बहिष्कार गरेका कांग्रेसका पाँचै सभासद संविधानसभामा फर्किए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बहिष्कार गरेका कांग्रेसका पाँचै सभासद संविधानसभामा फर्किए - कान्तिपुर संवाददाता, काठमाडौं भाद्र २८, २०७२- पार्टी निर्देशनविपरीत संविधानसभाको मतदान प्रक्रिया बहिष्कार गरेका कांग्रेसका पाँच सभासद सोमबारदेखि संविधानसभामा फर्केका छन् । सभासद सुरेन्द्र चौधरी, रामअयोध्या यादव, अमरेशकुमार सिंह, गणेश मण्डल, दिनेश परसौला यादवले मधेसी र थरुहट आन्दोलनको समर्थन जनाउँदै संविधानसभा बहिष्कार गरेका थिए । बहिष्कार गरेका सभासदहरू पार्टी नेतृत्वको आग्रहमा पुनः संविधानसभामा प्रवेश गरेका हुन् । नयाँ संविधानमा समानुपातिक समावेशीको सिद्धान्त स्वीकार गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने सहमति भएकाले आफू संविधानसभाको प्रक्रियामा सहभागी भएको सभासद चौधरीले बताए ।बहिष्कार गरेका सभासदहरूसँग वरिष्ठ नेता शेरबहादुर देउवाले बोलाएर छलफल गरेका थिए । 'वरिष्ठ नेता देउवासँगको कुराकानीपछि म सहितका सभासदहरू संविधानसभाको प्रक्रियामा फर्किएका हौं,' चौधरीले कान्तिपुरसँग भने, 'संघीयताको सीमांकनको विषयमा भने मेरो 'रिजर्भेसन' कायमै छ ।' चौधरी अपराहन ३ बजे संविधानसभामा प्रवेश गरेका थिए । सिंहलगायत चार नेता भने बिहानैदेखि संविधानसभामा सहभागी भएका थिए ।यसैबीच कांग्रेसले सभासद अमरेशकुमार सिंहलाई नयाँ सविधान जारी भएपछि कारबाही गर्ने जनाएको छ । पार्टी निर्देशनविपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीको अनुशासन समितिले उनीमाथि स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको छ । समितिले सिंहमाथि २४ घण्टे स्पष्टीकरण लिएपछि कारबाही गर्ने तयारी गरेको थियो । तर, शीर्ष नेतृत्वले संविधान जारी गर्नुअघि कारबाही गर्दा तराई-मधेसमा जारी आन्दोलनलाई बल पुग्ने तर्क गरेपछि कारबाही रोकिएको हो । 'निलम्बन गर्ने कि पार्टीबाटै निष्कासन गर्ने भन्नेमा छलफल भइरहेको थियो, 'समितिका एक सदस्यले भने, 'तर नेताहरूले संविधान जारी भएपछि मात्रै कारबाही गर्ने भनेपछि रोकिएको हो ।'   प्रकाशित: भाद्र २८, २०७२

_____ · Sep 14, 2015 8:36 AM · 1,927 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all