कस्तो भयो होला मलाई त्यती खेर, सोच त। हो, साँचै केही थाहा छैन तिम्लाई। केही पनि थाहा छैन। कामबाट लखतरान भएर घर फर्किरहेको छु म। दिनभर उभिएकोले होला, पाइला पाइलामा दुखाई महसुस भइरहेको छ। त्यस माथि त्यो स्टेशन देखि घर सम्मको अँध्यारो बाटो। यता उति कोही पनि देख्दिन। टाउकोको ठिक्क माथि हेर्छु, बादलहरु पनि आआफ्नो काम सकाएर आकाश लाई एक्लै पारेर कतै गए जस्ता छन्। निष्ठुरीहरु। आकाश पनि एक्लै थियो, अनि म पनि। कस्तो सन्जोग। स्टेशन बाट अलि पर पुगे पछि याद आयो, वरपर किन म आज केही देख्दिन। सँधै दायाँ बायाँ अगाडि पछाडि हेरेर हिँड्ने मान्छे म, आज खोइ केही कोही पनि देख्दिन। आँखाको त कुरै छोड न, कानले समेत केही सुनिराको छैन। घोडा जस्तो एकतमासले रन्केर हिँडिरहेछु। खुट्टा पनि चलेको हो कि हैन छुट्टाउनै गाह्रो भइराको छ। अगाडि कोइ छ जस्तो छ, राम्रो सँग छुट्टाउन सक्दिन। नजिक पुगेर थाहा भयो, तीन चार जना तन्नेरी केटाहरु एकआपसमा खुसफुस खुसफुस गर्दै रहेछन्। सायद यती राती एउटी केटी एक्लै हिँडिरहेको देखेर होला। एकजनाले त सिटी पनि बजायो। त्यती खेर पो झस्याँड़ग भएँ म। यसो घडीतिर आँखा डुलाउँछु, घर पुग्न अझै पाँच-छ मिनेट हिँड्नै पर्ने रैछ। फेरी फोनमा आँखा गयो, अनि एकचोटि फेरि हेरें त्यो फोटो। जहाँ तिमी मुस्कुराई रहेका थियौ। तिमी संगै मुस्कुराइ रहेकी थिइन तिम्री नव दुलही। उनको मुस्कान त निश्चल थियो तर तिम्रो? अंह, तिम्रो मुस्कानमा मिसावट थियो। मेरा दुई वर्षका कथाहरु त्यसमा मिसिएका थिए, मेरा आँसुहरु, मेरा हाँसोहरु, अनि तिमी प्रतिको मेरो गहिरो माया मिसिएको थियो। कसरी त्यस्तो मिसावट भएको हाँसो हाँस्न जान्यौ? कहिले देखि? घर नजिकै पुगे पछि बल्ल महसुस भयो हावाको वेग। अघिदेखि निकै जोडले हावा चलिरहेको रहेछ। रुखहरु पनि जोडले हल्लिरहका रहेछन्, यता मेरो मन पनि जोडले हल्लिरहेको थियो। बेस्सरी। एकचोटि फेरि त्यो फोटो हेर्छु। मिसिएको हाँसो अन्तिम पटक हेर्छु। अन्तिम पटक उसको लागि आँसु झार्छु। अनि घरको घन्टी बजाउछु.... पिइइइइइइइइइइइप.........
म बादल · Sep 22, 2015 11:40 AM · 8,212 views
राम्रो लेख्नु हुँदो रहेछ 'म बादल ' ज्यु
ThahaChaena · Sep 23, 2015 7:55 AM
राम्रो छ , अरु पनि जावोस
facebook · Sep 23, 2015 9:51 AM
कम शब्दमा धेरै बोल्ने, लेखको म पारखी हूँ ! अहिले सम्म साझामा पढेको लेख मध्ये सब से दामी लाग्यो मलाई, बादल ब्रोको यो कथा !
Nas · Sep 23, 2015 10:27 AM
मादल ब्रो हो कि नानि हो ? यद्द्यपी!! एक दम राम्रो लेखिका हुनु हुदो रुइच . कृपया येस्तै लेख/लेखाई मा निरन्तर दि रहनु होला.
no_more_crush · Sep 23, 2015 11:02 AM
शोर्ट एण्ड स्विट मिठो लाग्यो !
shahi baba · Sep 23, 2015 12:35 PM
कमेन्ट, लाइक, अनि यो लेख पढिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। साझामा पहिलो उडान मेरो, सायद सफल भयो।
म बादल · Sep 23, 2015 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion