले ओतप्रोत हुनैपर्छ। 'कन्टेक्स'बिनाको पत्रकारिता संसारमा कहीँ हुँदैन। नेपाली राजनीति र नेताहरुको सोँच, शैली र व्यवहार भारतपरस्त भयो भनेर सबैभन्दा गाली गर्ने हामी पत्रकार हौं। यदाकदा भारतीय दूतावास अनि भारतीय गुप्तचर संस्था 'र' को दानापानी खाएर नेता, कर्मचारी उनकै इशारामा चल्ने गरेका भन्दै सबैभन्दा बढी चर्चा गर्ने तप्का पत्रकार नै हो। हामी आफ्नो भूमिकामा डट्न सकेनौं भने नेता, कर्मचारीलाई गाली गर्ने नैतिकता बाँकी रहला? अनि भारतीय दूतावासले 'जसको सिता खाई उसकै गीता गाई' भन्ने उखान सम्झाउँदै भोलि केरकार गर्दा के जवाफ दिने? एकजना पत्रकार मित्रले मेरो ट्वीटरको प्रतिकृयामा ठट्टा गर्दै भनेका छन्- 'टेकनारायण तिमीले भारतीय दूतावासको सेवा सुविधा पाउने भएनौ, ख्याल राख है।' मलाई गर्व लाग्नेछ। भारतीय दूतावासले 'ब्ल्याक लिष्ट'मा नाम चढाओस्। हो, मैले तिम्रो चिया र लन्च बहिष्कार गरेको हुँ। मेरो भूल भयो त्यहाँ सबै पत्रकारलाई चिच्याएर बहिष्कारको आह्वान गर्न सकिन। तिम्रो निगाहले दिने सेवा सुविधा सधैँ बहिष्कार हुनेछ। जय नेपाल! - See more at: http://nagariknews.com/breakin...
_____ · Oct 1, 2015 2:27 AM · 1,819 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion