आमाको तीज

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्खरै मात्र गएको नेपाली नारीहरुको महान चाड हरितालीका तिजको शुभकामना सम्पुर्णलाई दिंदै यो कथा पस्केको छु | आमाको तीज ------------------------ आमालाई सघाउन पर्छ भनेर मेरो बुद्धी कहिल्यै पनि आएन | मेरो चकचकले वाक्क भएर आमाले कहिले कहिले “छोरी पाउन पर्नी रैछ, यो चकचकेले भन्दा त धेरै सुख दिन्थी ” भन्नुहुन्थ्यो | आमासंगै लाई-मिली गरेर भान्सामा सघाउँदी हो..... आफ्नै मन-ज्ञानले घर सफा गर्दी हो ..... आमालाई कत्ती सजिलो हुँदो हो .....आमा मिठो कल्पनामा हराउनु हुन्थ्यो | प्वाट्ट... अनि सिसाका टुक्रा छिन्रिंग गर्दै छरिए | त्यो आवाजले आमा झस्किनुभयो | “फेरी के फुटायो है त बाँदरले?” भान्सामा घिउ चोरेर खाँदै थिएँ, घिउ राखेको हर्लिक्सको सिसी चिप्लो थियो| मेरा हातहरु साना थिए | मैले समात्न सकिन, चिप्लियो, खस्यो अनि फुट्यो | आमाको आवाजले मेरो सातो गयो | म भागें | “जालास् नि खुबै मामाघर, दाईलाई मात्रै लैजान्छु |”.... आमाको आवाज बिस्तारै मधुरो हुँदै गयो, म भागेर पर पुगिसकेको थिएँ | आमाले मलाई मामाघर नलैजानी रे ? दाई मात्रै जानी रे ? त्यो मेरा लागि सैह्य कुरा थिएन | मामाघरबाट फर्किंदा हजुरबाले टिका लगाएर १ रुपियाँ दिनुहुन्थ्यो अनि म धनी हुन्थें, कसरी नजानी म मामाघर ? बरु आमाको सिम्किना खान तैयार, घर फर्कें | ************************ टिकौलीको जंगल काटेपछी भानुचोक आउंथ्यो | भानुचोकमा ओर्ले पछी एक घण्टा हिंडेर जानु पर्थ्यो, जिरौना | मामाघर जाँदा मलाई मन नपर्ने यहि मात्र एउटा कुरा थियो, एक घन्टाको हिंडाई | भाग्य भए कहिले कहिले चिम्नीबाट इट्टा बोक्ने टडक भेटिन्थ्यो अनि त्यै चढेर जान्थेम् | नत्र भने कहिले कहिले घोडाले तान्ने टाँगाहरु भेटिन्थे | इट्टाका टुक्राहरू बाटोभरी खस्थे, त्यसैमाथी टडक गुडेर ति टुक्राहरू पिसिन्थे | अनि त्यो रात्तै भएको बाटोमा त्यै रातो धुलो उडाउँदै टडक बत्तिन्थ्यो | त्यो दिन हाम्रो भाग्य रैछ | टडक आएर मामाघर अगाडीको तगारोमा रोकियो, हामी ओर्ल्यौं | रातो धुलो उडाउँदै टडक फेरी बत्तियो | ************************* तीजको बेला आमाले संधै मलाई र दाईलाई लिएर मामाघर जानुहुन्थ्यो | सानीमाले पनि भाई र बहिनीलाई लिएर आउनुहुन्थ्यो | सानिमाले भाई-बहिनी लिएर आईसक्नुभएको थियो | नानुले फुलै फुलको सेतोमा निलो बोडर भको कस्तो राम्रो फरक लगाएर आएकी थिई | आमालाई त संधै म छोरी भै-दिए हुन्थ्यो जस्तो लाग्थ्यो | तर मलाई चै रोजुको फरक देखेपछी मात्र आफुँ छोरी भैदिए नि हुनी जस्तो लाग्थ्यो | मलाई पनि रोजुको जस्तै फुलैफुल भएको फरक लगाउन मन लागेर आउंथ्यो | आहा कस्तो राम्रो, अगाडी नि फुल, पछाडी नि फुल | अनि बिस्तारै टाउको निहुराएर आँफुले लगाईराखेको पाईन्ट हेरें | छ्या | कस्तो बेरस | एका पट्टी एउटा खुट्टा ख्वास्स घुसार्यो, अर्को पट्टी अर्को खुट्टा ख्वास्स घुसार्यो, कम्मरमा टाँक लायो | भयो | मेरो पाईन्टमा मिठास भन्ने कुरा कतै देखीन | **************************** साँझ साँझ परेको थियो | मामाघर नजिकैका सबै दिदी र सानीमाहरु बिस्तारै हाम्रो आँगनमा जम्मा हुनथाल्नुभयो | मैले कसैलाई चिन्थें , कसैलाई चिन्दैनथें | आमा र सानीमा चै भान्सामा हुनुहुन्थ्यो | “आमा क्याल्नाको ?” धुँवै धुवाँको बिचमा आमालाई खोज्दै सोधें | मेरो पछी पछी लागेर बहिनी पनि त्यहीं आई | “दर पकाउन लाको’ आमाले उत्तर दिनुभयो, अनि सानीमालाई भन्नु भयो, “केट्केटी उता लिएर जा, आँगन तिरै खेला” “सानिमा, मलाई नि नानुको जस्तै फलक लाईदिनु न” “हि हि, दाईले नि फरक लाउनी रे, हजुर त छोरा हो” नानु पहिले हाँसी अनि मैले बिर्सिसकेको झैं गरेर म छोरा हो भनेर सम्झाई | मलाई म छोरा हुँ भनेर बिर्सिन मन लाग्यो | “ल आईज त” सानिमाले मलाई भित्र कोठामा लैजानुभयो नानु पनि पछी पछी आई | झोलाबाट रातो फरक निकाल्नुभयो र मलाई लगाईदिनुभयो | नानु हेरेर बसी | बिस्तारै हाम्रो आँगनमा ठुलै चहलपहल हुन लाग्यो | हजुरआमाले आँगनमा ठुलो घेरा बनाएर गुन्द्रीहरु ओछ्याउनुभयो | सबैजना आएर गुन्द्रीमा बसे | हजुरबाले भजनमा बजाउने खैजडी र मादल निकाल्नुभयो र उनीहरुलाई दिनुभयो | आमा पनि कुन बेला भान्साबाट निस्केर गुन्द्रीमा गएर बसीसक्नु भएछ | मादल र थपडीको ताल बीच आमाको मिठो स्वर सुने, “दैला र मुनीको गुरदौली फुलुवा कैलेलाई साँचेको नि बरीलै कैलेलाई साँचेको ...” यता सानीमाले मलाई लिपिस्टिक लगाई दिईसक्नु भएको थियो | गाजल लगाउंदा आँखा झिम्क्याको झिम्काई गरेर अलि ढिलो भएको थियो | हाम्री नानु राम्री थिई, तर आज म गाजल-लिपिस्टिक लगाएर नानु भन्दा राम्री भएकी थिएँ | “मैले त दुईटा छोरी ल्याछु है” सानीमाले मलाई र रोजुलाई लिएर आँगनमा जानुभयो | मलाई कुन बेला नाचम नाचम भको थियो | “मलाई नि तिजको गीत आउँच” मैले सबैको अगाडी फुर्ती लाएँ | “ल गा तनी” आमाले अनुमती दिनुभयो | घाँटीको दाहिने पट्टीको नशा फुल्ने गरी चिच्याउँदै कराएँ - “यसपालीको तीजमा लट्टे खान पाईन मेरी आमा जगल्टी लिन आईन” अनि बेस्कन घुमेर नाचें | मलाई आनन्द आयो | आहा छोरी हुन त कस्तो मज्जा पो हुँदो रैछ | सबै थोक बिर्सेर बेस्सरी घुमें | नाचीरहें | थाकेको म कुन बेला निदाएछु | बिहान उठ्दा अझै नानुको फरक लगाईराखेको थिएँ | सानीमा आँगनमा बसेर तरकारी केलाउँदै हुनुहुन्थ्यो | सानिमाको नजिकै गएर भने, “मलाई सु-सु आयो” केलाउँदै गर्नुभएको तरकारी देब्रेहातमा राखेर दाहिने हातले आँगनको कुनो देखाउंदै भन्नुभयो, “उ त्यता गए हुन्छ |” मैले सोध्न खोजेको कुरो कता जाउँ भन्ने थिएन, कसरी गर्ने भन्ने थियो | तर सानीमाले त्यो बुझ्नेबेला सम्म धेरै ढिलो भैसकेको थियो| नानुको भिजेको फरक लगेर धारमा मिल्क्याएं | अनि आफ्नै कट्टु लगाएर भान्सामा गएँ | “हजुलामा, दल दिनु न” हिजो राती खाने भनेको दर खान नपाई निदाएको थिएँ, आफ्नो भाग मागें | हजुरआमाले एउटा कचौरामा लट्टे राखेर दुधले भिजाएर दिनुभयो | मैले कचौरामा हेरें | मैले मागेको दर थियो, दुध थिएन | यसो घाँटी तन्काएर दुधको कराई हेरें | दुधमा दर लागेको पनि थिएन | दर जती सबै मिलेर राती नै भ्याएछन्- मन मनै सोचें | “त” र “द” मा झुक्किंदै आफ्नो भाग कचौरा लिएर आँगनमा गएँ | आमाले धारामा नानुको फरक पखालेर निचार्दै हुनुहुन्थ्यो | लट्टेको गाँस मुखमा हालेँ, अनि तारमा सुकाईएको नानुको रातो फरक हेर्दै मन मनै सोचें, उभी-उभी गर्नै सजिलो, छोरै ठिक छु | Last edited: 19-Sep-15 01:54 AM

Fuel Tank · Sep 19, 2015 1:43 AM · 19,425 views

5 Replies

 Liked your stories नाम बिर्सिए डाडु भन्दा सानो पन्यु को नाम:  ले देब्रे झिकेर देब्रे हात्मा राखे पछी तेही सानो पनयुले डोब बनाएर चिनी हाले (भए तिलको छोप)  पछीको घ्यु चिनी स्वाद अझै बिर्सिएको छुईन |  Last edited: 21-Sep-15 02:44 PM

magorkhe1 · Sep 19, 2015 7:34 AM

Fuel Tank ji, धेरै राम्रो लाग्यो तपाइँ को लेख/ सललल बगेको र आफ्नो केटाकेटीपन को झझल्को दिने/ धन्यबाद साझामा एउटा पढ्न योग्य कथा ( वा वास्तविकता!)) पस्कनु भएकोमा/

adhikari_bandhu · Sep 19, 2015 5:12 PM

टंके मित्र, साधा झैँ फेरी पनि मिठो कथा पस्किनु भयो . लेख्ने छोडेर कता हराको हो के तपाईं ?? १ - २ जना त बाँकी छन् साझामा लेख्ने आजकाल .. अरु पनि लेख्नुस न ल ..... यो तिजको दर मिठो मानि खानु भो भन्ने ठाने है मैले चै . थाहा छैन

ThahaChaena · Sep 21, 2015 1:35 PM

गोर्खे ब्रो, अनि थाने दाई, नमस्ते गरें है यस्तै हो कार्य व्यस्तता :) भूकम्पले देश हल्लिएको बेलामा के को रामाईलो कथा लेख्ने भनेर रोकेको रोकेको रोक्यै भैयो अनि संबिधान आउने निश्चित भएर देशले खुशीयाली मनाए पछी लौ तनी शुरु गरम भनेर फेरी सुरुगरेको सबै जना कता हराएचन कुन्नी ? फुच्चे केटो खुब मिस हुन्छ | अधिकारी बन्धु, ब्रोलाई आक्कल झुक्कल अरु पोस्टहरुमा देखे पनि मैले मेरा पोस्टहरुमा देखेको थिईन, मैले स्वागत गरें है अनि मेरो कथा मन परईदिनुभएकोमा धन्यबाद |

Fuel Tank · Sep 22, 2015 11:13 AM

ट्यांकी साथि गाएब भएका थिए आएछन् 'दर' को कथा सहित ...भन्नै नपर्ला कथा सरल बग्दै त्यहिँ समयमा पुर्याउन जहिले सफल हुन्छ तिम्रो story telling ! अब माया नमारम् ल ! (अनुरोध )

Bhaktey · Sep 22, 2015 4:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all