अस्ट्रेलिया - अमेरिकामा भत्किदैछन् नेपाली दाम्पत्य जीवन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस समाचार अस्ट्रेलियाको भएतापनि अमेरिकामा पनि यस्ता कयौं घटनाहरु बेला बखतमा भईनै राखेको हुन्छ | अस्ट्रेलियाका नेपालीमै कहालीलाग्दो घरेलु हिंसा, यसरी भत्किदैछन् दाम्पत्य जीवन ऋषि आचार्य सिड्नी-अस्ट्रेलियामा लामो समय बसेका पुराना र नव आगन्तुक नेपाली युवा दम्पतिमा सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको छ । विशेषगरी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गरी यहाँको नागरिक भैसकेका श्रीमान्-श्रीमती यहाँको सामाजिक वातावरणमा घुलमिल हुन नसकेका कारण उत्पन्न द्वन्द्व र हिंसाका कारणले परिवार नै विखण्डन हुन थालेको छ । त्यस्तै, नेपालबाट भर्खरै अस्ट्रेलिया आएका युवा दम्पत्तिबीच असीमित महत्वाकाङ्क्षाका कारण एकले अर्कालाई सम्मान गर्न नसक्दा कुटपिट र अन्य हिंसाले सम्बन्ध विच्छेद जस्तो दुःखद् परिणाम निस्कने गरेको छ । दुई वर्षदेखि अस्ट्रेलियामा अध्ययन गरिरहेका समिर खड्काले ९ महिनाअघि मात्र नेपाल गएर विवाह गरे । श्रीमती सहित अस्ट्रेलिया आएका समिरको दाम्पत्य जीवन ६ महिना पनि चल्न सकेन । नाइट पार्टीमा रम्ने बानी परिसकेका समिर र निशाको दाम्पत्यमा झगडा नपरेको दिनै हुँदैन थियो । आपसी विश्वासको अभावमा एकले अर्कालाई लगाएको खराब चरित्रको आरोप-प्रत्यारोप बेला-बेलामा हिंसामा परिणत हुने गर्दथ्यो ।  दुई बीचको सामान्य भनाभन कुटपिटमा बदलिएपछि निशा अहिले पुनःस्थापना केन्द्रमा छिन् भने समिरलाई पुलिसले तारिखमा छोडेको छ । सम्बन्ध विच्छेद गर्न चाहने निशा र समिरको घरेलु हिंसा अहिले फेमिली कोर्टमा पुगेको छ ।नेपालमा नै दुई दशक लामो वैवाहिक जीवन बिताइसकेका कुमार लिम्बु (नाम परिवर्तन) र लक्ष्मी कार्की (नाम परिवर्तन) को पनि अस्ट्रेलिया आएपछि सम्बन्ध चिसिन पुग्यो । एक अर्काको साथ चाहिने प्रौढ उमेरमा कुमार र लक्ष्मीको झगडाले सम्बन्ध विच्छेदको निष्कर्षमा पुग्न बाध्य बनायो । उनीहरु बीचको सम्बन्ध धमिलो बनाउने एउटै कारण भने अस्ट्रेलियाको आधुनिक सामाजिक परिवेश थियो । अस्ट्रेलिया आएपछि नेपालको भन्दा फरक परिवेशमा साथीभाइसँग घुम्न र जमघटमा रमाउन चाहने लक्ष्मी र पुरानै परम्परामा बस्न चाहने कुमारबीच समझदारी बन्न नसक्दा कहालीलाग्दो हिंसाका घटनाहरु भएका थिए । अहिले यी दुवै एक-अर्कासँग अलगिएका छन् तर मुद्दाको फैसला भने हुन बाँकी नै छ ।अस्ट्रेलियाकै मेलबर्नमा बसेर अध्ययन गर्दै गरेकी नम्रता ढकाल (नाम परिवर्तन) र सिड्नीमा बसेर काम गरिरहेका राजु श्रेष्ठ (नाम परिवर्तन) बीचको सम्बन्ध सुमधुर रुपमा लामो समय चल्न सकेन । नेपालमा बुवा-आमालाई थाहा नै नदिई विवाह गरेको यो जोडीबीच खटपट नेपालदेखि नै सुरु भएको थियो । कागजी रुपमा नम्रता र राजु दम्पत्ति भए पनि दुवै जना आ-आˆनो प्रेमी-प्रेमिकासँग बस्दै आएका छन् । अस्ट्रेलिया आउनका लागि मात्र गरेको कागजी विवाह अहिले उनीहरु दुवैलाई टोक्नु न ओकल्नु भएको छ । हरेक दिन एकले अर्कालाई गाली गर्ने, फोनमा झगडा गर्ने दुवैको दैनिकी बन्न पुगेको छ ।उल्लिखित घटना नेपाली महिला र पुरुषमाथि आफ्नै श्रीमान् र श्रीमतीले गरेका घरेलु हिंसाका केही उदाहरण मात्र हुन् । अस्ट्रेलिया बस्ने नेपाली समुदायमा यो समस्या आकासिइरहेको छ । यसै कारण मानिसको जीवन बर्बाद हुने र पारिवारिक सम्बन्ध नै बिगि्ररएका उदाहरण प्रशस्त छन् तर खुलेर न कसैले भन्छन् न कतै सिकायत हुन्छ । चेतनाको कमि र आफ्नो भविष्य झन् अन्धकारतर्फ धकेलिने चिन्ताले गर्दा यस्ता समस्या घरभित्रै सीमित भइरहेका छन् । पुरुष प्रधान नेपाली समाजका संस्कारमा हुकिर्एरै यहाँ आइपुगेकाले नेपाली पुरुष आफ्नी जीवनसंगिनी र सन्तानलाई सधैं नियन्त्रणमै राख्न चाहन्छन् । उनीहरु अस्ट्रेलियाको नियम-कानुन र प्रणाली, सामाजिक बनावटको हेक्का नै गर्दैनन् । महिला पनि नेपाली सामाजिक तथा सांस्कृतिक मर्यादा भन्दा बाहिर जाँदा यस्ता घरेलु तथा परिवारिक हिंसाका घटनाहरु जन्मने अवसर मिलेको छ । अस्ट्रेलियाका प्रत्येक राज्यका सबअर्बहरुमा घरेलु हिंसाको शिकार भए सिधै प्रहरीकहाँ गएर रिपोर्ट वा अन्य सामुदायिक सेवा प्रदायकहरुबाट सहयोग लिन सकिने व्यवस्था गरिएको छ । यस्ता समस्या नेपालीको समेत घरपरिवारमा भए पनि खुलेर बाहिर आउन नसकेको अनुभव स्थानीय सामुदायिक संस्थामा कार्यरतको एक नेपालीको रहेको छ । अनौपचारिक कार्यक्रम वा जमघटमा आफ्नो पीडा अरु सहकर्मी तथा साथीसँग खुलस्त व्यक्त गरे पनि आफ्नो बेइज्जती र श्रीमान् छाडेपछि जिन्दगी झन् विचल्ली होला कि भन्ने डरले गर्दा औपचारिक सिकायत भने नआउने गरेको ती कार्यकर्ताले सुनाइन् । अज्ञानताका कारण धेरै महिला आफू घरेलु हिंसाको शिकार भएको महसुस नै नगर्ने ती महिला कर्मचारीले बताइन् । "शारीरिक यातना र तल्लो स्तरको गाली मात्र घरेलु हिंसा हो भन्ने धेरैको बुझाइ पाएँ", उनले भनिन्, "अधिकांश महिला छोराछोरीको भविष्य सोचेरै आफ्ना पीडा मनमा गुम्स्याएर राख्न बाध्य छन् ।" ३० देखि ४० वर्ष उमेरका महिलाहरु अङ्ग्रेजीमा केही दख्खल भएर पनि सेन्टरलिङ्क वा अन्य सम्बन्धित निकायमा जान हिच्किचाउने गरेको उनले सुनाइन् । "लिगल एड पाइने भए पनि रोइकराई घरैमा यातना सहेर बस्ने गरेको यथार्थता छ । यो समस्या श्रीमान्-श्रीमतीबीच मात्र होइन, संयुक्त परिवारमा पनि देखिन्छ", सिड्नीको दक्षिणी भागका काउन्सिलहरुमा कार्यरत ती कर्मचारी भन्छिन् । नेपाली महिलाले भोगेका यी समस्या समाधान गर्न विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने सुझाव छ उनको । अस्ट्रेलियाको केन्द्रीय तथ्याङ्क विभागका अनुसार, प्रत्येक ४ मा एक महिला र ६ मा एक पुरुष आफ्नो जीवनमा घरेलु हिंसाको शिकार हुन्छन् । घरेलु हिंसा विज्ञका अनुसार, नेपाली मात्र होइन, अन्य सबै समुदायमा आफू पीडित भएको छु भन्नेसम्म थाहा नपाउनु समाधानमा मुख्य चुनौती रहेको छ । नेपालबाट आएका अङ्ग्रेजी भाषाको कम ज्ञान र उनीहरुलाई अस्ट्रेलियामा आफू पीडित भए त्यसविरुद्ध जान सकिने धेरै निकाय र कानुन छन् भन्ने जानकारी समेत छैन । नेपाली समुदायका घरेलु हिंसा मुद्दा बढिरहे पनि प्राइभेसी कानुन र 'डेटा प्रोटेक्शनसम्बन्धी' नियमले धेरै केस सर्वाजनिक हुन सकेका छैनन् । नेपालीमा मात्र नभएर सवै समुदायमा यो समस्या रहेका कारण अस्ट्रेलियन सरकारको प्रत्येक वर्ष घरेलु हिंसाका कारण १३ बिलियन डलर खर्च हुने अनुमान छ । सन् २०११ मा युनिभसिर्टी न्यु साउथका रिचर्ड वराफले गरेको अध्ययन अनुसार, घरेलु हिंसाका कारण १३ दशमलव ६ बिलियन डलर खर्च हुने अनुमान गरेको थियो । सेवाहरु (फौजदारी न्याय व्यवस्था, स्वास्थ्य, सामाजिक सेवा, हाउजिङ, सिभिल लिगल) मा मात्र विलियन्स डलर खर्च हुने गरेको अध्ययनले देखाएको छ । सामाजिक तथा आपराधिक समस्याको रुपमा रहेको घरेलु हिंसाबाट ठूलो संख्यामा महिला र पुरुष दुवै प्रभावित भएका छन् । घरेलु हिंसा के हो ?घरेलु हिंसा व्यक्तिगत सम्बन्धमा एक पक्षले अर्को पक्षलाई आˆनो अधिनमा राख्नका लागि गरिने दुव्र्यवहार हो । यसभित्र गालीगलौज, यौन दुव्र्यवहार, कुटपिट, मानसिक दुव्र्यवहार, सामाजिक दुव्र्यहार, चिढ्याउने, आर्थिक दुव्र्यवहार तथा भावनात्मक दुव्र्यवहार पर्दछन् ।उदाहरणका लागि हिर्काउनु, धकेल्नु, हातहतियार देखाएर तर्साउनु, अर्थिक रुपमा आफू मात्र सबल बन्नु, इमेल तथा टेलिफोन कलको निगरानी राख्नु, घरमा थुनेर राखिनु, पासपोर्ट तथा भिषा नदिनु, दुःख दिने र मार्नेसम्मको डर देखाउनु आदि ।   को प्रभावित छ - तथ्य र अवस्था ·   ·घरेलु हिंसालाई प्रायः लैंगिक अपराधका रुपमा प्रस्तुत गरिन्छ किनभने यसबाट पीडित हुने महिलाको संख्या धेरै छ ।   · ९५ प्रतिशत महिलाहरु पुरुषको दुव्र्यवहारबाट पीडित छन् (अपराध अनुसन्धान तथा तथ्याङ्क विभाग)  · कम्तिमा चार जनामा एक जना अस्ट्रेलियन महिला आˆनो जीवन कालमा घिरेलु हिंसाको शिकार हुन्छन् । (अपराध अनुसन्धान तथा तथ्याङ्क विभाग)  · अस्ट्रेलियाको अर्थतन्त्रमा घरेलु हिंसाको मूल्य हरेक वर्ष ८ विलियन भन्दा धेरै छ । (२००४, एसिस इकोनोमिक्स्)  · सेन्ट जर्ज र हर्षभिल स्थानीय प्रहरीले प्रत्येक महिना २०० भन्दा बढी घरेलु हिंसाका घटनाहरुलाई सम्बोधन गरिरहेको छ ।घरेलु हिंसा कहाँ हुन्छ ?घरेलु हिंसा सबै संस्कृति, धर्म, उमेर, आर्थिक समाजिक र भौगोलिक पृष्ठभूमिमा हुने गर्छ । यो प्रायः पारिवारिक हुन्छ, तथापि मानिस सुरक्षा चाहन्छ र ऊ सुरक्षित रहनु उसको अधिकार पनि हो । घरेलु हिंसाले पीडितलाई कसरी कष्टमा पार्छ ?घरेलु हिंसाले डर, शारीरिक चोट पटक र मनोवैज्ञानिक कष्ट हुन्छ । यो महिलामा मृत्यु, अपाङ्गता, उदासिनता, मानसिक र शारीरिक समस्या ल्याउने प्रमुख कारण हो । घरेलु हिंसाको गम्भिर नकारात्मक असर बालबालिका तथा युवामा पर्छ र यो बालबालिकामाथि हुने दुव्र्यवहारको रुप पनि हो । घरेलु हिंसा देखेका बालबालिका तथा युवा त्रसित र उदासिन त हुन्छन् नै साथै विद्यालयमा पनि राम्रो नतिजा ल्याउन सक्दैनन् । ८५ जना अस्ट्रेलियन बालबालिका (१८ वर्षभन्दा कम उमेर) मा एक जना घरेलु हिंसाकै कारण घरबारविहीन हुने गरेका छन् । -(अष्ट्रेलियन इन्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर)कानुनले पीडितको रक्षा गर्छयदि महिलाको सुरक्षा डरलाग्दो छ भने प्रहरीको सहयोग लिनु महत्वपूर्ण हुन्छ । घरेलु हिंसा बढ्दै गएर गम्भिर चोटपटक र कहिलेकाहीँ मृत्युसम्म निम्त्याउँछ । त्यसैले तत्काल सहयोग खोज्न सहज हुँदैन । प्रहरीले एप्रेहेन्डेड भोइलेन्स आर्डर (एभिओ) लागू गर्न र पीडकलाई दुव्र्यवहारको कारवाही चलाउन सक्छ । अस्ट्रेलियामा प्रहरीका जनसम्पर्क अधिकारीहरुलाई घरेलु हिंसाबारे विशेष तालिम दिएको छ । ती अधिकारीहरुले हिंसा पीडितलाई उनीहरुको प्रतिष्ठा र आदरका साथ सुरक्षा प्रदान गर्छन् । कसैले पनि एक्लै घरेलु हिंसाको सामना गर्नु पर्दैन । अस्ट्रेलियामा व्यवसायिक र गोप्य सेवा उपलब्ध छन् ।पुरुष पनि घरेलु हिंसाबाट पीडितप्रतिवेदन तथा मिडियाले घरेलु हिंसाको शिकार प्रायः महिला मात्र हुने गरेको देखाए पनि वास्तविकतामा भने पुरुष झन् यसको शिकार भएको केही अध्ययनको दाबी छ । प्रत्येक ६ वटा घरेलु हिंसाका घटनामा एक जना पुरुष पीडित हुने गरेको तथ्याङ्क छ । अस्ट्रेलियामा पुरुष अधिकारका लागि कार्यरत एउटा संस्थाले आफ्नी श्रीमती वा केटी साथीबाट पुरुषहरु बढी पीडित भएको जनाएको छ ।पुरुष घरेलु हिंसाको शिकार भएका घटनामा पुरुषलाई मात्र दोषी भनिनु ज्यादै गलत भ्रम भएको समेत दाबी उक्त संस्थाले गरेको छ । अभियानकर्ताहरुले जहिले पनि पुरुषलाई दोस्रो दर्जाको पीडितका रुपमा लिने गरेको, प्रहरी र काउन्सिलले समेत यसप्रति गम्भीरता नदेखाएको गुनासो आउने गरेको बताइएको छ ।   http://www.nepalipatra.com/new... Last edited: 02-Jul-15 07:39 AM

cybernepali · Jul 2, 2015 7:26 AM · 22,959 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all