सहयोग दिन्छ नेपालले पनि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सहयोग दिन्छ नेपालले पनि चन्द्रशेखर अधिकारी काठमाडौ, जेष्ठ १५ - नेपालले संसारबाट सहयोग लिने मात्र नठानौं। अति कम विकसित भएर पनि यो मुलुकले अरू देशलाई ठूला विपत्ति पर्दा सहृदयी सहयोग गर्दै आएको छ। जापानजस्तो समृद्ध मुलुकदेखि छिमेकी मुलुक भारतसम्मलाई दु:खमा सहयोग गर्न नेपाल अघि सरेका तथ्यहरू छन्। भारतको गुजरातमा सन् २००१ मा विनाशकारी भूकम्प गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले १५ करोड रुपैयाँ सहयोग गरेको थियो। ‘सुरुमा १० करोड सहयोग गर्ने कुरा थियो, तर केही भारतीय धनाढ्यले त्योभन्दा धेरै सहयोग गरिरहेको अवस्थामा सरकारी तवर सुहाउँदो बनाउन १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भयो,’ त्यतिखेर सहयोग संयोजनको भूमिकामा रहेका सभासद सुरेन्द्रप्रसाद चौधरीले स्मरण गरे। उक्त रकम भूकम्प केन्द्रविन्दु भुज सहरमै गएर हस्तान्तरण गरिएको उनले बताए। नेपालले बंगलादेशमा बाढी, अमेरिकामा आँधी, जापानमा भूकम्प र सुनामी जाँदा सहयोग गरेको ताजा इतिहास छ। सन् १९९५ मा जापानको कोवेमा भूकम्प र सन् २०११ मा फुकोसिमामा सुनामीले व्यापक क्षति पुर्‍याउँदा नेपालले ब्ल्यांकेट पठाएको थियो। सुनामीपीडितका लागि कोरियाबाट ५ हजार ब्ल्यांकेट खरिद गरी पठाइएको थियो। जुन कामको संयोजन कोरियास्थित दूतावासका तत्कालीन उपप्रमुख यादव खनालले गरेका थिए। जापानले दुवै बखत नेपालको ठूलो प्रशंसा गरेको थियो। दोस्रोपटकको सहयोगलगत्तै जापानले ठूलो परिमाणमा ऋण मिनाहा गरी नेपालप्रति कृतज्ञता ज्ञापन गरेको थियो। अघिल्लोपटक भूकम्पपीडितका लागि मात्रै २५० ब्ल्यांकेट पठाएर नेपालले सांकेतिक सहयोग गरेको थियो। सन् २००७ मा बंगलादेशमा बाढी प्रकोप हुँदा नेपालले ५० हजार अमेरिकी डलर सहयोग गरेको थियो। अमेरिकामा विनाशकारी आँधी आउँदा पनि सहयोग गरेको भन्ने परराष्ट्र मन्त्रालयमा संग्रहित विवरणबाट देखिन्छ। तर के कस्तो भन्ने पूर्ण जानकारी भेटिँदैन। नेपालले विदेशी मुलुकहरूलाई आपत्–विपत्मा गरेका अन्य सहयोगहरू कुनै निकायको व्यवस्थित औपचारिक रेकर्डमा छैनन्। नेपालले संसारका जुनसुकै कुनामा द्वन्द्व हुँदा राष्ट्र संघमार्फत आफ्ना सुरक्षा फौज पठाएर शान्ति स्थापना मिसनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ।प्रकाशित मिति: २०७२ जेष्ठ १५ ०७:२९ 

_____ · May 29, 2015 5:50 AM · 1,136 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all