आफैले बनाएको त्यो श्रीपेच फेरि एकचोटी हेर्न मन छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफैले बनाएको त्यो श्रीपेच फेरि एकचोटी हेर्न मन छ भानुभक्त काठमाडौं, जेठ  वरिपरि घेरा मोतीको हुन्छ, अगाडि हिरा जोडिएको छ, दायाँबायाँ राखिएको यो रूबि हो। माथिको यो ‘पाराडाइज’ चराको चुच्चो, यो बडी अनि यो प्वाँख हो’, उनले सिसामुनि राखिएको १०० रुपैयाँको नोटमा रहेको राजा वीरेन्द्रले पहिरिएको श्रीपेच हेरेर बयान गरे। नेपाली झण्डा, टोपी, तक्मा, पदक अनि मिलिटरी पोशाकको उनको पसलबीचमा एउटा ठूलो फ्रेममा सजाइएको फोटो राखिएको छ। धेरैले चिन्छन, त्यो फोटोमा राजा वीरेन्द्र छन्। ‘अनि यो को हो?’, पसलमा आउने धेरै ग्राहकले प्रेमलाल श्रेष्ठलाई सोध्छन्। उनी नहिच्किचाई भन्छन्– म हो। गोरखा दक्षिण बाहु चौथो पदक पाउँदाको फोटो। ‘कसरी पाउनुभयो पदक?’ प्रश्न तेर्सिहाल्छ। श्रेष्ठ गमक्क पर्दै उत्तर फर्काउँछन्– श्रीपेच बनाएकाले पाएको। सोध्नेले उनलाई एकछिन नियाल्छन्। हो, प्रेमलालनै ति व्यक्ति हुन्, जसले शाह वंशीय राजाहरूले प्रयोग गरेको श्रीपेचको नयाँ स्वरुप बनाएका हुन्। पहिले त्यो श्रीपेच कहिले बनेको थियो, उनलाई थाहा छैन। उनलाई यत्ति थाहा छ, राजा वीरेन्द्रले शुभराज्यभिषेकमा उनले बनाएको श्रीपेच पहिरिएका थिए। त्यही श्रीपेच पछि ज्ञानेन्द्रले पनि पहिरिए। अहिले नारायणहिटी दरबार संग्रहालयको कोठामा त्यसलाई थन्क्याइएको छ। *** नयाँ बानेश्वर, काठमाडौंका प्रेमलाल श्रेष्ठका हजुरबुवा टोपी, तक्मा, मिलिटरीका पोशाकको ब्यापार गर्थे। उनका बुवाले पनि त्यही ब्यापारलाई धाने। श्रेष्ठलाई सानैदेखि पुर्खौली व्यापारमा रूचि बढ्यो। उनले पनि परिवारकै पेशा समाते। त्यही व्यापारले श्रेष्ठ परिवारको राजपरिवारसँग विश्वासको डोरी गासियो। मछिन्द्रबहाल, असनहुँदै अहिले ठमेल पुगेको उनको पसलबाट राजा महेन्द्र, वीरेन्द्र  र युवराज दीपेन्द्रसम्म आफूलाई चाहिएको पोशाक मगाउँथे। ‘दीपेन्द्र सरकार त यहीँ आएर सामान किनेर लैजानुहुन्थ्यो’, श्रेष्ठले भने। पूरानो चिनाजानी, विश्वास अनि यस्तो काम गर्ने अरू थोरै भएकाले श्रेष्ठ परिवारलाई दरबारमा विभिन्न अवसरमा चाहिने सामानको जोहो गर्नुपर्ने हुन्थ्यो। ‘टेन्डर सेन्डर केही हुँदैन्थ्यो, जे चाहियो दरबारका मान्छे हामीलाई भन्थे, हामी बनाएर पुर्‍याइदिन्थौं। जति बिल पठायो त्यति नै पैसा पठाइदिन्थे,’ श्रेष्ठले भने।  राजपरिवारसँग श्रेष्ठ परिवारको सम्बन्ध कसिलो बन्दै थियो। २०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको राज्यारोहरण भयो। हनुमानढोका भित्रको नासल चोकमा उनले श्रीपेच पहिरिए। श्रीपेचले उनको टाउको च्यापेछ। तत्काललाई त्यही श्रीपेचले काम चलाएपनि अब ठूलो आकारको नयाँ श्रीपेच बनाउनुपर्ने कुरा चल्यो। दरबारमा चलेको कुरा प्रेमलालसम्म पुग्यो। उनले नै श्रीपेच ठूलो बनाउन सकिने सुझाए।  दुई जना कालिगढ लिएर दरबार गए। दरबारका प्रतिनिधिको रोहबरमा एक कोठामा उनीहरू श्रीपेच ठूलो बनाउने काममा जुटे। पहिलोचोटी बनाएर राजालाई दिए। तर त्यो राम्रो भएन। ‘लेफ्ट राइट गर्दा फेल भयो’, श्रेष्ठले भने। त्यसपछि राजा वीरेन्द्रले यहाँ नसकिने भयो अब इंग्लयाण्डमा बनाउन पठाउनु पर्‍यो भने। यता श्रेष्ठको निद चैनहराम भयो। उनले बेलायत पठाउनुभन्दा फेरि एक पटक मौका पाए राम्रो बनाउन सकिने जाहेर गरे। ‘बाहिर लगे सक्कली निकालेर नक्कली हालिदेला भन्ने पनि डर’ श्रेष्ठले आशंका पनि जाहेर गरे। वीरेन्द्रलाई कुरा चित्त बुझ्यो। फेरि बनाउनू भन्ने आदेश दिए। दोस्रो चोटी बनाएको श्रीपेच पहिलेको भन्दा राम्रो भयो तर राजालाई चित्त बुझेन। फेरि बनाउन भने। एकातिर राजाको चित्त बुझेको थिएन अर्कोतिर ‘मोतीको एउटा टुक्रा हरायो भने वा कालिगढले कतै कोतरिदियो भने’, श्रीपेच बनाउँदाका ती दिन सम्झदै श्रेष्ठले भने ‘कति पीर पर्थ्यो, कुरै नगर्नूस्।’ उनीहरुको तेस्रो प्रयास भने सफल भयो। करिब डेढ महिनासम्म मेहनत गरी बनाएको श्रीपेच राजा वीरेन्द्रले शुभराज्यभिषेकको दिन पहिरिए। कस्तो देखिएको थियो त राजाको शीरमा तँपाइले बनाएको श्रीपेच? ‘खुब बढिया देखिएको थियो नि!’, उनले हाँस्दै भने। श्रीपेच बनाएबापत् श्रेष्ठले दरबारबाट पारिश्रमिक लिएनन्। कालिगढलाई पनि आफैले ज्याला दिए। राजाले लगाउने श्रीपेच बनाएर तँपाइले के पाउनुभयो त? ‘इज्जत पाएँ नि’, उनले भने। त्यो इज्जत त्यतिबेला झन बढ्यो जब २०३१  फागुन १२ गते राजा वीरेन्द्रले शुभराज्यभिषेक गरेको दिन साँझ भएको भोजमा उनीसँग एकछिन कुरा गरे। ‘सरकारले मसँग कुरा गरेको देखेर भोजमा आएका अरुलाई म पावरफुल मान्छे हुँ भन्ने लागेछ’, उनले भने। श्रीपेच बनाएको कदरस्वरुप उनलाई गोरखा दक्षिणबाहु चौथो पदक दिइयो। त्यसदिन आफूले गरेको कामको महत्व अझ बढी बोध भयो उनलाई। साँच्चै तक्मा पैसामा किन्न सकिदैनथ्यो। त्यसपछि उनले बनाएको श्रीपेच पहिरिएका राजाको तस्बिरसहितको नोट बजारमा आयो। ‘त्यो श्रीपेच भएका सबै नोट मलाई प्यारा लाग्थे।’ दरबारमा उनको आवातजावत भइरहन्थो। अनौपचारिक, पारिवारीक कुराकानी हुन्थे। ०४६ सालमा व्यवस्था परिवर्तन भयो। बहुदल आएपछि राजा संवैधानिक बने। तर, उनको ब्यापारमा कमी आएन। किनकि दरबारको महत्व घटेको थिएन। उनी ब्यापारमै ब्यस्त भए। २०५८ जेठ १९ गते राति भएको नारायणहिटी हत्याकाण्डले उनलाई आहात बनायो। ‘खबर सुनेको दिन कति पीडा भयो तपाईंलाई शब्दमा भन्न सक्तिन्नँ’, उनले भने। त्यसपछि दरबारमा उनको आवातजावत पातलिँदै गयो। ज्ञानेन्द्र शाह नयाँ राजा बने। श्रेष्ठलाई उनी बिराना पनि लागे। राजामात्र होइन उनलाई दरबार नै बिरानो लाग्न थाल्यो। ‘भगवानको लीला सम्झेर म ब्यापार सम्हाल्न तिर लागेँ’, उनले भने। पहिलेदेखि चिनेका दरबारका अधिकारी सामान चाहियो भने लिन आउँथे उनी माग बमोजिम दिएर पठाउँथे। अब दरबारसँग प्रेमलालको साइनो विश्वासको डोरीबाट फुत्किएर हिसाब किताबको खातामा झर्यो। ***

_____ · May 29, 2015 6:03 AM · 4,137 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all