गाउँगाउँ पुगेका डाक्टरको अनुभव : पीडितहरु मगन्ते, आसे, परनिर्भर बन्दैछन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गाउँगाउँ पुगेका डाक्टरको अनुभव : पीडितहरु मगन्ते, आसे, परनिर्भर बन्दैछन् By mysansar, on June 3rd, 2015 -डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विशेषज्ञ- ४५ वटा शिविरमा गाउँगाउँ पुग्दा सिक्काको एउटा पाटो साह्रै नमिठो प्राप्त गरेँ। यहाँहरुलाई नभने कसलाई भन्ने? १) ठाउँ भन्दिनँ – अधिकांश गाउँहरुमा चाउचाउ, बिस्कुट, त्रिपाल बाँड्ने र ‘राहत’ दिएको प्रतिष्पर्धा गर्ने भिडको कारण सक्कली तथा नक्कली पीडितहरुको मानसिकता ‘मगन्ते’, ‘आसे’ तथा ‘परनिर्भर’ भएको छ। गाउँमा गहुँ पाकेको छ, तरकारी छ, बाँस र काठ छन्, गाईभैंसी, कुखुरा छन् तर अपीडित र पिडितहरु त्यो स्याहार्न छोडेर बाटोमा, बजारमा बसेर बिस्कुट, चाउचाउ र त्रिपाल कुरिरहेका छन्। नयाँ गाडी वा मान्छे देख्नासाथ के ल्याउनुभएको छ ? जे ल्याएको भएपनि दिनुस् न, म सबैभन्दा पीडित हो आदि भन्दै आफ्नो स्वाभिमानलाई चाउचाउ र त्रिपालमा बेचिरहेका छन्। त्यो मात्र हो र ? “काठमाडौँ गयो भने सरकारले फ्री मा जग्गा दिन्छ, घर बनाइदिन्छ ..” भन्दै कुखुरा, बोका, भाडा, बिस्तारा बोकेर काठमाडौँ आइरहेका छन्। अब चाउचाउ, बिस्कुट, पाल बाँडेर हैन उनीहरुलाई पहिले जस्तै स्वाबलम्बी र स्वाभिमानी बनाउने मानसिक राहत वितरण गरौँ। २) सहयोग गर्न जानेहरुले टहरा बनाइरहेका छन्, घर भत्केकाहरु तास खेल्दै बसेका छन्। बाटोमा २-४ किलो राहतको लागि दिन ढालिरहेका छन्। तसर्थ सामग्री र प्रविधि हाम्रो, श्रम उनीहरु र हाम्रो गर्ने अभियान चलाऔं। ३) यस्तो प्रचण्ड गर्मी छ। अधिकांश पीडितहरु बिहानैदेखि ठर्राले फिटान भएर कलेजो, किड्नी र आन्द्रा मात्र हैन भूकम्पले वरदान दिएको जीवनलाई रक्सीबाट १० रेक्टरको भूइंचालोको प्रतीक्षा गरिरहेका छन्। हाम्रा युवा अब गाउँगाउँ गएर रक्सीविरुद्ध अभियान चलाउनु पर्‍यो। योभन्दा ठूलो राहत चाउचाउ र बिस्कुट हुन सक्दैन। (किन ढाँटनु – मालिस गर्न दिएको मल्हम समेत १ गिलास ठर्रामा साटेको थाहा पाइयो) ४) अब सरकारी संयन्त्रमार्फत् राहत वितरण गरौँ। आफुखुसी राहतको नाममा परनिर्भर बनाउने गरी वितरण नगरौं। मगन्ते र आशे मानसिकता भयो भने… ..हाइटीमा विदेशीले बनाइदिएका घर भाडामा लगाएर आफु पालमुनि माग्दै बस्ने परम्परा यहाँ पनि बस्न सक्छ। तसर्थ कोही पनि झिना मसिना चिज बाँडेर दानवीर भएको भ्रम नपालौं। सहयोग गर्ने मन भए प्रधानमन्त्री राहत कोषमा सहयोग गरेर देशलाई बलियो बनाऔं। ५) दरिद्र मानसिकता कतिसम्म देखियो भने – १५/ २० वर्षदेखि गाउँ छोडेर शहरमा स्थापित भएकाहरु पनि आफ्नो भत्केको गाउँको घरको फोटो झिकाएर, कागज पत्र मिलाएर .. राहतको लाइनमा लाग्दैछन्। त्यस्तालाई ठाउँको ठाउँमै ‘ उ ‘ गरौँ। ६) पाल पिउने, जस्तापाता चपाउने, राहत सामग्रीको डिनर गर्नेहरुलाई सामाजिक बहिष्कार गरौँ चाहे त्यो मन्त्री होस् कि आफ्नै मान्छे। ७) स्कुलमा बिद्यार्थीहरुलाई ” आशे ” बनाउने काम छिर्न नदिऔं। बच्चालाई जे सहयोग गर्ने हो स्कुल प्रशासन मार्फत गरौँ। परामर्शको नाममा उक्त व्यक्तिको योग्यता र क्षमता नहेरी ” भयङ्कर परामर्श ” दिने काम नगरौं। नजान्नेले जान्नेलाई पठाऔं, जान्ने चुप लागेर नबसौं। ८) पीडित वा अपीडित सबैको जीवन रक्षा हाम्रो प्राथमिकता हो। हामी निरन्तर निःशुल्क स्वास्थ्य शिविर र परामर्शमा लागिरहन्छौं। तपाईंहरु ” मगन्ते “, ” आशे ” र ” रक्से ” को विरुद्ध सकारात्मक कदम चालौं ! हाम्रो समाज ढाड भाँचिने गरी ननुगोस्, हाम्रो स्वाभिमान बिस्कुट र पालमा नसाटियोस्। (डा. रवीन्द्रको फेसबुकबाट)

_____ · Jun 3, 2015 7:40 AM · 1,477 views

1 Reply

Poignant points. Thanks for sharing.

Kiddo · Jun 3, 2015 9:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all