गैर कानुनी रुपमा सीमाबाट अमेरिका छिर्ने नेपाली महिलाहरु बालात्कारको शिकार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 किशोर पन्थी / न्युयोर्क ‘अमेरिका पाउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन ।’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै शेर्पा थरकी ३२ वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउदै भनिन् –‘अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ । मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ । मैले म जीवितै छु भन्ने पनि विर्सिसकेकी थिएँ ।’ होण्डुरसको बाटो हुँदै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने क्रममा बाटोमा दलालहरुबाट पटकपटक बलात्कृत उनको न्युयोर्क आउँदासम्म २० हप्ताको (खसोखास साप्ताहिकको प्रिन्ट भर्सनमा अन्यथा हुन गएकोमा क्षमा चाहन्छौं ) गर्भ भइसकेको थियो । गर्भ कस्को हो भन्ने पनि थाहा थिएन । सपना अमेरिकाको थियो तर विपनामा पटकपटक बलात्कृत हुनुपर्यो । उनको कथा यति दर्दनाक थियो कि सुन्नेलाई मन थाम्न मुस्किल हुन्थ्यो ।  ‘बलात्कारबाट बसेको गर्भ पेटमा बोकेर हिड्नुभन्दा आत्महत्या गर्नु वेश’ भन्ने ठानेर उनले आत्महत्याका लागि सुसाइड नोट लेखिसकेकी थिइन् । तर न्युयोर्कमा भेटिएकी एकजना नेपाली सामाजिक कार्यकर्ताले उनका लागि बाँच्ने आशा जगाइदिइन् । बलात्कारबाट बसेको गर्भ पतन गरेर नयाँ जिन्दगीको सुरुवात गर्नका लागि सम्झाइबुझाई गरिन् ।  ति नेपाली सामाजिक कार्यकर्ताले उनलाई गर्भपतनका लागि क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा लगिन् । तर अस्पतालले गर्भपतन गर्न मानेन । ति सामाजिक कार्यकर्ता भन्छिन् –‘गर्भ २० हप्ताको भइसकेको रहेछ, आमाको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालले गर्भपतन गर्न डरायो । अस्पतालले गर्भपतन गर्न नमानेपछि हामी अझ चिन्तित भयौं । उनले अमेरिका आउँदा भोग्नुपरेको पीडाका कारण कुनैपनि बेला आत्महत्या गर्न सक्ने खतरा थियो ।’  विभिन्न अस्पताल र प्राइभेट क्लिनिकहरु चहार्ने क्रममा क्वीन्सकै एउटा प्राइभेट क्लिनिकले गर्भपतन गरिदिने सहमति जनायो । तर १५ सय अमेरिकी डलर शुल्क लिएर । ३५ हजार अमेरिकी डलर (झण्डै ३५ लाख नेपाली रुपैया) दलाललाई बुझाएर बल्लतल्ल अमेरिका आएकी उनीसँग १४ सयको त कुरै छाडौं, १४ डलर पनि थिएन । तर तिनै सामाजिक कार्यकर्ताको सहयोगमा रकम जुटाएर उनको गर्भपतन गरियो । अहिले उनी न्युजर्सीमा बेबी सिटिङको काम गर्छिन् । एसाइलमको लागि दिएको आवेदन अहिलेसम्म पेन्डिङ नै छ ।  ‘यो एउटा भयानक सपना जस्तो लाग्छ । भैगो नसोध्नुस् त्यो विगतको कुरा । सम्झ्यो भने फेरी मर्न मन लाग्छ ।’ उनले यसो भनिरहँदा उनका आँखाबाट आँशुको धारा बगिरहेको थियो । नेपालमा उनका १० वर्षको छोरा र ८ वर्षकी छोरी श्रीमान्को जिम्मामा छाडेर आएकी उनले आफ्नो यो व्यथा श्रीमान्लाई पनि भन्न सकेकी छैनन् । ‘कसरी भन्नु यस्तो कुरा श्रीमान्लाई ? यस्तो कुरा थाहा भयो भने शायद श्रीमान्ले मलाई छोडिदिन्छन् । समाजमा कसरी मुख देखाउनु ?’ उनी भन्छिन् ।  पीडा यी महिलाको मात्र होइन, मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा अधिकांश महिला बलात्कार र यौन दुब्र्यबहारको शिकार हुने गरेको एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले समेत देखाएको थियो । एम्नेष्टी इन्टरनेशनलको पछिल्लो रिपोर्टमा गैरकानुनीरुपमा अमेरिका छिर्ने क्रममा मध्य अमेरिकी देशमा आउने क्रममा ६० प्रतिशत महिलाहरु बलात्कृत हुने उल्लेख  (पढ्नुहोस् एम्नेष्टीको रिपोर्ट ) गरिएको थियो । तर फ्युजन इन्भेष्टिगेसनले अझ पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै ८० प्रतिशत महिलाहरु बलात्कारको शिकार हुने दावी  (पढ्नुहोस् फ्युजन इन्भेष्टिगेसनको रिपोर्ट) गरेको छ । रिपोर्टमा माथि उल्लेखित बलात्कृत नेपाली महिला भन्छिन् –‘ममात्र होइन, हामीसँगै आउने अरु महिलाहरुपनि बलात्कृत भए । कतिपयले दलाललाई पैसाको साटो शरिर सुम्पे भने कतिपय जर्बजस्ती बलात्कृत भए । लठ्याउने औषधी सुघाएर समेत उनीहरुले बलात्कार गरे ।’ अध्यागमन सम्बन्धि विषयमा विज्ञ न्युयोर्कका चर्चित कानुन व्यवसायी बासु फुलारा भन्नुहुन्छ –‘अमेरिका छिर्नु अगाडि एकठाउँबाट अर्को ठाउँमा जाने क्रममा पैसा भएमा दलालहरुले खासै दुख नदिने तर पैसा नभएमा अनेक खालका यातना दिने र शोषण गर्ने गरेका घटनाहरु छन् । मेक्सिकोको बाटो हुँदै आउँदा कतिपय दलालहरुले पैसा नपुगेको भन्दै जंगलमा नै छाडिदिने, मेक्सिको क्षेत्रमा नै लागुपदार्थको ओसारपसारमा समेत लगाउने, यौन दुब्र्यबहार गर्ने गरेका घटनाहरु पनि छन् । नेपाली महिलाहरु पनि त्यो जोखिम पार गरेर आउँछन् ।’     अमेरिका छिर्ने क्रममा सबै महिलाहरु भने बलात्कृत हुँदैनन् । कतिपय नेपाली महिलाहरुलाई सँगै आउने नेपालीहरुले नै संरक्षण गरेर ल्याउने गरेका समेत प्रसस्त उदाहरणहरु छन् । मेक्सिको बाटो हुँदै अमेरिका छिरेका अधिकारी थरका एक युवा भन्छन् –‘हाम्रो समुहमा आएकी एकजना ल्याटिनो महिलासँग दलालले यौनसम्पर्क गर्थे । ति महिलाले अमेरिका आउनका लागि दलाललाई पैसाको साटो शरिर सुम्पेको जस्तो देखिन्थ्यो । तर हाम्रो समुहमा आउने नेपाली महिलाहरु भने बलात्कृत भएको हामीले थाहा पाएनौं ।’     त्यस्तै मेक्सिको हुँदै अमेरिका छिरेका केसी थरका अर्का युवाले भने –‘हाम्रो समुहमा एकजना महिला थिइन् । हामीसँग भेट हुनु अगाडि उनीसँग दलालले यौन दुब्र्यबहार गरेका रहेछन् । हामीसँग भेट भइसकेपछि पनि बाटोमा दलालले उनीमाथि यौन दुब्र्यबहार गर्न खोजे तर मैले उनलाई आफ्नै श्रीमति भनेर बचाएर ल्याएँ । मैले मेरी श्रीमति भनेपछि भने दलालले यौन दुब्र्यबहार गरेनन् ।’     मेक्सिकोको बाटो हुँदै अमेरिका आउने नेपाली महिलाहरु बलात्कार वा यौन दुब्र्यबहारको शिकार भएपनि उनीहरुले त्यो कुरा बताउन चाहदैनन् । बताएपनि बलात्कारीमाथि कारवाही हुने वा आफूले न्याय पाउने कुनै सम्भावना नहुने भएकाले उनीहरुले आफूमाथि भएको दुब्र्यबहार गुपचुप नै राख्छन् । केसी भन्छन् –‘विचराहरु बताउन् पनि कसरी ? बतायो भने आफ्नै बेइज्जत हुन्छ । नेपालमा रहेका घरपरिवारले बलात्कारीलाई होइन, बलात्कृत हुनेलाई नराम्रो नजरले हेर्न थाल्छन् । बताएर के फाइदा ?’     कानुन व्यवसायी फूलारा भन्नुहुन्छ –‘त्यसरी आउँदा बलात्कृत भएको भएपनि नेपाली महिलाहरुले त्यो कुरा बताउन चाहँदैनन् । उनीहरु आफूमाथि परेको समस्या बताउन अप्ठ्यारो मान्छन् । तर मानवअधिकारको रिपोर्टहरु अध्ययन गर्दा कैयन महिलाहरु बलात्कृत हुनुपरेका घटनाहरु सुन्ने गरेका छौं । बलात्कृत भएपनि नभएपनि नेपाली महिलाहरुले मेक्सिकोहुँदै अमेरिकाआउने क्रममा थुपै खाले जोखिम पार गर्नुपर्नेमा कुनै शंका छैन । कैयन देशहरु पार गरेर आउनुपर्ने भएकाले र एउटै देशमा पन्ध्रबीस दिन बस्नु पर्ने भएकाले पैसा नपुगेको खण्डमा वा अन्य अवस्थामा दलालहरुबाट यौनशोषणमा पर्ने जोखिम अत्याधिक रहन्छ ।’  अमेरिकामा अपराधीहरुले सजाय काट्ने जेलहरुमा झण्डै ४ प्रतिशत कैदीहरु बलात्कृत  (पढ्नुहोस् अमेरिकी सरकारको रिपोर्ट ) हुनेगरेका छन् । यसरी बलात्कृत हुनेहरुमध्ये पुरुषबाट बलात्कृत हुने पुरुषहरु धेरै छन् । पछिल्लो रिपोर्ट अनुशार हरेक वर्ष झण्डै १ लाखको हाराहारीमा कैदीहरु जेलभित्र बलात्कृत हुने गर्छन् । त्यसमध्ये झण्डै आधाजसो जेलका कर्मचारीहरुबाट बलात्कृत हुने गरेका छन् । जघन्य अपराध गरेबापत राखिने जेलमा बलात्कारका घटना नौला होइनन् । तर अमेरिकाका इमिग्रेशन जेलमा समेत बलात्कार र यौन दुब्र्यबहार  (पढ्नुहोस् डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा परेको उजुरी) भएका घटनाहरु सार्वजनिक हुने गरेका छन् । एउटै सेलमा रहँदा पुरुषबाटै पुरुषहरु बलात्कृत भएका घटनाहरुमात्र होइन, इमिग्रेशन जेलमा गार्डहरुले महिलामाथि यौन दुब्र्यबहार गर्ने र अध्यागमन मुद्दामा सहयोग गर्ने आश्वासन दिदै यौनका लागि आग्रह गर्ने गरेका घटनाहरु समेत सार्वजनिक हुने गरेका छन् ।  तेश्रो लिंगीहरुका लागि छुट्टै सेलको व्यवस्था नहुँदा र उनीहरुलाई पुरुषहरुसँगै राखिने हुँदा बलात्कारका शिकार (पढ्नुहोस् एड्भोकेटमा प्रकाशित रिपोर्ट) हुने गरेका छन् । एरिजोनामा रहेको एलोय डिटेन्सन सेन्टरमा हालै एकजना तेश्रो लिंगी महिला बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । नेपालीहरुका सन्दर्भमा भने जेलभित्र बलात्कार वा यौन दुब्र्यबहारका घटनाहरु सार्वजनिक भएका छैनन् । यसरी हुने बलात्कारका घटनाबारे युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) का प्रवक्ता भिन्सेन्ट पिकार्डले खसोखाससँग कुराकानी गर्दै भने – ‘केही नयाँ चुनौतीहरु थपिएका छन् । विगतमा कानुन कार्यान्वयन इकाइहरुले डिल गरेका भन्दा नयाँ नयाँ चुनौतीहरु थपिदै गएका छन् । पहिलेदेखि अवस्थीत केही प्रणालीहरु भंग हुँदै गर्दा नयाँ नयाँ चुनौतीहरु थपिएका छन् । तेश्रो लिंगी बन्दीहरुको सन्दर्भमा पनि त्यस्तै भएको हो । हामीले सबैजनाको सुविधा राम्रोसँग कार्यान्वयन गर्नका लागि हामीले प्रणालीमा नयाँ नयाँ विकाश गर्दै गइरहेका छौं । हामीले अमेरिकी कानुनको माताहतमा रहेर कसैलाई मर्का नपर्ने प्रणालीमा सुधार गर्दै गइरहेका छौं ।’ अध्यागमन जेलभित्र नेपाली महिलामाथि दुब्र्यबहार भएका घटना आफूहरु समक्ष भने नआएको न्युयोर्कका कानुन व्यवसायी बासु फुलारा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘अमेरिकाको अध्यमगन जेलमा कैयन महिलाहरु पनि पर्ने गरेका छन् । महिलाका तुलनामा पुरुषहरुको संख्या बढी छ । हामीले जेलभित्र रहेका महिलाहरुका थुप्रै मुद्दाहरु हेर्दै आएका छौं । तर तुलना गर्दा महिला भन्दा पुरुषहरु नै मेक्सिकोको सिमाबाट अमेरिका छिर्ने गरेका छन् । महिलाहरुको सन्दर्भमा कुरा गर्दा गोप्यताका कारणले पनि उनीहरु धेरैकुरा बताउन चाहन्नन् । हामीले उनीहरुका बारेमा सोध्दा उनीहरुले जेलभित्र भन्दा अमेरिका छिर्नुभन्दा अगाडि दुख पाएको बताउने गरेका छन् । तर अमेरिकाका अध्यागमन जेलभित्र रहेका नेपाली महिलाले जेलबारे ठूलो गुनासो गर्ने गरेका छैनन् । ’ - See more at: http://www.khasokhas.com/news/...                   यो पनि पढ्नुहोस्               अमेरिकाका २९ वटा जेलमा १ सय ११ नेपालीहरु

cybernepali · Aug 4, 2015 5:44 AM · 34,359 views

7 Replies

hawa guff news...yo news walla haru kam chaina ki kya ho. Tai na tue ko story bhanko cha real jastai katha lekhya cha, pathak harulai excited bhanako cha. tait yo media.

damikattu · Aug 4, 2015 8:04 AM

asti pani kun chai mula sag ko america chiryaaa story theyo.... kasam yo pattuuurrr writer haru ko kam chaina. Ma ni aba bholi lekhchu 20 barsa lagayera amercia (Newyork) chirya story. tait

damikattu · Aug 4, 2015 8:06 AM

This is sad.

ramas · Aug 4, 2015 10:51 AM

Sad to hear. Her mind was set up for USA and never thought he/she had to go through that ( paying 40-50 Lakh rupees) hardship. Agent did not give a hint that she may be raped? Otherwise female may have second thought.  Other side of the wall is always green.   Last edited: 05-Aug-15 01:57 PM

magorkhe1 · Aug 5, 2015 10:32 AM

मिनव्हाइल "किशोर पन्थी / न्युयोर्क" को बुडी नेपाल मा

DHOTI · Aug 8, 2015 10:25 PM

Dhoti bro, I think it's inappropriate to post a pic like this

sweesher · Aug 8, 2015 10:33 PM

गुले Sweesher --- नेपाली तोर्पे हवल्दार पर्यो कि के हो जाठा : गेडा जस्तो

DHOTI · Aug 8, 2015 10:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all