तातोपानीमा सात दिन थुनिँदा... हिरोइनको त्रासद वर्णन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तातोपानीमा सात दिन थुनिँदा... हिरोइनको त्रासद वर्णन काठमाडौ, वैशाख २८ - शोभिता सिंखडा, अभिनेत्री शनिबार हामी पाँचजना महाभूकम्प जानु अघिल्लो दिन तातोपानी गएका थियौं। पारि चीनका लिपिङ र खासा घुमिवरी शुक्रबार साँझ हामी वारिकै होटेल मानसरोवर आयौं। सपिङ बाँकी थियो, बिहान फेरि पारि गयौं। सपिङ सकेर लिपिङ बजारतिर हल्लिँदै थियौं, एक्कासि जमिन र घरहरू हल्लिन थाले। एकैछिनमा वारिपारिका डाँडामा कुहिरीमन्डल भयो। घरहरू भत्के, दुईतिरका पहाड खस्न थाले। मान्छेहरू चिच्याउँदै यताउति भाग्दै थिए। यस्तो स्थिति बन्यो, यतातिर ढुंगा खस्दा उता भाग्ने, उता खस्दा यतातिर भाग्नुपर्ने। मानौं, जीवन एउटा अन्त्यहीन भूमरीमा फसेको छ। त्यो दिन हामी पारि नै थन्कियौं। चिनियाँ र नेपाली गरेर २५ सय जनाजति थियौं। एनटीसीको टावर ४ दिनदेखि बिग्रेको रहेछ। एनसेल टु एनसेल मात्रै फोन लागिरहेको थियो। धन्न, घरमा सकुशल रहेको जनाउन पायौं। दुई–तीन घण्टासम्म त पहिरो र ढुंगा छल्दै बस्यौं। त्यसपछि पनि भुइँचालो र पहिरो नरोकिएपछि सबैजना चिनियाँ इमिग्रेसन भवन अघिल्तिर जम्मा भयौं। भूकम्प आउँदा घर अगाडि बस्नु हुँदैन भन्थे, हामीले भने पहिरोलाई छेको मार्न घरलाई उपयोग गर्‍यौं। त्यसको केही घण्टापछि मात्रै चिनियाँ पुलिस सिटी फुक्दै आए। भूकम्पका बेला त ती सीमा प्रहरी पनि भागेका थिए, केही मिनेट बोर्डर पुरै क्लियर थियो। साँझ चिनियाँ पुलिसहरूले हामीलाई इमिग्रेसनकै ग्राउन्डमा टेन्ट लगाइदिए। व्यवस्थापन एकदमै चुस्त थियो। एम्बुलेन्स र डाक्टरहरू स्ट्यान्डबाई दिए। पानी परिरहेकै थियो, उनीहरूले छाता पनि बाँडे। खाना बाँडे, तर चिनियाँ खाना रुचे पो। रातपर्दै जाँदा डर झन् बाक्लो हुँदै गयो। स–साना कम्पनहरू गइरहेकै थिए। भोटेकोसीको एकतमास सुसाईलाई ब्रेक गर्दै ठुल्ठूला ढुंगा खसेको आवाज आउँथ्यो। बेला–बेला पुलिसहरू आएर असजिलो के छ भन्दै सोध्थे। निद्रा लागे पो। भूकम्प आएपिच्छे पुलिसले सिटी फुक्थे। मानिसहरू टेन्टबाट ग्वारर निस्कन्थे। साम्य भएपछि भित्र जान्थ्यौं। त्यो रात यति लामो भयो, एक घण्टा पनि पुरै एक दिन जस्तो। रातको लगभग १ बजे पारिपट्टि एक्कासि पहिरोमा आगो निस्कियो। सबैले ‘लौ ज्वालामुखी निस्क्यो’ भन्न थाले। बाहिर निस्क्यौं। बाँच्ने आशा सबैले मारिसकेका थियौं। त्यति बेलासम्म बुबा (दिनेश सिंखडा) ले ‘केही हुन्न, केही हुन्न’ भनिरहनुभएको थियो। आगो देखेपछि उहाँ पनि आत्तिनुभो। उहाँ (पति नीराजन भण्डारी) को हालत पनि उस्तै थियो। ज्वालामुखी निस्केपछि थोरै दूरीसम्म मात्रै भाग्न मिल्छ भन्ने रहेछ। मम्मी (सुष्मा) पुरै बेहोस हुनुभो। तर, अचम्म † ४५ मिनेटपछि आगो हरायो। के भएको हो, पुलिसहरूले पनि पत्ता लाउन सकेनन्। त्यसपछि पहिरोचाहिँ कन्टिन्यु जान लाग्यो। राति पनि ढुंगालाई छल्दै यताउता भागिरह्यौं। हामी भाग्दै नेपालतिरको पुल साइडतिर पुग्थ्यौं, पुलिसले लखेटेपछि फेरि ग्वारर यतै भागेर आउँथ्यौं। आइतबार बिस्तारै डाँडामाथिको आकाशमा उज्यालो खस्यो। सबैमा अब त बाँचिन्छ कि भन्ने भाव छायो। बिहान हेर्दा त वरिपरि पुरै पहिरो गएको रहेछ। पछि थाहा भो, कोदारी राजमार्ग पुरिएको रहेछ। पहिरो खसिरहेकै हुनाले हिँडेर जान सम्भव थिएन। बुबाले ट्राभल एजेन्सीका साथीलाई फोन गर्नु भो, हेलिकप्टर मगाउन। क्याप्टेनले जोमसोम फ्लाइट भरेर आउँछु भनेछन्। चिनियाँ भूमिमा ल्यान्ड गर्न नमिल्ने भएकाले नेपालपट्टिको चौकी डाँडा आएर बस्नू भन्नुभो उहाँले। तर, चिनियाँ पुलिसले ‘१२ बजे भुइँचालो फर्किने हल्ला छ’ भन्दै त्यसअघि हामीलाई नपठाउने भयो। क्याप्टेनलाई फोन गरेर ‘चौकी डाँडा आइपुगेर हामी आफैं फोन गर्छौं,’ भन्दै चिनियाँ पुलिसले जान नदिएको बतायौं। फेरि पुलिसले ‘नेपालबाट जिम्मा लिने मान्छे नभएसम्म नपठाउने’ किचलो गर्न थाल्यो। हुन पनि नेपालपट्टि पहिरो खसिराखेकै थियो। सबै मिलेर कराएपछि साढे ८ तिर हामी वारि आयौं। बाटो थिएन। घर, गाडी सबै किचेर लासैलास। पुलिसले डाँडाबाट घुमेर मात्रै तल ओर्लिनु भनेको थियो। तर, भीर चढ्नु असम्भव थियो। एकजनाले ‘जे होला होला, तलैबाट जाऊ’ भन्यो। पहिरो खसिरहेको छ कि छैन, हेर्दै–रोकिँदै–दोडिँदै गरेको त्यो १५ मिनेटको समय हामीले थुप्रै लास कुल्चिनु पर्‍यो। दुर्भाग्य, जसै कोदारी, चौकी डाँडा आइपुग्यौं, एनसेलको टावर पनि गयो। खबर नपाएपछि क्याप्टेनले लिन आएनन्। अर्को विचल्ली सुरु भयो। सबैले १२ बजे भूकम्प आउँछ भनेका थिए। तर, निकै सानो आयो। अब सबैजना ढुक्क भएर पहिरोकै बाटो भए पनि हिँडेर जान थाले। हामीचाहिँ हेलिकप्टरको आशामा बस्यौं। जब एक घण्टापछि फेरि भुइँचालो आयो, हिँडेर जानेहरू सबै ठाउँको ठाउँ पुरिएर मरे। अघिल्लो दिन राति पालमा हामीसँगै एउटा फ्यामिली थियो, बच्चासहितको। काखे बच्चा भएकाले हामीले माया लागेर कम्बल दिएका थियौं। नजानू भन्दाभन्दै उनीहरू पनि पहिरोकै बाटो गएका थिए। पछि सुनियो– एउटा बच्चा पहिरोपारि चिच्याइरहेको, अर्को सानो बच्चासहित बाबुआमाचाहिँ वारि चिच्याइरहेका। हेर्दाहेर्दै सबै पुरिए रे। कस्तो दर्दनाक ! हामी बाँच्यौं। तर, यसपटक घरमा खबर गर्ने कुनै माध्यम भएन। कोदारी नै केन्द्रविन्दु भएको भूकम्पपछि सम्पर्कविहीन भएकाले घरमा ‘अब हामी रहेनौं’ भन्ने भएछ। भाइ, हजुरआमा, हजुरबा खुब रोएछन्। दिनभरि हेलिकप्टर कुर्‍यौं। आएन। भोकै थियौं। साँझ परेपछि पाल खोज्न गयौं, कतै पाइएन। बारीको कान्लामुनि एउटा स्थानीय बासिन्दाको ठूलो पाल रहेछ। छेउमा भए पनि बस्न दिनु है भनेर घुस्यौं। प्राय:को शरीर आधा बाहिर, आधा भित्र थियो। राति पुलिस आएर भने, ‘आजको केन्द्रविन्दु यहीं हो। राति भुइँचालो आयो भने माथिबाट ठुल्ठूला ढुंगा खस्न सक्छन्। हामीले सिटी बजाएपछि मात्रै भाग्नुहोला।’ अब निद्रा लागे पो। फेरि रातभरि भुइँचालो गइराखेकै छ। पानी पनि ठुलै पर्‍यो। छेउपट्टि थिएँ म, पुरै भिजें। सोमबार उज्यालो त भयो तर यतिधेरै आशा मार्‍यौं कि, न फोन थियो न रेडियो। के गर्ने कसो गर्ने सोच्नै सकेनौं। वाकीटकी कनेक्सनले काम नगरेका कारण पुलिसबाट पनि उद्धारको कुनै सम्भावना भएन। हिँडेर जाउँ, पहिरो गइरहेको छ। फेरि आशा हेलिकप्टरकै भयो। आज त आउँछ कि भन्ने लागिरह्यो। सबैले हल्ला गर्छन्– काठमाडौं त सकियो रे † विपत् कम भएर बाँचिँदै छु भन्ने लागेपछि मान्छेलाई भोक लाग्दो रहेछ। दुई दिनको भोक र निद्रा। खानेकुरा केही थिएन। पुरै आन्द्रा बटारी सक्यो। रिंगटा उस्तै। पुलिसकोमा पनि केही रहेनछ। बल्ल एउटा खैरेले चकलेटको एक टुक्रा दियो। त्यो दिन त्यसै टर्‍यो। मंगलबार अब हेलिकप्टरको आस मार्दै गयौं। घर सम्झिँदा पनि रिस उठ्न थाल्यो। किन हेलिकप्टर नपठाएको होला भन्ने लागिरह्यो। दिउँसो बारीको पाटामा एउटा परिवारले भात पकाइरहेको रहेछ। छेउमा उभिएर हेरिरह्यौं। कताबाट एक्कासि हिम्मत आएछ, भनें, ‘दिदी, पुरै तीन दिन भो, केही खाको छैन। अलिकति दिनुस् न।’ दिदीले थालमा अलिकति भात र साग राखिदिनुभो। पाँचैजनाले यसरी थालमा हमला गर्‍यौं, मानौ कहिल्यै भातको अनुहारै देखेका थिएनौं। एकएक गाँस पुगेछ। मैले मागेको देखेपछि अरू पनि लाइन लाग्न थाले, विचरी ती दिदी हेर्‍याहेर्‍यै। दिउँसो हाम्रा टाउकामाथि हेलिकप्टरले फन्को मार्‍यो। हामीलाई लिन आएको होला भन्दै झोला कस्यौं। हेलिकप्टर ल्यान्डिङ भयो। आर्मीको पो रहेछ। अलिअलि राहत सामान ल्याएर छोड्यो। घाइते, बेहोस र सुत्केरीहरू लिएर गयो। तीनपटक आवतजावत गर्दा त्यसले जम्मा नौजना मात्रै लान सक्दोरहेछ। त्यो दिन पनि त्यही पालमुनि सुत्यौं। बुधबार अब सुन्न थाल्यौं– निजी हेलिकप्टर पनि सरकारले लियो। मान्छेहरू २० लाख तिर्न पनि तयार थिए। तर, सरकारी हेलिकप्टर आउने हल्ला भयो। ठूलो हेलिकप्टर। दिउँसो आयो पनि। तर, ल्यान्ड गर्न सकेन। फेरि सानो नै आयो। बिरामी र घाइतेहरू लिएर सात–आठ ट्रिप गर्‍यो। यस्तोमा तँछाड–मँछाड गर्नु ठीक थिएन। राति हाम्रै टेन्टमा एउटी दिदी सुत्केरी हुनुभो। जन्म, मृत्यु र जीवन संघर्षको त्यहाँ त्रिवेणी बनेको थियो। जीवन र मृत्युको यो प्राकृतिक लीलाले ठूलै दर्शन सिकाएको अनुभूति भयो। अर्को लीला पनि देखियो। २५ जनाजति अट्ने त्यो टेन्टभित्र दुई केटीहरू भुत्लाभुत्ली गर्न थाले, केटाको निहुँमा। पछि फेरि ती केटीकै कारण केटा–केटाबीच पनि फाइट चल्यो। त्यहीबेला भुइँचालो आयो। सबै बाहिर भागे। झगडा रोकियो। पछि फर्केर सबैजना आ–आफ्नै ढंगले सुते। धन्य भुइँचालो † धन्य प्रकृति † पानी नपाइने, रक्सीचाहिं फालाफाल पाइने ठाउँ रहेछ त्यो। भूकम्प कम हुँदै गएपछि मान्छेले पानीसरी रक्सी पिउन थाले। त्यसपछि सधैंजसो मान्छे पिटापिट। पुलिसले के गर्न सक्नु? फेरि चोरको बिगबिगी। मान्छे मरिरहेको ठाउँबाट तीनजनाले हात काटेर सुन निकालेछन्। पसल पनि फोरिन थाले। पछि पुलिसले एकजनालाई हाम्रै अघिल्तिरबाट हतकडी लाएर लिएर गयो। बिहीबार अब चिनियाँ सिम चल्न थाल्यो। एसएमएस गर्‍यौं घरमा। दोहोरो कुरा भो। कुनै पनि हालतमा हेलिकप्टर पठाउनू भन्यौं। तर आएन। त्यो दिन मितेरी क्लबले दाल–चामल एकै भाँडोमा राखेर पकायो। त्यतिधेरै मान्छेलाई कति बाँड्नु? अलिअलि भागमा पर्‍यो। त्यति खाँदा पनि चौरासी व्यञ्जनजस्तै महसुस भयो। हेलिकप्टर आइरहेकै थियो। तर, प्राथमिकतामा पहिले घाइते, दोस्रो पर्यटक अनि मात्रै अरू पर्ने रहेछन्। हामीले फोन गरेका क्याप्टेन पासाङ पनि आए। बुबाको चिनजान राम्रै थियो। उनले हामीतिर हात उठाए। तर, अरूबाटै घेरिइसकेका थिए। मान्छेमाथि मान्छे। हेलिकप्टर गयो। त्यसपछि फेरि आएन। बिहीबार बेलुका एउटा चर्केको घरमा पुग्यौं। खैरेहरूलाई त्यो घरमा सुताइएको रहेछ, उनीहरू गएपछि खाली भएको थियो। २४/२५ जना अट्ने रहेछ। एउटा खाट थियो, फिमेलका लागि। खाटमा एकातिर लोग्ने मरेकी विधवा। अर्कोतिर चाहिँ फ्यामिली मेम्बर मरेकी दिदी। बीचमा म। चारजना सुत्यौं। चर्केको घरमा सुत्न पाउँदा पनि त्यो रात दरबारमा सुत्न पाए जस्तै महसुस भयो। शुक्रबार पुलिसहरूले बिहानै माइकिङ गरे, आ–आफ्ना आफन्तका लासहरू चिनेर उठाउनू भन्दै। मान्छेहरू डराइडराई गए। सुनसान चिहानघारीको दृश्य जस्तै थियो त्यो। रातिसँगै सुतेकी दिदी पनि केही नबोली गइन्, लोग्नेको लास उठाइन् र खोलाको किनारमा जलाएर आइन्। उनका आँखामा कुनै तेज थिएन। राति फेरि सँगै सुत्यौं। अलिक तल स्कुल रहेछ, त्यसकै छेउ एउटा पसल छ दिनपछि खुल्यो। त्यो पसलमाथि भिर, तल भोटेकोसी। त्यहाँ गएर खाना पकाइदिन आग्रह गर्‍यौं। अनि मजाले भात खायौं। बिस्तारै पसलहरू खुले। रेडबुल, चाउचाउ र पेप्सीहरू देखिए। हामीसँग पैसा थियो, किनेर बाँड्न थाल्यौं। अब जान घर पाइहाल्छौं भन्ने भयो। सडकछेउ एउटा सानो बच्चा लुगलुग कामिरहेको देखें, ओडिराखेको सल उसैलाई दिएँ। शनिबार आर्मीको हेलिकप्टर आयो। १२ जनाको सिट रहेछ। भीडले छोपिहाल्यो। हामी अटेनौं। हामीलाई नै लिन गएको रहेछ त्यो हेलिकप्टर। तर, थाहा थिएन। अर्कोपटक मम्मी र म चढ्न पायौं। तर, हेलिकप्टरले सिन्धुपाल्चोककै नारायणस्थानमा ल्याएर छोडिदियो। तेस्रोपटक बुबाको नामै माइकिङ भएछ। बुबालाई लिएर हेलिकप्टर फेरि नारायणस्थान आइपुग्यो। ‘एकैछिन कुर्नू है’ भन्दै हेलिकप्टर सिन्धुपाल्चोकको अर्को ठाउँतिर उड्यो। र, लास लिएर आयो। पाँचजना बस्यौं, लासलाई बीचमा पारेर। एयरपोर्ट ओर्लेपछि मात्रै राहतको सास फेर्‍यौं। ... ... ... र, अहिले म धादिङका विकट गाउँहरूमा राहत बाँडिरहेकी छु।  प्रस्तुति : फूलमान वल

_____ · May 11, 2015 8:04 AM · 1,965 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all