अमेरिकामा २८ लाख डलर क्षतिपूर्ति पाए दुई नेपालीले न्यूयोर्क । न्यूयोर्कस्थित ठेकेदार कम्पनीसँग आबद्ध भएर निर्माण कार्य गर्दा दुर्घटनामा परेका दुई नेपालीले ९ वर्षपछि क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । न्यूयोर्कस्थित कानून व्यवसायी दुर्गाप्रसाद भुर्तेलले पीडितका पक्षमा कानूनी उपचार प्रदान गर्दै आएको उक्त घटनाका पीडितद्वय मुस्ताङका श्री दोर्जे गुरुङ तथा धिर्मे गुरुङले बीमा कम्पनीमार्फत २८ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका हुन् । सन् २००५ को जुन ६ तारिख म्यानहाटनस्थित रिभरसाइड ड्राइभको अर्नभ रिटायरमेन्ट ट्रष्टको भवन निर्माणका क्रममा अन्दाजी २० फिट माथिबाट खस्दा दुर्घटनामा परेर घाइते भएका नेपालीद्वय श्री दोर्जे गुरुङ र धिर्मे गुरुङ बंगाली मूलको स्वामित्व भएको ठेकेदार कम्पनी बब्लु जनरल कन्स्ट्रक्सनका कामदारका रुपमा निर्माण कार्यमा संलग्न थिए । दुर्घटनापश्चात् तत्काल अस्पताल पुर्याइएका घाइतेद्वय लामो समयदेखि उपचारमा थिए । अमेरिकी कानूनअनुसार भवन निर्माण कार्यमा संलग्न मजदुरलाई बेल्ट, मजबुत स्काफफोल्डिङलगायतका पर्याप्त सुरक्षा संयन्त्र प्रदान नगरिएका कारण दुर्घटना भएको दाबी कानून व्यवसायी दुर्गाप्रसाद भुर्तेलले पीडितका पक्षमा भवनको स्वामित्व ग्रहण गर्ने अर्नभ रिटायरमेन्ट ट्रष्टविरुद्ध क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए । झण्डै ८ वर्ष सुप्रिम कोर्ट हुँदै जुरीसम्म पुगेको मुद्दाअन्तर्गत भर्खरै मात्र निर्माणाधीन भवनको बीमा कम्पनीले २८ लाख डलर क्षतिपूर्तिको प्रस्ताव ल्याएपछि उक्त मुद्दाको अन्तिम किनारा लागेको कानून व्यवसायी दुर्गाप्रसाद भुर्तेलले बताएका छन् । अमेरिका आइपुग्ने नेपालीहरुको पहिलो पुस्ताले गर्ने सामान्यस्तरका कामहरुमध्ये पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु निर्माणकार्यमा समेत संलग्न छन् । बंगाली, पाकिस्तानी र भारतीय मूलका ठेकेदार कम्पनीको निर्माण कम्पनीमा नेपालीहरुको संलग्नता ज्यादा रहँदै आएको छ । के भन्छन् पीडित पक्षका वकिल ० दुर्गा भुर्तेल, पीडितपक्षका वकिल न्यूयोर्क राज्यको कानूनअनुसार निर्माण कार्यमा काम गर्ने मजदुरलाई पर्याप्त सुरक्षाका सामग्री प्रदान गर्नुपर्ने हुन्छ । लडेर घाइते भएका गुरुङद्वयको घटनामा पर्याप्त सुरक्षा साधन उपलब्ध गराइएको पाइएन । त्यसैकारण घटना भयो र उनीहरुलाई धेरै चोट लाग्यो । उनीहरु बब्लु कन्ष्ट्रक्सनका मजदुरका रुपमा काम गरे पनि घटनाको दायित्व निर्माणाधीन भवनको स्वामित्व ग्रहण गर्ने कम्पनीले लिनुपर्ने हुन्छ । त्यसैकारण क्षतिपूर्ति माग गर्दै अर्नभ रिटायरमेन्ट ट्रष्टविरुद्ध मुद्दा दायर ग¥यौं । गर्दै अर्नभ रिटायरमेन्ट ट्रष्टले प्रथम चरणको मुद्दा नै ढिसमिस हुनुपर्छ भनेर माग गरेको थियो । तर, गल्ती कामदारको छैन, गल्ती ठेकेदार र घरधनीको हो, कसरी केस ढिसमिस हुन्छ भनेपछि न्यायाधीशले केस अगाडि बढाए । त्यसपछि घरधनीले पर्याप्त सुरक्षा संयन्त्र अवलम्बन नगरेका कारण घटना भएको निर्णय न्यायाधीशबाट आयो । यसपछि भवन मालिकको कम्पनीले सुप्रिम कोर्टमा अपिल गरे । त्यसपछि सुप्रिम कोर्टले केस जुरीमा पठायो । अन्त्यमा बीमा कम्पनीले २ दशमलव ८ मिलियन डलरको अफर दिएपछि क्षतिपूर्ति पाउने भएको हो । http://vishwanews.com
cybernepali · Jul 10, 2015 11:48 AM · 2,128 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion