महाभूकम्पले देखाएको अदृश्य दृश्य

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महाभूकम्पले देखाएको अदृश्य दृश्य – रञ्जित आचार्य May 14, 2015 1 Comment झगडा गरेर अंशबण्डा मागी पर्खाल लगाएर अलग्गिएका दाजु भाई भूकम्पले पर्खाल ढाले पछि ठूलो भएको आँगनमा त्रिपालको ओतमुनि बसेर एउटै कसौंडीबाट पस्केको भात सँगै बसेर खाएको देखायो। सम्पन्नतासँगै तल्ला थप्दै ठूलो गेट लगाएर टोलमा एक्लिएका केहि नव धनाढ्यहरूले कंपनसंगै काँपेर घर छाडी नजिकैको खुल्ला मैदानमा पुगेर अपरिचित बीच परिचित अनुहार खोज्दै गर्दा छिमेकीले अंगालो हालेर स्वागत गरेको देखायो। बल्लतल्ल घरबेटीलाई मनाएर बसेका मधेसी मुलका भाडावालाले सहर भित्रको पुरानो चोकमा सोहि घरबेटीको खेल्दै गरेको छोरोलाई छातिमा टाँसि निहुरिएर माथिबाट खसेको ईंटाबाट जोगाएको पनि देखायो। आफ्नाको ज्यान गएको खबर पाए पनि अहोरात्र उद्धारमा खटिएर माटोमुनि कोहि जिवित पाउँदा ओठमा मुस्कान ल्याएर आफ्नो पीड़ा भुल्ने जवानको कर्तव्यनिष्ठा देखायो। कम्पनको त्रासले कोलाहल मच्चिदा यता उता भाग्नेहरूको भीडबाट आफू अगाडि लडेर च्यापिएको घाईते देखेपछि डरलाई जितेर मद्दत गर्न अघि सरि काँध दिई उठाएर अस्पताल तिर दौडिने साहसी युवाको भावुकता देखायो। पहाड़ थर्केर समतल भएको खबर सुनेर स्तब्ध भएका विदेशमा रहेका नेपालीहरू के गरूँ कसो गरूँ भन्दै छटपटिएर सामाजिक संजालसंगै टाँसिएर रात विताएको देखायो। घुम्न आएका पर्यटकले ठमेलको बाटो मै ओढ़ने बिछ्याएर चन्दा मागेर सहयोगी हात बढाएको देखायो। आधुनिकताको आडंबरसंगै हामी भित्र कतै हराएको मानवता, ममता, समभाव, सदभावना र करूणालाई यो भूकम्पले झक्झक्याएर उदांगो पारेर देखायो। हामीलाई बाटो देखाउन हाम्रो विवेक फर्काउन यस्तो प्रकोप फेरि आउन नपरोस्। – रन्जीत आचार्य http://www.hamroletang.com/?p=...

neurologist · May 15, 2015 7:04 AM · 2,109 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all