नेपालमा नअटेका मधेशी : विभेदबारे एक बाहुनको बकपत्र-३

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सिके राउतको समर्थन् गर्छस्, फस्लास् राज्यद्रोहमा “सिके राउतको समर्थन् गर्छस्, फस्लास् राज्यद्रोहमा ।” एक मित्रले धम्कीपूर्ण सुझाव दिए । ‘म सिके राउतलाई चिन्दिनँ, समर्थन वा विरोध गर्नु मेरो काम होइन ।” मैले ठाडो जवाफ फर्काएँ र थपें, “सन् १९५८ अर्थात् आजभन्दा ५७ वर्षअघिसम्म काठमाडौं आउँदा परिचयपत्र अनिवार्य चाहिने मधेशीहरुले नेपाली भनेर के पाए वा के गुमाए ?” मित्र नाजवाफ भए । ‘सिके राउत ।’ यो नाम सन् २०१४ को अगष्टमा पहिलोपटक सुनेको थिएँ । त्यतिखेर म एसियन ह्युमन राइट्स कमिसन (एएचआरसी), हङकङमा थिएँ । मोरङ प्रहरीले रंगेलीको एक “छठमेला”बाट फर्किंदै गरेका बेला राउत समातिएको खबर सुन्दा उनको नाम थाहा पाएको थिएँ । राउत र उनका सहयोगी सत्यनारायण मन्डललाई ‘देश विखण्डन’ हुने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको थियो । १३ सेप्टेम्बरको राति करिब १ बजे सहकर्मी ‘निलन्त’ले नेपालबाट ‘अर्जेन्ट अपिल’ आएको छ भने । एएचआरसीको नेपाल डेस्क प्रमुख प्रकाश मोहरा नेपालमै थिए । मैले ‘अपिल’ सम्पादन गर्न सक्ने अवस्था थिएन । संविधानले दिएको वाक स्वतन्त्रता, शान्तिपूर्ण भेला वा आन्दोलन गर्ने अधिकारको वकालत गर्दै ‘अपिल’ जारी भयो । अर्को दिन प्रधानमन्त्री कार्यालय, प्रहरी मुख्यालय, महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगमा ‘अपिल’ फ्याक्स गरें । सम्पादक शिव करणलाई नदेखाई ‘अपिल’ जारी गरिएकोमा निलन्त, म र नेपालमै रहेका प्रकाश मोहरा आलोचित भयौं । १३ सेप्टेम्बर घटनापछि मैले मधेश आन्दोलनलाई नजिकबाट हेर्न थालें । राज्यले अनाहकमा झुठा मुद्दा लगाउँदै सिके राउतलाई पक्राउ गर्ने र यातना दिने कार्य रोकेन । राउतमाथिको प्रहरी दमनका खबर पठाउन नेपालबाट अधिवक्ता दीपेन्द्र झा र उनी आबद्ध संस्था थर्ड एलाइन्स खटिरहेको थियो । प्रकाशजी र म अलमलमा थियौं, के गर्ने, के नगर्ने ? एकातिर ‘देशद्रोही’लाई सहयोग गरेको भन्ने आरोप लाग्ने डर । अर्कोतिर मानवअधिकारको उल्लङ्घन भइरहेको टुलुटुलु हेरेर बस्नुपर्ने सकस । हामी कथित ‘देशद्रोही’ भयौं । एएचआरसीले ‘फ्रि डा. सिके राउत’ अभियान नै सुरु गर्‍यो । पहिलोपटक एएचआरसीले सिके राउतको मानवअधिकारको रक्षाका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्‍यो । त्यसपछि ५ डिसेम्बरमा एम्नेष्टी इन्टरनेशनलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको ध्यान गयो । तर, गैरमधेशी नेतृत्वका नेपाली मानवअधिकारवादी संस्थाहरुको हालसम्म ध्यान जानसकेको छैन किनकि सिके राउत ‘मधेशी’ हो । काठमाडौंमा मधेश : मनु मखु मर्स्या&nbsp; “मनु मखु मर्स्या खः” काठमाडौका रैथाने नेवारहरुको मधेशीप्रतिको धारणालाई जनाउन यो प्रचलित भनाइ पर्याप्त छ । तर, मधेशीप्रति यो नेवारहरुको मात्रै धारणा होइन पहाडे राज्यव्यवस्थाको प्रतिनिधि व्यवहार पनि हो ।एकदिन कीर्तिपुर जाँदै थिएँ । त्रिपुरेश्वर स्टण्डमा माइक्रो रोकियो ।“ए ! खलाँसी भाइ खोइ त सिट ?” एउटी करिब चालिस वर्षकी जस्ती देखिने दिदी दुई किशोरीसहित माइक्रोभित्र छिरिन् । “ह्या ! नजानी झर्नि । अर्को’नि पाइन्च ।’ उनका दुई किशोरी (सम्भवतः छोरीहरु) कराए ।पछिल्लो सिटमा मेरो छेउ बसेका एकजना अधबैंसे मधेशी मूलका अंकलले जुरुक्क उठेर भने, “अरे बहिनी यता आएर बस्नुस् ।” उनले आफूसँग बसेका दुई छोरालाई पनि उठ्न लगाए र भने, “उठ ! दिदीहरु बस्नुहुन्छ ।’ अंकलले फेरि भने, “बस्नु भएन ? खोइ झोला दिनुस्, म सम्हालीदिन्छु ।” किशोरीमध्ये एउटीले अर्कीलाई भनिन्, “मधेशी देख्दै चोरजस्तो छ, तँ आफै राख, नदे ।” म सन्न भएँ । काठमाडौं केन्द्रित राजनीतिमा मधेशलाई हेर्ने दृष्टिकोण पनि उस्तै छ । सरकारका उच्चपदस्थ कर्मचारी नै अनौपचारिक चियागफमा कहिलेकाहीँ भन्छ, “मधेशीहरु सब फटाहा, चोर, गुन्डा हुन्छन् ।” उनीहरुका आँखामा विजयकुमार गच्छदार, जेपी गुप्ता, शरतसिंह भन्डारी, हृदयश त्रिपाठी सबका सब भ्रष्टाचारी । नागरिक समाजका सिके लाल, तुलानारायण शाह, चन्द्रकिशोर अरु धेरै भ्रष्टाचारी, मानवअधिकारवादी संस्था सबका सब भ्रष्टाचारी ।सबका सब इन्डियाका दलाल । सब देशद्रोही ।पहाडमा पनि त छन् भ्रष्टाचारी । खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, वामदेव गौतमको नाम आउँदैन । आए पनि किन सबै पहाडेहरुलाई भ्रष्टाचारी भनिँदैन ? गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल अरु धेरै मधेशबाट आएका पहाडी मूलका नेताहरु किन इन्डियन वा मधेशी भएनन् ?हरेक वर्ष न्यूनतम मापदण्ड पूरा नगर्ने गाविस, जिविस र नगरपालिकाको सूचीमा तराईका गाविसमात्र किन अगाडि आउँछन् ? के नेपालको पहाडी क्षेत्रमा भ्रष्टाचार हुँदैन ? एक मित्र भन्छन्, “देखिनस् मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म एउटै गाउँका हुन्छन् । अनि पहाडमा भ्रष्टाचार भएर के नापिन्छ ?” तराईमा बढी हत्या लुटपाटका घटना हुन्छन् । हामी तराईमा बढ्दो जनसंख्या हेर्दैनौ । जनसंख्याको घनत्वसँगै अपराध बढ्नु नौलो कुरा होइन भन्ने बुझ्न खोज्दैनौ । र, भन्छौं, “मेरो देश मेरो गौरव !”&nbsp; मधेशीमाथि पहाडे अत्याचारको विकास “हेर ! हेर ! धोती आयो, मदिसे आयो ।” सानो छँदा आमा तर्साउनु हुन्थ्यो । धोती ! मदिसे आयो ! म हायल कायल । हजुरआमा भन्नुहुन्थ्यो “मदिसेको यत्रो लामो दाह्रा हुन्छ, स्वस्थानीको मधुरकैटभ दैत्येजस्तो । टाउकोमा फेटा । कालो न कालो । देख्दै डरलाग्दो ।” मेरा सैं—साथीहरुभन्थे “धोतीले मान्छे खान्छ । पँधेरामुनिको ठूलो ढुंगामा धोती लुकेर बस्छ । कहिलेकाहीँ कुहीनेटातिर बाख्रा चराउन जाँदा बाख्रा त्यही ठूलो ढुंगातिर गए भने क्यारी बाख्रा फर्काउने चिन्ताले मेरो सातो उड्थ्यो । तीन कक्षा पढ्दा हो कि ! “मेरो सेरोफेरो” किताबमा एउटा पाठ थियो ‘लखन चौधरी’ । मलाई नामै अनौठो लाग्यो । सोधिहालें “सर ! यो लखन भन्नी जिनिस के हो ?” माडसाब माधवप्रसाद भट्टराई भन्नुहुन्छ “मधेशी हो भन्या । धोतीगाँठे क्या !” उनले अझ प्रस्ट्याए “हिमालय पर्वतको फेंदीमा महाभारत पर्वत छ । त्यहाँभन्दा तलको समथर भागमा बस्नेलाई मधेशी यानिकी धोतीगाँठे भनिन्छ ।” जिज्ञासु हुँदै सोधें “मधेश भनेको कहाँ हो सर ?” सरले स्वस्थानी वाचनको शैलीमा भनें “नेपालको तरार्ई क्षेत्र र भारतलाई मधेश भनिन्छ ।” मदेश र भारतबाट आएका सबै मदिसे । सबै धोतीगाँठे । “मद्से” हाम्रो गाउँमा टुटेफुटे जाली चप्पल भन्दै आउँथे । जो प्लाष्टिकको जालीवाला बाक्सामा प्लाष्टिककै गहना, टिकी र चुरापोते बोकेर गाउँ डुल्थे । र, पुराना चप्पलसँग साट्थे । गाउँका दिदीहरु र भाउजुहरुको सानोतिनो मेलै हुन्थ्यो जालीचप्पलवाला आएपछि । एक दिन स्कुल जाँदै थियौं । जाली चप्पलवाला आएको देख्यौं “गैराबारी” नेर । यमबहादुर बलाल र उनका भाइहरु मुख्र्याइँमा नाम कहलिएका थिए । हामी उनीहरुको पछि दौडिँदै लखेट्यौ । केही टिकी, चुरा र कानमा लाउने टप खोस्यौं । फुटाल्यौं । उनीहरु हाम्रो खुट्टा समातेर रोइरहें । यमबहादुरले तत्काल जाँघे खोलेर उनीहरुतर्फ फर्किएर मुतिदिने (पिसाब फेर्ने) प्रयास गर्दैथिए, त्यत्तिकैमा एक हुल मान्छेहरु त्यतै आउँदै गरेको देखेपछि हामी टाप कस्यौं । त्यसपछि पनि मधेशतिरबाट आउने मधेशी हुन् या भारतीय, हाम्रो गाउँमा उनीहरु लुटिन्थें, सताइन्थें, अपमानित हुन्थे । तन्ना बेच्न जानेहरुका तन्नाहरु खोसिन्थ्यो । जलाइन्थ्यो । सानासाना बच्चाहरुले पनि तथानाम गाली गर्थे । कतिपय अवस्थामा म पनि त्यस्ता कार्यको नेतृत्व गर्थेंं । “राजुगैरा” भन्नेमा यस्तै भाँडा बेच्ने मधेशीलाई कुटीकुटी मारेको भन्ने हल्ला सुनिन्थ्यो । “मधेशी सब चोर हुन्छन् । ढोका राम्रोसँग लाउनु ।” गाउँमा कोही कालो रंगको छाला भएको आएको छ भने प्रायः घरमुलीहरु आफ्नी जहानमात्र होइन छोराछोरीलाई पनि यसैगरी सम्झाउथे । अहिले आएर सोच्छु, हरेक पहाडी बालबालिकाको बालमस्तिष्कमा मधेशीलाई नकारात्मक पात्रको रुपमा चित्रित गरिन्छ । पहाडे विरासतले भरिएका पाठ्यपुस्तक लाग्छ मधेशीहरुलाई शोषण गर्नकै लागि नियोजित रुपमा तयार गरिएका हुन् मधेशी बौद्धिकप्रति पहाडे मानसिकता सात कक्षामा पढ्दाताका एकदिन स्कुलमा मधेशी समुदायका एक माडसाप आए । उनी विद्यार्थीहरुलाई सिर्जनात्मक क्रियाकलापमार्फत् कसरी सैद्धान्तिक ज्ञान दिन सकिन्छ भनी शिक्षकहरुलाई तालिम दिन आएका थिए, एउटा सानो किताब र केही खेलौनाजस्ता सामान लिएर । स्कुलको चौरमा आइपुग्नासाथ एक हुल केटाकेटीहरु ‘धोत्ती आयो’ भन्दै गुरुरु कक्षाबाट बाहिरियौं । उनले मुसुक्क हाँसेर केही केटाकेटीलाई चक्लेट दिए । तर केटाकेटीहरु डरले भागे । हेडसर खगेश्वर मरासीनीले उनलाई अफिसमा लगे । हामी फेरि गुरुरु… कक्षामा । केही बेरमा उही नौलो मान्छे हाम्रो कक्षामा आए र कसरी कागजका खेलौना बनाउने, कसरी घरेलु रुपमा विज्ञानको परीक्षण गर्ने, कसरी सजिलोसँग हिसाब सिक्ने भनेर सिकाउन थाले । अचम्म लाग्छ, हाम्रो स्कुलका रैथाने माडसापहरु उनीसँग बसेर चिया पिउँदैनथे । उनकै अगाडि मधेशीहरु यस्तो उस्तो भनेर होच्याउँथे । ‘केही जानेको छैन गँवार हो’ भन्थे । मधेशी लवजमा बोलेजस्तो गरेर उनलाई उल्याउँथे । हामी महान विद्वानहरुलाई सिकाउन आउने धोती नाथे भनेर गिल्ला हान्थ्यौं । विद्यार्थीमात्र होइन माडसापहरुसमेत उनलाई ‘तँ’ सम्बोधन गर्थे । केही दिनपछि उनी फर्किए । उनी फर्किएपछि गाउँमा सुरु भयो उनकै बोलीको नक्कल । आच्चा र लिकिन । केटाकेटीहरु लय हालेर गाउँथे “आच्चा, लिकिन किन्तु, इन्तु न चिन्तु ।” गाई चराउन जाँदा गाइने दोहोरीमा थपियो एउटा टुक्का “हे…..हरियो पोस्कर, मधेशीले लैजाला होस गर ।” देशका महाकवि, राष्ट्रकवि, युगकवि, आदिकविलगायत तेत्तीसकोटि कवि कथाकारको नाममा मधेशीहरु अटाएका छन् ? किन पहाडमा मात्र कविहरु जन्मिन्छन् ? या उनीहरु मात्र मूलधारका लेखक, साहित्यकार, इतिहासकार ? खोइ मधेशको इतिहास, मधेशको साहित्य, मधेशको लोकसंस्कृति, लोकगीत ? के मधेशीको खोपडीमा गोबर मात्र हुन्छ ? अथवा काठमाडौं खाल्टोबाहिर पहिलो पटक सिराहामा खोलिएको चन्द्र मिडिल स्कुल र काठमाडौंबाहिर पहिलोपल्ट एसएलसी सेन्टर भएको वीरगञ्जको त्रिजुद्ध स्कुलले शिक्षित जनशक्ति जन्माउन सकेन ? वा शिक्षित जनशक्ति जन्माउने ठेक्का पहाडको भागमा छ ? म गम खान्छु । त्रिचन्द्र कलेजमा पढाउने मेरा एक मित्र विमल भन्छन् “नासो कथा आफ्नै गाउँको कथाजस्तो लाग्थ्यो, चामे र गौंथली आफ्नै गाउँका । गुरुप्रसाद आफै बाजेजस्ता । भवानी भिक्षुका कथा मनै नपर्ने । पात्रहरु पनि घुरहु महतो रे ! नामै देखेर रिस उठ्ने ।” उनको यो भोगाइलाई मात्र आधार मान्ने हो भने कक्षा १ देखि स्नातकोत्तरसम्म नेपालको पहाडी–सन्दर्भलाई जोडेर लेखिएका ९० प्रतिशत पाठ्यसामग्री मधेशी विद्यार्थीले के बुझे होलान् ? भवानीप्रसाद गुप्ता अर्थात् भवानी भिक्षु तत्कालीन समयका एकमात्र “मधेशी साहित्यकार”, जसको मातृभाषा हिन्दी थियो । ‘रुपरेखा’का सम्पादक उत्तम कुँवरको अन्तर्वार्ता संग्रह “श्रष्टा र साहित्य”मा भिक्षुले आफू मधेशी भएकै कारणले अपहेलना भोग्नुपरेको आशय व्यक्त गरेका छन् । अहिले पनि प्रायः मधेशी साहित्यकारको नाम गुमनाम छ । नेपाली साहित्यमा जति सजिलै भारतीय साहित्यकारहरु लीलाबहादुर क्षेत्री, इन्द्रबहादुर राई भित्रिन्छन् मधेशका नेपालीहरु उदाउन सक्दैनन् । हामी गोर्खाल्यान्डको मागलाई समर्थनको जयजयकार गर्छौं तर सिके राउतविरुद्ध तथानाम ओकल्छौं । प्रशान्त तामाङलाई रातारात नेपाली भनिदिन्छौ, थैइइय ! हाम्रो राष्ट्रवाद !&nbsp; पहाडबाट झर्नेहरु मधेशमा भाष्कर गौतमको सम्पादनमा मार्टिन चौतारीद्वारा प्रकाशित ‘मधेश विद्रोहको नालिबेली’ले २०६३ पुस–माघको मधेशी विद्रोहको लहरको मूल कारकको रुपमा “मधेशीहरुको अस्तित्वलाई नेपाली समाजले नकार्नु र मधेशीहरुको न्यायोचित संघर्षलाई आफूमाथिको खतराको रुपमा बुझ्ने” परिपाटीलाई औंल्याएको छ । काठमाडौंमा शाहवंशको उदयअघि काठमाडौंको पूर्व भेगमा क) मैथील, ख) किरात र ग) नेवार गरी मुख्य तीन राज्य थिए । फादर स्टिलर लेख्छन्, मधेशको जमिन नखोसी गोर्खा राज्य विस्तार गर्न सकिँदैनथ्यो । त्यसैले एकीकरण अभियानका प्रारम्भिक वर्षहरुमा मधेशमा बस्नेहरुमध्ये थारुहरु सबैभन्दा शोषित भए । कारण जंगलहरुका बीच थारुहरुले मिहिनेत गरेर बनाएको खेतीयोग्य जग्गा एवं बसोबासका आधारहरुलाई शाहवंशका समर्थकहरुले जागिर र बिर्ताको नाममा बक्सिसमा पाए (पृ. ३८) । पृथ्वीनारायण शाहले मधेश कब्जा गरेपछि मधेशीमाथिको शोषण सुरु भयो । यसअघि पनि शोषण थियो तर त्यो शोषण मधेशभित्रको आन्तरिक शोषण थियो, विदेशी (गोर्खाली) सेनाको भेषमा पहाडेहरुको शोषण थिएन । एकीकरण अभियानमा मधेशका राज्य कब्जा गरेलगत्तै तिरहुत सेनालाई विघटन गरियो र त्यसपछि निर्माण गरिएको सेनामा मधेशीहरुलाई समावेश गरिएन । राणा शासकहरुले मधेशलाई विभिन्न ‘मौजा’मा विभाजन गर्दै आफ्ना भाइ–भारदार र पहाडीहरुलाई सरकारी कर्मचारीको नाममा मधेशको भूभागलाई कब्जा गर्नेे अभियानलाई तीव्र बनाए । केही अपवादबाहेक राणाकालमा सरकारी सेवाका उच्च पदमा मधेशीहरु पुगेनन् । राजा महेन्द्रले मधेशी र पहाडीको जनसंख्यालाई सन्तुलन राख्ने निहुँमा पुनर्वास कार्यक्रम ल्याए । यसले पहाडीको पक्षमा योजना बनायो (पृ. १०४) । त्यसको निरन्तरता हालसम्म छ । मधेशका भूमिपुत्र थारुहरु, मधेशी दलितहरु अहिले पनि पहाडे जमिनदारको घरमा हरवाचरवा, कम्लहरी र ‘आधुनिक दास’को रुपमै बस्न बाध्यछन् । २०५४ सालमा हो, म आमासँग मदेस झरें घुम्न । मेरी आमाकी बहिनी सानीमाको घर थियो बुटवलभन्दा १५ किलोमिटर पश्चिममा । बाबै कति धेरै मदिसे । मैले पहिलोपटक मदिसेहरुको हुल देखें । सानीमाको खेतमा कट्टुमात्र लाएर तातो घाममा काम गर्ने मदिसे । छेवैको अर्को घरमा गोबर सोहोर्ने मदिसे । घरभित्र पंखामा बसेर मदिसेहरुलाई ‘मादरचोद’ भन्दै हप्काउने मेरा सानाबा अर्थात् मेरी सानीमाका पोइ । तर, मैले कहिल्यै सानीमाहरुलाई मदिसे भनिन्न । जागरण मिडिया सेन्टरका पूर्वकर्मचारी दिपेन्द्र पासवान सप्तरीका थिए । एक दिन उनले कर्मचारी बैठकमा ‘जागरणमा आगो लगाउने’ घोषणा गरे । त्यसको केही समयपछि उनले जागरण नै छाडे ।उनले त्यसै आगो ओकलेका थिएनन् । गैरदलित समुदायकी युवतीसँग प्रेम गरेकै कारण युवतीका माइती पक्षले विष खुवाएर सप्तरी पंशेराका शिवशंकर दासको हत्या गरे । उनै पासवानको सक्रियतामा मृतकका बाबु जिल्लादेखि केन्द्रसम्म धाए । तर, <span style="color: rgb(42, 42, 42); font-fa

inspired · Jun 14, 2015 8:22 PM · 8,299 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all