जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र’---सुनबहादुर तामाङ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र’ भानुभक्त/प्रकाश लामा नवलपुर,सिन्धुपाल्चोक, वैशाख ३० pri वैशाख १२ को भूकम्पपछि धेरैले व्यवसायिक धर्म निभाउन सकेनन्। केही बसवालाले राजधानीबाट घर फर्कने यात्रुसँग बढी भाडा लिए। केही पसलले कालो बजारी गरे। तिनको असली चरित्र भूकम्पले पर्दाफास गरिदियो। अर्काको पीडामा पनि पैसा कमाउने लालसाले व्यवसायिक धर्मबाट उनीहरू च्यूत भए। त्यही भूकम्पले सिन्धुपाल्चोक नवलपुरका सुनबहादुर तामाङको असली चरित्रपनि पर्दाफास गरिदियो, साहस  र सहयोगीका पर्यायका रूपमा। ज्यानको प्रर्वाह नगरेर उनले आफ्नो होटलमा पुरिएका १४ जना विद्यार्थीलाई बचाए। शंकरापुर एकेडेमीका विद्यार्थी उनलाई जीवनदाता नै ठान्छन्। ४५ वर्षका तामाङले नवलपुरमा ६ महिना अघि होटल सुरू गरेका थिए। नामै नराखेको उनको होटलमा ६० जनासम्मलाई लजसहितको सुविधा थियो। वर्षको ४० हजार रुपैयाँमा उनले घर भाडामा लिएका थिए। दुई छोरामध्ये जेठा मलेसिया छन्। कान्छा छोरा काठमाडौंमै घरजम गरी बसेपछि बाँकि जीन्दगी कटाउने मेसोको रूपमा तामाङ दम्पत्तिले होटल चलाएका थिए। बुढाबुढी दुवैले काम गरेर होटल चलाइरहेका थिए। मलेसियामा काम गरिरहेका छोराले पनि घर फर्किएपछि होटल चलाउनमा सहयोग गर्ने वचन दिएका थिए। होटल राम्ररी चलिरहेको थियो। चैत १५ गते शंकरापुर एकेडेमीका एचए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नवलपुरमा १ महिने प्राक्टिकल गर्न पुगे। कलेजले उनीहरू बस्ने होटलको प्रवन्ध सुनबहादुर कै होटलमा मिलायो। १९ जना पाहुना महिना दिनका लागि आएपछि तामाङ दम्पति पनि खुसी भए। मिजासिला स्वभावका तामाङसँग विद्यार्थी घुलमिल हुन थाले। घुलमिलसँग ग्राहक र होटलवालामा आत्मियता बढ्यो। ‘बहिनीहरू होटल होइन यो घर हो हाम्रो भन्थे’ सुनबहारदुरले सम्झिए, ‘तपाईँहरूलाई छोडेर काठमाडौं कसरी जाने होला।’ विद्यार्थीहरू भान्छासम्मै पुग्थे। खाना बनाउन सघाउँथे। वैशाख १२ गते पनि विद्यार्थीलाई बिहानको खाना खुवाएर तामाङ दम्पत्ति खाना खाने तरखर गर्दै थिए। जमिन हल्लिन थाल्यो। सुनबहादुर अलमलिए। हत्तपत्त श्रीमतीले हात समातेर उनलाई बाहिर निकालिन्। ‘उसले मैलेभन्दा पहिले नै थाहा पाई’, श्रीमतीतिर हेर्दै उनले भने। बाहिर निस्कँदा सुनबहादुरको टाउको र खुट्टामा चोट लाग्यो। बाहिर निस्केकामात्र के थिए उनीहरुको होटल भूकम्पको झड्कासँगै जमिनमा मिसियो। कोठामा बसिरहेका १६ जना विद्यार्थी घरभित्रै पुरिए। उनको होटलमात्र भत्किएको थिएन। आसपासमा घर पनि भत्किएका थिए। मानिसहरू चिच्याउँदै खुला ठाउँमा जम्मा भए। घरमा पुरिएकालाई बचाउन कोही तत्पर भएनन्। सबैलाई आफ्नो ज्यानको पीर थियो। होटल भत्किएको भन्दा छोराछोरीसमानका विद्यार्थी आफ्नै होटलमा पुरिएकोमा सुनबहादुरलाई चिन्ता लाग्यो। तर, सुनबहादुरले आफ्नो ज्यानको पीर भन्दा पुरिएका आफ्ना पाहुनालाई बचाउन प्रयत्न गरे। भित्र पुरिएका नानीहरू ‘अंकल बचाउनुस्, बचाउनुस्...’ भन्दै कराइरहेका थिए। सुनबहादुर त्यही आवाजलाई निशाना बनाउँदै माटो र ढुंगा पन्छाउन थाले।  साधन नभएपछि हात लागेको थालले नै भग्नावशेष हटाए। आफै रक्ताम्मे बनेका उनले पुरिएका १४ विद्यार्थीलाई बाहिर निकाले। २ दुई जनालाई भने बचाउन सकेनन्। ‘तपैंहरूलाई छोडेर कसरी काठमाडौं जाने होला भन्थे, दुई जना नानीहरूले यही घरमा हामीलाई सधैँका लागि छोडेर गए’, सुनबहादुर भावुक बने।  अर्को दिन गम्भीर घाइते भएका विद्यार्थीलाई हेलिकोप्टरले काठमाडौं लग्यो। केही गाडीबाट काठमाडौं लागे। होटलमा पुरिएका एकजनाका नवलपुरमै दाहसंस्कार गरियो। उनको लास जलाउन सुनबहादुरले नै ६० जना मलामी डाके। अर्को शव पनि विद्यार्थीका आमाबुवालाई जिम्मा लगाए। घरभित्र पुरिएका विद्यार्थीका सामान लत्ता कपडा निकालेर ५ दिनपछि उनी आफ्नो र श्रीमतीको उपचार गर्न राजधानी गए। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गरेपछि केही दिन छोरासँगै बसे। भूकम्पको पीडा काठमाडौंमा पनि उस्तै थियो। कति घर भत्किएका थिए, थुप्रै चर्किएका। विपद्का बेला छोरासँगै  बस्ने मन त उनलाई पनि थियो। तर, होटलमा बसेका विद्यार्थीको सामान फर्काउने पीरले पोल्यो र उनी नवलपुर फर्किए। *** नवलपुरमा भत्किएको होटलको छेउमा जस्ता पाताले छोपेर उनले टहरो बनाएका छन्। त्यही टहरोमा बुढाबुढी बस्छन्। सरकारी राहतका लागि सुनबहादुरले लाइन नलाग्ने बताए। ‘जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र!’ उनले भने। उदार दिलका उनको होटलमा धेरैले उधारो तिर्न बाँकि छ। उनलाई त्यो पैसा तिर्लान् भन्ने लागेको छैन्। ‘सबैलाई अहिले समस्या छ,  तिर्लान् भन्ने आस छैन’ उनले भने। गाउँकाले उधारो नतिरेपनि शंकरापुर एकेडेमीका विद्यार्थी भने आफ्नो उधारो तिर्न मंगलबार नवलपुर पुगे। विद्यार्थी टोलीका संयोजक पवन न्यौपानेले हिसाब किताब गरेर उनलाई पैसा दिए। विदा हुने बेलामा सुनबहादुरले पवनसँग भने,‘घाइते नानी बाबुहरुको राम्ररी ख्याल गर्नू। आफूपनि सुरक्षित बस्नू,’ बाबुले छोरालाई सम्झाए जसरी नै उनले भने। पवनले बुझेको संकेतमा टाउको हल्लाए। अभिवादन गरेर विदा मागे। हामी भने उनका जीवनका अरू रङबारे गफिदैं थियौं। आमाको हात भाँचिएपछि घरायसी कामधन्दामा लाग्नु पर्ने भएकाले २ कक्षापछि स्कुल जान छोडे। जम्मु कश्मिर पुगेर मजदुरी गरे। फेरि गाउँमै आएर ठेकापट्टा गरे। जिन्दगीभरी सँधै उदार दिल लिएर बाँचेकाले सन्तुष्टि लागेको उनले बताए। ‘भूकम्पपछि मलेसियामा रहेको छोराले घर आउँछु बुवा भनेको थियो,’ उनले भने, ‘घर त आउला तर बस्ने घर त छैन्? बरु एक दुई महिना उतै बसोस्।’ कुराकानी चलिरहँदा उनको टहरो हल्लिन थाल्यो। धक्का ठूलै थियो। छानामा लगाएका काठ समातेर हामी भित्रै बस्यौं। केही छिनमा धरती हल्लिन छोड्यो। सँगै बाहिर निस्कियौं। उनले भत्किएको होटलको भग्नावशेष  हेरे। आज उनको छाप्रो भत्किएन, न कोही विद्यार्थी नै पुरिए। उनी निश्चिन्त देखिए। प्रकाशित मिति: बिहीबार, बैशाख ३१, २०७२ १०:५४:५२

_____ · May 15, 2015 7:43 AM · 1,163 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all