नागरिकताको प्रावधान भारतको भन्दा उदार - घनश्याम खड्का, काठमाडौं आश्विन १४, २०७२- अंगीकृतलाई राष्ट्रपतिसम्म हुने अवसर दिनुपर्छ भन्ने मागलाई समर्थन गरिरहेको भारतको आफ्नै संविधानमा चाहिँ नागरिकता प्राप्तिको प्रावधान कस्तो छ ? विज्ञहरू भन्छन्– संविधानसभाबाट जारी नेपालको संविधान भारतको संविधानभन्दा नागरिकताको सवालमा धेरै उदार छ । ‘नेपालको संविधानमा कुनै पनि नागरिक नागरिकताबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ, यो भनेको नेपालका हरेक नागरिकले नागरिकता पाउने संवैधानिक अधिकार राख्छन्,’ कानुनविद् तेज श्रेष्ठ भन्छन्, ‘तर भारतीय संविधानमा यो वाक्यांश नै कहीँ उल्लेख छैन ।’ भारतीय संविधानको भाग २ मा धारा ५ देखि ११ सम्म नागरिकता प्राप्ति र समाप्तिका प्रावधान छन् । जसअनुसार संविधान प्रारम्भ हुँदाका बखत जन्मेको वा त्योभन्दा पाँच वर्ष अघिदेखि भारतमा बसोबास गरेको व्यक्ति स्वत: भारतको नागरिक हुने पहिलो प्रावधान छ । भारतमा जन्मेको, पाकिस्तानबाट सरेर आएको तर हजुरबा, हजुरआमा वा कुनै अभिभावक भारतीय भएको व्यक्ति भारतीय हुन सक्ने व्यवस्था धारा ६ मा छ । तर, अन्यत्र जेसुकै लेखिएको भए पनि भारतमा जन्मेर पाकिस्तानमा बसोबास गर्ने भारतीयले भारतको नागरिकता नपाउने प्रावधान संविधानको धारा ७ मा छ । नेपालको संविधानमा आमाको नामबाट पनि नागरिकता पाउने उल्लेख छ । तर, भारतीय संविधानमा त्यसको कुनै उल्लेखसम्म छैन । नेपालको संविधानमा अंगीकृत नागरिकता प्राप्तिका विधि र प्रावधानहरू प्रस्ट उल्लेख छन् । नेपालको संविधानको धारा ११ को उपधारा ७ अनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मेको सन्तानले अंगीकृत नागरिकता पाउनेछ । यसरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाको पति नेपालमै बसेर पछि कानुनअनुसार नागरिकता लिएमा उनीहरूका बच्चाले वंशजकै नागरिकता पाउने प्रावधान पनि त्यही धाराले गरेको छ । भारतीय संविधानमा यस्तो कुनै प्रावधान नै छैन । ‘अंगीकृत नागरिकता भारतमा लिनै पाइँदैन,’ अधिवक्ता गोविन्द बन्दीले भने, ‘भारतमा त वंशजका आधारमा नागरिकता लिन पनि भारतीय बाबु र आमाबाट जन्मेको नागरिक हुनुपर्ने जटिल प्रावधानहरू छन् ।’ भारतीय संविधानको धारा ११ अनुसार बनेको नागरिकता ऐन १९५५ मा नागरिकता प्राप्त गर्ने प्रावधानहरू अझ बढी जटिल भएको बन्दीको विश्लेषण छ । ‘संविधानमा भारतले नागरिकताका बारेमा ज्यादा प्रस्ट प्रावधान राखेको छैन,’ बन्दी भन्छन्, ‘नागरिकता ऐनमा गरिएका प्रावधानहरू जटिल र नेपालको तुलनामा अनुदार छन् ।’ सन् १९५० को २६ जनवरी त्यो वा त्योभन्दा पछि १९८७ को जुलाई ९ तारिखमा भारतमा जन्मेको व्यक्ति भारतीय हुने, त्यसपछि त्यस्ता भारतीयबाट जन्मेका सन्तान भारतीय हुने र डिसेम्बर ३ २००४ पछि जन्मेको जोसुकैले पनि भारतीय नागरिकता पाउन बाबु र आमा दुवै भारतीय हुनैपर्ने प्रावधान भारतको नागरिकता ऐनमा छ । ‘यस्ता जटिल प्रावधान हामीकहाँ छैनन्,’ बन्दीले भने, ‘हाम्रोमा त संविधानमै यो संविधान जारी हुँदाका बखत नागरिक भएका सबै नेपालको नागरिक हुने र त्यस्ता नागरिकबाट जन्मेका सबैले वंशजको नागरिकता पाउने प्रस्ट प्रावधान छ ।’ भारतमा वंशजको नागरिकता पाउन अर्को जटिल प्रावधान राखिएको बन्दीले बताए । जसअनुसार २६ जनवरी १९५० पछि र १० डिसेम्बर १९९२ अघि भारती बाबु र आमाबाट जन्मेको व्यक्तिले मात्रै वंशजको नागरिकता पाउन सक्छ । नेपाली नागरिकसँग विवाह गरेकी कुनै विदेशी महिलाले तुरुन्त नागरिकता पाउने व्यवस्था नेपालमा छ । तर, भारतमा भारतीय पुरुषसँग विवाह गरेकी कुनै विदेशी महिलाले भारतको नागरिकता पाउन पतिसँग भारतमा लगातार ७ वर्ष बसेको हुनुपर्ने र त्यसपछि मात्रै उसले नागरिकताका लागि आवेदन दिन सक्ने उल्लेख छ । ‘यो प्रावधान पनि नागरिकताका लागि आवेदन दिन पाउनेसम्म मात्रै हो,’ बन्दी भन्छन्, ‘नागरिकता दिने वा नदिने भन्ने त भारतीय सरकारकै निर्णयमा भरपर्छ, पाउनैपर्छ भन्ने कुनै कानुन त्यहाँ छैन, जबकि हाम्रोमा विवाह भएकै भोलिपल्ट सजिलै पाइन्छ ।’ यस्ता अरू पनि थुप्रै पक्षमा नेपालको संविधान भारतको भन्दा उत्कृष्ट, उदार र बढी समतामूलक भएको विज्ञहरूको निचोड छ । यति हुँदाहुँदै पनि नेपालको संविधानमा भारतले चित्त नबुझाउनु आश्चर्यजनक र रहस्यमय रहेको उनीहरूको टिप्पणी छ । प्रकाशित: आश्विन १४, २०७२
_____ · Oct 1, 2015 2:16 AM · 2,988 views
la thik chha, aba haami Nepali Bharatiya bhanda badhi maathi jaanu parchha, badhi chamkanu parchha
magdadela · Oct 1, 2015 7:20 AM
Just to please India, We should follow some of India's rule which may be favorable to country. Last edited: 01-Oct-15 10:54 AM
magorkhe1 · Oct 1, 2015 10:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion