साला भगवान् !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साला भगवान् ! सविता विमली |२०७२ आशाद १२ शनिबार गत वैशाख १२ गतेको भूकम्पमा तातोपानी नाकातिर हराएका भनिएका परिवार त्यो त्रासदीको बाह्रौं दिन आइपुगे। यो वर्णनातीत खुसीको कसरी बयान गरूँ?   बाह्रबिसे-तातोपानी खण्डमा भूकम्पमा परी थुनिएकाहरू पनि घर फर्केको समाचार आयो। त्यतैतिर रहेका भनिएका तर नभेटिएका व्यक्तिको खोजीमा उनको परिवार लागिरहेको थियो।   भेटिने, त्यसमा पनि जीवितै भेटिने आश थियो। माथिका समाचारले उत्साहित म यही आशमा फेसबुक संवाद गर्न थालेँ। नवौं दिनमा मृत भेटिएको समाचारले स्तब्ध बनायो।   'के गर्ने?' 'सन्तानले पनि त्यही पीडा भोग्नुपर्ने?' 'साला भगवान् !'   मोबाइलको स्क्रिनमा औंला चिप्लिएपछि मात्र मैले आँसु खसेको थाहा पाएँ। विवाहको करिब डेढ वर्षमा दुई महिनाकी छोरीसहित एक्लिएकी बहिनीको पीडामा बोलेको दाजुका यी शब्दले मलाई सन्न बनायो।   ३२ वर्षको उमेरमा विधवा भएकी आमा जसकी छोरी पनि ३० वर्ष नपुग्दै एक्ली भइन्। पतिको मृत्युपछि जन्मिएकी त्यही छोरी आज २२ वर्ष नपुग्दै वैधव्यको पीडामा रुन पुगेकी छ।    पुस्तैनी विरासतमा पाएझैं भएको यो पीडाको पुस्तान्तरणमा छुटेको माइतीको भक्कानो शब्दहरूमा नै देख्छु म। साला भगवान् ! यो सम्बोधनलाई गाली भन्न सक्दिनँ र यही हो भनेर किटान गर्न पनि सकिनँ।   भर्खरै श्रीमान्सहित साथीको मृत्युको खबर सुनेकी मेरो मन उद्दिग्न छ। पद्मकन्या बहुमुखी क्याम्पसमा ०६२/६४ का स्नातकोत्तर तहका विद्यार्थी हामी।   रमा सधैं कक्षामा पस्दा नमस्कार गर्दै पस्थी। उसको यो बानीमा केही हाँस्थे पनि। पछि थाहा भयो, ऊ आफैं गुरुआमा रहिछे। सबै साथीमध्ये त्यतिखेर आफ्नै खुट्टामा उभिएकी स्वावलम्बी उही थिई।   मन खोलेर हाँस्थी। मेरो स्वभावसँगै आउने केटाकेटीपनलाई उसले सहजै पचाएकी थिई। खुब माया गर्थी। ऊ अभिभावकजस्तै थिई।    उमेरमा केही ठूली रमाको विवाहका लागि म ऊभन्दा बढी उत्साहित थिएँ। २०६९ सालको वैशाख १३ गते विवाहबन्धनमा बाँधिएकी ऊ खुसी थिई। रमा आमा बनेको समाचार सुन्न आतुर थिएँ म।   साँखुकी स्थायी बासिन्दा रमा श्रेष्ठ त्यहीँ सरकारी विद्यालयकी शिक्षिका थिई। विवाहपछि बिजेश्वरी बस्न थालेकी उसको भूकम्पबाट बच्न निस्कन खोज्दा घरले चेपिएर श्रीमान्सँगै मृत्यु भयो।    जग्गेको आगोअगाडि दुवै दम्पतीले खाएको सँगै मर्ने/बाँच्ने कसम त पूरा भयो तर उसलाई जीवित, खुसी र सुखी हेर्ने हामी कसैको रहर पूरा भएन। हालसम्मका लासहरूको गणनामा ऊ पनि परी।   जीवनको उत्तरार्ध बिताइरहेकी आमा सम्झन्छु। उनको आँसुको चिस्यानमा अब कुनै सपना उम्रिनेछैनन्, कान्छी छोरीका लागि। आफ्नो चोला नउठ्दै छोरीलाई बिदा गर्नुपर्दा आमा नि भन्दै हुनुहोला, 'साला भगवान् !'   लासका लस्करलाई एकै ठाउँमा पुर्दाको विरक्ति, सपनाहरूको सामूहिक चिहान, खण्डहर रहरहरू, अनिदा आँखा र भोका पेटबाट निस्कने अग्निशिखाको समन कसरी होला?    दाताले दिएका राहत सामग्री आफूलाई नछुट्याई पीडितकै लागि मात्र भाग लगाउने सज्जन कति होलान्, एउटै हातले दर्जनौंलाई दागबत्ती दिने हातहरू नि भन्दा होलान्, 'साला भगवान् !'   भूगर्भभित्रको स्वाभाविक प्रक्रिया भूकम्प पृथ्वीको संरचनालाई सदैव चुस्त राख्ने एक नियमिततामात्र हो।    हामीले शरीरभित्रका विकार फालेझैं पृथ्वी पनि आफूभित्रका विकार भूकम्पमार्फत विसर्जन गर्दी हुन्। भूकम्प आफैंले कसैको हत्या गर्दैन।   हामी मानिसले आफ्ना लागि भनेर निर्माण गरेका संरचनाहरू नै काल बनिदिन्छन् भूकम्पको समयमा। त्यसैले त कस्तै मै हुँ भन्नेहरूलाई पनि सडकमा ल्याइदियो भूकम्पले।    उनीहरू पनि पालभित्रै सुते। आफ्ना उपलब्धि हुन् या वैभव वा सम्पत्ति मानिसले सदैव लुकाइरह्यो तर डर लुकाउन सिकेनछ। भूकम्पभन्दा ठूलो शत्रु त आफ्नै सिर्जना र ओत बन्न पुगे मानिसका लागि।   जेजति क्षति भयो, मानवनिर्मित संरचनाकै कारण भयो। तर हामीले भन्नै सकेनौं- 'साला मानिस !' सम्भावित विपत्तिप्रतिको सजगता र पूर्वतयारीप्रति शून्य तथा बेपर्वाह हामी हाम्रो आफ्नै मुख्र्याइँप्रति नतमस्तक छौं। चुप छौं।   साला म ! साला हामी ! आस्तिक हुँ। भगवान् देखेको छैन। भूकम्पको समयमा रातोपुल अगाडिको सडक तथा पद्मोदय अगाडिको सडकमा हुत्तिँदै गर्दा ऊँ नम: शिवाय भनेकी थिएँ।  मानिसभित्र रहेको ईश्वरीय अंशप्रति विश्वास छ। मानिस आज मानिसकै निम्ति काम लागिरहेको छ। यी दृश्यहरू असाध्यै प्रिय छन्। यो विध्वंसपछिको पुनर्निर्माण पक्कै सुन्दर हुनेछ।    नेपाली सभ्यतामा अर्को अध्यायको प्रारम्भ भएको यो समयको साक्षीका रूपमा रमाजस्तै हजारौं गयल हुने भए।    विनीताजस्ता नवयुवतीहरू एक्लै यी परिवर्तनलाई आत्मसात् गर्नेछन्। भूकम्पका घाउमा खाटा बसेका घाइते अनुहारको खुसी हेर्नलायक बन्नेछ।   अल बिदा प्रिय रमा ! विनीता आँसु पुछेर अघि बढ। तिमीलाई थाहा छ? इन्दे्रणीका सात रङको मिश्रण नै सेतो रङ हो। तिमीले यी सबै रङमा बाँच्नुपर्छ बहिनी ! - See more at: http://www.annapurnapost.com/N...

_____ · Jun 27, 2015 5:48 PM · 1,907 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all