मैले नेपाली हुन अरु के गरौं ? शेखर गोल्छा आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु– यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोलेर रोजगारी सिर्जना गर्दै औद्योगिक क्रान्तिको शुभारम्भ गर्नमात्र नभएर राणाकालीन नेपालमा प्रजातन्त्रको जग बसाल्न पनि त्यत्तिकै ठूलो योगदान गर्नुभएको थियो– उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ ।मलाई सधैं नेपाली हुनुमा गर्व छ र रहिरहनेछ । रातो चन्द्र–सूर्य आफ्नो छातीमा राख्न पाउँदा मलाई गर्व लाग्छ । विदेश भ्रमणमा जाँदा हरियो पासपोर्ट देखेर हेयको दृष्टिले हेरिंदा मेरो पनि मन पोल्छ । गत मंगलबार साँझ राजधानीको एउटा रेस्टुरेन्टमा साथीहरूसँग भलाकुसारी गर्दैगर्दा भोगेको एउटा घटनाले भने अहिले मलाई भित्रभित्रै पोलिरहेको छ । त्यहाँ जब मैले अत्यन्तै सम्मान गर्ने एकजना वरिष्ठ व्यवसायी हामी बसेको टेबलतिर आइरहेको देखें, म उहाँको सम्मानमा आफू बसेको कुर्सीबाट उठेँ र स्वागत गरेँ । तत्पश्चात उहाँले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघमार्फत हामीले गरेको मुम्बई (भारत) को उच्चस्तरीय व्यापारिक भ्रमणबारे कुरा गर्दै भन्नुभयो, ‘मैले त हाम्रो राजदूतलाई भनिदिएँ– त्यस्तो भ्रमणमा नेपालीलाई पनि लगेको भए हुन्थ्यो ।’ मेरो मनमा चिसो पस्यो । तुरन्तै सोधैं, ‘दाइ, त्यो भ्रमणमा त म पनि गएको थिएँ । के हामी नेपाली होइन र ?’ उहाँले सिधै जवाफ दिनुभयो, ‘मैले रगत नेपाली भनेको ।’ त्यो सुनेपछि मैले आजसम्म त्यत्रो इज्जत गरेको व्यक्तिप्रतिको सम्मानमा मात्र आँच आएन, मेरो मनमस्तिष्कमा एउटा प्रश्नसमेत तेर्सियो– यति सम्मानित व्यक्तिको मनमा त यस्तो भावना रहेछ भने अरुले पनि त यस्तै सोच्दा होलान् । त्यो घटनाले उब्जाएको सोचले गर्दा नै आज म आफ्नो जीवनको पहिलो लेख लेख्दैछु । काठमाडौंको गणबहालमा जन्मेको मैले आफ्नो बाल्यकाल सधैं वरिपरि छिमेकमा रहेका साथीहरूसँग बिताएँ । सानो हुँदा नै नेवार साथीहरूसँग नेवारी बोल्न सिक्ने प्रयास गरेँ । प्राय: बोल्न खोज्दा साथीहरू हाँस्थे, तर तिनका बुबाहरूले स्याबास भन्दै पाँच पैसामा पाइने पीपी दिनुहुन्थ्यो । त्यो उपलब्धिसँगै मैले सो समुदायमा आफ्नो परिचय पाएको थिएँ । बुबा हुलासचन्द गोल्छा, जो नेपाली साहित्यमा अत्यन्तै रुचि राख्ने लेखक एवं कवि हुनुहुन्थ्यो, हामी सबै छोराछोरीले नेपालकै विद्यालयमा पढुन् र आफ्नो देशलाई अझै नजिकबाट चिनुन् भन्ने चाहनुहुन्थ्यो । त्यसैले मैले ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा पढ्ने मौका पाएँ र त्यहींबाट एसएलसी उत्तीर्ण भएँ । उक्त स्कुलमा मैले थुप्रै साथीहरू पनि पाएँ । मलाई अझै सम्झना छ, कहिले म नेवार समुदायको साथीको घरमा गएर म्ह:पूजा गर्थें त कहिले कुनै बाहुन साथीको घरमा सेलरोटी चियामा चोबेर खान्थें । मैले जहिले पनि सबै स्थानमा आफ्नो अस्तित्व पाएँ । सबैले उत्तिकै माया र स्नेह दिए । आज पनि ती साथीहरू भेट्दा उत्तिकै खुसी लाग्छ र एकआपसमा झल्कने आत्मीयताले आफ्नोपनको आभास दिन्छ । युवावस्थामा उच्चशिक्षा हासिल गर्ने क्रममा भारतको नयाँदिल्लीमा पहिलोपटक आफ्नी जीवन संगिनीलाई भेटेँ । प्रेममा पर्दैगर्दा कसैले पनि जात र देश सोधेर मनपराउँदो रहेनछ, मेरो पनि त्यस्तै भयो । अझै सम्झना छ मलाई, एकअर्कालाई मनपराएर हामी विवाह बन्धनमा गाँसियौं र नेपाल फर्केपछि मैले उनीलाई भनेको थिएँ, ‘अब तिमीले पनि यतैको नागरिकता लिनुपर्छ, उताको नागरिकता त्याग्नुपर्छ ।’ यो सुनेर उनी हाँसेकी थिइन् र पहिलो सातामै उनले आफूलाई सहर्ष नेपाली नागरिकमा परिणत गरेकी थिइन् । मैले थुप्रैपटक कसैले मेरो देशबारे नराम्रो शब्द प्रयोग गर्दा पाखुरा निमोठेर उससँग जोरी खोजेको छु । नेपाल घुम्नुपर्छ भन्दै हरेक वर्ष साथीहरूसँग ट्रेकिङ गर्ने बहानामा विभिन्न स्थानहरू पुगेको छु । देशमा रोजगारी सिर्जना गर्नसके विदेश पलायन हुँदै गरेका थुप्रै युवाहरूलाई आफ्नै देशमा मिहिनेत गरेर पसिना बगाउन प्रेरित गर्न सकिन्छ भन्ने मेरो बुबाको सोचलाई आत्मसात गरेर आज पनि रोजगारी सिर्जना गर्न लागिपरेको छु । आज मलाई नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, जुन निजी क्षेत्रको तर्फबाट सबैभन्दा बढी (१८,००० भन्दा बढी व्यक्तिलाई) रोजगारी दिने संस्था हो, त्यसको सदस्य हुँ भन्न पाउँदा गर्व लाग्छ । मंगलबारको उक्त घटनापश्चात भोलिपल्टको पत्रिकामा देशको सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमा आफ्ना तीन संस्थाहरूको नाम देख्दा मलाई हर्षका साथै सायद ती वरिष्ठ व्यवसायी दाइले पनि यो खबर पढ्नुभयो होला भन्ने विस्मात पनि एकैसाथ भएको थियो । विगत सय वर्षभन्दा बढीको इतिहास बोकेको व्यापारिक घरानाको सदस्य भएर देशकै ठूलो आँखा अस्पताल सञ्चालन गरिरहँदा मलाई आज ‘के हामीले नेपाली हुन अझै केही गर्नुपर्छ र’ भन्ने प्रश्नले पिरोलेको छ । केही दिनअघि मात्रै एसएलसीको परिणाम आउँदा हामीले आर्थिक सहयोग गरिरहेको सामाजिक अभियान ‘टिच फर नेपाल’ काशिशिर खनाल भाइले फोनमा ‘दाइ, हामीले पढाएको सरकारी स्कुलका विद्यार्थी पहिलोपटक ७८ प्रतिशत पास भएका छन्, हामी सबै नेपालीलाई बधाई छ’ भन्दै गर्दा भित्रैबाट खुसी भएर धन्यवाद भनेको पनि सम्झना आइरहेको छ । सोच्दैछु– शिशिर भाइले बधाई दिएका ती नेपालीहरूभित्र मचाहिँ परेँ कि परिनँ ! अस्तिको घटनाले मलाई झकझक्याएको छ, नेपाली क्रिकेट खेलाडीले विश्वकप खेल्दै गर्दा मैले लगाएको त्यो नेपाली टिमको टिसर्ट फगत नाटकमात्रै हो भन्नेहरू पनि छन् कि भन्ने निकृष्ट सोच ममा पलाएको छ । देशमा भूकम्प जाँदा राहतको लागि के गर्न सकिन्छ भनेर दोस्रो दिनदेखि लागिपरेको पनि ढोंग नै पो गरेको रहेछु कि भन्ने प्रश्न आफैंलाई तेर्साएको छु । सहयोग जुटाउने क्रममा आफ्नो व्यापारिक सम्बन्ध प्रयोग गर्दै बजाज अटोका मालिकलाई फोनमार्फत ‘हाम्रो देशलाई सहयोगको खाँचो छ, तपाईंहरूले सहयोग गर्नुपर्यो’ भनेर अनुरोध गर्दा उनले १६ करोड रुपैयाँ सहयोग गर्छु भन्दा खुसी भएको सम्झना अझै ताजा छ । यदि हामी सबैले आ–आफ्नो स्थानबाट एकअर्कालाई सम्मान र समभावले हेर्न र व्यवहार गर्न नसक्ने हो भने नयाँ संविधानको मस्यौदामा सामाजिक सद्भाव अनि नागरिकको समान हक–हितको कुरा गर्नु व्यर्थ हुनेछ । भूकम्प लगत्तै म बस्ने सीतापाइला, रामकोट क्षेत्रको भ्रमण गर्दा देखेको भयावह र दयनीय अवस्थाले मेरो मुटु पनि रोएको थियो । त्यहाँका स्थानीयहरूले हात जोडेर सहयोग माग्दा उनीहरूको हात समाएर मैले ‘नरुनुस्, सक्नेजति म गर्नेछु’ भनेर आफ्नो भान्छाबाट खाना पकाएर गाउँमा शिविर चलाउँदा कहिल्यै मानवताभन्दा अरु केही देखिनँ । मैले भूकम्पको बेला सिकेको पाठ भनेकै जोसुकै भए पनि, जति नै सम्पन्न वा विपन्न भए पनि, विपद्को बेला सबै एकै छानोमुनि अटाउनुपर्दो रहेछ । सबैभन्दा महत्त्वपूर्ण भनेको एकअर्काबीच रहेको सद्भाव नै रहेछ । मैले सानैदेखि रेडियो नेपालमा सुनेको र असाध्यै मनपराएको मबीबीशाहको गीत आज फेरि सम्झँदैछु : ‘म मरे पनि मलाई मेरो देशको माया छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ, म जन्मे जहाँ, म हुर्कें जहाँ त्यही आँगन प्यारो छ ।’ यो गीत सम्झँदै गर्दा मलाई यो पनि लागेको छ कि मेरो आफ्नो देशप्रति रहेको सम्मानभाव र प्रेमलाई एउटा सानो घटनाले विचलित बनाउन सक्दैन । म हिजो पनि आफ्नो कर्म गर्दै देशप्रतिको धर्म निर्वाह गर्दै अगाडि बढिरहेको थिएँ, भोलि पनि अगाडि बढी नै रहनेछु । तर त्यो दिन मेरा अग्रजले भनेको त्यो कुरा मजस्ता थुप्रैको संवेदनासँग गाँसिएकाले फेरि पनि सोध्न चाहन्छु, ‘मैले नेपाली हुन अरु के गर्नु पर्नेछ ?’
_____ · Aug 7, 2015 2:07 PM · 3,181 views
complaining their personal more- possibly a business rivalry issue on national level? if u r ditto nepali nobody can take that away from you by few retrards, if you question yourself sometimes then perhaps problem as well as the answer lies on you! not on motherland period!!
controversial · Aug 7, 2015 3:42 PM
I think Mr. Golchha has expressed his view in all honesty. Today many Nepalis are ashamed that they have to call themselves Nepalis, and if one Nepali calls himself a Nepali in any circumstances, then I say I as a Nepali am proud of him. To Mr. Golchha, my $0.02 is don't pay attention to this kind of mud-slings. God bless you and keep loving Nepal.
magdadela · Aug 7, 2015 3:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion