भारत ओगट्ने, चीन झस्किने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारत ओगट्ने, चीन झस्किने उद्धार कार्यमा छिमेकीहरुको प्रतिद्वन्द्विता तिब्बती र युरेसियन प्लेट जुध्न आइपुग्दाको परिणाम थियो, झन्डै आठ हजारभन्दा बढी जन र खर्बाैं धनको क्षति हुने गरी १२ वैशाखमा आएको महाविनाशकारी भूकम्प । तर, भूकम्पको असर जमिनमाथि र आकाशसम्मै देखियो । भूकम्पपछि उद्धारका क्रममा आएका भारतीय र चिनियाँबीचको प्रतिस्पर्धा र तिक्तताले  यस्तो स्थिति सिर्जना भएको हो ।  उद्धारका लागि नेपाल आएका भारतीय सैनिक-उद्धारकहरूको चासो भूकम्प प्रभावित उत्तरी क्षेत्रतर्फ देखिन थालेपछि काठमाडौँस्थित चिनियाँ दूतावासले १४ वैशाखमै आपत्ति जनायो । स्रोतका अनुसार भारतीय सैन्य विमानहरूलाई आफ्नो सीमा क्षेत्रतर्फ जान नदिन सचेत गराएका थिए, चिनियाँ राजदूत ऊ चुन्ताईले ।  उद्धारका नाममा भारतीय पक्षले सीमा क्षेत्रको जासुसी गरेको हुन सक्ने राजदूत चुन्ताईको चिन्ता थियो ।  भूकम्पलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगको वचन दिए । मानवीय भावनाले उद्धार र सहयोगका लागि भारतीय प्रधानमन्त्रीले निर्देशन दिएपछि उद्धारका लागि आएको भारतीय सेनाको ध्येय उद्धारका अलावा यहाँ चिनियाँ पक्षलाई रोक्नुसमेत रहेको देखिएको जंगी अड्डाका अधिकारीहरूको बुझाइ छ । एक  उच्च सैनिक अधिकारी भन्छन्, "भूकम्पपछि उद्धारका लागि आएको भारतीय सेनाको हर्कुलस जहाज लामो समय विमानस्थल ओगटेर बसिदियो । उद्धारका लागि चिनियाँ सेना त्रिभुवन विमानस्थलमा नआओस् भन्ने भारतीय पक्षको चासो देखिन्थ्यो ।" त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै ओगटेर भारतले ठूलो जहाज राखेपछि चिनियाँ राजदूत चुन्ताई र अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले प्रधानमन्त्री कोइरालासँग गुनासो नै गरे । उद्धारका लागि आफ्नो मुलुकका जहाज आउन नपाएको भन्दै उनीहरूले कोइरालाको ध्यानाकर्षण गराए । त्यसपछि जंगी अड्डाले भारतीय  पक्षलाई अनावश्यक रूपमा जहाजहरू नराखिदिन अनुरोध गरेको थियो ।  यस प्रकरणमा अधिकारीहरू सबैभन्दा उल्लेखनीय रूपमा पोखरा विमानस्थललाई भारतीय पक्षले एयरबेसका रूपमा प्रयोग गरेको घटनालाई सम्झन्छन् । स्रोतका अनुसार धेरै देशका जहाज-हेलिकप्टरहरू उद्धारका लागि आएकाले तिनको व्यवस्थापन सम्बन्धमा १५ वैशाखमा भएको सचिवहरूको बैठकले कुन विमानस्थल  कुन देशका लागि एयरबेसका रूपमा प्रयोग गर्न दिने भन्ने सम्बन्धमा छलफल गरेको थियो । जस अनुसार भारतका जहाज र हेलिकप्टरहरू धेरै भएका कारण उसलाई एयसबेसका रूपमा त्रिभुवन विमानस्थल दिने समझदारी भएको थियो भने चिनियाँ पक्षलाई चाहिँ पोखरा विमानस्थल प्रयोग गर्न दिने निधो भएको  थियो । स्रोतका अनुसार पोखरा विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनीले नै लिएका कारण उसको एयरबेसका लागि पोखरा छानिएको थियो ।  तर, चिनियाँ जहाज-हेलिकप्टरलाई एयरबेसका रूपमा पोखरा विमानस्थल प्रयोग गर्न दिने विषयमा छलफल चलेको चार घन्टा पनि नबित्दै भारतीय सेनाका आठवटा हेलिकप्टर पोखरा विमानस्थलमा बसिदिए । त्यसपछि विकल्पका रूपमा चिनियाँ हेलिकप्टरका लागि भक्तपुरको खरीपाटीस्थित नेपाली सेनाको तालिम के न्द्रलाई एयरबेस बनाइयो भने अमेरिकी हेलिकप्टर तथा जहाजका लागि भैरहवा विमानस्थललाई । भारतीय पक्षले पोखरा र त्रिभुवन विमानस्थललाई एयरबेसका रूपमा प्रयोग गर्‍यो ।  स्रोतका अनुसार चिनियाँ पक्षले त अझ अवरुद्ध कोदारी राजमार्गसमेत आफ्ना स्वयंसेवकहरूद्वारा खुलाउने प्रस्ताव गृह मन्त्रालयका अधिकारीसँग राखेको थियो । नेपाल सरकारको अनुमति पाए उद्धारका लागि १४ हजार स्वयंसेवक परिचालन गर्ने प्रस्ताव थियो, चिनियाँ पक्षको । तर, स्रोतहरूको दाबी के छ भने यसका  लागि गृहमन्त्री वामदेव गौतम तयार भएनन् ।  २२ वैशाखमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्धारमा संलग्न विदेशी उद्धार टोलीलाई धन्यवाद दिँदै र्फकन आग्रह गरे । उद्धारमा संलग्न विदेशी सैनिक लामो समय रहँदा उत्पन्न हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै सरकारका तर्फबाट यस्तो आग्रह गरिएको थियो । मन्त्री पाण्डे भन्छन्, "उनीहरू सहयोगका लागि  आएका हुन्, भूकम्पपछि उद्धारमा उनीहरूले गरेको सहयोगका लागि हामीले धन्यवाद दिइसकेका छौँ । धन्यवाद पाएपछि उनीहरू बस्नु हँुदैन ।"  खासमा नेपालजस्तो भूराजनीतिक दृष्टिले संवेदनशील मुलुकमा राहत र उद्धारका लागि आउने विदेशी सैनिकले कुनै मुलुकविरुद्ध गर्न सक्ने दृश्य-अदृश्य गतिविधिप्रति ध्यान राख्दै सरकारले यस्तो अनुरोध गरेको थियो । नेपाली सेनाले पनि राहत वितरणमा खटिएका अन्य मुलुकका हेलिकप्टरमा नेपाली सेनाका तर्फबाट  सम्पर्क अधिकृतका रूपमा एक जना सैनिक अधिकारी रहनैपर्ने नीति बनायो । उद्धार-राहतका लागि आएका विदेशी सैनिकको संयोजन गरिरहेका उपरथी बिनोज बस्न्यातका अनुसार हेलिकप्टर तथा विदेशी सैनिकको सुरक्षाका लागि तीनदेखि पाँच जनासम्म नेपाली सेना सुरक्षाका लागि खटाउने निर्णय जंगी अड्डाले गरे को छ । नाम उल्लेख गर्न नचाहने अर्का एक उच्च सैनिक अधिकारी भन्छन्, "कुनै पनि प्राकृतिक विपत्तिपछिको अवधि नेपालजस्तो कमजोर मुलुकको राष्ट्रियताका लागि संवेदनशील हुने भएकाले यस्तो निर्णय गरिएको हो ।" कडाइका बाबजुद छिद्र खोज्ने प्रयास पनि हुँदै आएका छन् । स्रोतका अनुसार २२ वैशाखमा भारतीय वायुसेनाका एक उच्च अधिकारीबाट यस्तै प्रयास भयो । भारतीय वायुसेनाका भाइस मार्सल -मेजर जनरल) उत्पलजित लाङटाङ जाने तयारीमा थिए । यो कुरा थाहा पाएपछि उनलाई एयरपोर्टमै रोकिएको थियो । स्रोतका  भनाइमा उद्धार र राहतका लागि त्यति उच्च अधिकारी आवश्यक नपर्ने भन्दै उनलाई लाङटाङ जान रोकिएको थियो । उनी राहत फोर्सका कमान्डर मेजर जनरल जेएस सन्धुपछिका उच्च अधिकारी हुन् ।  परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे अन्तर्राष्ट्रिय राजनीतिमा देशविशेषबीच प्रतिद्धन्द्विता हुने भए पनि विपत्का बेला त्यो प्रतिद्वन्द्विताको असर यहाँ देखिन नहुने बताउँछन् । भन्छन्, "नेपाल सरकार विपत्मा सहयोग गर्न आएका सबै मित्रराष्ट्रले बिनास्वार्थ सहयोग गरेका छन् भन्ने विश्वासमा छ । त्यसैले अन्तर्राष्ट्रिय  राजनीतिमा हुने प्रतिद्वन्द्विताको असर यो विपत्का बेला कसैले पनि प्रदर्शन गर्ने छैनन् भन्ने ठानेका छौँ ।" उद्धार कार्यमा खटिएका विदेशी सैनिक टोलीहरूको संयोजन गरिरहेका उपरथी बस्न्यातका अनुसार नेपाल सरकार र नेपाली सेनाले जेठ अन्तिमसम्ममा सबै विदेशी सैनिकलाई फिर्ता पठाउने योजना बनाएका छन् । भन्छन्, "जे जति बाँकी रहन्छन्, उनीहरू जेठ मसान्तसम्म फिर्ता गइसकेका हुनेछन् ।" ओलीको आक्रोश १६ वैशाखमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न गएका एमाले अध्यक्ष केपी ओलीले उद्धारका लागि आउन चाहेका चीन, अमेरिकालगायतका जहाजलाई आउन नदिएकामा रोष प्रकट गरे । भारतीय हेलिकप्टरहरूको रवैयाप्रति संकेत गर्दै उनले भने, "उद्धार गर्न आएका भनिएका कुनै देशका हेलिकप्टरले चाहिँ पत्रकार  बोकेर जाने गरेका छन् । साँच्चिकै राहत र उद्धारका लागि आउन लागेका हेलिकप्टरलाई चाहिँ यहाँ बस्न पनि दिइएको छैन ।" सबैभन्दा बढी जनधनको क्षति भएको सिन्धुपाल्चोकमा उद्धारका लागि चिनियाँ पक्षले चासो देखाउँदा प्रधानमन्त्री कोइराला र गृहमन्त्री वामदेव गौतमले चासो नदेखाएको भन्दै ओली आक्रोशित  देखिए ।

_____ · May 11, 2015 5:24 PM · 1,734 views

1 Reply

उदाङ्गो नेपाल सोमबार , २८ वैशाख २०७२ ६:१८ पम विपत्तिमा सहयोग गर्न आएका विभिन्न देशका सेनाले नेपालका कुनाकाप्चा चियाउन पाएका छन् । -रामेश्वर बोहरा “केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख रहेको सर्वदलीय सहयोग एवं अनुगमन समिति गठन भइसकेको छ । जिल्ला, नगर र गाउँस्तरीय दैवी प्रकोप राहत एवं उद्धार समितिका संयोजकले सर्वदलीय संयन्त्रको माध्यमबाट उद्धार, राहत र पुनर्स्थापना कार्यक्रममा सर्वदलीय सहभागिता सुनिश्चित गर्छन् । तेस्रो संरचनाको रूपमा सम्मानित सदनले उद्धार, राहत र पुनस्र्थापनाको काममा अनुगमन गर्न एउटा सर्वदलीय अनुगमन समिति बनाओस् भन्ने प्रस्ताव गर्दछु ।” भूकम्पपछि उद्धार र राहतका लागि आएका चिनियाँ सैनिक । भूकम्पपछि उद्धार र राहतका लागि आएका चिनियाँ सैनिक । महाभूकम्पको १५औं दिन २५ वैशाखमा प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै प्रस्तुत गरेको भूकम्प पीडितको उद्धार, राहत तथा पुनस्र्थापना सम्बन्धी विशेष संकल्प प्रस्तावमा समेटिएको सर्वदलीय सहभागिता प्रधान रहने तीन तहको यो संरचनाको बहुआयामिक अर्थ छ । राष्ट्रिय विपत‍्को यो घडीमा जनप्रतिनिधित्वको सर्वोच्च थलोमा उभिएका प्रधानमन्त्री कोइराला भावुक, चिन्तित र गम्भीर त भए नै, विपत्मा हेलिएका लाखौं नागरिकलाई यथाशक्य चाँडो त्यहाँबाट बाहिर निकाल्न आतुर पनि देखिए । प्रधानमन्त्रीको यो हुटहुटीको पछाडि के–के आधार छन् भन्नेबारे बहस हुन सक्ला, तर महाविपत्तिपछिको परिस्थितिमा लोकतान्त्रिक राजनीतिको पकड फुत्किन थाले झ्ैं देखिएको पछिल्लो परिस्थितिलाई नागरिक सरकार र दलहरूले नै सम्हाल्नेछन् भन्ने सन्देश भने उनले प्रष्टसँग दिए । विपत्को सामना गर्न सिंगो राष्ट्रलाई मेलमिलाप, सहमति र सहकार्यको लागि आह्वान गरेका कोइरालाले आफ्नोतर्फको प्रतिबद्धता पनि दोहोर्‍याए । १२ वैशाख मध्याह्नको महाभूकम्पले त्राहिमाम् पार्दा तत्कालै उद्धारमा जुटेको सरकारले कमजोर पूर्वतयारी र सीमित स्रोतसाधनका बाबजूद प्रशंसनीय भूमिका देखाए पनि अनुमानै नगरिएको क्षति बेहोरेका दूरदराजमा उद्धार र राहत फितलो हुनपुग्यो । यसनिम्ति सरकारले चर्को आलोचना खेप्नुपर्‍यो । सामाजिक सञ्जालदेखि व्यापारिक जगत र दातृ निकायसम्मले सरकारमाथि प्रहार गरे । कतिसम्म भने, सरकारले केही गरेन, जे गरे अन्तर्राष्ट्रिय समुदायले गरे भन्ने खालका सन्देश पनि फैलाइयो । सरकारदेखि राजनीतिक दलसम्मलाई कमजोर तुल्याउने प्रचार गरियो । यो अवस्थामा देशलाई सामान्य स्थितिमा फर्काउने काम राजनीतिक नेतृत्वले नै गर्नसक्छ, गर्नुपर्छ भन्ने सन्देश दिनु अपरिहार्य थियो । यसमा प्रम कोइराला एकहदसम्म सफल भएका छन् । विपत‍्मा सामरिक स्वार्थ ७.८ म्याग्निच्यूडको भूकम्पले ल्याएको विपत्तिसँग जुध्न आफ्नो मात्र क्षमताले नभ्याउने भएकाले सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु अस्वाभाविक थिएन । सरकारको आह्वानसँगै एकपछि अर्को गर्दै ३४ देशका उद्धार र राहत टोली काठमाडौं ओर्लिए । ठूला विपत्तिसँग जुध्न सरकारले बनाएको ‘नेशनल डिजास्टर रेस्पोन्स फ्रेमवर्क’ अन्तर्गत प्रधानमन्त्रीको अध्यक्षतामा रहने ‘नेशनल इमर्जेन्सी अपरेशन सेन्टर’ (नियोक) को मातहतमा ‘मल्टिनेशनल मिलिटरी को–अर्डिनेशन सेन्टर’ (एमएनएमसीसी) र ‘अनसाइट को–अर्डिनेशन सेन्टर’ (ओसीसी) छ । एमएनएमसीसीको संयोजन नेपाली सेनाले गर्छ भने ओसीसीको संयोजन गृहमन्त्रालयको केन्द्रीय दैवीप्रकोप उद्धार समितिले । भूकम्प गएलगत्तै कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको आपत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई एमएनएमसीसीको संयोजनको निर्देशन दिने निर्णय लियो । सँगसँगै सरकारले परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोग मार्फत बाटो खोलेपछि विपत् व्यवस्थापनमा कहलिएका कुल ३४ मुलुकका ४ हजार ५० जना सैनिक तथा मेडिकल टीमसहितको उद्धार तथा राहत टोली नेपाल आइपुग्यो । उद्धारदेखि राहतसम्मका कामको ‘फ्रन्टलाइन’मा नेपाल सरकार नै थियो । भूकम्पपछि उद्धार र राहतका लागि आएका भारतीय सैनिक । भूकम्पपछि उद्धार र राहतका लागि आएका भारतीय सैनिक । विदेशी उद्धार टोलीको मुख्य जिम्मेवारी जीवित व्यक्तिको उद्धार भए पनि हाम्रो सामाजिक–सांस्कृतिक मान्यतामा शवले पनि महŒव राख्ने भएकाले विदेशी उद्धार टोली शव निकाल्न समेत खटियो । विपत्तिका बेला राहत सामग्री ल्याउने र आफ्ना नागरिक लैजाने अभ्यास संसारभर नै छ । उद्धार र राहत टोली लिएर आएका भारतीय विमानहरूले योगगुरु रामदेवदेखि पशुपतिका पुजारीसम्मलाई लगेर गए । इजरायलदेखि पोल्याण्डसम्मका टोलीले पनि त्यसै गरे । तर, त्यहीबीचमा उद्धारमा खटिएका भारतीय वायुसेनाका हेलिकोप्टर आफ्नो हवाई क्षेत्रमा पसेको गुनासो चिनियाँ पक्षले गरेपछि भारतीय हेलिकोप्टरहरूमा नेपाली सेनाले ‘लियाजो अफिसर’ राख्न थाल्यो । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेल शुरूमा संयोजनमै अप्ठेरो परेको र सेनाको संयोजनमा यो काम सहज बनेको बताउँछन् । भारतीय हेलिकोप्टर आफ्नो आकाशमा छिरेको गुनासो गरेसँगै चिनियाँ सेना पनि पहिलोपटक नेपाल आयो– हवाई र स्थलमार्ग दुवैबाट । त्यसलगत्तै २० वैशाखमा अमेरिकी सेना पनि काठमाडौं ओर्लियो । नेपाली सेनाले सञ्चालन गर्ने ‘ब्यालेन्स नेल ज्वाइन्ट एक्सरसाइज’ मा आएका केही अमेरिकी सैनिक पहिल्यैदेखि नेपालमा थिए । भारतीय विदेशसचिव सुब्रमण्यम जयशंकर र भारतस्थित अमेरिकी राजदूत वेन्डी शर्मरले नयाँदिल्लीमा भेटघाट गर्दै नेपालमा भइरहेको उद्धार कार्यबारे छलफल गरेको तीन दिनमा अमेरिकी सैनिक टोली काठमाडौंमा ओर्लनुलाई अर्थपूर्ण रूपमा हेरियो । सामरिक मामिलाका एक विज्ञ भन्छन्, “भारत र अमेरिकाबीच यस्तो समन्वय हुनुले यसका पछाडि गम्भीर भूराजनीतिक अर्थ रहेको बुझउँछ ।” अहिले नेपाली सेनाको समन्वयमा भूकम्प अति प्रभावित जिल्लामध्ये गोरखा, लमजुङ र धादिङमा राहत ढुवानीको जिम्मा भारतीय वायुसेना; रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको जिम्मा चिनियाँ सेना तथा काभ्रे र दोलखाको जिम्मा अमेरिकी सेनालाई दिइएको छ । “हाम्रो क्षमताले नभ्याउने कामका लागि उनीहरूलाई नआऊ भन्न सक्ने अवस्था भएन” नेपाली सेनाका एक पूर्वरथी भन्छन्, “आवश्यक काममा मात्र उनीहरूलाई परिचालन गर्न नसकी आ–आफ्ना स्वार्थमा केन्द्रित हुन दिनु हाम्रै कमजोरी हो ।” विपत्पछिको उद्धारमा जहाँ पनि सेनालाई तालीम र साधनस्रोतले तयार पारिएको हुन्छ । महाभूकम्पपछिको ‘सर्च एण्ड रेस्क्यू’ मा विदेशी सैन्य आउनु पनि अस्वाभाविक थिएन । उनीहरूका लागि पनि विपत् व्यवस्थापनमा आफ्नो सीप तिखार्ने अवसर भयो यो । तर, नेपाल आएका भारतीय, चिनियाँ र अमेरिकी सेनाको स्वार्थ योभन्दा भिन्न रहेको छिपेको छैन । तीनवटै मुलुकका लागि नेपाल त्यसै पनि सामरिक महŒवको देश हो । भारत त पहिल्यैबाट अवसरको ताकमा थियो । “भारतीयहरू नेपालमा कुनै विपत्ति आउँदा हामीलाई अनुमति लिनुपर्ने झन्झटमा नपार भनिरहेका थिए” एक जना सरकारी अधिकारी भन्छन्, “तर, त्यस्तो सुनिश्चितता दिइएको थिएन ।” यसपालि मानवीय सहायताका निम्ति नेपाल सरकारकै आग्रहमा उनीहरूले यस्तो अवसर पाए । उनीहरूले नेपाली भूगोल कस्तो छ, कहाँकहाँ कस्तो साधन चलाउन सकिन्छ भन्ने मेसो पाए– ‘मानवीय सहायताको खातिर’ ठूलै सैन्य अभ्यास गरेर । चिनियाँ र अमेरिकी सेनाले पनि समान अवसर लिए । नेपाली सुरक्षाकर्मीहरूको भूमिका उल्लेखनीय रहे पनि स्रोतसाधनका कारण विदेशी सैनिक टोलीहरू समानान्तर शक्तिकेन्द्र हुन पुगे । निजामती प्रशासनसँग त उनीहरूको टकराव नै देखियो । “नेपाली सेनाले आफ्ना हेलिकोप्टर मात्र सही सलामत राखेको भए पनि विदेशीहरूले योविघ्न चलखेलको मौका पाउने थिएनन्” नाम उल्लेख गर्न नचाहने सामरिक मामिलाका ती विज्ञ भन्छन् । यस्तो विदेशी चलखेलका बीच आफ्नै सैनिक नेतृत्वको व्यवहारबाट झस्केर पनि हुनसक्छ, प्रधानमन्त्री कोइराला सहित एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त बैठक–छलफल गरेर परिस्थितिलाई राजनीतिक रूपमै काबुमा राख्ने प्रयास अघि बढाएका छन् । भूकम्पपछि उद्धार र राहतका लागि आएका अमेरिकी सैनिक । भूकम्पपछि उद्धार र राहतका लागि आएका अमेरिकी सैनिक । प्रम कोइरालाले २५ वैशाखमा संसद्मा गरेको सम्बोधन त्यसकै एउटा कडी थियो । कोइरालाले सम्बोधनमा भने, “सरकारको आह्वानमा खोजी र उद्धारकार्यमा आएका अन्तर्राष्ट्रिय संस्थाहरू प्रचलन अनुसार फर्कने क्रममा छन्, म उनीहरूलाई धन्यवाद दिन चाहन्छु । निरन्तर यो अभियानमा रहने हाम्रा राष्ट्रिय टोलीहरूलाई स्रोतसाधन सम्पन्न बनाउन सरकार कटिबद्ध छ ।” उद्धारको मूल्य सरकारको आग्रहमा आएका विदेशी उद्धार टोलीहरू काम लगभग पूरा भएकाले फिर्ता हुन थालेका छन् । भारतीय, चिनियाँ र अमेरिकी सैनिक टोली भने फर्केका छैनन्, नेपाल सरकारले आग्रह गरे पनि । राहत पु¥याउन चाहिने ‘लजिस्टिक सपोर्ट’ को काम सकेपछि उनीहरू पनि जाने नै छन् । अर्कातिर अन्तर्राष्ट्रिय दातृ निकायहरू पुनःनिर्माणको काम आफूखुशी गर्ने ताकमा छन् । विदेशी सैन्यको खुला अभ्यासले नेपालको क्षमता, सामरिक अवस्था र सुरक्षा लगायतका वास्तविकता छताछुल्ल भएको छ । सैनिक हवाई अड्डादेखि ब्यारेकसम्मको अवस्था विदेशी सेनाका अगाडि प्रष्ट भएको छ । १९९० सालको भूकम्पका बेला बेलायत र जापानले उद्धारमा सहयोगको प्रस्ताव राख्दा राणा प्रधानमन्त्रीले ‘पैसा दिन्छौ भने देऊ, अरू सहयोग चाहिन्न’ भनेका थिए । २०४५ सालको भूकम्पका बेला पनि बाह्य सहयोग अस्वीकार गरिएको थियो । यसपालि भने विदेशी फौज देशका कुनाकाप्चा पुगे । पर्यटकलाई निषेध रसुवा र गोरखाका उत्तरी भेगमा विदेशी सैनिक हेलिकोप्टरहरू तारन्तार उडे । सामरिक मामिलाका ती विज्ञ भन्छन्, “समयक्रममा हामीले यो सबैको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।”

facebook · May 11, 2015 11:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all