बासु फुलारा अचेल हामीलाई कतिपय व्यक्तिले फोन गर्दै भन्न थालेका छन्– ‘नेपालले टीपीएसको दर्जा पाएछ, मैले त १५ दिनपछि नेपाल जाने टिकट काटें ।’ तर नेपालले टीपीएसको दर्जा प्राप्त गर्दैमा भिसा नभएको कोही व्यक्ति नेपाल गईहाल्न र फर्केर आउन पाउँदैन । यसका प्रकृयाका बारेमा विशेष ख्याल गर्न जरुरी हुन्छ । टीपीएस स्वीकृत हुँदैमा कोही व्यक्तिले अमेरिका छाडेर पुनः आउन पाउने हुँदैन । किनभने टीपीएसको प्याकेजभित्र आफैमा यात्रा अनुमति प्रदान गर्ने एडभान्स पेरोल पर्दैन । एड्भान्स पेरोलको व्यवस्था छुट्टै कानुनले गर्छ भने टीपीएसको व्यवस्था छुट्टै कानुनले गर्छ । त्यसैले एड्भान्स पेरोल टीपीएसको प्याकेजभित्र पर्दैन । यात्रा अनुमति प्रदान गर्ने एड्भान्स पेरोलबारे नबुझीकनै वा प्राप्त नगरिकनै नेपाल जाने टिकट काट्ने वा नेपाल जाने सोंच राख्नु उपयुक्त होईन । नेपाल जाँदा कस्तो व्यक्तिका लागि सहज हुन्छ, कस्तो व्यक्तिलाई पुनः अमेरिका फर्कन नपाईने जोखिम हुन्छ, कस्तो व्यक्तिलाई नेपाल गएर अमेरिका फर्केपछि पनि समस्या हुन्छ भन्ने बारेमा स्पष्ट हुन जरुरी हुन्छ । त्यसपछि मात्र यात्राको योजना बनाउनु जरुरी हुन्छ । टीपीएसबाट वर्क परमिट र एड्भान्स पेरोल पाउनसक्ने भए पनि त्यसबाट सृजना हुने अवस्थाका बारेमा बुझ्न आवश्यक छ । टीपीएसका माध्यमबाट एड्भान्स पेरोलका लागि आवेदन दिंदा मानवीय कारण प्राथमिकतामा पर्छ । यदि कसैको बुबाआमा वा परिवारको व्यक्ति अत्यन्तै बिरामी अवस्थामा हुनुहुन्छ, भूकम्पको प्रभाव परेको छ, परिवारलाई नभेटेको लामो समय भएको छ, भूकम्पका कारण कसैको मृत्यु भएको छ भने एड्भान्स पेरोल प्राप्त गर्न र यात्रा गर्न सहज हुनसक्छ । त्यसका लागि टीपीएसको आवेदनसँगै पनि एड्भान्स पेरोलको आवेदन दिन सकिन्छ, टीपीएसको आवेदन स्वीकृत भईसकेपछि पनि एड्भान्स पेरोलको आवेदन दिन सकिन्छ । तर, यात्रा गर्नका लागि उपयुक्त मानवीय कारण हुनुपर्छ । अन्यथा एड्भान्स पेरोलका लागि दिईएको आवेदन अस्वीकृत हुनसक्छ । एड्भान्स पेरोलका लागि आवेदन दिंदा फर्म भर्ने व्यक्तिलाई मात्र विश्वास नगरी फर्मसँगै आफ्नो मानवीय समस्याका बारेमा व्याख्या गर्न जरुरी हुन्छ । टीपीएस प्राप्त गरिसकेपछि अमेरिकाभित्र यात्रा गर्ने, चालक अनुमतिपत्र प्राप्त गर्नसक्ने, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्ने लगायतका कैयन अधिकार त प्राप्त हुन्छ, तर अमेरिकाबाहिर यात्रा गरेर पुनः अमेरिका आउन पाउने ग्यारेन्टी भने टीपीएसको कानुनमा छैन । यात्रा अनुमति प्रदान गर्ने एड्भान्स पेरोल पाए पनि अमेरिका फर्कन पाउने ग्यारेन्टी हुँदैन । आफ्नो जोखिममा यात्रा गर्नुपर्छ । त्यसैले अमेरिका बाहिर यात्रा गर्नु अगाडि अनुभवी कानुन व्यवसायीको सुझाव लिन जरुरी छ । अमेरिकामा गैरकानुनी रुपमा बसेका व्यक्तिले अमेरिकाबाहिर यात्रा गर्नु अगाडि धेरै कुरामा विचार पुराउन जरुरी हुन्छ । अमेरिकी कानुनअनुशार कोही व्यक्ति भिसा अवधिभन्दा १ सय ८० दिन भन्दा धेरै अमेरिकामा बसेको छ वा अमेरिका छिर्दा इमिग्रेशन अधिकारीको निरीक्षणविना लुकेर अमेरिका छिरेको छ भने त्यस्तो व्यक्तिको बसाई गैरकानुनी मानिन्छ । यदि कोही व्यक्ति भिजिटर भिसामा अमेरिकामा आएको छ भने सामान्यतया उसले अमेरिकामा रहनका लागि ६ महिनाको अवधि प्राप्त गर्छ । त्यो अवधि सकिएपछि १ सय ८० दिनभित्र नेपाल फर्कने व्यक्तिलाई ओभरस्टेको बार लाग्दैन । तर भिसा सकिएको १ सय ८० दिन भन्दा माथि १ वर्षभन्दा कम अवधि अमेरिकामा बस्ने व्यक्तिलाई तीन वर्ष अमेरिकामा छिर्न नपाइनेगरी बार लाग्छ । यदि कोही व्यक्ति भिसा सकिएको १ वर्षभन्दा लामो अवधि अमेरिकामा बसेको छ भने त्यस्तो व्यक्तिलाई १० वर्षसम्म अमेरिका छिर्न नपाईनेगरी बार लाग्छ । त्यसैले एड्भान्स पेरोल प्राप्त गरिसकेपछि पनि आफ्नो अमेरिकाको गैरकानुनी बसाईका बारेमा ध्यान दिन जरुरी छ । नेपाल यात्रा गर्दा अदालती व्याख्याका नजिर बोकेर जान सकिन्छ । सन् २०१२ सम्म एड्भान्स पेरोल लिएर अमेरिका बाहिर जाँदा पुनः अमेरिका फर्कन पाउन नपाउने अन्यौल हुन्थ्यो । तर, सन् २०१२ मा बोर्ड अफ इमिग्रेशन अपिलले यस्तो मुद्दाको फैसला भएको छ, जसअनुशार इमिग्रेशन अधिकारीको निरीक्षणविना अमेरिकामा आएको व्यक्तिलाई एड्भान्स पेरोलमार्फत अमेरिका बाहिर यात्रा गरेर अमेरिकामा फर्कन पाउने नजिरको स्थापना गरिदिएको छ । यसबाट लामो समय अमेरिकामा गैरकानुनी रुपमा बसेका व्यक्ति एड्भान्स पेरोलमार्फत अमेरिकाबाहिर यात्रा गरेर फर्केर अमेरिकामा आईसकेपछि अरु कुनै तरिकाबाट ग्रीनकार्डको आवेदन दिनसक्छन् । एड्भान्स पेरोलमार्फत अमेरिका फर्केपछि त्यस अगाडिको गैरकानुनीबसाईको रेकर्ड हटाउनसकिने आधार निर्माण हुनसक्छ । अदालती फैसलाको यो नजिरपछि सन् २०१२ अगाडिको तुलनामा एड्भान्स पेरोलमार्फत कम जोखिमका साथ यात्रा गर्न सक्ने अवस्था सृजना भएको छ । एड्भान्स पेरोलमार्फत अमेरिकाबाहिर यात्रा गरेर फर्केपछि ग्रीनकार्डको प्रकृयामा वेभरका लागि आवेदन दिनुपर्दैन । पुरानो गैरकानुनी बसाईको रेकर्ड हटाउने आधार स्वतः तयार हुन्छ । यसर्थ इमिग्रेशन अधिकारीको निरीक्षणविना अमेरिका छिरेका नेपालीहरुले टीपीएस र टीपीएसमार्फत प्राप्त हुने एड्भान्स पेरोलमार्फत फाईदा लिनसक्छन् । कतिपयको एड्भान्स पेरोलमार्फत पुनः अमेरिकामा छिर्न पाउने कुराको शतप्रतिशत ग्यारेन्टी हुने वा नहुने जिज्ञासा छ । तर, हामी कानुन व्यवसायीहरुले शतप्रतिशत ग्यारेन्टी भने गर्न सक्दैनौं । किनभने हामीले उच्च सम्भावनाको कुरा गर्न सक्छौं, तर शतप्रतिशत ग्यारेन्टी गर्न सक्दैनौं । कानुनी व्याख्याको नजिर बोकेर गएमा एड्भान्स पेरोलमार्फत फर्कन पाउने सम्भावना बढ्नसक्छ । १५ वर्षसम्म अमेरिकाबसेका व्यक्तिले एक पटक जोखिम उठाएर एड्भान्स पेरोलमार्फत यात्रा गरेर फर्कने जोखिम मोल्ने हो भने भविश्यमा थप फाईदा प्राप्त पनि हुन सक्छ । तर, एसाईलमको आवेदन दिएका व्यक्तिले यात्रा गर्दा भने ध्यान दिन जरुरी छ । एसाईलमको आवेदन दिएका व्यक्ति नेपालमात्र होइन, भारतमा समेत जाँदा त्यसको नकारात्मक असर पर्न सक्छ । कतिपय अधिकारी वा न्यायाधिशले भारत गए पनि एसाईलम स्वीकृत गर्न सक्छन् । तर, कतिपयले भारत र नेपालबीच सीमा जोडिएको तथा खुल्ला सिमाना रहेका कारण एसाईलम अस्वीकृत पनि गर्न सक्छन् । एसाईलमको आवेदन दिएको व्यक्तिले असाध्यै आपतकालिन अवस्थामा बाहेक यात्राको योजना नबनाउन सुझाव छ । यात्रा गर्नु नै छ भने कानुन व्यवसायीको सुझाव लिएरमात्र गर्नुहोला । यदि कोही व्यक्ति एड्भान्स पेरोलमार्फत यात्रा गर्न चाहन्छ भने तीन हप्ताभित्रै फर्कन सुझाव छ । लामो सयमको यात्रा अनुमति प्राप्त गरे पनि तीन साताभन्दा धेरै लामो समय बाहिर बस्नु उपयुक्त होइन । (न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी फुलाराले न्युयोर्कको ज्याक्सन हाइटमा रहेको शेर्पा किदुग हलमा एनआरएन न्युयोर्कले टीपीएसबारे गरेको कार्यक्रममा दिनुभएको जानकारीको सम्पादित अंश । उहाँलाई सम्पर्क गर्न यो लिंकमा क्लिक गर्नुहोला । ) - See more at: http://www.khasokhas.com/news/...
cybernepali · Aug 5, 2015 8:46 AM · 1,443 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion