डा.केसी रूमालले मुख छोपेर रून थाल्नुभयो डा.केसी for President

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

1 2 3 4 5 (1 Vote) RabindraMishra डा.केसीसँग अन्तरवार्ता गर्दै पत्रकार मिश्र। तस्विर साैजन्य: twitter.com/MishraRabindra डा.गोविन्द केसीको अनसन दशाैं दिन पुग्दा उहाँको स्वास्थ्य नाजुक हुँदै गएको थियो। त्यही बेला रवीन्द्र मिश्रले फाेन गरेर बिबिसी नेपाली सेवाका लागि छोटो कुरा गर्न सकिएला कि भनेर प्रस्ताव राख्नुभयो। उहाँको बिग्रँदो स्वास्थ्यका कारण जवाफ दिइहाल्न सक्ने अवस्था थिएन। सर कमजोर हुँदै गएसँगै एक दुई मिनेट लामा क्लिपका लागि बाहेक सरलाई बोल्न नदिन थालेको हिजै (मंगलबार) देखि हो। तर नेपाल सन्दर्भमा दश मिनट सरका कुरा ठूलो संख्यामा मानिसहरुबीच पुग्ने हुँदा यो यसबारे पुनर्विचार गरियो। यो अवसर छाड्नु उचित लागेन। अनुमतिका लागि मैले सरलाई सोधेँ। उहाँले सहजै 'हुन्छ' भन्नुभयो। त्यसपछि रेकर्डिंगका बेला जे भयो त्यो हामीले कहिलै सोचेका थिएनाैं। त्याे अविस्मरणीय भयो। सामान्यतया अनशनमा १० दिन पुग्दा मान्छेमा भावनात्मक अस्थिरता वा 'इमोस्नल भोलाटिलिटी' निकै बढिसकेको हुन्छ। यसअघिका अनसनहरूमा उहाँमा पनि त्यस्तै भएको थियो। सानो मानसिक उत्तेजनाले पनि मुटु र श्वासप्रश्वासको चालमा ठूलो असर पार्छ। त्यसका बाबजुद पनि अनशनसित जोडिएका विषयहरुमा जुन संयम् र धैर्यताका साथ उहाँ बोल्नुभयो, त्यसले हामीलाई ठूलो राहत दियो। मुटुको चाल धेरै घटबढ नै नभई अन्तर्वार्ता सकियो भनेर हामी ढुक्क भयाैं। त्यहीबेला रवीन्द्र दाइले अचानक अर्को प्रश्न सोध्नुभयो, 'अन्तर्वार्ताको बेला छुटेको, भन्न मन लागेको कुरा केही छ ?' सरले 'छ' भन्नुभयो। रेकर्डिंग फेरि शुरु भयो। केही छिन त सरले सहजै देशको दु:खद परिस्थितिबारे बोल्नुभयो। तराइमा भइरहेको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिको कुरा गर्दा अचानक उहाँको गला अवरूद्ध भयो। भक्कानो छुट्यो। उहाँ रुमालले अनुहार छाेपेर रुन थाल्नुभयो। के गर्ने के नगर्ने हामी असमञ्जसमा पर्याैं। उता डिस्प्लेमा मुटुको चाल एकैचोटि १६० प्रतिमिनेट पुगिसकेको देखियो। मोनिटरले स्थिति नाजुक भएको संकेत आवाज निकाल्न थाल्यो। माहाेल एकाएक भावविह्वल बन्यो।  सर आफैंभित्र भावनात्मक अस्थिरताबीच रहेको बेला भनेर हामीले उहाँलाई अत्यावश्यक बाहेकका खराब समाचार र सुचनाहरु दिन छाडेका थियौं। यद्यपि अनशन बस्ने दिन कैलालीमा भड्किएको हिंसाले उहाँको हृदय काँपिसकेको थियो। फेरि निकै प्रयासपछि उहाँ सम्हालिएर छोटो कुराकानी गर्नुभयो। बुधबार बेलुका बिबिसी नेपाली सेवामा त्यही अन्तर्वार्ता सुन्दा फेरि हामी भावविह्वल हुन पुग्याैं। फेरि सरको मानसिक उत्तेजनाले मुटुको चाल गडबड होला भनेर हामीले अलग्गै कोठामा गएर त्यो सुनेका थियौं। लगत्तै गएर सरलाई बताएँः सर, बिबिसीले अन्तर्वार्ता जस्ताको तस्तै सुनायो। एकदम सन्तुलित प्रस्तुति थियो। सर अब सम्हालिइ सक्नुभएको थियो। हल्का मुस्कानसाथ दिउँसोको आफ्नो मनस्थिति वर्णन गर्न थाल्नुभयोः खास उहाँले भन्न प्रयास गर्नुभएको रहेछ, संविधानमा सबै पक्षलाई समेटेर हिंसाको बाटो बन्द हुने गरी संविधान जारी गरौं। लामो समय रक्तपात नहोस्। तर भइदिएछ के भने त्यो बोल्न खोज्दाखोज्दै अचानक टीकापुरको विभत्स घटना याद आएछ। त्यसपछि उहाँले आफैंलाई सम्हाल्न सक्नुभएनछ। कार्यक्रम रेकर्ड गरेर फर्केपछि चिन्तित स्वरमा रवीन्द्र दाइले फोन गर्नुभयो, 'सरको मुटुको चाल के छ?' कतै आफ्ना कारणले उहाँलाई गाह्रै त परेन भन्ने उहाँको चिन्ता रहेछ। भाग्यवश सरको मुटुमा यसपटक पाँचौं अनशनताका देखिएको भीपीसी नामक समस्या देखिएको छैन। उहाँले फोन गर्नुअघि सरको मुटुको चाल धेरै हदसम्म सामान्य भइसकेको थियो। मैले त्यही सुनाइदिएँ। दश दिन भोकै बस्दा गलेको शरीरलाई डटेर सहेको मानिसलाई शारीरिक कष्टभन्दा देशको पीडाले कति दुखेको रहेछ। राज्यको बेलैमा आँखा खुल्यो र समयमै माग पूरा भए भने उहाँको अनशन त तोडिएर शरीर फेरि बौरिएला। तर अहिले देशभर अनाहक मारिइरहेका मानिस फेरि फर्केर आउने छैनन्।

rownyc · Sep 4, 2015 1:17 PM · 10,433 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all