अचेल मलाई डर लाग्न थालेको छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो भाइको मृत्यु केही दिन अगाडि मात्र ब्लड क्यान्सरबाट भएको छ। २३ वर्षको लक्का जवान, बाहिरबाट हेर्दा एकदमै आकर्षक र निरोगी देखिन्थ्यो। कसैलाई थाहा थिएन, उनको यो आकर्षक शरीरमा रोगको खानी नै छ भनेर। स्वयं उसैलाई थाहा थिएन। त्यसैले, उसले आफ्नो विमारलाई समान्य खोकी भन्दै वास्तै गरेन। मेरो भाइलाई दुई महिनाअघि खोकी हुन थाल्यो। रुघाको समान्य औषधीले निको भएन। केही दिनपछि अनुहार सुन्नियो। रुघाले नै अनुहार सुन्निएको भनेर अलि कडा औषधी दिइयो, तर पनि निको भएन। बिस्तारै ऊ खोकीका कारण रातभरि सुत्न सकेन, अनिमात्र डाक्टरको सल्लाह लिइयो। डाक्टरले उसको चेकजाँच गरेपछि छातीमा पानी जमेको पत्ता लगायो। उनलाई हस्पिटलमा भर्ना गरियो। थप चेकजाँच पछि टिबी भएको निर्क्यौल निकालेर टिबीकै उपचार गरियो। उपचारकै क्रममा दाँतमा संक्रमण, अत्याधिक ज्वरो आइरहँदा पनि चिकित्सकहरुले फरक दृष्टिकोणबाट सोच्न सकेनन्। धेरै पछिमात्र उसलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो, तर यस बेलासम्म धेरै अबेर भैसकेको थियो। उपचार सुरु भएको एक महिना बित्न नपाउँदै उसले संसार त्याग्यो। ............................................. अहिले म मेरो देशलाई मेरो भाइमा लागेका रोग र डाक्टरका डाइग्नोसिससँग तुलना गर्न थालेको छु। मलाई कताकता डर लाग्न थालेको छ मेरो भाइमा भएका संक्रमणहरुको श्रृंखला देशमा सर्दै जाँदा पनि देशका चिकित्सकहरु (?) मेरो भाइलाईजस्तै बचाउन नसक्ने निकम्बा सावित हुने त होइनन् ? मेरो देश पटक पटक दुखिरहेको छ, तर पनि देशका डाक्टरले मेरो देशको डाइग्नोसिस प्रभावकारी तरिकाले गर्नुपर्छ भन्ने सोचेनन्। देशमा एउटा कांग्रेस भैरहँदा २००७ साल पछि तराई काँग्रेस जन्मिँदा त्यसलाई सामान्य खोकीको रुपमा लिइयो। गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीमा रुपान्तरण हुँदा रुघा खोकीले अनुहार सुन्निएको रुपमा लिइयो। २०६३ सालमा फोरम जन्मिँदा छातीमा पानी जमेको मात्रै देखियो। त्यसपछि जयकृष्ण गोइत, ज्वाला सिंह वा सि.के राउतलाई टिबीको रोग भनेरमात्र डाइग्नोस गरिरहेका हाम्रा सम्भ्रान्त चिकित्सकहरु यो देशमा क्यान्सर लागि सकेको सोच्नै सकिरहेका छैनन्। अहिले यो देशमा मेरो भाइलाईजस्तै दाँतमा इन्फेक्सन सुरु भएको छ। तर पनि सम्भ्रान्त चिकित्सकहरु फुस्फुसाउँदैछन् : रुखबाट दुई चार आँप झर्दैछन्। मलाई डर किन पनि लागिरहेको छ भने मेरो पुस्ताका युवाहरुमा चन्द्र सुर्य अंकित झण्डाप्रति गर्व छैन। सयौं थुंगा फूलको मालामा आफूलाई भेटाउन सकिरहेका छैनन्। सगरमाथाको उचाइले मेरा दौंतरीहरुको जीवनमा आत्मसन्तुष्टि र स्वाभिमानको उचाइ थप्न सकिरहेको छैन। ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएका प्लेकार्ड बोकी प्रदर्शन गर्ने मेरा भाइबहिनीहरुमाथि आज फेरि एक पटक बिहारी र उत्तर प्रदेशबासीको ट्याग लाग्न थालेको छ। ‘गो ब्याक इन्डियन मिडिया’ ह्यास ट्याग ‘ट्रेन्डिङ्ग’को रेकर्ड बनाएका टुइटेहरु त्यही इन्डियन मिडियाको समाचारलाई आधार बनाएर एक करोड नेपालीलाई विदेशी बनाउन कत्ति पनि लाज मान्दैनन्। सामान्य कुराले मलाई छुँदैन। म यसअघिका आन्दोलनहरुमा आमनेसामनेको भिडन्त पनि गरिसकेको छु। रामानन्दचोकको बम विष्फोटले पनि ममा डर थप्न सकेको थिएन। अचेल मलाई डर किन पनि लाग्न थालेको छ भने मैले इतिहासका पानाहरुमा पढेको छु, विश्व मानचित्रभित्रका रेखाहरुमा कहिले प्रत्यासित रुपमा त कहिले अप्रत्यासित रुपमा फेरबदल आउने गरेको छ। अहिलेसम्म त ती रेखाहरु मेरो देशतर्फ सोझिएनन्। यदि यस्तै भैरहने हो भने मेरो देश के मानचित्र भित्रका रेखाहरु परिवर्तन हुनै नसक्ने अनन्त अपरिवर्तनीय भएर रहन सक्लान्? ...................................... नेपालको राजनीतिक इतिहास हेर्ने हो भने पनि मधेशको मूलभूत प्रवृत्ति शान्त किसिमको छ। त्यसैले थालनीमै कहिल्यै पनि आक्रामक हुँदैन मधेस। तर पनि, आन्दोलनमा होमिइसकेपछि कहिल्यै पछाडि हटेको इतिहास छैन। पछिल्लो एक दशकको आन्दोलनमा सयौंको संख्यामा सहिद बनेका छन् मधेसबाट, सबै आन्दोलन टुंगोमा पुगेका छन् र कुनै पनि आन्दोलन अकुपाइ बालुवाटार वा सिंहदरबार घेराउजस्ता दुई चार दिनमा नै तुहिने आन्दोलन बनेनन्। सबै आन्दोलनबाट अपेक्षित उपलब्धि हासिल भएका छन्। ती उपलब्धि तराई मधेसका लागिमात्र होइन कि, सिंगो नेपालका लागि उपलब्धि बनेका छन्। मधेस आन्दोलनले स्थापित गरेको संघीयताभित्र आज कर्णाली र सुदूरपश्चिम पनि रमाइरहेको छ, तमुवान र मगरातले पनि ताली पिटिरहेको छ। हाँडीमा एक मुठी मकै राखेर भुट्न थाल्ने हो भने केही दाना राम्ररी तात्न नपाउँदै पड्किन्छन्। औसत दाना राम्ररी तातिसकेपछि पड्किन्छन् र एकाध दाना थालमा खन्याउने बेलामा पड्किन्छन्। अधिकारका आन्दोलनहरुमा पनि केही दाना पहिले नै पड्किएर तातोपन बढिरहेको छ भन्ने संकेत गर्छन्। यसलाई उरण्ठेउला मकैका दानामात्र सम्झिने हो भने त्यसले दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन। सि.के. राउतहरुलाई पृथकतावादीमात्र मान्दै खोजीखोजी नजरबन्दमा राख्दै मस्त हाई काड्ने प्रवृत्तिले अनिष्ठकोमात्र संकेत गर्दछ। एक महिनाअघि युवाहरुले जनकपुरको ग्रामीण बस्तीमा आयोजना गरेको भेलामा आजीवन नेपाली काँग्रेसमा बिताएका एक बृद्ध कड्किए : मधेस प्रदेश नदिए मधेस देश बनाउने छौं।’ उनको यो अभिव्यक्तिलाई मधेसबासीले आफ्नै हिसाबले लेलान्, उनको पार्टी र अहिले देशको भाग्यविधाता (?) को आसनमा विराजमान नेपाली काँग्रेसले कसरी लिन्छ भन्ने कुरा महत्वपूर्ण छ। किनकि, उनीजस्तै मन मरेकाहरुको जमात दिन दुगुना, रात चौगुना बढिरहेको छ। काठमाडौं अझै पनि भ्रममा छ कि तर्क र शर्तका आधारमा लाखौं मधेसबासीको भावनालाई मत्थर गर्न सकिन्छ। हो, तर्कले एक छिनलाई मुख बन्द गर्न सकिन्छ, तर मनमा रहेको उकुसमुकुसलाई साम्य पार्न भने किमार्थ सकिँदैन। तराई मधेसबासीहरुले आफूलाई नेपाली भन्दा काठमाडौंले मधेसी बनायो। त्यसपछि मधेसबासीले आफूलाई मधेसी नै बनायो। फेरि मधेसीलाई धोती बनायो, मधेसीले हामी धोती नै सही भन्दै धोती जुलुस निकाल्न थाले। अहिले मधेसीलाई उत्तर प्रदेशी र बिहारीको संज्ञा दिइरहँदा मधेसीले हो, हामी बिहारी नै हौं, हामी बिहारी नै हुन चाहन्छौं भन्यो भने त्यसपछिको अवस्था के हुन्छ, काठमाडौंको खाल्डोले सोचेको छ ? मित्र सुदीप झाको एउटा छोटो कविता छ : ‘कोइली कूऽऽ, कौवा काँ, कोइली कूऽऽ, कौवा काँ काँ, कोइली कूऽऽ, कौवा काँ काँ काँ, कौवा काँ काँ काँ काँ काँ....... कोइली काँ’ सामान्य रुपमा सोच्दा विचित्रको लाग्ने यस कवितामा कोइलीले ‘कू’ गर्दै दिएको सकारात्मक सन्देशलाई नकारात्मक छविको कागले ‘काँ’ गर्दै खण्डन गर्छ। कोइलीले फेरी ‘कू’ गर्छ। कागले फेरि झपार्छ। कोइली फेरि कू गर्दा काग जाइलाग्छ र अन्तमा कोइली पनि ‘काँ’ नै गर्न बाध्य हुन्छ। देशको बागडोर सम्हालिरहेकालाई लाग्दैछ कि उनीहरु बोलेर जित्छन्। त्यसका लागि आम मिडियाको प्रयोग गर्दै ‘काँ काँ’ गर्दैछन्। तर, सत्य के हो भने कागको झम्टाइबाट काँ भन्न बाध्य भएको कोइलीले कू गर्न भने कदापि बिर्सिएको हुँदैन। अनुकूल अवस्था आउनासाथ फेरि कूहू कूहू गर्न थालिहाल्छ। त्यसैले गोयवल्स शैलीको काँकाँले कोइलीको स्वर नसुनिँदैमा कोइली बास्नै छाड्यो भन्ने सम्झनु मूर्खतामात्र हुनेछ। तराई मधेसबासीलाई अधिकारसम्पन्न बनाउने उधारो बकपत्रको साक्षी किनारामा बसेका राजनीतिक अगुवाहरु अहिले अकर्मण्यताको शिकार बनेका छन्। स्व. गिरिजाप्रसाद कोइरालाले बकपत्रमा हस्ताक्षर गरिरहँदा हेरेर बस्ने सुशील कोइराला अहिले बागडोरमा छन्, तर इतिहासमा उनीजत्तिको पंगु नेता कोही जन्मिएको देखिएन। केपी ओलीलाई त मधेसले नेता नै मान्दैन, तर छड्के किनाराका साक्षी बसेका र मधेसको मर्म बुझेका माधव नेपालको मधेसप्रतिको मौनताले पनि अनिष्ट पलहरुको संकेत गर्दछ। मधेससँग मेरो लभ पर्‍यो भन्दै रोल्पाबाट सिराहा झरेका प्रचण्डको दोधारे बोलीले पनि सफा दिनको संकेत गर्दैन। भीम रावल, शेरबहादुर र लेखराज भट्टहरुसँग त तराई मधेसको विश्वास कहिल्यै पनि छँदैछैन। नेपाल संविधानविहिन त कहिल्यै पनि छैन। अहिले पनि त अन्तरिम संविधानले नेपाललाई शासन गरिरहेको छ। यदि नेपाल साझा फूलबारी हो भने यहाँ फुल्ने सबै फूलहरुको पहिचान देशको मूल कानुनको रुपमा रहेको संविधानमा समेटिनुपर्छ। यदि देश चार जात छत्तीस वर्णको साझा फूलबारी हो भने सबैले दिल खोलेर यो मेरो देश भन्न पाउनुपर्छ। फूललाई फुल्ने स्वतन्त्रता त रहने, तर गधालाई त्यही फूल खाइरहन पाउने स्वतन्त्रता भयो भने यहाँनेर फूलको अस्तित्व के रह्यो र ? ठूला र अर्थपूर्ण राजनीतिक परिवर्तनपछि बन्ने संविधानमा सकेसम्म पचास वर्ष पछि आउन सक्ने मुद्दालाई पनि सम्बोधन गरौं, होइन भने कम्तिमा पनि अहिले उठान भएका मुद्दालाई सम्बोधन गरिएन भने यही एक थान संविधान घोषणाको दिनमा नै अर्को राजनीतिक आन्दोलनको बीजारोपण हुनेछ। स्वागतमा कोरिने सलाइका काँटीहरुले दीप होइन, मसाल बालिनेछन्, विद्रोहका। हो, यी सबै आँकलन गरेर म डराएको छु। मेरो यो डरलाई पनि समाजिक सञ्जालमा खिल्ली उडाइनेछ। मेरो डरसँगको असहमतिलाई फेरि विखण्डनको फुसफुसे श्वरका रुपमा लिइने छ। तर पनि, म अक्षरजीवीले अक्षरहरुको सृजना गर्न डराउनु हुँदैन, किनकि मैले सृजना नगरे भावनालाई अक्षरमा लिपिबद्ध गर्ने कसले ?  - 

ugeslimbu · Sep 12, 2015 5:12 PM · 3,560 views

1 Reply

देश भन्दा कुर्सि र पार्टीको माया झाल्किदै छ |

magorkhe1 · Sep 12, 2015 6:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all