लिपुलेकको कब्जा कसको गल्तीले ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लिपुलेकको कब्जा कसको गल्तीले ? प्रेम कैदी |२०७२ साउन २५ सोमबार 6065 पटक पढिएको २०७२ जेठ १ गते हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्र भाई मोदीको चीनयात्राका क्रममा भएको व्यापार सम्झौतामा नेपालको लिपुलेक नाकाबाट दुई देशले व्यापार गर्ने भनी उल्लेख गरेपछि हाम्रो प्रादेशिक अखण्डतामाथिकै अतिक्रमण भयो भन्ने सबैजसो नेपाली पत्रकार तथा बुद्धिजीवीहरू खडा भए र यस सम्बन्धमा नयाँदिल्ली अझैं मौन भएपनि बेइजिङले चाहिँ त्यसबारे यथार्थ छानबिन गर्ने भनिसकेको छ।   लिपुलेकबारे अहिले जे जस्तो अवस्था रहेपनि यथार्थ के हो भने हालको नेपाल हिन्दुस्तान सीमा भनेको ई.सं. १८१५ मा इस्ट इन्डिया कम्पनीले नेपालमाथि लाधेको सुगौली सन्धि नै हो। उक्त सन्धिको दफा ५ मा राजा नेपालले कालीदेखि पश्चिमको मुलुक आफ्ना तर्फबाट वा आफ्ना वारिस वा कायम मुकायमका तर्फबाट सन्तान दरसन्तान छोडिदिने छन् भनेअनुसार हुने स्पष्ट छ।   जहाँसम्म काली अर्थात महाकाली नदी पश्चिम भन्ने व्याख्या छ त्यसलाई अंग्रेजहरूले षडयन्त्र पूर्ण चलखेल गरेको उनीहरू स्वयम्ले प्रकाशित गरेको हिमालयन गजेटियर (ए.टी.एट. किन्सन् १८८४) हेर्दा स्पष्ट हुन्छ र उक्त ठेली २ को पाना ६६७ मा गभर्नरस जनरल लर्ड हेस्टिङका कार्यालयले आफ्ना कमिश्नर ई. गार्डनरलाई कालीनदीलाई सीमा मानेर नेपालसँग सम्झौता गर्दा भविष्यमा तिब्बतसँग हुने व्यापारमा के कति असर पर्छ र त्यसलाई कसरी आफ्नो हितमा पार्ने, सो गर्न गराउन आदेश दिएको भनिएको छ।    यसै पुस्तकलाई आधार मानेर कुमाउको इतिहासमा बदरी दत्त पाण्डेले पाना ४३२ मा व्यासका दुई गाउँ टिंकर र छांग्रु जो कालीसँगैछन् सन् १८१७ मा चौतरिया बमशाहले मागे र जाँच गर्दा ती नेपालकै निक्ले। यसैले ती दुई गाउँ नेपाललाई दिइयो र श्री शाह त्यतिबेला डोटीका वडाहाकिम थिए। यो कुरा इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको पाना ९४ मा पनि प्रकाशित छ। त्यसपछि उनले कुटी र नाभी गाउँ पनि नेपालकै हुन् र दिनु पर्‍यो भनी मागे।   त्यस्तै पाना ४३० मा मिस्टर गार्डनरलाई सरकारले यो पनि लेख्योकि यदि तिब्बतसँग व्यापारिक लाभ लिन कालीपूर्व अथवा कुनै भूभाग कब्जा गर्नु आवश्यक भए रिपोर्ट पठाउँ भन्ने पनि उल्लेख छ। हिमालयन गजेटियर र कुमाउको इतिहास दुबै पुस्तकहरूमा वडाहाकिम बम शाहलाई अंग्रेजहरूले किन्न खाजेको र डोटीको राजा दिएर नेपाल र ब्रिटिस इण्डियाबीच एक मित्रराष्ट्र (बफर स्टेट) बनाउन खोजेको तथा थप प्रलोभनहरू समेत दिएको तर बमशाहले कुनै हालतमा राष्ट्रघात गर्न नमानेको समेत प्रष्ट लेखिएको छ।   चौ. बम शाह पहिलो नायक हो जसले व्यास क्षेत्रमा उत्तरका ४ गाउँ नेपालका हुन् ती दिनुपर्‍यो मात्रै नभनी महाकालीको मुहान हाल जबर्जस्ती कुटीयांग्दी बनाइएको लिम्पियाधुराबाट आउने ठूलो नदीलाई मान्दै त्यो पुरै भूभागमाथि नेपालको दाबी प्रस्तुत गरेका थिए। त्यसैले गार्डनरले कालीको मुहानमा षडयन्त्रपूर्ण चलखेल गर्न बाध्य हुनु पर्‍यो।    लिपुनाला र पंखा खोलाबाट आएको सानो सोतोलाई काली नदी भनी त्यसको पूर्वपट्टि व्यारेक र कालीको मन्दिर बनाएर लिपुनालाकै उत्तरको भूमि अतिक्रमण गरी उत्तरी लिपुसम्म कै सयौं हेक्टर नेपाली भूमि कब्जा गरेको देखिन्छ। एक नेपाली सुरक्षाविद्ले लिपु क्षेत्रको समस्या भनेकै नेपाली भूमिमा यही हिन्दुस्तानी व्यारेक हो भनेका छन्।    अंग्रेजहरूले गरेको यस अत्याचारविरूद्ध द थ्रोन अफ द गड्स का लेखकद्वय स्वीस भूगर्भविद् आरनोल्ड हाइम र अगस्त गान्सेरले छदेखि आठ गुणा बढी पानी भएको कुटी नै महाकाली भनिनु पर्नेमा सानो काली खोलालाई महाकालीको मुहान भनिएकोमा आश्चर्य व्यक्त गरेका छन्।    द थ्रोन अफ द गड्स १९३९ पाना ७४० मा यथार्थमा कुटी नै कालीको मुहान हो तर अंग्रेजहरूले जवरजस्ती लिपुनालालाई काली खोला बनाएर महाकाली (कुटी) पूर्वको लगभग ५६ की.मी भूमिमात्र कब्जा नगरी त्यहाँ नक्कली काली खोलाबाट टिंकर उत्तरको पुरै डाडो लिपुलेकसम्मै लगभग १६ किलोमिटर भूमि (परिक्रमा कुमाउ भन्ने डा. गिरिराज शाह÷डा.सरिता शाहको पुस्तकको पाना ३५०) कब्जा गर्न पुगेको स्पष्ट देखिन्छ।   पंक्तिकारले सर्वप्रथम जागृति साप्ताहिकमा २०२९ फागुन १८ गते पत्रकार डिल्लीप्रसाद आचार्यले राष्ट्रिय अखण्डतामाथि भयंकर प्रहार। नेपालमा भारतीय सेनाको छाउनी निर्माण भनी लेखेको समाचार पढ्ने अवसर पाएँ जसमा महाकाली मुहानका लिम्पियाधुरादेखि पूर्वमा लिपुलेकसम्म ठूलो भूभाग कब्जा गरेको, नेपाली भूमिमा छ वटा सैनिक बस्ने घर र एक मोर्चा (बंकर) बनाएको उल्लेख गरेका थिए।    त्यसपछि दार्चुला क्षेत्रका कयौं पीडित नेपालीसँग भेटघाटमा त्यस क्षेत्र बारे यदाकदा समाचार लेख्ने काम गरें भने २०३६ सालमा चर्चा साप्ताहिकमा देशका विविध समस्याबारे झण्डै तीन दर्जन लेखहरूमध्ये अतिक्रमित सीमाहरू मुक्त गर्न संघर्ष गरौं भनी जंगे पिलर हटाउने र जवरजस्ती नेपाली भूमि अतिक्रमण गर्ने प्रवृत्तिको भण्डाफोर गरी लामै लेख प्रकाशित गरेको थिए।    यसै सिलसिलामा २०३८ सालमा भैरहवाको खसोखास साप्ताहिकमा महाकालीको मुहान मात्र होइन उत्तरमा लिपुलेकसम्म सयौं हेक्टर नेपाली भूमि खाएको सम्बन्धमा मैले एक लेख प्रकाशित गरे, त्यसपछि आफ्नो रूचिअनुसार मैले हिमालका अनेक जातीय समुदायहरूको अध्ययन गर्दै जाँदा व्यास क्षेत्र मेरो नजरमा  पर्‍यो।   कर्णालीलाई आफ्नो मूल थलो मान्ने र जुम्ली राजा (मेरा पुख्र्यौली) का सन्तान भएको दावी गर्ने व्यासी वा दार्चुलाका साहुकाहरू आफ्नै परिवारजनका रूपमा आत्मीय थिए र अहिले पनि छन्। खासगरी टिंकरका तल्कालीन प्रधानपञ्च सोभनसिंह टिंकरी लगायत धेरै साहुकाहरू मेरा मित्र हुन्।    उहाँहरूकै सत्संगका कारण मैले पत्रपत्रिकाहरूमा त्यस क्षेत्रबारे केही न केही लेखि राख्थे, त्यसैले गर्दा नै २०४९ कात्तिकमा दृष्टि साप्ताहिकको सह प्रकाशन सूर्य मासिकको पाना २२, २३ मा एक लामो लेख प्रकाशित भयो जसमा मैले व्यासी शब्दको अर्थ र उक्त जाति वारे गरेको अनुसन्धान सार्वजनिक गरें र लेखें महाकाली वारिपारी व्यास क्षेत्रका जनताको हिउँदे चरन क्षेत्र नेपालमा थियो तर ती सबै बेदखल भएर अहिले किंतडी मात्रै बाँकी छ।     तल चरण क्षेत्रको यो गति छ भने माथि काली नदीलाई कुटी खोलामा परिणत गरी लिपुनालालाई महाकाली बनाई कुटी, गुंजी र नाभी तीनवटा गाउँसहित हजारौं हेक्टर नेपाली जंगल सहितको जमीन हिन्दुस्तानमा गाभिएको कुरा पटकपटक चर्चाको विषय भएको छ। काठमाडौंले हेर्ने र डोटी, जुम्‍ला, बझाङ, बैतडी र दार्चुलाबाट व्‍यास चौदास दार्म क्षेत्रलाई हेर्ने भाव नै धेरै फरक छ।मलाई लाग्छ, हाम्रो सभ्‍यता, संस्कृति, इतिहास नजानेका व्‍यक्तिहरुका  हातमा राज्‍य व्‍यवस्था गएकाले पनि आज भारतीयहरुले  नेपाली अखण्डतालाई धुजाधुजा पार्न भ्‍याएका छन्।   मैले लेखे १२ व्यास १४ चौदांसलाई कथित सुगौली सन्धिपछि पनि नेपालकै मानिएको र हिउँदे याममा गुञ्जी, गब्र्याङ र बुदी समेतका व्यासीहरूलाई नेपालमा चरण क्षेत्र दिई उनीहरूबाट कर लिने गरिएको थियो । तर ती प्रमाण र सनद लत्याई हिन्दुस्तानले गब्र्याङ बुदी आदि सबै गाउँ मात्र अतिक्रमण नगरी लिपुलेखको तिब्बत जाने ऐतिहासिक पास पनि कब्जा गरेको छ (सन्धिपत्र संग्रह पाना ६४६÷४७ हेर्नुहोस्)।   त्यतिबेलाको संसद् अर्थात राष्ट्रिय पञ्चायतमा मा. बहादुर सिंह ऐतवालले लिपु क्षेत्रमा भइरहेको अतिक्रमणको पटकपटक भण्डाफोर गरेको र वि.सं. २०४८ पछि सांसद प्रेमसिंह धामीले यस विषयमा जेजति चर्को विरोध गरे, उनका मित्र पत्रकार ऋषिराज लुम्सालीलगायत अन्य धेरै राजनीतिज्ञहरूले यो विषय उठाए।    त्यसपछि दुइटा कुरा अगाडि आयो। एक चन्द्रप्रकाश मैनाली र वामदेव गौतमको नेतृत्वको नेकपा (माले) भन्ने एमाले फुटेर नयाँ दल बन्यो जसले युवाहरूको नेतृत्वमा खुकुरी प्रदर्शन गर्दै कालापानी मुक्त गर्ने भनी हिँड्यो।    त्यस्तै अर्को पक्षमा राष्ट्रिय जनमोर्चाको टोली जसमा चित्रबहादुर केसी, डा. बाबुराम भट्टराई, लीलामणि पोखरेल आदि अग्रभागमा थिए । तिनीहरूले कुटीयांग्दी महाकाली हो भन्दै लिम्पियाधुरा नै पश्चिमी सीमा भएको कुरा सार्वजनिक गरे।    समग्र राष्ट्र नै महाकालीको मुहानमा भएको अतिक्रमणमा केन्द्रित हुँदा म जस्ता यस अतिक्रमण विरूद्ध पढ्दै लेख्दै आएको र महान देशभक्त योगी नरहरिनाथ जस्ता विद्वान संस्कृतिविदको सत्संग पाएको व्यक्तिको मन नाच्ने गर्थ्‍यो र मेरा परमप्रिय मित्र सांसद प्रेमसिंह धामीले जनआस्था साप्ताहिकमा कालापानीकै कारण आफ्नो हत्या हुँदैछ भनी लेखेको ७ दिनपछि नुवाकोटमा मोटर दुर्घटनामा मरेको दर्दनाक पीडाले सधैं रूदै आएको छ।    यस क्रममा पंक्तिकारले महिमा साप्ताहिकमा २०५१ फागुन ४ गते माओवादीहरूलाई जनयुद्ध लड्न कालापानी क्षेत्रबाट मोर्चा बनाउन अपिल गरे र उनीहरूले कीर्तिनिधि बिष्टको नेतृत्वमा व्यापक राष्ट्रिय मोर्चा बनाए, जसले नेपालीहरूको देशभक्तिलाई अति विस्तृत गरिमा प्रदान गर्‍यो।   आज हामी जति कराए पनि जे जस्ता सत्य तथ्य प्रस्तुत गरी लिपु, कालापानी, लिम्पियाधुरासम्मको महाकाली मुहानबारे अनेक तथ्यांकहरू प्रस्तुत गरेपनि इन्डियाले पटक्कै वास्ता नगर्ने र काठमाडौंको परराष्ट्र मन्त्रालय भनिएको मुन्सिखानाले पनि केही लछारपाटो नलगाउने हुतिहारापनका पछाडि ठूलो कारण छ जो योगी नरहरिनाथ, स्व. प्रेमसिंह धामी, स्व. बहादुर सिंह ऐतवाल वा म लगायत अहिले त्यस क्षेत्रका युवा सांसदहरूले कुनै न कुनै रूपमा जान्दछौं।    काठमाडौंका लागि त्यो स्थान कता हो कता जस्तो छ र इन्डिया वा चाइना जसले लिएपनि खाँचो छैन तर मेरा लागि यो विषय अर्कै छ। दार्म, चौदास, व्यास भनेका मेरा बाबाले समेत भेडा बाख्रा चराउने जोल्जिवी गएर व्यापार गर्ने भनी त्यहाँबाट तालिमप्राप्त भोटे घोडा, गलैंचा, राडी पाखी ल्याउने अनि त्यहाँका भद्रभलाद्मीहरूसँग मितेरी लगाउँदै मायाप्रेम साट्ने क्रम अहिले ज्यादै सीमित भएर गएको छ।    काठमाडौंले हेर्ने र डोटी, जुम्ला, बझाङ, बैतडी र दार्चुलाबाट व्यास चौदास दार्म क्षेत्रलाई हेर्ने भाव नै धेरै फरक छ। मलाई लाग्छ हाम्रो सभ्यता संस्कृति इतिहास नजानेका व्यक्तिहरूको हातमा राज्यव्यवस्था गएकाले पनि आज अंग्रेज र उनीहरूपछि इण्डियनहरूले नेपाली अखण्डतालाई धुजा धुजा पार्न भ्याएका छन्।   जुन भूमि पछिल्लो नेपाल एकीकरणमा गोर्खा साम्राज्य मातहत गयो त्यो यथार्थमा कहिले जुम्ला त कहिले डोटी अनि बझाङ राज्यअन्तर्गत थियो। त्यति मात्रै नभएर त्यो भूमि सन् १४०२ तिर विश्व विजेता भै दिल्लीमा क्रुर हमला गर्ने समरकन्दका लुटेरा शासक तैमुर लंगलाई मार्नु अघि सम्पूर्ण हिमालय जगाउन जुम्ला साम्राज्यका अधिपति महाराज बलिराज शाहीले जुम्ला खलंगाबजार पूर्व रहेको दान साँघुमा आफ्नै परिवारजनहरूलाई दान दिएको भूमि हो।    बलिराजबाट दान पाएको दार्म, चौदास र व्यासको भूमि वास्तवमा जुम्ला साम्राज्यको अविभाज्य अंग हो र त्यहाँका सबै बासिन्दाहरूलाई आज उत्तराखण्डका इन्डियनहरूले 'भुटिया' भनेका छन्, ती भुटिया नभएर जुम्लाका ठकुरी वा क्षेत्री हुन् र यस कुराको अध्ययन अनुसन्धान हुन बाँकी छ। गोर्खा साम्राज्यमा यो जुम्ला साम्राज्यसँगै अधीनस्त गरिएको भूमि र त्यहाँका बासिन्दाको इतिहास लेख्ने काम राज्यले नगरेको परिणाम आज हाम्रो भूमि विदेशीहरूले जथाभावी खोस्ने मौका पाएका छन्।    राज्यले आजसम्म पनि नेपालका विविध राज्य र जातिहरूको इतिहास नलेखेको परिणाम दार्चुला जिल्लाको चौथाइ भूमि दिनदहाडै लुटिएको छ। अर्को यो भूमि लुटिनुका पछाडि जसले जे भने पनि इन्डियाबाट नेपालमाथि लादिएको संसदीय राजनीतिकै परिणाम हो भनी महाराज महेन्द्रले २०१७ सालमा आरोप लगाएर कांग्रेसको सरकार हटाएका थिए।    विदेशी डाल्डा घ्यू खुँवाउने त्यस बेलाको सरकारले चीनले तिब्बत लिएको र नेपाल पनि लिन सक्ने बहाना मात्र नगरी खुर्सानीवारीमा जवर्जस्ती चिनीयाहरूसँग निहुँ खोज्ने जस्ता कामगरी नेपालमा विदेशी सेना हुलेर उत्तरी चेकपोष्ट बनायो र त्यसै क्रममा कालापानी भनिने नेपाली भूमिमा व्यारेक र बंकर बनाइए। पछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले महाराज महेन्द्रका इशारामा विदेशी सैनिक चेकपोष्टहरू लखेटे र तर कालापानीमा भने उनीहरूले छोड्न मानेन्।    सायद कांग्रेसकै कारण त्यो क्षेत्र उनीहरूले कब्जा गरेकोले अहिले उक्त दलका नेता शेरबहादुर देउवाले नयाँ दिल्लीमा लिपुलेक त्रिदेशीय विन्दू हो भने। यता हाल सम्पूर्ण राष्ट्र लिपुलेक कालापानी र लिम्पियाधुरा मात्र होइन सम्पूर्ण व्यास क्षेत्र कै भूमिका लागि जुरूक्क उठेपछि एकथरी लैनचौर दूतावासको खोपामा हात हालेर बाचेकाहरू नेपाल, चीन र इण्डिया मिलेर लिपुलेकलाई त्रिदेशीय विन्दु बनाउनु पर्छ, नेपाललाई यसैमा फाइदा हुने जस्ता जस्केलाबाट राष्ट्रघात गर्न तम्सेको पाइन्छ।    होशियार सबैखाले दलालहरू हो। समग्र व्यास कुमाउको हैन जुम्ला साम्राज्यको अंग हो, साहुका समुदायका पुर्खा जुम्ली हुन्। त्यसैले यो हाम्रो अखण्डता कै अंग हो, यसलाई कुनै हालतमा पनि टुक्रयाउन पाईंदैन।    अन्तमा म विश्व विख्यात सामाजिक संजाल गुगललाई धन्यबाद दिन चाहन्छु किनकि उसले लिपुलेकदेखि लिम्पियाधुरासम्म काश्मीरमाथि झैं रातो घेरा हालेर विवादित क्षेत्र मानेको छ। तैपनि चिनीया मित्रहरूले नयाँ दिल्ली सँग मिलेर रातो घेराभित्र हालिएको विवादित भनिएको लिपुनाकाबाट व्यापारनाका खोल्न किन राजी भए, त्यो ज्यादै अचम्म लाग्दो विषय बनेको छ।    चीनका लागि आफ्नो वंश विनाश गर्न र राज्य छोड्न तयार राजाहरूको देश, सानो मित्र राष्ट्रप्रति वेइजिंगको घातक कामले वडामहाराजा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा उत्तरको राजासँग घाहा राख्‍नु भनी दिएको आदेश मानेर आजसम्म चीन समर्थक नीति अपनाएर दुःख पाएको नेपालले अव आफ्नो उत्तर नीतिप्रति पनि पुनर्विचार गर्न थाल्ने हो कि? - See more at: http://www.annapurnapost.com/N...

_____ · Aug 10, 2015 1:18 PM · 1,414 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all