सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन्, गाउन सक्दैनन् । कोही मिठो गाउँछन्, सुन्दर लाग्दैनन् । तर, आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अञ्जु पन्तको हकमा भने यो विपरीत छ । उनमा आवाज मात्र होइन, सौन्दर्यको पनि कमी नरहेको प्रमाणित भएको छ एउटा म्युजिक भिडियोमा । सांगीतिक क्षेत्रमा उनको आवाजको जादू चल्नेबित्तिकै उनलाई फिल्मको अफर पनि त्यत्तिकै आयो । आफ्ना गीतको भिडियोमा पनि कमै देखिने अञ्जुले सबै प्रस्तावहरूलाई अस्वीकार गरिरहेकी थिइन् । तर, अहिले आएर उनलाई आफैंले गाएको एउटा गीत यति मन परेछ, त्यो गीतको भिडियोमा आफैंले मोडलिङ गरिन् । केही समय अगाडि कार्यक्रमका सिलसिलामा लन्डन आएकी अञ्जुले त्यही बेला ‘जुनी जुनी...’ बोलको गीतमा मोडलिङ गरेकी हुन् । नृपेश उप्रेतीको बजारमा आउँदै गरेको एल्बम ‘खुशी’ को उक्त गीतमा अर्जुन पोखरेलको संगीत छ । ‘मैले गाउने गीतहरूभन्दा अलि फरक शैलीको छ यो गीत,’ उनी भन्छिन् ‘अलि फास्ट बिटको, पार्टीहरूमा पनि चल्ने र मेरा लागि अलिक नयाँपन भएकाले पनि आफंैले मोडलिङ गरेकी हुँ ।’ लन्डनका सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन रहेको सो म्युजिक भिडियोमा अञ्जुका दृश्यहरू लन्डनको चर्चित लोकेसनहरू वेस्टमिनिस्टर, लन्डन आई, टावर ब्रिज, थेम्स नदीवरपर खिचिएका छन् । लन्डनमा रहेकी नेपाली डिजाइनर अञ्जली केसीको आकर्षक डिजाइनर ड्रेसहरूमा अञ्जुलाई भिडियोमा देख्न सकिन्छ । गीतको छायांकनमा कुनै सम्झौता नगरेकाले भिडियो निकै राम्रो बनेको ‘खुशी’ एल्बमकी निर्मात्रा सोविता उप्रेती बताउँछिन् । चाँडै नै बजारमा आउने तयारीमा रहेको यो गीतमा विदुर अधिकारी र सारा शिर्पालिली अञ्जुसँगै समानान्तर भूमिकामा देखिने छन् । यूकेमा नै फोटो अनि भिडियोग्राफीलाई मुख्य पेसा बनाएका निर्देशक कुशल श्रेष्ठले यो गीतको भिडियो बनाउने चुनौती खेपेका छन् । उनी भन्छन्, ‘लन्डनका दृश्यहरूलाई आकर्षक शैलीमा प्रस्तुत गर्नु त छँदै छ, अञ्जु जस्तो लोकप्रिय गायिकालाई मोडलका रूपमा पृथक तरिकाले उभ्याउन कम सहज थिएन ।’ गायकद्वय शिव परियार र प्रमोद खरेललाई पहिलोपटक एकसाथ लिएर आएका गीतकार उप्रेतीको यो दोस्रो भिडियो हो । शब्द, संगीत र गायनका हिसाबले यो गीत अब्बल र भिडियो पनि सोचेभन्दा राम्रो बनेको दाबी गर्ने उनी यस गीतबाट निकै आशावादी छन् । उनलाई यस गीत आफ्नो लेखनमा कोसेढुंगा हुन सक्ने विश्वाससमेत छ ।
rownyc · Aug 15, 2015 10:26 AM · 3,054 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion